मेरी आमा बृद्धभत्ता बुझेर मेरो लागि जुत्ता किन्नु हुन्छ
शिल्पा लोचन
आमा शब्द सुन्नासाथ तपाई के सम्झनुहुन्छ ? आमा उच्चारण गर्दा तपाईले कस्तो महशुस गर्नु हुन्छ ? पीडा या खुशीमा ‘आमा’ शब्द उच्चारण गर्दा सास लिनुहुन्छ कि छोड्नुहुन्छ ? एक पटक आफ्नो आँखा बन्द गरेर आमा भन्नु त कति शान्त महशुुस गर्नुहुन्छ ?
तपाईको श्वासको गति तीब्र छ र यदि तपाई थाक्नु भएको छ भने एकपटक आमा भन्नु । तपाईको श्वासको गति पनि मध्यम हुन्छ । तपाईको थकाई पनि गायव हुन्छ । हामी रुँदा होस् या अचानक कतै आपतमा परेको बेला होस्, सबैभन्दा प्रिय मानेर याद गर्ने मान्छे भनेको आमा नै हो ।
आमा मलम हो । आमा पुन्य हो । आमा नहुने भए तपाईको अस्मिता छ या छैन छातीमा हात रोखेर कल्पना गर्नु त । आमाको श्वासविना तपाईको अस्मिता के छ ? आमा नभएको भए कुनै पनि प्रणीको अस्मिता हुन्नथ्यो । आमा शब्द आफैमा यति महान छ । आमा शब्दको महानताबारे लेख्न त म ल्याकत राख्दिन तर पनि आमा महान छिन् ।
आमाले कोखमा माइक्रो ग्रामदेखि लिएर हामीलाई आफ्नो श्वास दिएर जीवन दिएकी हुन् । आमाको थोपा थोपा रगतबाट बनेको पिण्ड हौं हामी । फगत हामी आमामा निहित छौं । आमाको मुख हेर्ने दिन औसीमा पर्छ तर आमाको महानता सुर्य–चन्द्रको चहकभन्दा पनि माथि छ । त्यसो त शास्त्रहरुमा आमाको महिमा पिताभन्दा उच्च स्थानमा राखिएको छ । श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमाको मुख हेर्ने दिन आज । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको दिनलाई आमाको मुख हेर्न दिन भनिन्छ । यसलाई मातृदिवश या मातातिर्थ औसीको रुपमा पनि मनाइन्छ ।
आमा संसारको सबैभन्दा पवित्र नता हो । सबैभन्दा पहिला बोल्न सिकेको वाक्य पनि आमा हो । मानव जातिको मात्र होइन, पशुपंछी पनि आमाबाटै सिक्छन् । सबैभन्दा सरल आमा हो । जति पनि जटिल समस्यामा संगै हुने भनेको आमा हो । आमा जस्तो प्रिय अरु हुन सक्छ र ?
आमाको सम्मानको लागि हर समय छोटो पर्छ । हर मिनेट छोटो हुन्छ । आमालाई एक दिन मिठो खुवाएर अरु दिन भोको राख्नुको मतलव महापाप हो । जीवनभर आमालाई पीडा दिएर श्राद्धमा पिण्ड पानीमा बगाएर पाउँछन् भन्ने खोक्रोपन हो । आमा बुवालाई वास्ता नगर्ने अनि वृद्धाश्रमलगायत अन्य ठाँउमा लगेर राख्ने अनि औंसीको दिन मात्र सामाजिक सञ्जालमा फोटो हाल्ने प्रचलन आएको छ । बर्षको पुरा दिन अपमान गरेर एक दिन फोटो पोष्ट गर्नु भनेको आमाको आत्मसम्मान माथि मजाक गर्नु हो, जुन मानवताप्रति अपमान हो ।
मेरी आमाप्रति म मरेर पनि तिर्न नसकिने ऋण छ । जीवनमा जतिसुकै खुशी हासिल गरुँ, आमा जति मेरो लागि निस्वार्थ माया गर्ने कोही छैन । म भोकै छु भने आमालाई महसुस हुन्छ । म बिरामी भएको भए पनि आमा महसुस गर्नु हुन्छ । आमाले मेरो खुशीको लागि निकै झुट बोल्नु भएको छ । पेट खाली भए पनि अघाएको भनेर ढाँट्नुहुन्छ । दुखेको भए पनि दुखेको छैन भन्नु हुन्छ । मैले रोएको बेला रुन हुन्न भनेता पनि सबैभन्दा मेरै चिन्तामा भोको बस्नु हुन्छ । म नकारात्मक भएर जीवनमा हारेँ भने हिम्मत दिने मेरी आमा हो । मलाई हिम्मत दिएर किन हारेको होला मेरी आमा ?
म एकदम नादान छु । आमाको अनुहारको रेशाहरु हेरेर बुढी भएको भन्छु । तर त्यो चाउरी परेको निधारको रेशाहरुले आमाका दुखहरुको नोट बोकेर राखेको छ । आमाको दुखहरु कति होला तर म पढ्न सक्दिनँ । शरीरमा निला नशाहरु हेरेर मैले लिएको जीवन अनि मैले दिएको दुखहरु याद गर्न सक्दिनँ । काखमा हुँदा आमाको स्तनलाई कति पटक लात्ती मारे हुँला । कति पटक निदाउँदा आमाको स्तनलाई टोके हुँला ? त्यो हिसाव न आमासँग छ न त मसँग नै । मलाई त थाहा छैन मैले मेरी आमाको मनलाई कहिल्यै खुशी दिएको । मैले उहाँको चुराको संगीतमा ‘लै–लै लोरी’ सुनेर निदाएकी छु । उहाँको हातको थपथपाइले निदाएको छु । उहाँले पिसेको जाँतोको घोराइघोराई आवाजले निदाएको छु । उहाले कुटेको ढिकीको लकरढुँगमा निदाएको छु । मैले निदाउँदा फेरेको श्वासमा मेरो स्वास्थ्य जान्ने मेरी आमा मेरो वैद्य हुनुहुन्छ । मैले बिगारेको हर कामलाई सुधार्ने मेरो शिक्षक हुनुहुन्छ आमा । मैले सोचेको कुरा जान्ने अन्र्तयामी हुनुहुन्छ आमा । स्कुल नगए पनि मेरो विश्वविद्यालय हो मेरी आमा ।
मेरी आमा मलाई पढ्नु हुन्छ । म अस्मितामा आउनुभन्दा पहिला र मैले संसार हेर्नुभन्दा पहिला मलाई महसुस गर्ने मेरी आमा हो । मैले पहिलो आकार लिएपछि चलेको महसुस गर्ने उहाँ नै हो । मैले हानेको लात्तीलाई मिठो अनुभव मान्ने मेरी आमा नै हो । मैले जन्मँदा दिएको प्रसव पीडालाई खुशीको किस्सा मानेर सुनाउने मेरी आमाले मसँगै पुन जन्म लिएको याद छैन । आधा मरेर मेरो जीवन बचाएकोमा खुशी हुनुहुन्छ । होइन, त्यो पीडा कति याद भएन । उहाँलाई किन लागेन म जन्मनेबित्तिकै मैले दिएको पीडाको सजायँ दिउँ । किन लागेन मैले गर्दा पाएको पीडा संसारको सबैभन्दा ठूलो सजाय हो भन्ने । मेरो रुवाईसँग उहाँको आँशु सायद सधैको लागि गायव भयो । न त आमाले मसँग केही माग्नु भएको छ, बस् ! मेरो खुशी र सुखको लागि सधै अदुश्य शक्तिसँग प्रार्थना गर्नु भयो ।
मेरी आमा मेरो हासोसँग हर दुख काट्नुहुन्छ । मैले मेरी आमालाई एक ओठ हाँसो उपहार दिन सकेको छैन । कुर्कुचामा लगाउन मलम किनेर दिन सकेकी छैन । मेरी आमा बृद्ध भत्ता बुझेर मेरो लागि जुत्ता किन्नु हुन्छ । उहाँको त्यो भत्ताले मेरो खुशीको दुनियाँ फराकिलो हुन्छ । उहाँको प्रयासमा म खुशी रहिरहुँ भन्ने हो । उहाँको छायामा मात्र पनि त्यति शीतल छ, जुन कुनै पनि कृत्रिम सामानहरुले दिन सक्दैन । जतिसुकै अभाव होस्, आमा साथमा हुने मान्छे सँसारको सबैभन्दा भाग्यमानी हो ।
आमाले शिरमा हात राखेपछि दुनियाँको कुनै पनि नकारात्मक शक्तिले केही बिगार्न सक्दैन । उहाँको हातले नछोएको त्यस्तो के छ हामीसँग ? आमाको मुखले चपाएको नखाएको सन्तान को छ ? आमा भनेको दुनियाँमा आउनुभन्दा पहिलादेखि हाम्री देवी हो । उहाँको एक दिन मात्र मुख हेरेर, एक दिन मात्र सम्मान गरेर पुग्छ ? आमालाई औसीको दिन मात्र सम्झनु भनेको आमालाई उपहास गर्नु हो । मेरो आँखाले सपना देख्ने मात्र मेरी आमा हो ।
उहाँ मेरो अनुहारको भाव पढुन सक्नुहुन्छ । आमालाई हामीले सधै पुजा गरे पनि कम पर्छ । आमाको महानता अरु कुनै चिजसँग दाँज्न सकिन्न । मलाई आमा साथमा हुँदा हर दिन उत्सव लाग्छ । मेरी आमा साथै हुनु, म होसमा हुँदा पनि नहुदा पनि ।
आमा ! हजारौ जन्म म तपाईको कोखमा जन्म लिन पाउँ । जति जति जन्म हुन्छ, त्यति त्यति जन्म म तपाईंको सन्तान हुन पाउँ । मेरी आमा खुशी रहनुहोला । म टाढा छु । यो बिषमा परिस्थितिमा मेरो चिन्ता नलिनु ।
मेरी आमा हजुरको मायाअगाडि मेरो मायाको कुनै अर्थ छैन तर मेरी आमालाई संसारभरको माया । सधै हामीसँग रहिरहनुस् ।