पहिलो भेटमा नै माया बस्यो
रेशमबहादुर पान्डे
एकदिन म आफ्नो मोबाइलमा फेसबुकको वाल स्क्रोल (घुमाउँदै) गर्दै केही नयाँ कुरा पाइन्छ कि भनी हेर्दै थिएँ । झट्ट मेरो आँखा ‘बुक नेपाल’ भन्ने एउटा ‘टाइमलाइन’मा पुग्यो । यो संसारमा जोसुकै मानिस पनि आफुलाई मन लागेको गर्न र हेर्न अभ्यस्त छ । म पनि किताबप्रति लिप्त छु र किताब भनेपछि मेरो ध्यान आकर्षित भइ हाल्यो ।
हुन त हामी सबैको किताबसँग सामिप्यता बालककालदेखि नै भइरहेको हुन्छ र किताबको अध्ययनको आधारमा नै ज्ञान प्राप्त गरेर जीवनमा धेरै कुराहरु प्राप्त गरिरहेका हुन्छौं । तर, मेरो सन्दर्भमा मेरो किताबप्रतिको आशक्तता अलि बढी नै छ कि जस्तो मलाइ लाग्छ । अरुलाइ पनि लाग्दो हो। मैले त्यो वालमा हेरें, त्यो वाल र ‘नेपालनाम्चा’ नामको वाल सम्बन्धित रहेको र त्यसमा नेपालका नाम चलेका र उदयमान साहित्यकारहरुका लेखहरु रहेको देखें । नयाँ प्रकाशनहरु तथा नयाँ लेखहरु पढ्न पाइने आशाले मैले ती दुबै वालहरुलाई पछ्याउन थालेँ । मलाइ मेरो मेसेन्जरमा एउटा सन्देश आयो, ‘तपाईको फेसबुकमा शेयर गरेको एउटा लेख मलाई नेपालनाम्चामा प्रकाशन गर्न मन लाग्यो, अनुमति दिनु हुन्छ ?’
ती मेसेन्जर प्रेषकको इमान्दारिता देखेर म एकाएक प्रभावित भएँ । अहिलेको समयमा साइबर गतिविधीमा छाडापन मौलाएको बेलामा मेरो वा कसैको लेख नाम उल्लेख नगरी छाप्न पनि सक्ने थिए । मसँग भएको उनको व्यवहार र कुराकानी (च्याट)ले म निकै प्रभावित भएँ । कुराकानीमा उनले ‘तपाइको लेख विगतको सत्य घटना जस्तो लाग्यो र यो यथार्थता तपाईको जीवनको लागि अविस्मरणीय त छँदैछ, त्यो यथार्थतालाई साक्षात्कार नगरेका पाठकको लागि पनि देशको विगतको घटनाको सजीव चित्रण पनि हुन्छ र समाजको लागि यथार्थ बोध गराउने खालको परिघटनाको वर्णन पनि हुन्छ भनेर मैले तपाँइलाई आग्रह गरेको हुँ’ भने ।
मैले पुस्तक (पाठ्यपुस्तकभन्दा बाहेक) पढ्न र मनमा रहेका आफ्ना भावनाहरुलाइ लेख्न मेरो विश्वविद्यालयको पढाई सिध्याउनुभन्दा अलि अगाडि अर्थात स्कुले जीवनबाट नै शुरु गरेको थिएँ । निजामती सेवामा प्रवेश गर्नुअगाडि केही लेखेकोबाहेक मैले जागिरको अवधिमा पढ्ने व्यसन त्याग्न नसके पनि लेख्ने काममा म ज्यादै सुस्त देखिएँ । निजामति सेवाबाट अवकाश लिएर सेवानिवृत्त जीवन बिताउन थालेपछि म लेख्नबाट च्युत भएको बिषयले मलाई घोच्न थाल्यो ।सेवानिवृत्त जीवन बिताएको केही बर्षपछि मैले एउटा लेख लेखें, ‘म सकृय सेवाबाट रिटायर्ड भएँ तर सकृय जीवनबाट टायर्ड भएको छैन ।’ मैले उदघोषण त गरें तर ममा त्यो उर्जा र प्रतिभा अनि जाँगर र उत्साह छ कि छैन, मैले आफुलाई परिक्षण गर्ने बेला आएको थियो । डायरी लेख्ने र माग भएमा लेखहरु आक्कलझुक्कल लेख्ने गरिन्थ्यो । जागिरमा रहँदा एउटा राष्ट्रसेवक कर्मचारीको भूमिका निभाउँदा कतिपय कुराहरु नियमकानूनले र कति कुरा कर्मचारीको आचारसंहिताले अभिव्यक्त गर्न पाइएको थिएन । मनभरी कुण्ठा, पीडा, अपमान बोकेर र घोर असमानताको शिकार भएर बस्दा पनि कर्मचारीको नियति यस्तै हो र यसरी नै सबै कर्मचारीले भोगेर नै आइरहेका छन् भनेर चित्त बुझाएर बसिएको थियो । सरकारी पक्षबाट भएको असमान ब्यवहारको भन्दा पनि देशमा भएको सशस्त्र युध्दले दिएको पीडा सबै कर्मचारीले भोग्नु पर्यो । सुरक्षा निकाय (गृह)ले त झन बढी मात्रामा झेल्नु पर्यो । कसैले आफ्ना भोगाईहरु अभिव्यक्त गर्दैनन्, कोही रिटायर्ड भएपछि जाँगर चलाउँदैनन्, कोही यथार्थ कुराहरु पनि लेख्न चाहदैनन् र कसैमा त्यो कुरा अभिव्यक्त गर्ने क्षमता हुँदैन । मेरो विगतका भोगाइहरु लिपिबध्द गरेर जनमानसमा यथार्थ पक्षको उजागर गर्न सकेमा मेरो विगत जीवनको अभिलेख कायम हुने र मलाइ आत्मसन्तुष्टी प्राप्त हुनुका साथै सबैलाई खास स्थितिको ज्ञान हुन सक्छ भन्ने कुरालाई मनन गरी मैले लेख्न शुरु गरेको हुँ । त्यो सत्प्रयासको नाम मैले ‘कान्छो सिडिओ’ भनेर राख्ने विचार गरेको छु ।
मैले ‘नेपालनाम्चा’का सञ्चालक, सदस्य र सम्पादक को-को हुनुहुन्छ भन्ने जान्न चाहेकोमा मसँग कुरा गर्ने मित्रले अशोक सिलवाल लगायतका नाम लिनुभयो र मैले अशोक सिलवाललाई कतै पढेको हो भनेर सुनाउँदा उहाँले म नै अशोक सिलवाल हो भनेर भन्नु भयो । भौतिक रुपमा देखभेट नभए पनि परिचित नाम पाएपछि मैले उहासँग अन्तरंग, व्यक्तिगतलगायत क्षेत्रीयताका कुराहरु पनि गर्न भ्याँए । उहाँको कुरा सुन्दा एउटा लेख्ने मान्छेको अन्तर्मनका धारणाहरु उध्बोदित हुन्छ भन्दा अरु खुशी केही हुँदैन । त्यसैले मन फुकाएर उहाँसँग कुराकानी गर्न थालेँ ।
ज्ञान र अनुभव सबैको लागि लाभदायी नै हुन्छ । ग्रहण गर्नेले कुन रुपमा र के मनशायले बुझेर मनन गरेको छ, त्यसबाट नै त्यस पक्षको मापन हुन्छ । मैले पनि के लेख्ने र नलेख्ने मेरो आत्मगत कुरा जो मेरो अन्तरआत्माबाट प्रस्फुटित भएको छ, लेख्ने विचार गरें ।
‘ठीक छ म तपाइको अभियानमा संलग्न हुनेछु र भेटघाटपछि हाम्रो सम्बन्ध अझ मजबुत हुने विश्वाश गरेको छु’ भनी उहाँलाई जवाफ दिएँ । यसरी ‘नेपालनाम्चा’सँग पहिलो भेटमा नै माया बस्यो ।