श्यामदास वैष्णव र लप्टनको होटल

सम्झना

अरविन्द रिमाल

हाम्रा प्यारा श्यामदाइ !

नित्य निरन्तर परिवर्तनकाँक्षी कवि, महाकवि देवकोटाका सहायक एवम् सहयोगी साहित्यकार, गम्भीर चिन्तक, नाट्यसर्जक, नाट्यनिर्देशक, समाजसेवी, सदा प्रसन्नचित्त, आफू मान नचाहने, अरुलाई सँधै मानसम्मान दिने दाता श्यामदाइ गएको साता आफ्नो सार्थक जीवन, सन्तुष्ट जीवन व्यतीत गरी हामी सबैलाई छाडी महाप्रयाणमा हिँड्नुभयो, गृहस्थी परिव्राजक जो हुनुहुन्थ्यो ।

मेरो डिल्लीबजारको ‘लप्टनको होटेल’ निबन्धसङ्ग्रहमा भूमिकाद्वारा मेरो कृतिलाई वजनदार बनाइदिहुने मेरा अग्रजमा सादर श्रद्धासुमन ।

भूमिकामा उहाँले मेरो जुन प्रशंसा गरिदिनुभएको छ, त्यो डिल्लीबजारको नामराख्ने, कीर्ति बढाउने सबैसित जोडिएको, म ठान्दछु । म त ‘ह्वाट डिल्लीबजार थिंक्स् टुडे, रेस्ट अफ द कन्ट्री थिंक्स् टुमरो‘सित परिस्थितिले गर्दा जोडिनपुगेको एउटा निमित्त पात्र मात्र हुँ ।

अब अरु कुरा श्यामदाइका शब्दमा

जागरुकताको गाथा: श्यामदास वैष्णव (प्राज्ञ)

नेपालमा राणाशासनका विरुद्ध जागरुक बनेकाहरूको गाथा ‘लप्टनको होटेल’को माध्यमबाट यस ग्रन्थभित्र व्यक्त भएको पाएँ मैले । श्री अरविन्द रिमाल वरिष्ठ व्यक्तित्व हुनुको साथै जागरणका संवाहक पनि हुनुहुन्थ्यो । त्यस बखत र अहिले आध्यात्मिक बौद्धिक–चिन्तक बन्नुभएको पाउँछौँ हामी, जसलाई आत्मचिन्तन भन्न सकिन्छ । वास्तवमा आत्मचिन्तन नै आध्यामित्क आधार हो । मान्छेको विशेषता यसैबाट झल्कन आउँछ ।

लप्टनको होटेल २००७ अघि र त्यसपछि पनि जागरुकहरूले चिया पिउने अखडा जस्तो थियो । त्यहाँ देशको अवस्था र व्यवस्थाबारे अनेक चर्चा–परिचर्चा र आलोचना–प्रत्यालोचना हुन्थे । विशेषतः मध्यमवर्गीय चेतनधर्मी युवाहरूले यसलाई रन्काएका थिए र बेला मौकामा ख्यातिप्राप्त व्यक्तित्वहरूको पनि त्यहाँ उपस्थिति हुने गर्दथ्यो । विशेषतः लक्ष्मीप्रसाद देवकोटाज्यूकै उपस्थिति उल्लेखनीय मान्नुपर्दछ । अरू ख्यातिप्राप्तहरूको नाम त अरविन्द रिमालजीले उल्लेख गर्नुभएको नै छ । त्यस बखत लप्टनको होटेललाई चियासँगै तताउनेमा चन्द्रधर उप्रेती, डिल्लीराज उप्रेती, सुरेन्द्रसिंह, नरसिंहबहादुर श्रेष्ठ, सूर्य र नरेन्द्रबहादुर बस्नेत आदि देखिनुहुन्थ्यो र शङ्करप्रसाद जोशी आदि पनि सम्मिलित हुने गर्नुहुन्थ्यो । एक प्रकारले साँस्कृतिक संघको भूमिका त्यहीँबाट झल्कन्थ्यो भने जस्तो लाग्दथ्यो । टङ्कप्रसादज्यूलाई त डिल्लीबजारेहरूले मियो जस्तै मानेका थिए, जो प्रजापरिषद्का प्रमुख र जेल रहँदासमेत क्रान्तिकारीहरूले सभापति मानेका व्यक्तित्व हुनुहुन्थ्यो । क्रान्तिको स्मरण गर्दा डिल्लीबजार निवासी मुकुन्दनाथ रिमालले पनि गुप्तपर्चा छरेका कुरा सम्झिइन्छ र पुष्करनाथ उप्रेती पनि अविस्मरणीय देखिन आउनुहुन्छ । उहाँहरूको स्मरण गर्दा ध्रुव नाट्य–मण्डली पनि सम्झिइन्छ, जहाँ केशवदाइ र विहारीलालको क्रान्ति–पोषक क्रियाकलाप निहित थियो । साँच्चि भनौँ त, ‘लप्टनको होटेल पूर्व जागृतिको मौन र गुप्त अखडा (रामचन्द्रबहालको दक्षिण पश्चिम कुनामा सडक पारी रहेको) केशव दाइको निवास थियो, जहाँ नाचगानको आवरणबीच क्रान्तिकारी किताब पढ्न दिइने गरिन्थ्यो, जहाँ भवदेव पन्त आदि जागरुकताका आराधक आउने गर्थे । लुकाएर राखिएको हुन्थ्यो– भागो नही दुनियाँको बदलो जस्ता किताबहरू । लप्टनको होटेलको सम्झना गर्दा त्यो खुल्नुको पूर्व जागृतिको अखडा धु्रव नाट्य–मण्डलीअन्तर्गत देखिन गएको केशव–निवास र आरोग्य भवनलाई पनि बिर्सनु हुनेछैन । यो पछिल्लो स्थल रिमालहरूको परिचयात्मक थलो बनेको थियो र रिमालहरू सुधारका आराधक देखिन्थे ।

कुरा जेहोस्, ‘लप्टनको होटेल’ले पनि जागरणको परिचय निश्चय नै दिन्छ । क्रान्तिपछि नयाँ सडकको पीपलको बोट र डिल्लीबजारस्थित लप्टनको होटेल निकै चर्चित रह्यो । एक अखबारी भेटघाटको थलो बन्यो त अर्को, विवेचनाको अखडा । यी दुवैको महत्व आउँदा पुस्तालाई झल्काउनु सार्थक कार्य नै मान्नुपर्छ । विशेषतः त्यस बखत शहरको लहर काङ्ग्रेसमुखी थियो त, डिल्लीबजार राष्ट्रियताप्रति बढी सचेत देखिन्थ्यो । आफ्नो स्वत्वको ख्याल प्रजा परिषद्वादीमा थियो त काङ्ग्रेस (बाहिरबाट आएकोले) भारतप्रति ढल्केको पाइन्थ्यो । साधारण कार्यकर्ता चाहिँ हिन्दोस्तानमुखी नयाँ सडक र चीन चाहिँ डिल्लीबजारजस्तो सम्झी ठट्टा गर्ने गर्दथे । यद्यपि गोपालप्रसाद रिमालको शहरी समूह राष्ट्रवादी विचार (प्रजापरिषद्सँग मिल्दो) राख्दथ्यो ।

हामी अहिले देख्न सक्नेछौँ, अरविन्दज्यूको लप्टनको होटेलले धेरै पुराना कुराहरू उग्राएको जो बिर्संदै जान लागिएको थियो । यसले नयाँ पुस्तालाई मार्गनिर्देश जरुरै गर्ला जस्तो लाग्छ । ५ पैसामा आधा कप चिया खाई गरिने चर्चा–परिचर्चा रहस्यमय र कौतुहलतापूर्ण लाग्नेछ अहिलेका दिनहरूलाई । होटेलको सन्दर्भमा अरविन्द रिमालज्यूबाट निंस्रित विचारहरू निकै उपयोगी छन् । उहाँले बिर्सिएका सबैलाई सम्झाउनुभएको छ र आजलाई जगाउन खोज्नुभएको छ । ऐनाझैँ छर्लंग छ– महोदयको कृति । पनपच्छेरहित बनेको छ– विश्लेषण । देश सुधारमा रुचि राख्नेहरूका लागि यो प्रेरक बन्न सक्ने देखिन्छ । यसै निम्ति पनि स्रष्टा बधाईका पात्र हुनुहुन्छ । लप्टनको होटेल सम्झँदा म पनि त्यहाँ बराबर जाने गरेको पाउँछु आफूलाई । आफू अखबार प्रकाशनतर्फ मोडिएको र रेडियो नेपालमा व्यस्त रहेको गरेकाले त्यहाँको भेलामा मेला भर्न भने उस्तो पाउने थिइन । तैपनि देवकोटाको प्रतिमा स्थापनाबारे शैलेन्द्रनाथ रिमालज्यूबाट (म होटेलमा देखा पर्दा) आव्हान गरिएनुसार साँस्कृतिक संघमा राय दिन गएको थिएँ । र यसपछि प्रज्ञा प्रतिष्ठानको मामलाबाट देवकोटाजी जरिवानाले घायल भई होटेलमा आई पानी पिई, लामो निश्वास लिँदा प्रण मैले गरेको सम्झन्छु । पछि प्रज्ञा–प्रतिष्ठानबाट तलब नदिई भान्छा रोकिन जाँदा ‘लप्टनको होटेल’मा पत्रम्–पुष्पम् चमेना (उधारो लिई) अर्पण आफूले गरेको मार्मिक घटना म सम्झन्छु । यस्तै अरू घटनाहरू होटेलसित सम्बन्धित जो घटे त्यसलाई ज्यूँताएको पाइन्छ स्रष्टाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button