नेपालनाम्चाको ‘राजनीति’मा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल
नेपालनाम्चाको विशेष स्तम्भ राजनीतिका लागि सम्पादक अशोक सिलवाल र पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलबीचको कुराकानी ।
तलैसम्म पढ्नुहोला है किनभने यहाँ राजनीतिमात्र होइन, पौडेलका जीवनका अत्यन्त रोचक पाटा र परिवेशहरु छुटाउनै नहुने खालका छन् ।
राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
म भरखर १३-१४ वर्षको थिएँँ । सात कक्षा पढ्नको लागि निजगढ मामा घर बसेको थिएँ । २०३३ सालको कुरा हो । मलाई मामाघर (केशव बडाल, पुष्प बडाल) को संगत र चिनियाँ कथाहरूको पढाइले नजानिँदो ढंगले राजनितीतिर आकर्षित गरिसकेको थियो । २०३४ सालमा आइपुग्दा संगठित भइसकेको थिएँ । त्यति खेर युथ लीग भनिन्थ्यो । म त्यसमा संगठित भएँ । २०३५-०३६ सालको विद्यार्थी आन्दोलनमा त रातो झण्डाको वारेस नै भइसकेको थिएँ ।
राजनीतिमा कसरी र किन लाग्नु भयो ? अझ थप भन्नु न ?
म पढ्न बसेको घर पुरै राजनितिक थियो । मामाघर पुरै भूमिगत कम्युनिष्ट पार्टीको राजनितीको अड्डा थियो । मामाहरू नेपाल मजदुर किसान संगठनसँग सम्वध्द हुनुहुन्थ्यो । तर मामा घरमा प्राय सबै कम्युनिष्ट घटकका नेताहरू आउँथे । सधैजस्तो राजनितिक कक्षा र वहस चलिरहन्थे । आउने सबै नेताहरूको ऑखा ममाथि पर्थ्यो । मलाई अलि बढी प्रेमपूर्वक फकाउने प्रयास हुन्थ्यो ।
म आफ्नो कक्षामा पहिलो विद्यार्थी थिएँ । मेरा पछि थुप्रै विद्यार्थीहरू हुन्थे । यसले गर्दा पनि राजनितीकर्मीहरूको ध्यान मतिर आकर्षित हुन्थ्यो । त्यति खेर विचार र प्रेमले मानिसलाई आकर्षित गरिन्थ्यो । मैले जति नेताहरू भेटेँ, सबै जनताप्रति समर्पित लाग्थ्यो । तिनीहरूमध्ये थोरै जिवित छन् । सम्पूर्ण कुरा छोडेर, जीवनलाई जोखिममा राखेर हिँडेका नेताहरूका कथाले पनि मन आनन्दित हुन्थ्यो । लगातारको कम्युनिष्ट नेताहरूको सङ्गतले राजनितीतिर लगाव बढ्दै गयो । यहि पृष्ठभूमिले मलाई कम्युनिष्ट आन्दोलनमा आवध्द बनायो ।
राजनीतिक जीवनमा तपार्ईंले सुरुदेखि अहिलेसम्म के कस्तो जिम्मेवारीमा रहेर काम गर्नुभयो ?
मेरो संगठित जीवन २०३४ सालमा सुरू भएको हो । २०३४ सालमा युवा लीगको सचिव भएँ । त्यसपछि क्रान्तिकारी विद्यार्थी संगठनमा आवध्द भएँ । २०३६ सालमा अनेरास्ववियु छैठौमा केही समय काम गरेँ । पछि अनेरास्ववियु एकताको पाँचौमा दुई पटक जिल्ला सचिव भएँ । २०३८ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य चुनिएँ । २०४० सालमा नेकपा मालेको गाउँ कमिटीमा आवध्द भएँ । २०४१ सालमा इलाका कमिटी र २०४२ सालमा पार्टीको जिल्ला संगठन कमिटी सदस्य भएँ । २०४८ सालसम्म जिल्ला कमिटी सदस्य भएर काम गरेँ । २०४८ सालमा नेकपा एमालेको सचिव चुनिएँ । २०५२ सालमा राष्ट्रिय परिषद सदस्य र अञ्चल कमिटी सदस्य भएँ । २०५९ सालमा नेकपा एमालेको सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएर काम गरेँ । २०६५ सालदेखि पार्टीको सल्लाहकार सदस्य र २०७० देखि साधारण सदस्य भएर काम गरिरहेको छु ।
२०३६ सालमा श्री गौरीशंकर मावि स्ववियु सभापतिमा निर्विरोध चुनिन सफल भएँ । २०३७ सालमा चुनावै लडेर दोश्रो पटक सभापति भएँ । २०४३ सालमा नेकपा मालेले निर्वाचन उपयोगको निती लियो । पार्टीले मलाई पनि निजगढ गाउँ पञ्चायतको जनपक्षिय प्रधानपञ्चको लागि उम्मेदवार वनायो । सानदार मतले निर्वाचित भएँ । २०४४ सालमा जनपक्षिय मञ्चको सचिव भएँ । २०४५ सालमा पार्टीको निर्णय अनुसार प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको संयोजक र जनआन्दोलन संयोजनको जिम्मा पाएँ । जिम्मेवारी पुरा गर्दैगर्दा जेल परेँ । २०४५-०४६ को जनआन्दोलन सफल भयो । २०४८ सालमा वारा ३ वाट प्रतिनिधी सभाको चुनाव लडेँ । २०४९ को स्थानीय चुनावमा सहभागी भएर वडाध्यक्ष समेत भएँ । २०५१ सालको मध्यावधि निर्वाचनमा विजयी भएँ । २०४८, २०५६ र २०६४ को चुनाव हारेँ । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा विजयी हुँदै बारा जिल्लाका जनताको प्रतिनिधित्व गरेर नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्ने अवसर पाएँ । २०७० मै पहिलो पटक देशको मन्त्री नियुक्त भएर करिव १७ महिना युवा तथा खेलकूद मन्त्रालय सम्हाल्ने अवसर समेत प्राप्त गरेँ ।
जे सोचेर राजनीतिमा लाग्नु भयो, के त्यस अनुसारको प्राप्ति भएजस्तो लाग्छ ?
म राजनितीमा लाग्दा मैले बुझेको राजनिती इमानको राजनिती थियो । विचारको राजनिती थियो । विकासको राजनिती थियो । न्यायको राजनिती थियो । अझ मैले बुझेको र रोजेको कम्युनिष्ट राजनीति त आदर्शको राजनिती थियो । आज यस्तो कुरा खोज्नु पर्ने अवस्था भयो । राजनितीमा ठगी धन्दाले प्रवेश पायो । राजनितीमा इमान सकिन लाग्यो । झुटको पुलिन्दा, कमाउधन्दा र अपराध कर्मले प्रश्रय पाउन थाल्यो ।
अझ अहिले त सबै नितीहरूको मुल निती राजनितीलाई वदनाम गरेर, यसलाई भात नितीमा परिणत गरिदैछ । जनताको विश्वास समाप्त पार्ने खेल हुँदैछ ।
राजनीतिमा लागेर के पाउनभयो ? के गुमाउनुभयो ?
म केही पाउँछु भनेर राजनितीमा लागेको होइन । पाउनको निम्ती राजनिती गर्ने पनि होइन । साँच्चै सोच्ने हो भने राजनिती पवित्र मनले देश र जनताको निम्ती काम गर्ने र जीवन समर्पण गर्ने क्षेत्र हो । म त्यसैको निम्ती राजनीतिमा प्रवेश गरेको पनि हुँ । राजनितीमा लागेर मैले धेरै जनताको माया पाए । देशका धेरै जनताको सेवा गर्ने अवसर पाएँ । विशेष गरी निजगढका जनताको अपार प्रेम पाएँ । बारा जिल्लाका जनताको थेग्नै नसक्ने सद्भाव र माया पाएँ । नेकपा एमालेको साथ र समर्थन पाएँ । जनताको असिम माया र प्रेमकै कारण आफ्नो देश नेपाल र नेपाली जनतालाई बुझ्ने अवसर पाएँ ।
जहाँसम्म गुमाउने कुरा छ, जीते संसार छ । हारे के छ र ? भन्दै राजनितीमा लागेको मान्छे हुँ । मसँग गुमाउने कुरा खास केही पनि थिएन । फेरि पनि पहिलो चुनाव हारेपछि राजनिती गर्नकै लागि टिक्नु पर्छ भन्दै निजगढको १० कठ्ठा जग्गा बेचेर कलैयामा एउटा पसल गरेको थिएँ । त्यो पसल उसै सकियो । यसले मलाई केही समय परिवारको स्नेह गुम्ने हो कि भनेर डर लागेको थियो । तर त्यस्तो भएन । पुरै परिवार मेरो साथमा रह्यो । खास केही गुमाए जस्तो लाग्दैन ।
अहिलेको राजनीतिक स्थितिबाट सन्तुष्ट, असन्तुष्ट के हुनुहुन्छ ?
अहिलेको राजनितीक स्थिती आशालाग्दो छैन । जनताको ठुलो उत्साह र उमङ्गसहित स्थापित संसदलाई अकर्मण्य बनाइदैछ । कम्युनिष्ट पार्टीको वहुमतको ग्यारेन्टी गर्ने नेकपाको विघटन गराइएको छ । नेपाली जनताले लामो समयदेखि आशा र भरोसा गरेको नेकपा एमालेलाई समेत विभाजन गर्ने षडयन्त्र भइरहेको छ । यी सबै कार्यमा नेपाली जनता र नेकपा एमालेले विश्वास गरेकै नेता तथा प्रधानमन्त्री लागिरहेको छनकहरू देखिदैछन् । अरू राजनितीक दलहरू पनि केवल स्वार्थको च्याँखेमा देश र जनताको हित भुलिरहेका छन् । यस्तो अकर्मण्यताको अवस्थामा सन्तुष्टिको कल्पना कसरी गर्न सकिन्छ र ?
जनताले दिएको बहुमतलाई जनताका काममा लगाउनु पर्ने बेलामा अन्य स्वार्थमा आधारित झमेलामा बेरिएर बसेको छ सरकार । पार्टीले दिएको समर्थनलाई चुनावी घोषणापत्र कार्यान्वयनमा लगाउनुपर्ने बेलामा पार्टी विभाजन गर्ने र अरूलाई गालीगलौज र खिसीट्युरी गर्नमा व्यस्त र अभ्यस्त हुनु हुन्छ हाम्रा लोकप्रीय प्रधानमन्त्री । अनि यस्तो अवस्थामा को सन्तुष्ट हुन सक्छ ? राजनितीलाई केवल पद साटासाट र आम्दानी बाँडाबाडको थलो बनाउन मात्र खोजिरहेको छ, देशको सत्ता । यस्तो अवस्थामा के सन्तुष्टिको कुरा हुन सक्छ र ?
राजनीतिमा लाग्दाका रमाइलाहरु सम्झनु हुन्छ ? अनि नरमाइलाहरु त ?
राजनिती मान्दा खेरी ज्यादै रमाइलो क्षेत्र हो । आम जनतासँग खेल्ने कुरा, आम जनतासँग वाँच्ने कुरा कति रमाइलो हुन्छ भन्ने कुरा जनतामा भिज्नेलाई मात्र थाहा हुन्छ । जनताको बीचमा बस्नु र जनताको निम्ती काम गर्नु कति आनन्ददायी हुन्छ, राजनितिक ठगहरूलाई थाहा हुँदैन । जनताको कुरा गरेर, जनताका नाममा लेखिएका कथा पढेर राजनिती गर्नेहरूलाई पनि थाहा हुँदैन । देश र जनताका निम्ती गरिने राजनिति मूलतः आनन्ददायक नै हुन्छ । एउटा रमाइलो यहाँ राख्न चाहन्छु ।
२०३८-०३९ सालमा हाम्रो गाउँ दुधिअवामा हामी साँस्कृतिक कार्यक्रम गरिरहेका थियौं । कार्यक्रममा नाटक, गीत र नृत्यसमेत प्रस्तुत गर्ने गरेका थियौं । हामीले एउटा प्रगतिशील युगल नृत्य छनोट गरेका थियौं । त्यहा युवासँग नृत्य गर्न युवती भेटिएन । म आफैले फरिया लगाएर नृत्य गरिरहेको थिएँ । नृत्यको क्रममा फरिया खुस्केर पाइन्ट मात्र वाँकी भयो । त्यो दृश्यले सारा दर्शकमा हाँसोको पर्रा छुट्यो । मलाई चाहिँ हाँसो उठेन ।
म २०७० सालमा खेलकुद मन्त्री थिएँ । मैले आफ्नै पार्टीका प्रदेश कमिटी सदस्य र पार्टीकै खेलकुद महासंघका कार्यवाहक अध्यक्ष केशव विष्टलाई सदस्य सचिव नियुक्त गरेको थिएँ । यो प्रसंग पार्टीभित्र र बाहिर ठुलो बहस र हङ्गामाको विषय भयो । हङ्गामा ठिकै थियो । स्वयम पार्टीको हेडक्वार्टरबाट परिचालित व्यक्तिहरू विपक्षी तत्वसँग साँठगाँठ गरेर सडकमा आए । अयोग्य व्यक्तिलाई सदस्य सचिव नियुक्त गरेको भन्दै अख्तियार पुगेर कानुन विपरीत पत्र लेखाउन पुगे । सहयोगी हुनुपर्ने पार्टीका केही व्यक्तीहरू मलाई अप्ठेरो पार्न लागिपरे । यो घटना मेरो जीवनकै सबभन्दा नरमाइलो क्षण थियो । आखिर ती सबै दुस्प्रयासहरू चियाका फोका भए । केही स्थापित भएन । जाल झेल साबित भएर गए । मेरोविरूद्ध गरिएको त्यो दुष्कर्म पूर्वाग्रही र गैरकानुनी सावित भयो । यस्तै यस्तै रमाइला र नरमाइला घटनाहरूको श्रृङ्खला हो जीवन ।
तपाईंको आदर्श को को हुन् ?
मेरो पहिलो आदर्श मेरो वुवा टंकनाथ पौडेल हुनु हुन्छ । परोपकाराय चः पुण्यायः पापाय चः परपिडनम् बुवाको आदर्श थियो । दोश्रो आदर्श मेरी आमा हुनुहुन्छ । हरेक संघर्षमा मेरो साथमा हुनु हुन्छ । अन्यायविरूध्द जस्तोसुकै शक्तिसँग लड्ने साहस दिनुहुन्छ । अनि आफ्नो सम्पूर्ण जीवन स्वार्थरहित ढंगले देश जनताको नाममा समर्पण गर्ने श्रध्देय मनमोहन अधिकारी, कमरेड पुष्पलाल, जननेता मदनकुमार भण्डारी, शहिद मुखलाल महतो, कमरेड मोहन महतो कोइरी मेरा आदर्श हुन् । म सँगसँगै निस्फिक्री आन्दोलनमा हिँडेर गोली खाने शहिद हिरालाल गौतम हाम्रा सामुन्नेका आदर्श पात्र हुन् ।
तपाईं राजनीतिलाई कसरी व्याख्या गर्नु हुन्छ ?
मेरो बुझाइमा राजनिती राज्यका माध्यमबाट देशको संरक्षण र जनताको सेवा गर्ने पवित्र विधा हो । राजनिती देशको चरित्र निर्माणको आधार हो । जस्तो राजनिती त्यस्तै देशको चरित्र हुन्छ ।
जे सोचेर राजनीतिमा आउनुभयो, फर्केर हेर्दा पछुतो त लाग्दैन नि ?
२०३७ साल चैत्र १४ गतेको आन्दोलनमा पक्राऊ परेर ९ महिना जेल बसेँ । हामी दुई भाइ थियौं । हामीलाई राजकाज मुद्दा लगाएको थियो । बयान लिने क्रममा सिडीओले तिमीहरू किन राजनितीमा लाग्छौ । जीवन वरवाद हुन्छ । बरू राजनिती छोडेर काममा लाग । म जागीरमा लगाई दिन्छु भनिरहेका थिए । हामीले उनलाई जागीर खान होइन, हामी तिम्रो व्यवस्था ढालेर जागीर खुवाउने ठाृँमा पुग्न राजनितीमा लागेका हौं । तिमी आफ्नो काम गर भनेका थियौ ।
पञ्चायती व्यवस्था ढालियो । राजतन्त्र फालियो । गणतन्त्र स्थापना गरियो । पटक पटक सरकार बनाइयो । तर सरकारदेखि सरकारसम्म मात्र भएको देख्दा अलिअलि पिडा हुन्छ । कहिलेकाहिँ खिन्नता आउँछ । सारमा पछुतो नै मान्नुपर्ने चाहिँ छैन ।
राजनीतिबाहेक तपाईंको रुचिकोे क्षेत्र के हो ?
राजनितीबाहेक मेरो रूची घुमघाम हो । साथीभाइ भेटघाट हो । कृषि पनि मेरो रूचिको विषय हो । अलि अलि लेखन पनि हो । कविता लेख्छु ।
यदि तपाई राजनीतिमा नभएको भए कहाँ हुनुहुन्थ्यो ?
म राजनितीमा नभएको भए वकिल हुन्थेँ । क्याम्पसमा आईएस्सी पढ्दा मेरो उद्धेश्य डाक्टर बन्ने थियो । आइएस्सी पास नगरीकन वुवा परलोक हुनुभयो । वुवाको अनुपस्थितिमा मेरो डाक्टर बन्ने कुनै सम्भावना थिएन । मैले पढाइको बाटो बदलेर आईएतिर ल्याएँ । २०४३ सालमा मलाई रूसमा एलएलएम पढ्ने छात्रवृति मिलिरहेको थियो । त्यही समयमा स्थानीय चुनाव हुने स्थिती आयो । चुनाव लड्ने कि रूस जाने दुईमध्ये एक छान्दा मैले चुनाव लड्ने बाटो रोजेँ । आफु घरको जेठोबाठो । भाइबहिनीहरूलाई छोडेर कता बाहिर जाने भन्ने लाग्यो । रूसमा पढ्नतिर मन गएको भए म राम्रै वकिल हुन्थेँ होला ।
राजनीति फोहोरी खेल हो पनि भन्छन्, कतिपयले । तपाईंलाई के लाग्छ ?
अहिले राजनितीलाई फोहोर गर्नेहरू वलशाली हुदै गएका छन । अहिले राजनितीले आदर्शको बाटो छोडेर जाल, झेल र तिकडमको बाटो रोजेको छ । राजनिती कमाउवाद र खाउवादमा फेरिन लागेको छ । राजनितीमा गुटनिती र झुटनितीले अड्डा जमाउँदै गएको छ । राजनितीमा अपराधीकरणले समेत प्रवेश पाउन थालेकोले तिनलाई बल मिलेको छ, जो राजनितीलाई फोहोरी खेल बनाउन चाहन्छन् । तर, राजनिती सत्कर्मको माध्यम हो ।
राजनीतिमा लाग्ने मानिसमा नभई नहुने ३ वटा गुण के हुन् जस्तो लाग्छ ?
राजनितीमा लाग्ने हर कोही मानिस सिध्दान्त र विचारप्रति आस्थावान हुनै पर्दछ । सिध्दान्त र विचार विनाको राजनिती केवल रमाइलो गफ मात्र हुन्छ ।
राजनितीमा लाग्ने हरेक मानिस देश र जनताप्रति निष्ठावान हुनु पर्दछ । उसले आफ्नो देशको भूगोल, इतिहास र सामाजिक बनोटलाई राम्ररी बुझेको हुनु पर्दछ ।
राजनितीमा लाग्ने मानिसले सत्कर्ममा विश्वास गर्नु पर्दछ । कुकर्म लुकाउन राजनितीलाई प्रयोग गर्नु गलत हुन्छ ।
के राजनीति सत्तामा पुग्ने एउटा प्रकृयामात्र हो कि त्यसभन्दा फरक ?
राजनिती सत्तामा पुग्ने एउटा प्रकृया मात्र होइन । सत्तामा पुगेर जनताको सेवा गर्ने अनि सत्तालाई जनताको सेवक बनाउन सक्ने सोच र चिन्तन पनि हो ।
दश बर्षपछि भेट्दा तपाईंलाई राजनीतिमै भेटिन्छ कि अन्त कतै ?
मलाई त कुनै न कुनै रूपमा राजनितीमै भेट्नु हुन्छ । मेरो पोजिसनले मलाई कुनै फरक पार्दैन । म जहाँ हुन्छु, यसै विधामार्फत जनताको काम गरिरहेको हुन्छु ।
साना नानीहरुलाई तपाईं एक राजनीतिकर्मीको हिसाबले के भन्नु हुन्छ ?
अहिले नयाँ पुस्तामा राजनितीप्रति रूचि देखिदैन । यसको कारण अहिलेको पुस्ताको गलत छाप हो । राजनिती निकै अनुकरणीय र प्रसंसनीय काम गर्न सकिने क्षेत्र हो । श्रध्देय मनमोहन अधिकारीको नाम सबैले श्रध्दाले लिन्छन् । उहाँ राजनिती गरेर त्यति प्रशंसित हुनु भएको हो । त्यसैले दोषी राजनिती होइन । दोषी त्यसका खराव पात्र हुन् । सबैतिर असल र खराव पात्र पाइन्छन् । हामीले असल पात्र हेर्नु पर्छ भन्छु ।
प्रश्न अनगिन्ती छन् । फेरि पनि कुरा गरौंला । अहिलेलाई चाहिँ थप केही भन्न चाहनु हुन्छ ?
मलाई आफ्ना अनुभवहरू राख्ने र केही दुख बिसाउने अवसर दिनुचयो । यसको लागि धन्यवाद दिन चाहन्छु । तपाईका प्रश्नले मलाई विगतको वारेमा घोत्लिने अवसर दियो । थप धन्यवाद दिन्छु । तपाईका प्रश्नले मलाई एकपटक फेरि आफ्नो धरातल सम्झाई दियो । यसको लागि तपाईलाई मुरी मुरी धन्यवाद ।