दुई सन्तानकी आमा, जसले हजारौं बालबालिकाको साथमा जीवनको ३७ वर्ष बिताइन्

मेरो ३७ बर्ष

दुर्गा कार्की

दुई सन्तानकी आमा म हजारौं बालबालिकाको साथमा जीवनको ३७ वर्ष बिताएँ । हो, मेरो पेशा शिक्षण । अनौठो छ मेरो जीवनकथा । म आफै विद्यार्थी छँदा धेरै विद्यार्थीकी गुरुआमा पनि ।

एसएलसी गर्दैगर्दा मैले तत्कालीन समयमा पिछडिएको स्थान र समुदाय तामाङ समुदायको अशिक्षाको पर्दालाई उघार्ने उद्देश्यले एउटा ढुङ्गा माटोको र टिनको छाना भएको एउटा भवन निर्माण गरियो हामी श्रीमान श्रीमतीको आफ्नै पहलमा । साँखुदेखि २ घन्टा उकालो मणिचुर शङ्खरापुरमा । हेडमास्टरदेखि सबै विषय पढाउन सुरु गरेकी म ७ वर्ष त्यही आफै खोलेर सरकारी स्वीकृत गराइएको विद्यालय वनदेवी प्राथमिक विद्यालयमा । त्यसपछि त्यस स्थान छोड्नु पर्ने बाध्यता भएपछि नचाहँदा नचाहँदै काठमाडौं शहरभित्र पसियो । आफै भवन खडा गरी सुकुलमा बसाएर पढाएका ती तामाङ बालबालिका छोडेर आउँदा मलाई ज्यादै दुख लागेको थियो । हामीले सेवाको भावनाले त्यो विद्यालय खोलेका थियौँ ।

जडीबुटी उद्यानका ईन्चार्ज मेरा श्रीमानसॅगै म क्वाटरमा थिएँ । अचानक त्यतिकै बस्नुभन्दा त्यहाँका अशिक्षित तामाङ बालबालिकालाई पढाउन पाए शिक्षाको ज्योति प्राप्त गर्ने थिए र ५ कक्षासम्म त्यहाँ पढन पाए केही ठुला हुनेछन् र त्यस पछिको पढाइ तल बेसीमा आई साँखुमा अघि बढाउन पाउनेछन् भन्ने थियो । मैले छोडने क्रममा अन्य २ शिक्षक दरबन्दी खडा गरी छोडेर आएका थियौँ । मलाई त्यस विद्यालयमा अध्यापन गर्दै गर्दा अत्यन्त सन्तोष मिलेको थियो ।त्यहाँका मानिसहरु जो घाँसदाउरा र कुटो कोदालो गरेर जीवन बिताएका थिए, आफ्ना छोराछोरी पढाउन पाउँदा अत्यन्त खुसी थिए । विद्यालयले यद्यपि हाल कक्षा ८ सम्मको पढाइ गरिरहेको छ ।

गर्वको कुरा, मैले क ख सिकाएका विद्यार्थी त्यहाँ शिक्षक भएर पढाउने अवस्थामा पुगेका छन् । उनीहरुको जीवनस्तर उकासिएको छ । हामी श्रीमान श्रीमतीले त्यो कलिलो उमेरमै गरेको त्यो प्रयास र समाजप्रति केही गरौँ भन्ने सोच अहिले सम्झदा गर्व लाग्छ । काठमाडौॅ सहर पसे पछि म धापासीस्थित त्रियोग हाइ स्कुलमा पुन शिक्षकको रुपमा प्रवेश गरेँ र ३० वर्ष अध्यापन गरेँ ।

संयोग बडो विचित्रको थियो । सुरुमा निम्न स्तरका र पिछडिएका तामाङ समुदायका छोराछोरी पढाएँ भने त्रियोग हाइस्कुलमा एक्कासी राजदरवारका छोरीहरु पढाउन पुगेँ । देशविदेशका राजदुतका छोराछोरी लगायत काठमाडौंका सम्भ्रान्त परिवारका बालबालिका पनि पढाउन पुगेँ । एसएलसी गर्दैगर्दा अध्यापन सुरु गरेकी म ३७ वर्षे शिक्षणपछि अवकाश प्राप्त गर्दा स्नातकोत्तरको प्रमाणपत्र हात पारिसकेकी थिएँ ।

यी दुई विद्यालय जे जति अध्यापन गरेँ, त्यसबाट सन्तुष्टी कमाएँ भने ती निम्न स्तर र शिक्षाको ज्योतिबाट बञ्चित ती मणिचुरका बालबालिकालाई पढाउदा बढी सन्तुष्टी पाएँ । त्यसै गरी त्रियोग हाइ स्कुलमा पढाउँदै गर्दा त्यहाँबाट उत्तीर्ण भएका हजारौं विद्यार्थी संसारका कुनाकुनाबाट मलाई सम्झन्छन् र ‘म यो बनेँ, मैले यति पढेँ’ भनेर मलाई मायालु दृष्टिले हेर्छन् । मेरो चाहना गर्छन् अथवा भेट्न खोज्छन् । मेरो शिर गर्वले उचो हुन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button