
जो खुट्टाले होइन, लोभलाग्दो कर्मले उभिएकी छिन्

रितु शाक्य
बिहानीको ‘उर्जा ध्यान कक्षा’ सकिएलगत्तै सहभागीहरुबाट पृष्ठपोषण लिने क्रममा प्रेमल मित्र कविता शाक्यले जूममा हात उठाइन् । सधैं जसो मिठो कविता सुन्न पाइने भो भनेर कान ठाडो बनाएर बसें ।
तर त्यो दिन कविताको कविता त आएन बरु छुट्टै सिर्जना देख्न पाइयो । घरका नचाहिने, फालिने कुराहरुबाट सुन्दर सजावटका सामग्री पनि बनाउन मिल्ने रहेछ । पेस्ताका बोक्रा, कागज, खाली बोतल, रुखका हाँगा आदिबाट सुन्दर सजावटका सामग्री बनाउँदी रहिछिन् कविता मित्रले । मैले कौतुहलतावस् सोधिहालेँ, कसरी यस्तो बनाउने प्रेरणा आयो भनेर ।
थोरै गम्भीर हुँदै भनिन्, ‘नकारात्मकताको सदुपयोग मात्र हो ।’
मैले बुझ्न सकिन । पछि युट्युवमा भिडियो देखें, जसमा उनको जीवनका घटना प्रस्तुत गरिएको थियो । म त छक्क परेँ । उनी त विकलांक रहिछिन्, जुन मलाई थाहा पनि थिएन । मेरुदण्डमा चोट हुँदा उनी व्हीलचियरमा बस्न बाध्य भएकी रहिछिन् ।
जीवनमा अपत्यारिलो रुपले आउने विभिन्न परिस्थितिले जीवनमा कस्तो सम्म प्रभाव पर्दोरहेछ भन्ने कुरा उनको जीवनबाट हामीले बुझ्न सक्छौं । बैकुण्ठ शाक्य र बिष्णु माया शाक्यका कान्छी सुपुत्रीको रुपमा वाल्यकालदेखि जुनियर जेसिसमा आबद्ध हुँदै, आरजेको तालिम लिएपश्चात धौलागिरी एफएममा ‘आइ जाउ गइ जाउ’, ‘आधा आकाश’, ‘घाम छाँया’, ‘हाम्रो स्वास्थ’जस्ता विभिन्न कार्येक्रम गर्दै समाज सेवाको काममा लाग्न थालिन् ।
त्यसैबीच उनको सेवाको इच्छाले उनलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालमा स्वयमसेवक, धम्जा हेल्थ पोस्टमा अस्थाई अहेव हुँदै पाला उपस्वास्थ चौकीमा प्रमुखको रुपमा नियुक्ति हुँदै स्वास्थ सेवाको काममा तल्लिन हुँदै पछि फेरि धौलागिरी अस्पतालमा फर्किन् ।
जीवनमा अरुको सेवामा समर्पित हुँदै गर्दा उनको जीवनमा तिर्थराज एक असल साथी, प्रेमी अनि पति बनेर प्रवेश गर्छन् । मनले खाएको जागिर, अत्यन्तै प्यार गर्ने पति साथमा दुई आँखाका तारा स्वरुप पुत्र प्राप्तिले उनको जीवन स्वर्गतुल्य हुन्छ ।
अनायास यो सुखमा सायद दैवको आँखा लागेर अपत्यारिलो घटना घटित हुँदा जीवन अस्तव्यस्त हुन पुग्छ । काठमाडौंबाट बाग्लुङ फर्कने क्रममा गाडी दुर्घटनाले उनको जीवनले कोल्टो फेरेजस्तो हुन्छ । स्पायिनल कड इन्जुरीले व्हीलचेयरमा बसाइदियो, सानो कलिलो सन्तानको मृत्युले हृदय विक्षिप्त बनिदियो अनि सामाजिक अभियन्ता भनौँदाहरुबाट जागिर खोस्न हरसम्भव प्रयास भयो ।
जीवनले दिएको दुखलाई स्वीकार गर्दै अध्यात्मका विभिन्न सद्गुरुदेवहरुबाट प्रेरणा लिँदै लड्दै जुद्दै जीवनका दुख पिडा समस्यालाई जितेरै छाडिन् । आफ्नो लक्ष्यमा निरन्तर लागिरहिन् पूर्ण हिम्मत र जोश जाँगरका साथ । हरेक परिस्थितिलाई स्वीकार गर्दै आफ्नो अधिकारको रक्षा गर्दै एउटा सफल व्यक्तित्वका रुपमा प्रस्तुत भईन् । आजको दिनसम्म आइपुग्दा उनले धौलागिरी अञ्चल बाग्लुङस्थित धौलागिरी अस्पतालमा सिनियर अहेव छैठौं पदभार सम्हाल्न सक्षम भएकी छिन् ।

उनको जीवनको यो घटनाले उनको जीवनमा जति नै पिडा दिए पनि यसले उनलाई शक्तिशाली पनि बनाएको छ भने उनीभित्र लुकेका सृजना पनि प्रस्फुटित हुन मद्दत मिलेको छ । आज उनी प्रतिष्ठित पद सम्हाल्दै गर्दा आफ्नो जीवनको घटनालाई उनले सकारात्मक रुपबाट लिन सकेकी छिन् । यो घटना नहुँदो हो त उनी एक स्वस्थाकर्मीमा मात्र सिमित हुन्थिन् होला तर यस घटनाले गर्दा आज यो स्थान उनलाई प्राप्त भएको छ । हरेक नकारात्मकताको पछाडिको सकारात्मक पक्षको पहिचान हुनु पर्छ ।
रातपछि दिन अवश्य आउँछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
धन्यवाद हजुर लाई, यथार्थ बिषय लाई प्रस्तुत गरि थप हौसला प्रदान गर्न सहयोग गरिदिनु भयो