बुहारीको माइक्रोस्कोपमा रियल नारायण ढकाल

मिरा पुडासैनी

मेरो मृत्युपछि
नलेखियुन शोकगीतहरू
नछापियोस् कुनै पनि खबरकागजमा
संवेदनाका विज्ञापनहरू
र नहिँडोस् सडकमा एउटा पनि शोक जुलुस
किनकि मृत्यु मेरो शुभचिन्तक होइन
किनकि म मृत्युको विनिमय गर्न चाहन्न
किनकि म मृत्युलाई सख्त घृणा गर्दछु ।

मृत्यु शाश्वत सत्य हो, यो कहिल्यै कसैको निम्ति प्रिय थिएन र हुँदैन । अझ त्यतिबेलाको राज्य व्यवस्थाले टाउकाको मोल तोकिदिएर अराजक तत्व मानिएका क्रान्तिकारीलाई त मृत्यु स्वभाविक अनि प्रिय हुने कुरै भएन । आफ्नो अस्तित्वलाई बाँचुन्जेल नै संसारले स्वीकार्नु पर्छ भन्ने विश्वास बोकेर हिँडेका उनी कुनै हालतमा आफ्नो जीवन रक्षाको निम्ति सम्झौता नगर्ने अठोटसहित टाउकोमा कालो कफन बाँधेर हिँडिरहेका थिए । उनले सायद यो ‘जगते नेपालीको ईच्छापत्र’ कविता आफैलाई प्रतिविम्बित गर्दै लेखेको हुनुपर्छ ।

यो कविताको पहिलो हरफका हरेक शव्दहरूले सधैं मलाई अत्याइरहन्छ, यो वास्तवमै जगते नेपाली भन्ने कुनै अमुक पात्रकै ईच्छापत्र थियो कि यसै कविताका कवि नारायण ढकालको ? तर जति पटक पढे पनि जिउमा काँडा उम्रिए झैं लाग्ने कविताका हरेक शव्दहरूले सधैं घोचिरहन्छन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेको यसरी होस् मरण भन्ने गीतलाई उनले मृत्युपश्चात मात्र प्रकाशित गर्नु भनेर ईच्छा राखेका थिए रे, राष्ट्रकविको गीत जस्तै मृत्युको मर्म बोकेको नारायण ढकालको कविताले, सम्मानजनक जीवन बाँच्दै आएका उनले आफ्नो मृत्युपछि अनावश्यक होहल्ला र व्यापारिकरण नहोस् भन्ने चाहेको हुनसक्छ । मृत्युजस्तै भयानक सत्य मेरो मनको भित्तालाई प्वालै पार्ने गरी बिझ्ने पहिलो हरफका यी शव्दलाई मैले नारायण ढकालका आफ्नै ईच्छापत्रका रूपमा बुझेकी छु ।

५२–५३ सालदेखि नै उनका बारेमा सुनेकी हुँ मैले, त्यसको लगभग १०–१२ वर्षपछि धेरै नजिकबाट नारायण ढकाललाई प्रत्यक्ष चिन्ने, बुझ्ने मौका पाएँ । उनले लेखेका लगभग सबै कृतिहरू पढ्ने सौभाग्य पाउने कम्ता भाग्यमानी थिइनँ म । त्यसपछिका कतिपय उनका कृतिका पाण्डुलिपिहरू पनि मुसार्न पाएकी छु । बजारमा आउनुअघि नै कतिपय कृतिहरू पढ्ने भाग्यमानी पनि हुँ । मैले सुनेको नारायण ढकाल शिरमा कफन बाँधेर, समाज परिवर्तनको निम्ति आफ्नो जीवनको उर्वर कालखण्ड घरपरिवारसगँ विद्रोह गरेर मारिन तयार भई देशको निम्ति आफुलाई समर्पित गरेको एउटा एेतिहासिक धरोहर थिए । साहित्यिक क्षेत्रमा आफ्नो छुट्टै विशिष्ट स्थान बनाउन सफल त्यस्तो व्यक्तित्व जो पत्रकारिताको आकाशको अहिलेको जाज्ल्यवान नक्षत्र भनेर चिनिएको छ र भविष्यमा यो एउटा इतिहास भएर चिनिनै रहनेछ । यस्ता बहुआयामिक व्यक्तित्वको पारिवारिक जीवनको एउटा हिस्सा भएर उनलाई नजिकबाट बुझ्न पाउँदाको खुशी अभिव्यक्त गर्ने शब्द नै छैनन् ।

जुन दिनदेखि म उनको परिवारको हिस्सा बनें र त्यसपछिका दिनमा त्यस्तो कुनै दिन नहोला, जब म उनीबाट प्रभावित नभएको हुँदो हुँ । आजसम्म पनि हरेक दिन म संसारमा यस्ता व्यक्ति पनि जन्मिने रहेछन् भनेर सोचिरहन्छु । केटाकेटीमा आँखामा केही परेर बिझाउँदा आमाले रातीगेडी भन्ने गेडो आँखामा हाँलिदिदा एकैक्षणमा सन्चो हुने गर्थ्यो । आँखा हो, त्यस्तै आँखामा राखे पनि नबिझाउने गेडो भन्ने उखान सायद यिनकै निम्ति पो बनेको थियो कि भन्ने लागिरहन्छ । उनका जैविक परिवारले बुझेको उनी, देश, समाज, राजनीति र पत्रकारिताले बुझेको जसरी मैले उनलाई बुझ्न नसकेको हुँला ।

यो उमेरसम्म एउटै व्यक्तिप्रतिको धारणा अविचलित रूपमा परिवर्तन नहुनु संयोगमात्र नहुन सक्छ । एकै व्यक्तिप्रतिको श्रद्दा, माया, अनि कर्तव्यबोधमा बीसको उन्नाईस नहुनु भनेको पनि कुनै चमत्कार त पक्कै हैन होला नि । के यस्तो सम्भव होला त ? पलपलमा बदलिरहने मानिसहरूको बोली र व्यवहार हुने यो युगमा उनी प्रतिको मेरो अविचलित र अखण्डित आस्था र विश्वास कसरी सम्भव भएको होला ?

विज्ञानको विद्यार्थी म साहित्यमा रुचि राख्थेँ । बुवाको कोठाबाट थाहा नपाउने गरी रातारात केही थान उपन्यासहरू पढिसक्थेँ । के कुराले प्रभावित पारेको थियो गुलावी उमेरमा नै, ख्यालख्यालमै विद्यालय जीवनबाट नै कविता कोर्न थालेकी मैले थानका थान कविताका डायरीहरू कुनै आवेशमा च्यातेकी पनि छु । अझै पनि पुराना सङ्ग्रह नगरिएका कविताका हरफहरू कोरिएका केही थान डायरीहरू सुरक्षित छन् ।

साहित्य मेरो विषय थिएन तर मलाई कला साहित्यमा रुचि थियो । एक दुई पटक कलेज जीवनमा पनि कविताको निम्ति पुरस्कृत भएकी थिएँ । पढाईको कारणले निरन्तरता भएन, त्यसैले साहित्यमा गति मिलेन । तर कहिलेकाहीँ, अहिले पनि दुःख र सुखको साथी मेरो कलम र डायरीका पानाहरू हुने गर्छन् । यस कारण पनि साहित्यको रस मर्न भने पाएको छैन ।

अहिलेको व्यापारिकरण र प्रविधिको जमानामा जे कुरा पनि बिक्ने यो समयमा यदाकदा समसामयिक विषयवस्तु, समाजका तिता यथार्थहरू, वेथिति, र विसङ्गतिहरूलाई उतार्दाउतार्दै मेरो साहित्यिक छविको बारेमा समाजले चासो राख्न थालेको छ । परिवारिक भएर होला, कतिले यसलाई नारायण ढकालकै प्रभावले हो कि भनेर भन्ने गर्न थालेका छन् । कतिले त विरासतको भारी पनि बोकाइदिएका छन्, जुन असम्भव प्राय छ । यो साहित्यप्रतिको लगावमा सायद मेरो बुवाको पहिलो प्रभाव हुँदो हो । भजनलेखन, गीतकार, गजलकारको छवि बनाइसक्नु भएका मेरा बुवाको प्रभावले पो केही लेख्न थालेको थिएँ कि ? यकिन छैन मलाई ।

तर नेपाली तथा विश्व साहित्यको क्षेत्रमा चम्किलो नाम बनाइसक्नु भएका नारायण ढकालको धेरै प्रभाव हुनसक्छ ममा तर विराशत नै बोक्न सक्ने ताकत भने कत्ति पनि छैन ।

केही थान पत्रपत्रिका, साहित्यिक पत्रिकाको सदस्य, आजिवन सदस्य समेत रहेकी म सामाजिक सन्जाल र केही थान डिजिटल पत्रिकामा प्रकाशित भएका सृजनाहरू लेख्दैमा म साहित्यकार कहाँ हुन सकुँला ? यो त केवल अभिव्यक्ति स्वतन्त्रताको रूपमा आफुलाई लागेका, देखेका, भोगेका, वास्तविक तथा काल्पनिक घटनाहरूलाई कथानकका रूपमा केही सन्देश दिउँ न भन्ने हेतुले लेखिएका मेरा सृजनाहरू हुन् ।

तपाईं नारायण ढकालका बारेमा लेख्नुस् । हामी प्रकाशित गर्छौं । एकदिन कसैले भनिहाल्यो । यो मेरो विस् लिस्टमै परेको कुरा थियो । नारायण ढकालको व्यक्तित्वको प्रभावलाई आगामी पुस्ताको निम्ति दस्तावेजका रूपमा राख्छु भन्ने त लागेकै थियो । आफ्नो परिवार, देश, र समाजले चिनेको नारायण ढकाल र मैले चिनेको नारायण ढकाल दुवै एउटै व्यक्ति भए पनि, उनको ओजिलो पारिवारिक व्यक्तित्वको प्रभावलाई अक्षरमा हुबहु उतार्न मन थियो तर यो त्यति सजिलो र हलुका थिएन । समुन्द्रको गहिराईमा पुगेर मोती खोज्नु जतिकै कठिन थियो उनलाई शव्दमा उतार्न तर पनि दुस्साहस गरे असम्भव छैन भन्ने कुरा उनैले प्रमाणित गरेका धेरै किस्साहरू मैले नै सुनेकी थिएँ ।

पुरातन सोचाइबाट प्रभावित ज्योतिष परिवारको जेठो नाति जो तत्कालिन निरंकुश राजतन्त्रका कडा आलोचक, शोषणविरूद् सशक्त आवाज उठाइरहेको एउटा खिरिलो ज्यानको काँठे । पारिवारिक जिम्मेवारी लादिदिँदा छोरा ठिक ठाउँमा आउँछ भन्ने विश्वास राखेका उनका बाआमाबाट उनले त्यो भन्दा ठुलो अपेक्षा नै राखेका थिएनन् । न कि डाक्टर बनोस् भन्ने चाहनामा विज्ञान पढोस् भनेर भर्ना गरिएका उनी हङ्ग्री जेनेरेसनसगँको साक्षात्कारमा हिप्पी बनेर ठमेलका गल्ली गल्ली चहार्दै हिँड्ने अराजक व्यक्तिको छविमा रूपान्तरित भएका उनीबाट उनका बाआमाले यस्तो अपेक्षा राखेका थिए ।

दुई फरक धार र फरक मनोदशाबाट गुज्रिरहेका दुई पुस्ताबीचको अघोषित लडाईंमा दुवै पक्ष पटकपटक हारेका थिए । आफ्ना कुनै पनि सन्तानबाट वा भनौं आफ्नो जेठो सन्तानबाट कुनै पनि बाआमाले त्यस्तो विग्रह, विद्रोहको अपेक्षा गरेका हुँदैनन् सायद । त्यसैले पनि उनको निम्ति पारिवारिक सम्बन्ध, सहयोग सुखद र सौहार्दपुर्ण हुन सकेको थिएन ।

आफ्ना सन्तानले पढुन, प्रगति गरून्, खुट्टामा उभिउन्, धेरै सम्पति जोडुन्, परिवारलाई सुखी र खुशी राख्न सकुँन् जस्ता ईच्छा पाल्ने धेरै जसो बाआमाको ईच्छा जस्तै उनका बाआमाका रहर र ईच्छा पनि अस्वभाविक र अनैतिक थिएनन् । यो सबै रहर पुरा गर्न नसकेकाले नै उनी कुनै कोणबाट पनि कर्तव्यपरायण छोरा भएनन् । त्यसैले परिवारिक जिम्मेवारी र बोझ थपिदिएपछि बाआमाको नजरमा बिग्रिएको छोरा सुध्रिएला, पैसा कमाउने काम गर्ला, आफ्नो सन्तानको जिम्मेवारी निभाउँला भनेरै बेलैमा आफुबाट छुट्टाएर राखिदिए । बर्सेनि जन्मिएका ५ सन्तानसहित बाआमासँग छुट्टिएका उनको शरीर, मन अनि मष्तिष्कमा क्रान्तिको आगो भड्किरहेकै थियो र त्यो निभ्नेवाला पनि थिएन । उनले त्यति बेलाको जीवन नै सायद व्यवस्था परिवर्तनको निम्ति समर्पित गरेको हुनुपर्छ । परिवारको निम्ति मात्र भनेर कहिल्यै उनका पाइलाहरू रोकिएनन् । उनी त्यति स्वार्थी हुन चाहेनन् सायद, किनकि उनलाई आफ्नो परिवार मात्रको चिन्ता हैन सम्पूर्ण गरिव, निमुखा, भोका, जनताको परिवारको चिन्ता थियो । यो कुराले उनको परिवार सधैं दुःख, चरम अभाव, रोग अनि शोकका विचमा रूमलिन बाध्य भइरह्यो । तर कत्ति पनि हिम्मत नहारी उनी लागि नै रहे समाज अनि देश परिवर्तनका निमित्त । आज देशले यस किसिमको परिवर्तनको स्वास फेर्ने गरी व्यवस्था परिवर्तनको निम्ति गरिएको क्रान्तिमा उनको अतुलनीय योगदान रहेको छ, भलै त्यसबीचमा उनको जिम्मामा रहेका श्रीमती, छोराछोरीले सधैंजसो अभाव, दुःख र कष्टकर जीवन व्यतित गरिरहनु पर्यो ।

परिवारका निम्ति उनका बाआमाले चाहे जस्तै पैसा मात्र कमाउनेतिर मात्र नलागे पनि उनका सन्तानहरू, उनका सबै सन्तानहरू सक्षम भइसके । उनकै योगदानले छोराछोरी डाक्टर, इन्जिनियर, शिक्षक, र अफिसर भई आफ्नो सुखद भविष्य निर्माणमा जुटिरहेका छन् । खान, लगाउन, पढाउन त्यतिबेला त पुराएकै थिए भने अहिले नपुग्ने कुरा नै भएन । पैसा मात्रै कमाउनतिर लागेको भए सायद नाम, सम्मान, इज्जत, प्रतिष्ठा मिल्थ्यो वा मिल्दैनथ्यो । समय सधैं एकनास रहेन, सधैं पैसा कमाएन भनेर गुनासो गरिरहने उनकी आमाले पनि नाम, इज्जत र प्रतिष्ठा कमाएको छोराको नामलाई सधै गौरवका साथ बाँचुन्जेल लिई नै रहनु भयो । पैसा कमाउनुमात्र सबथोक हैन रहेछ, आफ्नो सर्वश्व त्यागेर पनि निष्ठाको राजनीति मात्र गरेकाले उनले पैसा नकमाए नि आजसम्म कसैले उनको स्वाभिमानलाई चुनौती दिन सकेको छैन ।

जेल, नेल र टाउकाको मोल तोकिदिएको निरङ्कुस व्यवस्थाले सधैं परिवारमा उनको मृत्युको अनिश्चित भय दिइरहन्थ्यो । पद, पैसा र पावरका निम्ति उनी लागैकै थिएनन् । बाआमाबाट तथा परिवारको निम्ति सधै काम गरेन, पैसा कमाएन, छोराछोरी हेरेन भनेर गुनासो गरिरहेता पनि उनले कहिल्यै न आफ्नो अभावका बारेमा कसैसगँ गुनासो गरे, न त कसैसँग हात फैलाए, न त कुनै सम्झौता गरे । उनको कहिल्यै स्थायी जागिर भएन । आफ्नो भागको पुर्ख्यौली सम्पतिमा परेको जमिनमा खेतीपाती गर्ने, छोराछोरी हुर्काउने जिम्मा श्रीमतीकै थियो । निक्कै दुःखजिलो गरेर उनकी श्रीमतीले हुर्काएका छोराछोरी अहिले सबै आ–आफ्नो खुट्टामा उभिएका छन् । छोराछोरीलाई उनीहरूको क्षमताका र आफ्नो हैसियतका आधारमा शिक्षादीक्षा, उनीहरूको कर्म, विवाह र सम्पूर्ण जिम्मेवारी आफ्नो क्षमताले भ्याएसम्म कसैसँग सहयोग, दया र सम्झौता नगरिकनै पूरा गरिदिएका थिए । जीवनभरको राजनैतिक कमाई उनको नाममात्र भयो, पैसा, पावर, र चाकडीतिर कहिल्यै अग्रसर नभएका उनले कडा व्याजमा ऋणै काँडेर र आफ्नो अंश भागमा परेको जमिन बिक्री गरेरै भए पनि पारिवारिक उत्तरदायित्व निर्वाह गरे ।

सधैंभरी निष्कलङ्क,र बेदाग राजनितिक जीवन बाँचेका उनले लगभग ५५–६० बर्षकै उमेरदेखि राजनीतिबाट आफू अलग्गाएर आफ्नो रिटायर्ड जीवन पुरै पारिवारिक भई, साहित्यिक विशिष्टतामा रमाईरहेका छन् ।

कहिलेकाहीँ लाग्छ, सधैं निस्फिक्री–बिन्दास बाँचेका झैं लाग्ने उनको जीवनप्रतिको गुनासो चाहिँ के होला ? आफ्नो जीवनप्रति कतिको सन्तुष्टि छन् होला ? तर सोध्ने आटँ आउँदैन । उनको जीवनलाई नियालिरहँदा मैले उनीभित्र त्यस्तो कुण्ठा र असन्तुष्टि कहिल्यै देखेकै छैन । जोगी, साधु, भिक्षुहरूमा बरू लोभ, कुण्ठा र ईर्ष्या पाइएला, तर मैले कहिल्यै उनमा यी कुराहरू देखेकी छैन ।

मैले सुन्दै आएकी छु, उनले कहिल्यै आफुले जन्माएका छोराछोरीलाई नजिकबाट स्याहारसुसार, रेखदेख र काखमा खेलाएका थिएनन रे, धेरैजसो भुमिगत रहने उनलाई बाध्यताले पनि त्यो अवसर नमिलेको हुनसक्छ तर उनी नातिनातिना भनेपछि हुरूक्क हुन्छन् । यो सब सावाँको भन्दा व्याजको माया बढी हुने भएर पो हो कि ? मेरा छोराछोरी उनको प्रत्यक्ष सामिप्यतामा रहन्छन् अनि नाति नातिनीहरू पनि उनी भनेपछि त्यो भन्दा बढी हुरूक्क हुन्छन् । तिनैको रेखदेखमा आजकल उनको पुरा समय व्यतित हुने गरेको छ । उनकी श्रीमतीले पनि उतिबेला आफुलाई दिएको दुःखका कहानीका तानाबाना सुनाइरहँदा, छोराछोरी नहेरिदिएर दुःख पाएको कुरा भनिरहँदा पनि सधैं मुस्कुराइरहन्छन् । आफ्नो बचाउमा स्पष्टिकरण दिनु पर्ने आवश्यकता मान्दैनन् । उनीसँग समयको माग र आवश्यकताको धेरै ज्ञान छ ।

अचम्म लाग्छ मलाई, कस्तो सहनशिलताको पहाड हुन उनी ? यो पितृसत्तात्मक समाजमा आफू पुरूष हुनुको त्यस्तो अहम् उनमा कतै देखेकी छैन । सधैं नारीहरूप्रति विशेष सम्मानभाव राखेको देखेकी छु । आजसम्म श्रीमतीले निर्देशित गरेका र अर्हाएका हरेक कुरामा कति सजिल्यै आज्ञाकारी छात्र जस्ता भईदिन्छन् । मैले समाजमा कति खराव र क्रुर श्रीमानहरू देखेकी छु, जस्ले श्रीमतीलाई सधैं कुजात भनेर परिभाषित गर्दै घरको कामदारका रूपमा मात्र दबाएर राखेका उदहारण प्रशस्तै छन् । तर उनमा पितृसत्ताको कुनै लेस पनि कहिल्यै देख्दिनँ मैल त । उनले भातभान्सा गरेको देखेकी छु, भाँडा मस्काएको, कुँचो लगाएको, लुगा धोएको पनि देखेकी छु । बिहान र बेलुकी समयमा करेसाबारीमा कोदालो, कुट्टोमा झुत्तिएर उनकै परिश्रमले रोपेका र फलाएका मौसमी तरकारीहरू हाम्रा भान्सामा पाक्ने गरेका छन् । घरमा हरेक महिनाका चार दिन प्राय भान्सा सम्हाल्ने जिम्मा उनैको हुने गर्दछ ।

कहिले नाकको डिलसम्म चस्मा झरेको याद नहुने गरी, गर्धन नै बाङ्गिगएला झैं घण्टौंघण्टा अध्ययनशील, लेखनशील, चिन्तनशील उनको स्वरूप पनि देखिरहन्छु । घरबाट बाहिर कुनै काम परेर निस्किनु परेको बेलामा फेरि जिन्स प्यान्ट, कालो चस्मा, क्याप लगाएर टिपटप ठिटो जसरी ठाँटिएर हिँडेको पनि देखिरहन्छु ।

मैले सधैं सुनिआएको कुरा विद्यार्थीकालमा उनका बुवाले विज्ञान पढाएर डाक्टर बनोस् भनेर चाहेका उनी, राजनीतिको नशा लागेर हो कि वास्तवमै पढ्न नसकेर साइन्स छोेडेर अरू नै विषय पढेका उनी आजकल ४ र ९ कक्षामा पढ्दै गरेको नातिनी र नातीलाई सिकाउनकै लागि इन्टरनेट, गुगल सर्च इन्जिनबाट विज्ञानका नियमहरू, अल्जेब्रा, अर्थम्याटिक, ट्रिगोनोमेट्रीका नियमहरू सिकिरहेका र पढिरहेका हुन्छन् । यो उमेरमा पनि कस्तो लगनशीलता हो यो उनको ? म त अचम्म पर्छु ।

उती बेला श्रीमानले आफू र परिवारलाई समय नदिएको, दुःख दिएको भनेर गुनासो पोखिरहने श्रीमतीकै सेवामा आजकल उनको समय बितिरहेको छ । उमेर अनुसारको रोग, र शारिरिक समस्याले सधैंजसो विरामी भइरहने उनकी श्रीमतीको सेवा, सुश्रुसामा कहिल्यै झिझों मानेको देखेकी छैन । न त श्रीमतीको सेवा गर्नु हुन्न भन्ने मानसिकता देखिन्छ उनमा । यस्तो विशिष्ट व्यक्तित्वको छवि बनाइसकेका उनले श्रीमतीको रेखदेख र सेवाकै निम्ति भनेर धेरै साहित्यिक सभा, सम्मेलन, कार्यक्रमहरू छोडेको देखेकी छु । त्यो घरको बुहारी भइरहँदा पनि कहिल्यै मलाई आफ्नो काम छाडेर घरायसी काम बुहारीले नै गर्नुपर्छ भन्ने बाध्यात्मक स्थिति आउन दिएका छैनन् । यो उमेरमा उनले श्रीमतीलाई गर्ने माया, समर्पण र सम्मान देखेर लाग्छ, पति पत्नीलाई एक अर्काको आवश्यकता जवानीमा भन्दा पनि बुढेसकालमा बढी हुँदोरहेछ र यो पतिधर्म उनले आत्मादेखि नै निभाइरहेका छन् । उनले युवाअवस्थामा श्रीमती र परिवारलाई नदिएको वा दिन नसकेको समयको भर्पाइ सायद यो उमेरमा पो गरिरहेका हुन कि ? उनको जस्तो यो सेवाभाव कैयौं दम्पतीको भाग्यमा नहुन पनि सक्दछ ।

आजसम्म पनि उनका कारणले परिवारमा कसैलाई असहयोग, वा अप्ठ्यारो परेको कहिल्यै देखेकी छैन । लगभग आफ्नो जीवनको ७ दशकको यात्रामा हिँडिरहेका उनी आज पनि यति सक्रिय छन् कि घरमा कुनै पनि मर्मतसम्भारका काम, घरव्यवहारमा आईपर्ने कुनै झन्झटिलो कामदेखि सानातिना, झिनामसिना कामहरूमा हामी छोरा बुहारीले टाउको दुखाउनु परेको छैन ।

अझ विवाह भएर उनको परिवारको हिस्सा हुन आइसकेपछि मलाई सबभन्दा ठुलो साथ, सहयोग, र विश्वास निरन्तर रूपमा उनीबाट नै मिलेको छ । सधैं कामकाजी महिलाका रूपमा आफुलाई उभ्याउने कोशिस गरिरहँदा निरन्तर रूपमा उनीबाट पाएको सहयोगका निम्ति सधैं कृतज्ञ छु । आज पनि दैनिक घर व्ययवहारका अप्ठ्याराहरू, छोराछोरीको रेखदेख, खाजा, पानी, गृहकार्य सबै उनकै जिम्मा रहेकाले मैले ढुक्क भएर आफ्नो काममा समय दिइरहेकी छु । हप्ताका ६ दिन मेरो कार्यालयको समय बाहेकका समयमा मात्र उनले आफ्नो कामको निम्ति शनिवारको वा मेरो विदाको दिनमात्र समय निकाल्ने गरेका छन् । यस किसिमको समझदारीले गर्दा नै हाम्रा काम बन्ने गरेका छन् । यस्तो सरल, समझदार, विवेकी, सहयोगी नभईदिएको भए घर, परिवार र अफिस गर्न मलाई पक्कै सजिलो हुने थिएन । पुरूषप्रधान यो समाजमा हाम्रो घरका पुरूषहरूले, बिहान–बेलुकी घरव्यवहार मिलाई व्यवसायिक कामको निम्ति सहजीकरण नगरिदिएको भए सायद म पनि भातभान्सामा मात्र सिमित हुनुपर्थ्यो कि ?

मैले सुनेसम्म उनका बाआमालाई आफ्नो जेठो छोराले डाक्टर नबनेको, कुनै स्थायी वा सरकारी काम नगरेको वा पैसा कमाउन नसकेको, हेडमास्टरको जागिर राजनीतिको निम्ति भनेर छोडेको कुरामा सधैं गुनासो थियो रे । हुन पनि हो, हरेक आमाबुवाले त आफ्ना सन्तानले धेरै पढुन्, आफुले भन्दा बढी उन्नति प्रगति गरून्, परिवारको खुशीको निम्ति सधैं अघि बढिरहुन भन्ने चाहेका हुन्छन् । बाआमालाई त जेठो छोराले पैसा नकमाएकाले उसले दुःख पाउला, छोरा, बुहारीसगँ घरव्यवहारको निम्ति पैसा माग्नु पर्ला भनेर चिन्ता भइरहन्थ्यो रे । तर हरेक बाआमाले आवयकतामा आफ्ना सन्तानसगँ पैसा माग्न नहुने हुन्छ र ? हाम्रो पुर्विय सभ्यतामा बाआमाले छोराछोरी नहुर्कियुन्जेल पढाउने, लेखाउने र आफ्नै खुट्टामा उभिन नसकुन्जेलसम्म लालनपालन गर्ने जिम्मा रहेको हुन्छ । छोराछोरी सक्षम भएपछि छोराछोरीले नै बाआमाप्रतिको जिम्मेवारी र दायित्वबोध बहन गर्नै पर्छ । तर उनकी आमामा यो चिन्ता बाँचुन्जेल नै रहिरह्यो । र, आजका दिनसम्म न त हामी छोरा बुहारीसँग केही कुराको निम्ति उनले खर्च मागेका छन्, न हामी छोराबुहारीले कहिल्यै पनि उनको निम्ति पकेट खर्च तथा कुनै पनि अन्य खर्चहरू दिनुपरेको छ । घरव्यवहारका कुराहरूमा बरू उल्टै हामीलाई सहयोग मिलिरहेकै छ । कहिलेकाहीं नातिनातिनीले हामीसँग नभनेका र भन्न नसकेका कुराहरू किन्नका निम्ति हजुरबुवा भन्ने गरेका रहेछन्, छोराछोरीले खर्च गराईदिन्छन्, त्यसकै निम्ति भनेर कहिलेकाहीँ यसो अलि अलि खर्च मैले पनि दिने गरेकी थिएँ, तर मलाई त्यसमा पनि उनको अपमान हुने हो कि जस्तो लागेर दिन छाडिदिएँ । बाआमा पाल्ने र पालिने कुराहरू व्यक्ति–व्यक्तिबीचको फरक बुझाई हो भन्ने लाग्छ । हामीले गर्वसाथ बाआमासगैं छौं भन्नु भन्दा ठुलो गर्वको कुरा बाआमा पालेका छौं भन्दा कहाँ मिल्छ र ?

माक्र्स र लेनिनका सिद्धान्तबाट प्रभावित र आजसम्म एक कट्टर कम्युनिस्ट नेताको छवि बनाएका उनी मुर्ति पुजाको विरोध गर्छन् तर बेलाबेलामा मन्दिर गइदिन्छन्, परिवार र श्रीमतीकै मन राख्नका निम्ति कहिलेकाही पान्चायन पुजा, घरपुजा, नाग पुजा, शान्तिस्वस्ती आदिमा निर्विकल्प र निर्विरोध सरिक भइदिन्छन् ।

कुनै पनि बैगुण नदेखेको यस्तो मानिस आजसम्म मैले देखेको, सुनेको र भेटेको छैन । मेरा छोराछोरीले मलाई भन्दा पहिला सम्झने उनीहरूका हजुरबुवा नारायण ढकालको लगानी, मिहिनेत घरपरिवारमा मात्र सिमित कहिल्यै भएन । तर लगानी अनुरूपको प्रतिफल सबैलाई मिल्छ नै भन्ने पनि हुँदो रहेनछ । देशले चिन्नुपर्ने धेरै कुराहरूलाई नचिनेको अवस्थामा उनको राजनैतिक लगानी, साहित्यिक क्षेत्रले पनि चिन्नुपर्ने जति नचिनेकोमा पनि उनमा कुनै कुण्ठा छैन, आक्रोस् छैन । यायावर उनी निरन्तर लागिरहेका छन् आफ्नै गतिमा साहित्यका माध्यमबाट समाजका वेथिति, बिसङ्गति हटाउन कलम चलाइरहेका छन् । अझै थाकेका छैनन् उनका पाइलाहरू, एक सुयोग्य नागरिकका हैसियतले देशप्रतिको जिम्मेवारीबाट, पारिवारिक धरोहरका रूपमा पारिवारिक दायित्वबाट । कहिल्यै नसेलाओस् उनका जोश, जाँगर र आत्मविश्वासहरू । उनले लेखेको ‘जगते नेपालीको इच्छापत्र’ कवितामा भनेजस्तै म चाहन्छु बाँचुन्जेल नै उनीप्रतिको मेरो सम्मान, आदरभावहरू, मैले भन्न चाहेका कुराहरू, मलाई दिएको माया, विश्वास, सहयोग र सद्भावका निम्ति उनलाई धन्यवाद भन्न सकुँ । जो जस्तो हो, ऊ बाचुन्जेल र मरेपछि पनि उस्तै देखिनुपर्छ भन्ने विश्वास राख्छु । बाँचुन्जेल नराम्रो देख्ने तर मरेपछि गुणगान गाउने संस्कार छ । फेरि भोलि त कसले पो देखेको छ र ? म नै पो नरहन पनि त सक्छु नि । मेरो निम्ति एउटा यस्तो महासागर जसको गहिराईमा पुगे पनि सजिल्यै भेटिन नसकिने अमुल्य निधि जस्ता व्यक्तित्वको बारेमा केही लेख्ने दुस्साहस गरेकी छु ।

आजसम्म अनवरत देश, समाज, परिवार, साहित्य तथा पत्रकारिताका क्षेत्रमा गरेको जति योगदानमा मिल्नुपर्ने जति नाम र सम्मान मृत्युुपछि नै सहि तर यो चाहिँ पक्कै हुनेछ,

लेखिनेछ उनको मृत्युमा पनि शोक गीतहरू
प्रशस्त छापिनेछन् संवेदनाका विज्ञापनहरू,
निक्कै लामो हुनेछन् सडकमा शोक जुलुसहरू पनि,
मृत्युलाई घृणा गर्दागर्दै पनि एकदिन
शुभचिन्तक भई मृत्युले उसको बाहुपासमा समाहित गर्नेछ,
तर एकदमै गर्विलो सम्मानजनक हुनेछ त्यो अन्त्य,
मरेर गए पनि मेटिने छैनन् मायाका बन्धनहरू
बाँचिरहनेछ आत्मा घरको चारकोस् र छानामा
भान्सा ,थाम ,गारा अनि भित्ताहरूमा
खेतका गर्हा अनि बारीका पाटाहरूमा,
तिता मिठा सम्झनाका कुईनेटाहरूमा,
साहित्यका ठेलीहरूमा,
पत्रपत्रिकाका पानाहरूमा,
मेरा छोराछोरीका बोलीमा,
उनीहरूका व्यवहारमा,
उनले दिएका संस्कारमा
सधैँ सधैँ
किनकि मृत्यु शाश्वत छ
कसैकसैको मृत्युले उसलाई झन् अमर बनाइदिन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button