श्रीमतीको काखमा आमाको स्पर्श

एलिसा लिम्बु

हिजोआज धेरैबाट सुनिन्छ, ‘लिभिङ टुगेदर’ प्रसङ्ग । के साँच्चिकै यो विवाहभन्दा उत्तम हुन्छ ? आजकालका धेरै युवाहरूको भन्नु यहि छ कि यदि विवाहको बोझ नउठाइ पनि जिन्दगीको सबै आनन्द लिन सकिन्छ भने किन विवाह गर्नु ? सायद म पनि पश्चिमी चलचित्रहरु हेर्ने भएकोले त्यसबाट धेरै प्रभावित भएर मलाई नि लिभिङ टुगेदर नै ठिक जस्तै लाग्यो ।

तर, म त गलत रहेछु । त्यो कुरा मलाई आज मात्र थाहा भयो । विवाहको महत्व मलाई मेरा बुवा जस्तै मानिसले आफ्नु आँसुको मसीले कारिएको कथा सुनाएपछि मात्र थाहा भयो । पढेको त थिएँ, ‘विवाहले दुई व्यक्तिलाई मात्र होइन, दुई आत्मा, दुई परिवार र दुई बेग्लाबेग्लै संसारलाइ एउटा बनाउँछ ।’ मान्छे भित्रको एक्लोपन त ऊभित्रै लुकेको हुँदो रहेछ, आज थाहा पाएँ ।

सोच्थेँ, एक बालकले आफ्नी आमा गुमाउँदा उसलाई टुहुरो भनेर भन्छन् तर किन मेरो बाबाले आफ्नी आमा गुमाउँदा उहाँलाई टुहुरो नभनेको होला ? के बालकलाई मात्र टुहुरो भन्न मिल्ने हो कि ?

‘सुन कान्छा ! जीवनमा आफुले माया गरेको मान्छेलाई आफ्नु जीवनसाथी बनाउन पाउँदा जतिको ठुलो खुसी सायदै अरु केही होला’, यति भन्दै बुवाले आफ्नु नयनबाट तपक्क मोतीका दाना खसाउनु भयो । एउटा हातले आँसु पुछ्दै र्को हातले मलाइ डेरीमिल्क दिँदै भन्नुभयो, ‘आज तिम्री आमाको जन्मदिन !’

सायद आमाको अगाडि स्वर्गीय भन्ने शब्द जोड्ने आँट जुटाउनु सक्नुभएन क्यारे ! मैले नि चक्लेट पाको खुसीले होला, ‘लौ है हाम्री आमाको आयु लामो होस्’ भनिहालेर झसङ्ग भएँ । मैले त भन्नै नहुने कुराको पो भनेछु । अन्जानीमा भए नि मैले बुवाको मन दुखाएँ । तर, बुवाले मलाई हेर्दै हाँसी मात्र दिनुभयो ।

‘कान्छा ! विवाह गरेको पाँच वर्षपछि २० वर्षसम्म तिम्री आमा मसँग रहेर नि मैसँग रहिनन् । मेरै साथमा रहेर नि सायद उनी एक्लै नै रहिन् होला । तर मेरो जीवन जिउने प्रेरणा र सहारा सदैव उनी नै थिइन् । थाहा छैन, उनको जीवन जिउने सहारा म बन्न सकेँ कि सकिनँ ? थाहा नि कसरी पाउनु, न त उनी बोल्नै सक्थिन् न त हलचल गर्नै । भनिन्छ, आफुले माया गरेको मान्छेलाई पाउने इच्छाभन्दा धेरै उनलाई गुमाउने डर धेरै लाग्छ । आमापछि एउटा छोरा मान्छेको लागि उस्को श्रीमती नै आमा सरह हुन्छिन् । जीवन जिउने प्रेरणाको मुहान !’

जब उहाँले यो कुरा भन्नू भयो अनि थाहा पाएँ, ‘आखिर किन मरो बाबा हजुरमुमा बितेर नि टुहुरा हुनुभएन छ ।’

‘हुन त दैवले उनलाई मदेखि धेरै टाढा लान खोज्या हुन् तर सायद उनी मानिनन् बरु जिउँदो लाश भए पनि उनले मलाई साथ दिइरहने दृढता बनाइन् । जोसँग मैले प्रेम गरे विवाह गरेँ, उनीसँग मैले जिन्दगी सँगसँगै जिउने सपना मात्र नभएर सायद मरणको पनि सपना देखिसकेको थिएँ । अचानक उनलाई प्यारालाइसिस् भयो । मलाई लाग्यो, मैले बाहिरबाट घरभित्र आउँदा मेरो टाउको दुख्यो भनेर उनलाई भन्न जानेँ तर सायद उनको सन्चो बिसन्चोप्रति प्रश्न गर्न कहिल्यै जानिनँ । जान्नु नि कसरी ? उनको लागि आफ्नु श्रीमान र दुई भाइ छोराहरुको खुसी नै उनको खुसी हुन्थ्यो । सायद त्यसैले उनले आफ्नु व्यथा पनि आफुले महसुस गरिनन् । डाक्टरको मुखबाट यो खबर सुन्नासाथ मेरो आँखामा आँसु आउनुभन्दा पहिला मेरो हृदयमा छुरा रोपियो । म आफूलाई सम्हाल्दै उनीकहाँ जान खोजेँ तर सकिनँ र भर्खरै आफ्नी आमा गुमाएको टुहुरा बालक झै रोएँ । धेरै बेर भक्कानिएँ र सोचेँ, यदि उनी मेरो निम्ति कालसँग लड्न सक्छिन् भने म कसो उनको लागि आफ्नु भाग्यसँग लड्न नसकुँला र ! सधै उनलाई अङ्गालोमा बेर्ने भएर होला, उनको हात समाउँदा आमाको हात समाए झै भयो । सोचेको त थिएँ, एक थोपा आँसु नि देखाउने छुइन तर असफल भएँ । उनी नि रोइन्, म नि रोएँ । फरक यति थियो कि म आवाज निकाल्दै रुदै थिएँ, उनी केवल आसुको धारा बगाइरहेकी थिइन् । मैले आफ्ना दुई सन्तानको भविस्यको लागि भए नि काम गर्नु नै पथ्र्यो । त्यसैले मैले उनको हेरचाहको लागि एउटी नर्स खोजेँ । जागीरको समयबाहेक हरपल म उनकै साथमा हुन्थेँ । आफ्नु चुट्किलामा म एक्लै हाँस्थेँ तर खै किन हो आँसु झर्दा भने दुवैको साथमै झथ्र्यो । हरेक तीजमा मैले उनको लागि व्रत लिने गर्थें उनको लामो आयुको लागि तर उनको आँखा अगाडि उनको पाउको पानी खाने सामर्थ्य चैं कहिल्यै जुटाउनु सकिनँ । हरेक रात म उनको काखमा आफ्नु शीर राखेर मनमनै उनलाई भन्थेँ, मलाई एक्लो पारेर नजानु है । उनी नबोले पनि म उनको धेरै कुरा बुझ्थेँ । उनको आखाको भाव पढ्न सक्थेँ । उनको काखमा नि उतिकै आनन्द पाउँथें जति पहिला । किन हो किन मलाई मेरो पहिलाको जीवनभन्दा यो जीवनको धेरै नै माया लाग्न थाल्यो । चाहन्थेँ कि यो जीवन अझै लामो समयसम्म यसरी नै चलिरहोस् । मलाई उनको जीवनभर ख्याल राख्ने सौभाग्य मिलिरहोस् । तर चाहे जस्तो कहाँ हुँदो रहेछ र जीवन । आखिर उनले मलाई छाडेर गइन् एक दिन । आखिर मैले उनको नाममा २० वर्षसम्म लिएको व्रतलाई उनले मेरो लागि लिएको ५ वर्षसम्मको व्रतले नै जित्यो । सयद उनको आस्था अगाडि मेरो व्रतले हार मान्यो । आमा त सानुमै गुमाएको थिएँ, अब त आमाको स्नेह पाउने काख नि गुमाएँ । अब म जीवन्त टुहुरो भएँ ।’

बुवाको कहानी सुनेपछि मेरो मनमा एउटै मात्र प्रश्न आयो, ‘आखिर कसरी उहाँले आफ्नी प्यारालाइसिस् भएकी श्रीमतीको ख्याल राख्न सक्नु भयो होला २० वर्षसम्म ? के उहाँलाइ कहिलै वाक्क लागेन कि ? के उहाँलाई आफ्नी श्रीमतीको मलमुत्रदेखि कहिल्यै घिन लागेन कि ?’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button