
बुद्धिबहादुर थकाली, जसले आफ्नो बयान आफैले गरेनन्
दुर्गाप्रसाद शर्मा
बटुवल–४, लक्ष्मीनगर
उदात्त मनले समाजको सेवा गर्ने मानिस विरलै पाईन्छ । विना स्वार्थ कार्म गर्ने व्यक्ति हाम्रो समाजमा कताकता लुकाईएको वा ओझेलमा पारिएको हुन्छ । धेरै कुरा गर्ने, तडकभडक देखाउने, अरुको धनले आफुले समाजको सेवा गरेको देखाउने, कामभन्दा प्रचारको खेलो गर्ने, पहुँचवालासँंग तारतम्य मिलाउने व्यक्तिले नै समाजमा फुर्तिफार्ती गरेको देखिन्छ । तर, निस्वार्थ भावनाले नागरिकको दुख, सुख, पिरमर्का र समाजको हरेक काममा अग्रसर भै काम गर्ने व्यक्ति प्राय ओझेलमै पारिएको हुन्छ । मलाई लाग्छ, बुटवलको विकासमा कोषेढुङ्गा थप्न अहोरात्र खटेका समाजसेवी बुद्धिबहादुर थकाली पनि त्यसैमध्येका हुनुहुन्थ्यो कि ?
मनमाया थकाली (गुरुङ्ग)को जन्म वि.स. १९८४ सालमा पोखरामा भएको थियो । उहाँ पोखरामै हुर्के बढेकी हुनुहुन्थ्यो भने बुद्धिबहादुर थकाली वि.स. १९७९ साल भदौ २५ गते मुस्ताङ्गको टुकुचे, ठिनीमा जन्मे हुर्केका हुनुहुन्थ्यो । बुद्धिबहादुर थकालीले सानै उमेरमा आफ्ना बाबु गुमाउनु परेको रहेछ । उहाँलाई बाबुको मृत्यूको सम्झना समेत रहेन छ । आमा सुनमाया थकालीले ६ वर्षको छोरा काखमा लिई विभिन्न संघर्षका साथ छोरा बुद्धि बहादुरलाई हुकाउनु भएछ । उमेर छिप्पिदै जाँदा १८ वर्षको उमेरमा दोस्रो विश्वयूद्ध ताक ब्रिटिस छाउनीमा भर्ना भै युद्धमा होमिनु भएछ । युद्धको रणसंहारदेखि नसक्नु भएकोले २००४ सालमा ब्रिटिस पल्टन च्वाट्टै छोडी बुटवलमा आई बसोवास गर्नु भएको रहेछ ।

फौजी जीवन छंदै विवाह गरी एक छोराको पनि जन्म भएको रहेछ । आमा, पत्नी र छोरा पहाड घरमै छोडी आफु बुटवल बसेको समयमा अचानक तीनै जनाको देहान्त भएछ । तीनै जनाको काजक्रिया आफ्ना धर्म मामाले गरिदिएछन् ।
विद्रोही स्वभावका बुद्धिबहादुर थकाली समाजमा भए गरेका अन्याय, अत्याचार र थिचोमिचोको विरोधमा डटेर मुकाविला गरी सामाजिक काममा नेतृत्व लिन थाल्नु भएछ । यता वि.स.२००५ सालमा आफ्नो बैनीलाई साथ लिएर पोखराबाट बुटवल घुम्न आउनु भएकी मनमाया थकाली (गुरुङ्ग) २२ वर्षको उमेरमा वि.स.२००६ सालमा बुद्धिबहादुर थकालीसँग विवाह बन्धनमा बाँधिनु भएछ । त्यसै समयमा प्रजातन्त्र प्राप्तीका लागि डा. के. आई. सिंहको राणा शासन विरोधी समुहमा लाग्नु भएको कारणले २००६ साल फागुन महिनातिर राणा शासन विरोधको आरोपमा प्रहरी प्रशासनले गिरफ्तार गरी भैरहवा जेलमा राखेछ । २००७ सालको भदौतिर केहि साथीहरुसहित जेलतोडी नेल हत्कडीसहित फरार हुनु भएछ र भारतको नौंतनवा गै एउटा साथीको घरमा बस्नु भएछ । भरखरै विवाह भएको लोग्नेसँग टाढिँदा मनमायालाई कति पिडा भए होला ? तैपनि हिम्मतका साथ गोप्य रुपमा आफ्नो लोग्नेलाई र उहाँका साथीहरुलाई भेट गर्न नौंतनवा जाने आउने क्रममा यताको खवर उता, उताको खवर यता गर्दे हरेक काममा जोखिम मोलि साथ र सहयोग गरी धेरै कुरामा सघाउने काम गर्नु भएछ ।
प्रजातन्त्र आएपछि बुद्धिबहादुर थकाली स्वतः खुला राजनितिमा लाग्नुभै बन्दव्यापार र सामाजिक कार्यमा अग्रसर हुनु भयो । झैझगडा, मुद्धा मामिला, मेलमिलाप, सामाजिक विभेदको विरोध, बाटोघाटो, जग्गा जमिन, स्कूल स्थापना, पानी, कुलो आदि समाजिक कार्यमा खट्नु भयो । वि.स. २०२२ सालतिर उहाँ तत्कालिन बुटवल नगर पञ्चायतको उप–प्रधान पञ्च भै बुटवलको विकासमा लागि पर्नु भयो । त्यस समयमा विभिन्न स्कूलको संचालक समितिमारहि काम गर्नु भयो । वि.स. २०१८ सालमा जोगीकुटीमा स्थापना भएको विश्वशान्ती नेपाल राष्ट्रिय प्रा.वि.लाई बडो बुद्धिमत्तापूर्वक जोगीकुटीको वगिया हुँदै कालीकानगर ल्याउन खट्नुहुने अग्रज मध्य उहाँ पनि एक हुनुहुन्थ्यो । स्कूलको संस्थापन अध्यक्ष समेत हुनुभएको रहेछ । हाल उक्त स्कूल कालीका उच्च मा.वि.ले यस क्षेत्रमा प्रख्यात पाएको छ । त्यस्तै तत्कालीन गणेश जनता हाई स्कूलको स्थापनामा पनि उहाँको समेत ठूलो हात रहेछ । साथै संस्थापन अध्यक्षको रुपमा समेत काम गरी स्कूललाई अगाडी बढाउ लाग्नु भएछ । हाल उक्त स्कूल कान्ती उच्च मा.वि.ले राम्रो नाम कमाएको छ ।
सांस्कृतिक कार्यमा समेत दखल राख्ने थकाली आफ्नै घरमा साथिभाई जम्मा गरी “पचास रुपयाँको तमसुक” नाटक र “रेलिमै सांस्कृतिक अभियान“ सुरु गरी देश विदेशमा गरिव, वेसहारा, दुखि, मजदुर, किसानहरुको विषयमा मन छुने कविता, लेख, आदिको माध्यमबाट नाटक लगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यमा अग्रपंक्तीमा रहि कार्य गर्नु भयो । २०२६ सालतिर पचास रुपियाँको तम्सुक नाटक प्रत्यक्ष रुपमा नयाँगाउँको स्कूल प्रांगणमा हेर्ने मौका मलाई पनि मिलेको थियो । मोदनाथ प्रश्रितको “अविस्मरण सांस्कृतिक योद्धा” नामक लेख र शिला पौडेलको “मनमाया थकाली र उहाँको योगदान” भन्ने लेखबाट केहि विवरणहरु प्राप्त गरी तलमाथी हुनेगरी यस लेखमा समावेश गरिएको छ ।
बुद्धि बहादुर थकाली उप—प्रधान पञ्चको कार्यकाल पूरा भएपछि उहाँ रंगमञ्चमा पूर्ण समर्पित भै अभिनेताको रुपमा खारिनु भयो । पंचायत विरोधी कार्यक्रममा शसक्तरुपमा अघिबढ्दै जनताका गितहरु, किसानका वेदनाहरु, मजदूरका पिडाहरु, गरिवका मनहरु बुझ्दै एउटा सांस्कृतिक आन्दोलनमा हाम्फाल्नु भयो । उहाँलाई साथ दिने मोदनाथ प्रश्रित, राम प्रसाद प्रदिप, जीवराज आश्रीत, नागेन्द्र मण्डल, खेमान सिंह गुरुङ्ग लगायत अन्य साथीहरु साथै आफ्नै जेठी छोरी सीता मल्ल थकाली र भाई धन बहादुर समेत सामेल गरी “पचास रुपयाँको तम्सुक र रेलिमै संस्था” नाटक, गीत आदि तयार गरी स्वदेश तथा विदेशको विभिन्न क्षेत्रमा गै प्रदर्शन गर्नु भयो । यि कुराहरु पंचायति सरकारलाई देखिनसक्नु भएकोले २०३१ साल मंसिर ३० गतेका दिन प्रहरी प्रशासनले पक्डी साढे दुई वर्ष सम्म पाल्पा जेलमा थुन्यो । जेलको बसाईको अवधिमा निकै कष्टकर र दुखदायि पिडा दिएछ । सो पिडाले उहाँ रोगाउँदै जानुभयो र २०३३ सालमा जेल मुक्त गर्यो ।
उहाँले आफ्ना श्रृजनाहरु पनि प्रकाशित गर्नु भएको रहेछ “लाहुर जाने धोको नाटक र राम सिंह गुरुङ्गको जीवनी” को सफल अभिनयले धेरैको मन जित्ने काम गरेको रहेछ । शिला पौडेलजीको भनाईमा उहाँको पत्नी मनमाया थकालीले आफ्नो घरलाई विभिन्न समयमा भूमिगत नेता लगायत अन्य नेताहरुको आश्रय स्थल बनाउनु भयो । आमा, दिदी र भाउजुको रुपमा मिठोचोखो खाना र बास दिनु भयो । दुख परेको समयमा साथ दिनु भयो । त्यस समयमा विशेष गरी वाम पन्थी नेता मोदनाथ प्रश्रित, जीवराज आश्रित, रामप्रसाद प्रदिप, मदन पौडेल, तारेन्द्र माण्डव्य, देवी पाण्डे, देवेन्द्र घिमिरे, वामदेव गौतम आदि तमाम् नेताहरुलाई यो थकाली परिवारले आत्मिय तथा भावनात्मक रुपले आफ्नै परिवार सम्झि नैतिक, भौतिक साथै आर्थिक सहयोग गरेको थियो र तर आज हेर्दा त्यस समयको सपना नेताहरुको अदुरदर्शिताले चकनाचुर पारिदिएको कुरा मनमायाले भन्नुहुन्थ्यो गरे र अन्य परिवारजनबाट समेत यो पिडा व्यक्त भएको छ । सुनिन्छ कालीकानगरको एउटा सडकमा “बुद्धि पथ” नाम राख्ने भन्ने निर्णय भएको कुरा समेतलाई वेवास्था गरी “बुद्ध पथ” नामाङ्कन गरी राखिएको छ अरे । किन यति विघ्न कन्जुसाई र संकृण सोंच भएको छ यो सोचनिय कुरा छ । के समाज रुपान्तरण र बुटवलको विकासमा स्व. बुद्धिबहादुर थकालीको योगदान छैन ?
बुद्धिबहादुर थकालीका दुईवटा पत्नीतर्फ पाँचवटी छोरीहरुमा हाल चारजना हुनुहुन्छ । जेठी पत्नी मनमाया थकाली तर्फ सीता मल्ल थकाली र जुवार्ईं स्व. केशव मल्ल उहाँहरु तर्फ एक छोरा र तीन छोरी छन् । कान्छी पत्नी सुमित्रा थकाली तर्फ चार छोरी जेठी स्व. नेत्र कुमारी थकाली, माईली लेखु गौचन, साईली गुड्डु थकाली र कान्छी आशा क्षेत्री छन् ।
बुद्धिबहादुर थकाली जेलमा विभिन्न रोगले थलिनु भएकोले जेलबाट छुटे पछि औषधी उपचार गर्दागर्दै २०३४ साल श्रावण १० गतेका दिन ५५ वर्षको अल्पआयूमा स्वर्गारोहण भयो । बुटवलले सदाका लागि एउटा होनहार समाजसेवि र बटुवलको एउटा दियो निभ्यो । उहाँको जेठी पत्नी मनमाया थकाली २०५७ साल जेष्ठ २१ गतेका दिन स्वर्गारोहण हुनु भयो र कान्छी पत्नी सुमित्रा थकालीको २०७८ साल वैशाख २८ गतेका दिन स्वर्गारोहण भयो । थकाली परिवारले होनहार पिता र ममतामयि आमाहरु गुमायो । समाजले अभिवावकहरु गुमायो ।
२०२९ सालमा हाम्रो दाजु स्व. विष्णुप्रसाद आचार्य कम्यूनिष्ट पार्टीमा लागेको आरोपमा पञ्चायति पुलिस प्रशासनले पक्डाउ गरी २१ महिना सम्म पाल्पा कारागारमा थुनामा राख्यो त्यहि समयमा दाजुलाई जेलबाट छुटाउन मुद्धा मामीलाका कागजपत्र लगायत आवश्यक विवरणहरु पेश गर्नुपर्ने सिलसिलामा भैरहवाका वामपन्थी वकिल स्व. टेक बहादुर पन्थी संग निशुल्क कानुनी सेवा लिन जाँदा बुद्धि बहादुर थकालीको जेठी पत्नी मनमाया थकालीले मलाई सघाउनु भएको थियो । उहाँहरुको घर बुटवल राम मन्दीर लाईनमा थियो । लामो र अग्लो ३(४ तले खरले छाएको घरमा २९(३० साल तिर म मनमाया थकालीलाई भेट गर्न जाँदा सबै भन्दा माथिल्लो तलामा उत्तरपश्चिम पट्टी सजाएर राखिएका माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ्ग, पुष्पलाल गलाएतका महान नेताहरुका ठूलठूला तस्वीरहरु झुन्डाई राखेको देखेको थिएँ । त्यो घर पछि सम्म पनि थियो तर ऐले भत्काईएको छ । पाल्पा जेलमा म र मनमाया थकाली पटकपटक दाजुलाई र अन्य नेताहरुलाई कागजपत्र लिएर भेट गर्न जाँदा दाजु संगै बावुराम अर्याल, यूवराज पन्थी, विष्णु प्रभात आदि जेलमा हुनुहुन्थ्यो । दाजु विष्णु २०३१ सालमा जेलबाट छुट्नु भयो अरु कहिले छुट्नु भयो मलाई थाहा भएन । त्यसै समयको सेरोफेरोमा बुद्धि बहादुर थकाली पाल्पा जेलमा बन्दी हुनु भएको रहेछ । मेरो उमेर सानै भएको र पढाई पनि भएकोले उहाँ संग नजिक हुने कुरा भएन तर मनमाया आमा संग भने त्यस समयमा राम्रो चिनजान थियो ।
देशभक्त, जनताको नेता बुद्धिबहादुर थकालीले आफ्नो बयान आफै गर्नु भएन । बयान गरिदिने हितैशि साथीहरु ठूलठूला ओहदामा पुग्नु भयो तर फर्केर हेर्ने फुर्सद वा चासो रहेन । हो, व्यक्ति स्वयम राम्रो कर्म गरी इतिहास रच्ने हो तर इतिहास लेख्ने त देखे, भोगे र चिनेका सिद्धहस्तहरुले लेखिदिने हो । विडम्वना, हाम्रो मन, संस्कार र विवेक रहेन किनकि अहम, पूर्वाग्रह र आफु पछि परिन्छ कि भन्ने भयले ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)