
जब म तिम्रो आमा भएँ, तिमी असाध्यै सेल रुचाउने भएर जन्मेउ
माया पन्थी
अस्ती सेलरोटी बनाउँदै गर्दा सार्थकले सोधेको थ्यो- ‘हजुरले कहिले सिक्नु भयो यती मिठो सेल बनाउन अनि कसले सिकायो ?’
मैले फ्याट्टै जवाफ दिएकी थिएँ, ‘तिमले !’
उसको अनुहारमा स्पष्ट आश्चर्य देखेँ मैले । ऊ अचम्म पर्नुको कारण के भने मैले यसो भन्दा म नजिस्किएको कुरा उसले स्पष्ट बुझेको थ्यो ।
‘के ?! कसरी ?!’
मैले उसलाई सुनाएकी थिएँ कि कसरी आमाले सधै ‘सिकिराख कुनै बेला काम लाग्छ’ भन्दा अहँकारपुर्ण जवाफ दिन्थेँ- ‘खान मन लागे किनेर खाउँला नत्र बनाईदिने मान्छे राखौंला ।’
सायद आमा पनि मेरो यो अहँकारमाथी मनमनै गर्व गर्नुहुँदो हो, सिक्नलाई कर गर्नु भएन । तिहारमा सेल पकाउंदा मेरो काम रेडियो बजाईदिने हुन्थ्यो ।
जब म तिम्रो आमा भएँ, तिमी असाध्यै सेल रुचाउने भएर जन्मेउ । म नेपालमै हुन्थेँ भने सायद मैले आफै सिक्न अझै पर्दैनथ्यो होला ।
सेल खाँदाको सन्तुष्टी तिम्रो अनुहारमा देख्दा जुन अदभुत सुख महसुस भयो त्यसले मलाई रहर जगायो- सिक्ने रहर । जब मनैबाट सिक्ने रहर जाग्छ सँसारै हामीलाई सिकाउन अग्रसर हुँदोरहेछ ।
आजकल म मिठो खाना पकाउन पनि जान्ने भएकी छु- आमाको हातको खाना मिठो भन्छन नि- हो सायद म ‘आमा’ बन्दैछु बिस्तारै ।
भान्सा मेरो सबैभन्दा झर्को लाग्ने ठाउं थ्यो, आजकल केही समय भान्सामा बिताउन रमाईलै लाग्छ ।
मेरो यो परिवर्तनको कारण के हो ? मेरो गुरु को हो ? कसले भरिदियो मेरा हातमा जादु ?
हामी अक्सर शिक्षक र गुरुमा झुक्किछौं । शिक्षक गुरु नहुन पनि सक्छ- गुरु जो/ जे पनि हुन सक्छ । जिवनयात्रामा आईपर्ने सँयोग र सँकेतहरु हुन गुरु जसलाई हामले प्रायः नजर अन्दाज गर्छौं ।
जसले सिकाउंछ, प्रश्नहरुका उत्तर दिन्छ ऊ शिक्षक हो / प्रशिक्षक हो । उसले पनि आफूले अरुबाट सिकेको कुरा बाँड्ने हो- शैली फरक होलान ।
गुरु ती सबै हुन जसले उत्त्ररको खोजीमा हामीलाई आगोमा हिँड्न बाध्य पार्छन । हाम्रो यात्राका लागी सँकेतहरु देखाईदिन्छन, बाटो देखाईदिन्छ तर सँगै हिँडेर यात्रा सहज बनाईदिन्नन । गुरुहरु सजिला हुँदैनन- उनिहरुका परिक्षामा पास हुन कैयौँपल्ट चुटिन, भुटीन, टुक्रीन पर्छ । जब पास हुन्छौं- पुनर्जन्मको आभास हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



