
मलाई पनि नर्स बन्न मन लाग्यो
प्रतिभा सुवेदी
शिक्षक पढाइरहेका हुन्थे भने मेरा मिल्ने दुई साथी भने लुकाएर आँसु पुछिरहेका हुन्थे । हामी त्यति बेला कक्षामा एउटै बेन्चमा बस्थ्यौं । उनीहरू कक्षा कोठामा रोएका देख्दा म छक्क पर्थें । उनीहरू बर्माबाट नेपाल आएका धेरै भएको थिएन ।
हामी साना छँदा बर्मामा सैनिक शासन सुरु भएपछि कतिपय आप्रवासी नेपाली आफ्नो देश फर्किएकोताका थियो । उनीहरूको बसोबास भएको एरियालाई चितवनको भरतपुरमा बर्मेली टोल भनिन्थ्यो । तत्कालीन नेपाल सरकारले तराईमा उनीहरूलाई बसोबासका लागि जमिन वितरण गरेको रहेछ । त्यो उमेरमा हामी कतिपय केटीहरू भने बिनाकारण पनि हाँसिरहेका हुन्थ्यौँ । कति हाँसो आउँथ्यो भने अहिले सम्झँदा आफैलाई दङ्ग लागेर आउँछ । तर उनीहरू रोएको देख्थेँ । कारण मेरो अनुमानभन्दा बाहिर थियो । अर्कोतिर मेरो बाल्यकाल आनन्दको थियो त्यति बेला । बुबा गोपीनाथ खतिवडा र आमा भवानीको काखमा सुखसुविधाको जीवन थियो । यो कुरा हो सन् १९६५ ताकाको, म सात कक्षामा थिएँ ।
मैले एक दिन उनीहरूलाई सोधेँ, ‘किन सधैँ कक्षामा रोइरहेको ?’
उनीहरूका बुबाआमा बर्माबाट आप्mनो देश भनेर नेपाल फर्किएका रहेछन् । नयाँ ठाउँमा सबै कुराको नयाँ सृजना र व्यवस्था गर्न निकै कठिन भई जीवन धान्न उनीहरू इँट्टा कुट्ने काम पनि गर्न बाध्य भएको बताए । घर बनाउन त्यसताका रातो इँट्टा कुटेर सुर्की बनाउने चलन थियो । उनीहरू सुर्की बनाउने काम ज्याला-मजदुरीको काम पनि बिहान-बेलुका बिदाको दिनमा गर्न थाले । उनीहरूको जीवन नेपाल फर्किएपछि एक्कासि मध्यमवर्गीय जीवनशैलीबाट ज्यालादारी गरेर खाने अवस्थामा पुग्यो । त्यति बेला ती किशोरीहरू बर्माको जीवन सम्झेर रोइरहन्थे र भन्थे, टाइप गर्ने हातहरू इँट्टा कुट्ने भयो । नेपाल आएर दुःख पाएको र बर्मामा हुँदाको सहज जीवन सम्झेर रोइरहने गर्दथे । आर्थिक सङ्कटका कारण उनीहरूले पढाइलाई निरन्तरता दिन पनि सकेनन् ।
एक दिन आमा र भाई निर्मल खतिवडासँग भरतपुर अस्पताल जाँदा त्यहाँ ती मेरा कक्षाका साथीहरु नर्सको परिधानमा शीरमा सेतो सफा क्याप लगाएर फूर्तिसँग फटाफट हिँडेको देख्दा मलाई एकदम राम्रो लाग्यो ।
त्यति बेला मलाई पनि नर्स हुन मन लाग्यो । बिरामीको सेवा गर्ने भावना मभित्र जागृत भएको भने होइन । नर्सले लगाउने सेतो सफा ड्रेस मन परेर आकर्षित भएकी थिएँ । मैले घरमा आएर मेरी आमासँग मलाई पनि नर्स बन्न मन लाग्यो भनेँ तर आमाले तर्सेको भावमा हुँदैन भन्नुभो । किनभने त्यति बेला ‘छोरी बिग्रिए भने नर्स, छोरा बिग्रिए कमर्स’ भन्ने त उखानै थियो । समयको मागको कुरा हो, यी दुवै पेसा आज आएर सम्मानित भएका छन् । नर्स अध्ययन गर्नेहरू र कमर्स विषयहरू अध्ययन गर्न कुनै रोकटोक छैन । मलाई चाहिँ मेरा बुबाआमाले शिक्षिका बनाउने उद्धेश्य राख्नुभएको रहेछ । छोरीहरू शिक्षित हुनपर्छ भन्नेमा बुबाको जोड थियो । त्यति बेला समाजमा महिलाहरूलाई सुहाउने पेसा भनेको शिक्षिका नै हो भन्ने थियो ।
काठमाडौं निवासी बुबाको जागिरको क्रममा विभिन्न जिल्लामा सरुवा हुन्थ्यो । अनि जता सरुवा भो, उता लगिने र त्यहीँको स्कुलमा वर्षअनुसार कक्षामा भर्ना गरिदिने चलन थियो । दुई कक्षा कृष्णनगर बहादुरगन्जमा पढेको सम्झना छ । कक्षामा पढ्ने पुस्तकहरूचाहिँ हिन्दीमा थियो । दुनोट घोक्दा पचाहम पच्चीस भनेको अझै सम्झन्छु । त्यसपछि उच्चशिक्षाका लागि काठमाडौंमा अध्ययन गरियो । त्यसकारण मेरो प्रारभ्मिक शिक्षा तत्कालीन कृष्णनगर बहादुरगन्जमा १ कक्षा, तौलिहवामा २ कक्षा र आइएसम्म चितवनमा भएको थियो ।
त्यसताका विद्यालय जान पाए पनि एउटा बालिकाले पाउनुपर्ने आवश्यक परामर्श पटक्कै पाएको जस्तो लाग्दैन । सानासाना किशोरीहरूले विद्यालय हाता र बाटोमा बेहोर्नुपर्ने हिंसाहरूबारे अभिभावकहरू बेखबर रहन्थे । त्यहाँ कति अप्ठ्याराहरू जस्तै कसैले जिस्क्याए, पिछा गरे वा धाप मार्न आए, यस्तै हिंसाजन्य व्यवहार भोगे पनि चुप लाग्नुपर्ने थियो । घरमा आएर भन्ने वातावरण पनि थिएन । विद्यालय लखाटे पछि पढछन् भनेको जस्तो थियो । मैलै जाँच भनेको के हो थाहा नै नपाई चितवन हाईस्कुलमा ४ कक्षामा भर्ना गरिएको थिए । ४ कक्षाको जाँच दिएको पहिलोपल्ट म कति चिन्तित थिए । प्रश्नपत्रमा भएजत्ति प्रश्नहरूको उत्तर दिनुपर्छ भन्ने भ्रम मलाई परेको थियो । त्यो बेलामा परेको चिन्ता र पीर अहिलेसम्म बिर्सन सकेको छैन ।
मेरो बेन्चमा अर्का ८ कक्षामा पढ्ने विद्यार्थी थिए र म अर्को छेउमा थिएँ । प्रश्नपत्रमा १६ वटा प्रश्नहरू थिए । पहिलोपल्ट म परीक्षा कोठामा डराउँदै–डराउँदै बसेकी थिएँ । हातमा प्रश्नपत्र आउँदा अत्तालिएर कतिवटा उत्तर गर्ने भन्ने नै देखिनँ र सबै उत्तर गर्न थालेँ । कुनै प्रश्नचाहिँ उत्तर गर्न सकिनँ अनि तीन घन्टा बितिसक्दा पनि कक्षाकोठाको बेन्चबाट उठ्ने हिम्मत भएन । समय समाप्त भएपछि घन्टी लाग्यो । त्यति बेला अम्बिकामोहन श्रेष्ठ शिक्षक हुनुहुन्थ्यो, उहाँले हाँस्दै केके लेख्यौ भनेर कपी लग्नुभयो । अनि बल्ल म समस्याबाट उम्केजस्तो भएँ ।
भन्न खोजेको. त्यति बेला विद्यालय गएपछि सबै बालमनोविज्ञान ठीक हुन्छ भनेको जस्तो थियो । बालबालिकालाई परामर्श दिने भन्ने चलन थिएन । अहिले म ठान्दछु, परामर्शचाहिँ आवश्यक हुने रहेछ ।
(सुवेदीको प्रकाशोन्मुख पुस्तक ‘मेरो पहिचान’बाट)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



