भिटोफको रोपाईंः पहिले आयोजक, अहिले अतिथि

राजेन्द्रमान डंगोल

गाउँ पर्यटन प्रवर्ध्दन मन्च–नेपाल (भिटोफ)ले स्थानीयहरूको ब्यापक सहभागितामा रोपाइँँ महोत्सव भब्यताकासाथ मनाउदै आईरहेको छ । यसका लागि प्रत्येक वर्षको असार १५ का दिन कुनै निश्चित ठाउँमा कार्यक्रम तय गर्ने गरिन्छ । कुनै बेला म यो संस्थाको कोषाध्यक्षको जिम्मेवारीमा थिएँ । चित्रबहादुर गुरुङ अध्यक्ष थिए ।

मलाई सम्झना छ, कार्यकालको पहिलो वर्ष गोरखा जिल्लाको दरौँदी फाँटमा रोपाइँँ महोत्सवको आयोजना गरिएको थियो । एउटा संयोग नै मान्नुपर्छ कि गोरखा जिल्लाकै ज्यामिरेघाटमा भोलि २०७९ असार १५ गतेको धन दिवस एवम् रोपाइँँ महोत्सवको आयोजना गर्न गइरहेको छ । फरक यति मात्र हो कि– उति बेला म स्वयम् पनि आयोजकको रूपमा थिएँ भने यो पटक नियात्राकार (अतिथि)को रूपमा आमन्त्रित भएको छु । प्रेमपूर्ण निमन्त्राका लागि अध्यक्ष गोपाल थापालगायत भिटोफ परिवारप्रति हार्दिक आभारी छु ।

नेपाल चाड पर्वहरूको देश । प्रत्येक दिन कुनै न कुनै चाड त परिहाल्ने । जस्तो कि– असार १५ को दही–च्यूरा र रोपाइँ महोत्सव ।

परापूर्वकालदेखि नै महत्वपूर्ण पर्वको रूपमा मानी आएको पर्व हो– रोपाइँँ । बाजागाजासहित विभिन्न देवी देवता र नागहरूको पूजा गरेर विधिपूर्वक रोपाइँको थालनी गरिन्छ । कामको चटारोको भए पनि मानो खाएर मुरी उब्जाउने हर्ष र उल्ल्लाससँगै किसानहरूमा एकखालको उन्माद भरिएको हुन्छ । फागुपूर्णिमाको दिनमा थरीथरीका रङ्गहरूले रङ्गिएझैँ किसानहरू रोपाइँमा असारमासको दबदबे हिलोले रङ्गिन्छन् । यतिखेरको हिलो प्रसाद समान हुन्छ र टीकाको रूपमा ग्रहण गरिन्छ । ठाउँ र परिवेशअनुसार रोपाइँँमा गोरू हली, बाउसे र रोपाहारहरूले गाउने मौलिक भाकामा गीत गाउने चलन छ । गीतमा प्रेम, र रसरङ्ग मात्र होइन, वियोग र पिडाका जीवन्त अभिब्यक्तिहरू छचल्किन्छिन् ।

वि. सं. २०६१ सालदेखि नेपालमा प्रत्येक वर्ष असार १५ गते रूपमा ‘राष्ट्रिय धान दिवस तथा रोपाइँँ महोत्सव’ गर्ने चलको सुभारम्भ भयो । कृषि पेशाप्रति स्वयम् कृषकहरू नै विकर्षित भईरहेको वर्तमान एथास्थितिमा उनीहरूलाई कृषि पेशा र श्रमप्रति आकर्षण बढाउन र समग्रमा मुलुकको खाद्यन्न उत्पादनमा बृद्घि गर्न समेत यो महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ । यतिमात्र होइन यसले परम्परागत उत्पादन प्रणालीका बारेमा नयाँ पिँढीलाई जानकारी गराउँछ ।

मानवजातिको अस्तित्व धानसित जोडिएको छ । विश्वकै जनसंख्याको ६५ प्रतिशतभन्दा अधिक मानिसहरूको प्रमुख्य खाद्य चामल नै हो । सतबिजहरू मध्यको धान एउटा यस्तो अनाज हो, जसको अभावमा नेपालीहरूको जीवन असम्भव प्रायः हुन्छ । बाँच्नका लागि मात्र होइन, वैदिक परम्परा धान्न पनि धान–चामल नै चहिन्छ । नेपालीहरूको धर्म र परम्परा अनुसार जोगीलाई गरिने भिक्षादान र हिन्दु समाजमा टीकाटालो गर्न, देउदेवतालाई पूजा गर्न र धार्मिक कार्यदेखि पितृ कार्यसम्म धान–चामलको विकल्प छैन । त्यसैले पनि यो अरू बालीनालीहरू भन्दा विशेष महत्वको छ ।

नेपालले यो पर्वलाई पर्यटकीय उपजको रूपमा विकास गर्नसके यसले कृषकरूलाई कृषि पेशामा निर्भर रहन टेवा पु¥याउँछ । आन्तरिक तथा बाह्य पर्यटकहरूका लागिसमेत यो नौलो हुन सक्दछ । नेपालमा दिगो पर्यटन विकासको अवधारणा अनुरूप कृषिलाई आधार मानेर यसलाई पर्यटनसँग जोड्न विभिन्न योजनाहरूका साथ अगाडि बढ्न सकेमा स्थानीय बासिन्दाहरूलाई बढी प्रोत्साहन गर्न सकिन्छ । यसबाट केही हदसम्म बेरोजगारको समस्या समाधान सुन सक्छ ।

गाउँ र सहरका नेपालीहरूमा भातृप्रेमको बिजारोण गर्नका लागि हो– रोपाइँ परम्परा । आपसी प्रेमलाई फूलाएर गाउँ बस्तीहरूमा पर्यटनको सुवाश छर्नका लागि हो– रोपाइँ परम्परा । नेपालीका बीचमा हार्दिकताको विकास, विस्तार र सम्वन्ध नविकरण गर्नका लागि हो– रोपाइँ परम्परा । कृषि ब्यवसायको सही सम्मान गर्न गर्नका लागि पनि हो– रोपाइँ परम्परा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button