सत्यकथाः दैवले ठगिएकी एक्ली आमा

दुर्गाप्रसाद शर्मा
बुटवल ४, लक्ष्मीनगर

न पति, न छोराछोरी, न त नातीनातिना, न माइती, न त धन सम्पति, न त टाउको ओत्ने झुप्रो फगत एक्ली खगेश्वरी आमा ।

मुखिया बा कि कान्छी श्रीमती तर्फकी कान्छी छोरी खगेश्वरी आचार्य पौडेल । हाल ८३ वर्षको उमेरमा चलिरहनु भएको छ । परिस्थिति र वाध्यताले आफ्नो लागि खाना पकाउने, भाँडा माझ्ने, आफ्ना कपडा धुने, सरसफाई गर्ने, वरिपरि घुमडुल गर्ने, चिनेका र आफ्ना मान्छेसँग कुराकानी गर्ने आदीले दिन बिताइरहनु भएको छ । तर उहाँको विगत निकै कालो, अन्धकार, कहालीलाग्दो र निकै कष्टकर रहेछ ।

दुनियाँ स्वार्थी छ, म, हजुर, उनी, माथ्थीरका, तल्तीरका, वल्तीरका र पल्तीरका हामी सबै स्वार्थी छौँ । मात्रै मात्रात्मकमा धेरथोर होला । आफुलाई अप्ठ्यारो परे निकै ठूलो पहाड सम्झने अरुहरुलाई परे सामान्य ढिस्को मात्र सम्झने बानी छ । एकै प्रकृतीको समस्या त सबैलाई उस्तै उस्तै हुन्छ नि तर पनि आफुलाई ठूलो देख्ने अरुलाई सानो देख्ने बानीले हाम्रो समाज क्रमिक स्वार्थप्रति उत्पे्ररित भैरहेको छ र त जेष्ठ नागरिकहरुको आत्मबल खस्कदाें स्थितिमा देखिन्छ ।

प्रसंग जेष्ठ नागरीक खगेश्वरीको हो । देशमा खगेश्वरी जस्तै एकल र दुखी महिला प्रशस्तै हुनुहुन्छ होला र पनि उहाँ एउटा प्रतिनिधी पात्र मात्र हो र उहाँकै विषयमा लेख्ने जमर्को गरिएको छ ।

सम्वत् १९९६ सालमा बावु युक्तिबल्लभ उपाध्याय पौडेल र माता अक्षरा देवी पौडेलको कोखबाट जन्मनुभएकी खगेश्वरी पौडेल दुई आमाका १० सन्तान मध्येकी एक हुन् । मुखिया बा का जेठी श्रीमतीतर्फ दुई छोरा र दुई छोरी, कान्छी श्रीमतीतर्फ ३ छोरी र ३ छोरा यसरी दुई परिवारले घेरीएका मुखिया बाले दुई परिवारलाई अलग अलग राखेका रहेछन् । १३ जना परिवारमा हुर्के, बढेकी खगेश्वरी । मुखिया खानदान उतिबेला गाउँघरमा मानप्रतिष्ठा, वैभव, सानसौकत हुने नै भयो तर पनि मुखिया बा धेरै उदार, दानी र दुखिगरिवको भलो गर्ने भएकोले सम्पत्ति दिनप्रति दिन खस्कदै गएको रहेछ । मुखिया बाकी जेठी श्रीमतीका माईतिहरु त डिठ्ठा बिचारी त्यस समयका जल्दाबल्दा कर्मचारी र धन दौलत पनि प्रशस्तै भएकोले त्यस भेकमा राम्रै गन्नेमान्ने परिवार, मानसम्मान, सानसौकत ठूलै भएकोले मुखियाले आफ्नो परिवार जसोतसो राम्रोसँग राख्नु भएको रहेछ । दुईनालतर्फका परिवार पाल्नु त्यति सहजकार्य हैन नै र सधै एकैनाश हुँदैन पनि । त्यहि भएर दुवै परिवार अलग अलग घर बनाई राख्नु भएको रहेछ ।

त्यस समयमा छोराछोरीको सानै उमेरमा विवाहदान गर्ने चलन रहेछ र त खगेश्वरी पौडेलको सात वर्षको कलिलो उमेरमा २१ वर्षै लक्का जवान टिका ाम आचार्यसँग विवाह बन्धनमा बाँधिन पुग्नु भएको रहेछ । कठै, विवाह भन्ने कुरा केहो भन्ने थाहै नभएकी ति अवोध बालिका कसरी अर्काको घरमा पठाउन सके हुनन् । बा आमाको काखमा लुटपुटिने उमेरमा विवाह ? साथीहरुसँग खेल्ने, आमाले नुहाइधुुवाई गरिदिने उमेरमा विवाह गरी पराई घरमा ? कस्तो निष्ठुरे जमाना ? त्यो नाबालकले कसरी पराई घरगै घरजम गर्ने हुनन् भन्ने कुरा कसैले हेक्का राखे हाला र ? हेक्का नभएको समाज । कस्को दोष ? समाज, कानून, वा बाआमा वा विवाह गरी लग्ने दुलाहाको परिवार ? के हो त सत्य ? कसैमा छ उत्तर ? पक्कै छैन किनकि समाज ठूलो कुरा हो । समाज अनुसार चल्नु पर्ने कुरा नै सामाजिक कानुन हो । वास, यत्तिमात्र बुझे हुन्छ अहिलेलाई, अरु पछि ।

कसैकसै घराम्लेले आफ्नै छोरी समान हेर्दा हुन् तर सबैको घरमा त त्यस्तो हुँदैन नि । सुनिन्थ्यो, त्यस समयमा छोरीहरुको बेचविखन, सट्टापट्टा गरेर समेत कन्यादान गरिन्थ्यो अरे । बालविवाह त्यतिखेर कानुनी रुपमा सायद वैध नै थियो होला क्यारे ? त्यति सानो उमेरमा कसरी घर गर्छिन् होला भन्ने समेत हेक्का नराख्ने बाबुआमा र सिंगो समाज ? धन्य हो हाम्रो सोच । सात वर्षको उमेरमा विवाह गरी आफ्नो लोग्नेको घरमा गएकी ति अवोध बालिकालाई के थाहा ? आफ्नो लोग्नेको घरमा गएकी ति अवोध बालिकालाई के थाहा लोग्ने को हो ? के हो ? कस्तो हुन्छ ? के गर्छ ? किन लोग्ने भनिन्छ ? साथी हो या लोग्ने हो ? सासुससुरा, नन्द अमाजु, देवर देवरानी, जेठाजु जेठानी आदी ईत्यादी ? यस्मा कस्को दोष ? समाज, कानून, बाआमा, वा बिवाह गरी लैजाने दुलाहाको परिवार वा दुलाहा ?
कसैकसै घरपरिवारले त छोरी समान व्यवहार गर्थे होला तर जमाना हेरी कुरा गर्दा अधिकांश परिवारले बुहारीलाई अलि दोस्रो दर्जाको परिवार सम्झन्थे अरे । बाल बिवाह गर्नु त्यतिखेर कानूनि वैधता थियो होला तर पनि मानविय हिसावले त्यो प्रथा गैरजिम्मेवार थियो नै । त्यति सानो उमेरमा कसरी घर गर्छिन् होला भन्ने समेत ख्याल नराख्ने बावुआमा र सिंगो समाज । सात वर्षको उमेरमा विवाह गरी पराई घरमा गएकी ति अवोध बालिकालाई जानकारी विना भएको विवाह कति कष्टकर र पिडादायी भयो होला ?

सम्वत २००३ सालमा सात वर्षको उमेरमा विवाह गरेकी चेली विवाह गरेको डेढ वर्षमै विधुवा हुनुपर्यो याने साढे आठ वर्षको उमेरमा आफ्नो लोग्ने मुक्तिनाथ तिर्थ गर्न र घर खर्चका लागि नून लिनजाने क्रममा मुस्ताङ्गको घाँस भन्ने ठाउँमा पखला (डाईरिया) लागि देहान्त भएको रहेछ । ति बालिकालाई के थाहा को बित्यो ? तर पनि ति मसिना नाडीका राता चुरा फुटे, निधारमा लगाएको रातो सिंदुर पुछियो, रातो कपडा, रातो टीका बन्देज गरियो । मठमन्दीर जान, शुभकार्यमा भाग लिन आदी सबैमा रोक लगाईयो । मुखिया बाआमाको लुल खस्यो । ति अवोध बालिकालाई के थाहा उनी लोग्ने नभएको विधुवा भएको वा बनाईएको ? कठै, ति अवोध बालिकाले १३ दिनसम्म सेतो कोराको धोती लगाई, नून नखाई क्रिया बस्नु परेको । एक वर्षसम्म सेतै पहिरनमा जुठो वा सुतक बार्नु परेको, चोखिनिष्ट गर्नु परेको, जहाँतहिं, जेपाई खान नभएको । कति कट्टर र रुढिवादी थियो त्यति बेलाको समाज । निर्दयी समाज ।

खगेश्वरीको जीवन अधकल्चो भयो वा पारियो सामाजिक परिवेशमा ? जेजे भन्छन् त्यहित्यहि गर्नुपर्ने सामाजिक बन्धन । हाँसो,मजाक, रामरमिता सबै हरायो वा हराईयो ति बालिकाको ?

क्रमिकरुपमा समय बित्दै गयो । आफ्नो कर्म पूरा गरी बालिका कहिले घर, कहिले माईत गर्न गर्ने नै भईन । धेरै माईत, थोरै घर गर्दै १५, १६ वर्षको उमेर पार गर्दै जाँदा उनले कुरा बुझ्न थालिछन् । आफ्नो घर परिवारमा प्रसस्तै नन्द अमाजुहरु, देवरहरु रहेकोले र कोहि आफ्ना दौंतरी समान भएकोले पनि केहि समय घरमा पनि रमाईलो भए होला ? तर आज भन्दा भोली, भोली भन्दा पर्सीका दिनहरु उजाड र अंध्यारा लाग्न थाले, वालिग हुँदैजाँदा आफुले बुनेका सपनाहरु, कल्पनाहरु दिनप्रतिदिन मनमा खेल्न थाले । कल्पनाहरु आउनु स्वाभाविकै हो तर क्षणभरमै निराश हुनु र पिडाहरु लुकाउनु शिवाय के पो रहे होला र ? आफ्नो घरमा पटकपटक गरी ६, ७ वर्ष जति बस्नु भयो होला, बाँकी उमेर आफ्नो माईतिमै बिताउनु भएको रहेछ । जब उहाँले जीवन के हो भन्ने कुरा बुझ्न थाल्नु भयो, घरमा थोरै माईतिमा धरै बस्न थाल्नु भएछ र विस्तारै घर टाढिँदै गएछ । घराम्ले टाढिँदै गए । यसरी घरतर्फको माया टुट्दै गयो । दिन माईतीमै आमा दाईभाई, दिदीबैनी संग बिताउन थाल्नु भएछ । घरतिरका ससुराबा आमाले घर आउ भनी बोलाउँदा र लिन समेत जाँदा घरआई बस्ने ईच्छा देखाउनु भएनछ । बोलाउने क्रम धेरै रह्यो तर उहाँ आउन मान्नु भएनछ । हो, घरमा लोग्ने छैनन्, माया, ममता, दुखसुख कस्ले बुझिदिने ? आफ्ना विलौना कस्लाई पोख्ने ? सबैले हेर्ने दृष्टिकोण नकरात्मक राख्ने भएर पनि होला, उहाँ घर बस्न नरुचाएको ।

२०३४ सालसम्म उहाँले आफ्ना माईति घर पहाडमा नै बिताउनु भएछ । दिदीहरुको विवाह भै आआफ्ना घरमा जानु भयो । एउटा भाई सानै उमेरमा बित्नुभएको रहेछ । बाँकि दुई भाई र आमा उहाँको रेखदेखमा चल्न थाल्नु भयो । माईतीको कारोवार आफूले सभाल्न थाल्नु भएछ । बुढी आमा, भाईहरु धेरै सिधा, भएर पनि कारोवार आफ्नो जिम्मा लिनु भएछ होला । यसरी उहाँ लोग्नेको श्राद्धमा कहिलेकाहिँ मात्र आफ्नो घरतिर जानु हुँदोरहेछ । बाँकी सारा जीवन माईतमै बिताउन थाल्नुभएछ । २०३४ सालको अन्त्यतिर पहाड छोडी तराईको नवलपरासी जिल्लाको गैडाकोटमा बसाई सराई गर्नु भएछ । बसाई सराई गर्नु पूर्व एकडेढ वर्ष अगाडी आफ्नो लोग्नेको घरमा गै अंशवन्ध मागी आफ्नो हिस्सा लिनु भएछ र आफुतर्फका देवरलाई बेच्नु भएको रहेछ र केहि रकम आफ्नो देहान्तपछि क्रियाखर्च भनी छोडी दिनु भएको कुरा उहाँको मुखारबिन्दुबाट सुन्न पाईन्छ । त्यतिखेर कति पो रकम परे होला र ? तैपनि घरको अंश लिनु भयो र तराईतर्फ आएपछि घरतिरको सम्बन्ध झनभन्दा झन टाढा हुन गएछ । यता घराम्ले पनि उहाँ तराई आउनुभन्दा केहि समय अगाडी कपिलवस्तुमा बसाई सराई गरिसक्नु भएको रहेछ ।

यस बिचमा एकल जवान महिला माईतिमा बसेकोले अनेक टिकाटिप्पणीहरु घराम्लेलाई सुनाउन आफन्तीहरु उद्धत हुन्थे अरे । नाना थरिका आरोप, भएनभएका दोषहरु अनगिन्ती सुनाउने र कुरा काट्ने काम धेरै भएछ । हामी सबैले बुझेको कुरा हो, हाम्रो समाज कति संकिणर््ा र शंकालु छ । एकल जवान महिलाहरुका कति पिडा र मर्म हुनन् बुझिदिने कस्ले ? समाजमा बच्न कति गाह्रो ? अनेक लान्छनाहरुको घेरामा बिताउनु पर्ने जीवन ।

पहाड घरको सबै जायजेथा बेची आमा र दुई भाई लिएर गैंडाकोट आउनु भयो र मार्ईती तर्फका आफन्तको एउटा झुप्रोमा बस्न थाल्नु भएछ । भएभरका सबै पैसा खेत किन्न भनी त्यहि आफन्तलाई दिनु भएछ । ति आफन्तले आफुसँग भएकोे मध्ये एक डेढ बिघा जमिन यो तपाईहरुको हो खेती गरी खानु भन्नु भएछ । जग्गाको नामसारी, रजिष्ट्रेसन पास वा हक हस्तान्तरण पछि गर्दै गरौंला भन्दै टार्दै जानु भएछ । केहि समयपछि कान्छो भाईको विवाहदान पनि गरिदिनु भएछ । माईलो भाई अलि सुस्त मनस्थिती भएकोले विवाह हुन सकेनछ । यसरि पाँच जनाको परिवार आफ्नो पैसा परे पनि अर्काको छाप्रोमा दिन बिताउँदै जानु भएछ । जग्गा पास होला भन्ने आशामा दिन बित्दै गए तर पास गरी दिएनन् । सुरुका दिनहरुमा निकै राम्रो सम्वन्ध रहेका आफन्तले जग्गा नामसारी गर्न आलटाल गर्न थाले, जग्गा मंहगो हँुदै गयो र ती आफन्तको लोभको भाँडो पनि चुलिंदै गयो ।

खगेश्वरीको जीवनमा अनेक उतारचढाव आए । कष्टकर जीवन सुरु भए । ठग्नेले प्रशस्त ठगे । कुरा काट्नेले प्रशस्तै कुरा काटे । अपहेलित गर्नेले जति पनि गरे तर बिचलित भैनन्् । चुनौति पार गर्दै गईन् तर पनि टेक्ने हाँगो र समाउने डालो भएन । जग्गा आजभोली भन्दाभन्दै वर्षौ विते असतिले पास गरिदिएनन्् । केहि वर्ष खेति गरी खान दिए तर त्यो पनि खोसे । न पैसा, न त खेत नै, हे दैव पिडा पनि एकथरि भए पो सहन सक्ने ? यसै पिरले दुवै भाई विते, सन्तान नभएकी भाई बुहारी पनि बितिन् र गर्दागर्दा आज भन्दा बिस वर्ष अगाडी अर्थात २०५९ सालमा आमा पनि बित्नु भएछ । एकल महिलामा महाएकल महिला हुन पुग्नु भयो । परिवार गुम्यो, सम्पत्ती गुम्यो, घराम्ले टाढा भए, ६३ वर्षको उमेरमा फगत एक्लो जीवन । न पैसा छ, न परिवार छ, न घर छ न त जमिन नै छ, एक्लो शरीर । अहो, पिडादायी जीवन ? यता लोग्नेको घर तर्फका सासुससुरा विते, अलि बुझेका दोस्रो नालतर्फका देवर पनि बिते तर पनि उहाँले माईत छोड्नु भएनछ ।

हो, आफ्नो आमा बितेपछि पुनः आफ्नो घराम्लेलाई र आफ्नो जेठीआमा तर्फका माईतिलाई अलिअलि खोज्न थाल्नु भयो तर सम्वन्ध सुधार गर्न सक्नु भएन । कहिलेकाँहि आउने जाने गर्नु भयो । यसै बिचमा बसिरहेको छाप्रोबाट समेत त्यो सम्पत्ती खाएको आफन्तले घर निकाला गरिदियो । घर न घाटको पारिदियो । कठै प्रकृतिले ठगेको महिलालाई आफन्तले समेत ठगे, लुछे, निचोरे र बाटोमा फ्याँके ।

यसरि ठगिंदै गएको जेष्ठ नागरिक खगेश्वरी करिव १२ वर्षसम्म आफ्नै दिदीको छोरीकोमा बस्नु भयो । छोरीको श्रीमानले पनि आर्को श्रीमती विवाह गर्नु भयो । दिदीको छोरीतर्फ सन्तान भएनन् । उहाँ पनि एक्लै हुनु भयो । आफ्नो लोग्नेले आर्को श्रीमती ल्याएपछि सधै एकैनास कहाँ हुन्छ र ? अनगिन्ती पिडा थाम्न सक्ने र लुकाउन सक्ने महिलाको खुवी अपरम्पार छ ।

आफ्नो दिदीको छोरीकोमा पनि बस्न सक्ने अवस्था रहेनछ । यो बुढेसकालमा कहाँ जाने, के खाने, कहाँ बस्ने केहि निधो भएन । घरतर्फ आफ्ना नभएका पनि हैनन् । प्रशस्तै छन् । बचेखुचेंका बुढाबुढीले चिन्दछन् । नयाँ पुस्ताले चिन्ने कुरै रहेन, चिने पनि माया ममता रहेन । आफ्नै बाबुआमा समेत नयाँ पिंढीलाई अर्घेलो सावित भैसके । हे, भगवान यि ८३ वर्ष कि बुढी आमैलाई कस्ले साथ देला ? जहाँ ईच्छा त्यहाँ उपाय भने जस्तै खगेश्वरीले हरेस खाईनन् र वारंवार आफ्ना घराम्लेकोमा आउन जान थालिन् । घराम्ले र सौतेनी नालका माईतिको गाउँ पनि एकै ठाउँ भएकाले उहाँलाई अलि सजिलो भएछ ।

उहाँको जीवनमा प्रशस्तै वहार पनि आए हुनन् तर सबै दवाएर राख्नु भयो । उहाँले फेरि विवाह गर्नु भएन । सबै दुखकष्ट सहेर कष्ट र पिडा मनभित्रै दवाउनु भयो । आफ्ना दौंतरीहरुको घरजम भै छोराछोरी, नातिनातिना देख्दा उहाँलाई पनि रहर जागे होला । तर यी सबै पिडाहरुले खैंचिनु शिवाय अरु रहेन ।

जीवनको उत्तरार्धमा आफ्नो ८३ वर्षे बृद्ध शरीर लिएर कपिलवस्तुमा रहेका आफुतर्फका कान्छा देवरको घरमा शरण लिन आउनु भएछ । आफ्नो साथमा केहि छैन, सबै सकियो, न त पैसा, न त घर नै । आफुतर्फका देवरका कान्छी श्रीमतीतर्फका दुई भाई छोराहरुले बास दिएछन् । दोसो नालतर्फका अन्य देवरहरुले पनि केहि सहयोग गरेछन् र आफ्नो खासघरमा बल्ल बासको जोहो भएछ । तर पनि किन हो उहाँलाई त्यति सहज भैरहेको छैन अरे । देवरहरु, देवरानीहरु सबै जेष्ठ नगरिकमा परिणत भैसकेकाले आफ्नै छोराछोरीहरुबाट टाढा भए, उहाँलाई साथ दिनसक्ने अवस्था रहेनछ । छोराछोरी, नातीनातिना टाढा भए, राम्रो हेलमेल छैन । अहिलेको समाज एकलकाँटे हुन थाल्यो । उहाँलाई करैकरले आफ्नो नालतर्फका देवरका दुईभाई छोराहरुले वास दिई रेखदेख गर्दै छन् त्यो पनि परिस्थितीले ठूलो कुरा मान्नु पर्दोरहेछ ।

उहाँको उमेर चौरासी वर्ष लाग्दा बित्तिकै चौरासी पूजा गर्ने (सहश्र चन्द्र दर्शन) ठूलो धोको रहेछ । तसर्थ, उपयूक्त समयको पर्खाइमा हुनुहुँदोरहेछ र सबै ईष्टमित्र, देवरहरु आदीसँग सहयोगको अपेक्षा राख्नु भएको रहेछ । आशा तथा विश्वास छ, उहाँको इच्छा आफन्त साथै ईश्वरले पूरा गरिदिने छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button