मैले कसरी विद्यावारिधि प्राप्त गरेँ ?

मेरो अनुसन्धान कथा र यसबारेको योजनाबारे छोटो जानकारी

डा. विक्रम तिमिल्सिना

मैले विद्यावारिधि सकेकोमा वधाइ तथा शुभकामना दिनुहुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । कतिपय मित्रहरुले तपाईंले गरेको अनुसन्धान के कस्तो हो र यो कसरी अध्ययन गर्न सकिएला भन्ने जिज्ञासा राख्नु भएकोले यसबारे छोटो जानकारी सार्वजनिक रुपमै बाँड्न चाहेको हुँं ।

नेपालको राजनीतिबारे कुरा गर्दा धेरैजसोले सबै विदेशी शक्तिको बलमा चल्ने गरेको भनेर चर्चा गर्ने गर्दछन् । कहाँसम्म भने प्राध्यापक र अनुसन्धाताहरु पनि प्रामाणिक कुरा भन्दा हचुवामा बोलेको देखिन्छ, र सबैखाले ‘विश्लेषक’को मुख्य हतियार ‘षड्यन्त्रको सिद्दान्त’ रहेको देखिन्छ । गम्भिर अध्ययन र प्रमाणमा आधारित अनुसन्धानको केन्द्रमा टेकेर न विज्ञले बोलेको देखिन्छ न त मिडियाले नै त्यसरी बोल्ने, लेख्नेलाई उस्तोविधि पछ्याएको देखिन्छ । फलस्वरुप तथ्यगत निचोडभन्दा अन्दाज, अनुमान, हल्ला, आग्रह, पुर्वाग्रह आदि विश्लेषणको केन्द्रमा आउने गरेको देखिन्छ ।

नेपालको पछिल्लो परिवर्तन र शान्तिप्रकृयाको बारेमा पनि मुलरुपमा यस्तै नै भैराखेको थियो/छ । मुख्य दलका नेताहरु सबै हामीले नै गरेका हौँ भन्ने र कतिपय मानिस सबै विदेशीले नै लादेको हो सबै भन्ने । त्यसैले यसमा गम्भिर अनुसन्धान गर्नु पर्ने देखेर मैले सन् २०१६ तिर ‘नेपालको शान्तिप्रकृयामा विदेशी शक्तिको भूमिका’ बिषयमा विद्यावारिधि गर्ने निधो गरेँ । तर यो काम सरल, छोटो र सजिलो थिएन ।

एकातिर बर्षौँ एउटा बिषयमा लागेर काम गर्नुपर्ने चुनौती थियो भने अर्कोतिर राम्रा विश्वविद्यालयले आफ्नो क्षमता र मेरो रोजाइको बिषयलाई स्विकार नगरि त्यो यात्रा शुरु हुन सम्भव थिएन । विद्यावारिधि आफैँमा निकै महँगो पनि हुने नै भयो र यसको छात्रव्रित्ति निकै प्रतिस्पर्धात्मक हुने नै भयो । त्यसैले अनुसन्धान प्रस्ताव बनाउन, सम्भावित शोधनिर्देशकसँग कुरा गर्न, निवेदन दिन र छात्रव्रित्तिसहित भर्ना पाउन करिब डेढ बर्ष लाग्यो । र शुरु भयो २०१८ को फेब्रुअरीबाट विद्यावारिधिको अनुसन्धान ।

पहिलो एकबर्ष भित्रको प्रारम्भिक खोजबाट वाह्य शक्तिको रुपमा भारत, चीन र अमेरिकालाई छान्ने निधो गरियो । २००५ देखि २००१५ सम्म यी देशले कुटनैतीक, आर्थिक र सामरिक हिसाबले नेपालको शान्तिप्रकृयामा के के गरे, गर्न खोजे र यसले उक्त प्रकृयामा के कस्तो प्रभाव पारे भन्ने बारेमा खोज गरियो । कागजी अध्ययनलाई मजबुत र थप प्रामाणिक बनाउन डाटा संकलनको लागि नेपाल, भारत, चीनको भ्रमण गरियो २०१९ र २०२० मा, र झन्डै ४० जना राजनीतिज्ञ, कुटनितिज्ञ र विज्ञहरुसँग अन्तरवार्ता गरियो । कोरोनाको कारणले अमेरिका भ्रमण गर्न सकिएन तर केही भर्चुअल अन्तर्वाता लिइयो अमेरिकन अधिकारीहरुसँग । सम्पूर्ण सुचना र विचार समेटेर तयार भयो ९०,००० भन्दा बढी शब्दको सोधपत्र २०२१ को अन्त्यमा । र त्यही सोधपत्रको करिब पाँच महिनाको वाह्य र आन्तरिक परिक्षणपश्चात विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको हो ।

अबको मेरो मुख्य काम यही सोधपत्रलाई पुस्तकको रुपमा प्रकाशन गर्ने हुनेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button