‘पढी गुनी कौनै काम ? हलो जोती खायो माम !’

पेशल आचार्य

यो सम्वत् २०४६ सालतिरको घटना हो । हामी झापाबाट इनरुवा बसाइँ सरी सकेका थियौं ।

म लगभग बीए अन्तिम वर्षको परीक्षा दिनका लागि तयार गर्दै थिएँ । सुरुमा माइलो भाइले घर छोड्यो । उसले प्रहरीमा असईमा आगोय भरेको थियो । निक्कै मिहिनेत गरेर नाम निकाल्यो । मौखिकमा चाहिँ ‘मनसुन विना खेती र भनसुन विना जागिर हुँदैन’ भन्ने उखानै चलेको थियो । हाम्रो पुलिसतिर कोही चिने जानेका थिएनन् । अठभैया खलककै भतिज नाता पर्ने तथा त्यसबेला गृहमा कार्यरत उपसचिव मधुरमण आचार्य मार्फत् काम भयो ।

भाइ पुलिसको जागिरमा गयो । म भने २०४६ पुसतिर काठमाण्डू गएँ । भाइ तालिममा थियो । म मैतीदेवीमा गाउँकै राजकुमार पोखरेल नामक साथीसँग रुम सेयर गरेर बसेँ । त्यही बेला मैले जिल्ला प्रशासन कार्यालय ललितपुरमा करिब २ वर्ष टाइपिष्टमा काम गर्ने मौका पाएँ । पद टाइपिष्टको भए पनि टाइप कहिल्यै गर्नु परेन । बरु जिल्ला कार्यालयका शाखा चहारेर काम गर्ने मौका पाएँ ।

मैले त्यहाँ काम गर्दा राहदानी, स्थानीय प्रशासन, दर्ता चलानी र संघसंस्था दर्ता शाखामा काम गरेँ । धेरैजसो चाहिँ राहदानी शाखामा काम गरेँ जहाँ कवि तथा गीतकार श्रवण मुकारुङ पनि अस्थायी खरदारका रुपमा काम गर्दा रहेछन् ।

उनका काका प्रेमकुमार बान्तवा सिडिओ रहेछन् । म चाहिँ दरबन्दी खाली भएको पत्तो लगाएर गृह मन्त्रालयबाट मेरा नाता पर्ने सहसचिव दाजुको अनुरोधमा जागिर खान गएको थिएँ ।

यसरी माइलो भाइ र म काठमाण्डू आएपछि घरमा भएको कान्छो भाइ पनि भाउन्निएछ । ऊ पनि काठमाण्डू आउन चौचौ गर्न थाल्यो । अब घरमा खेती गर्ने कोही छोराहरु नहुँदा बुवाममीलाई गाह्रो हुने भयो । तैपनि छोराहरुको भविष्यका लागि वहाँहरुले आफूहरु बरु दुःखै गर्ने तर छोराहरुलाई घरमा बँधे¥याएर नराख्ने सल्लाहमा पुग्नु भएको रहेछ ।

कान्छो पनि अब राजधानी भित्रियो ।

हामी कान्छो भाइ र म डेरा गरेर बस्यौं । त्यो बेलाको डेराको जिन्दगी बडो अभावमय र रोमाञ्चपूर्ण थियो । बानेश्वरमा बस्दा म एकजना इन्जिनियरका छोरा छोरीलाई गृह ट्युसन पढाउँथे । उनीहरु मनकारी रहेछन् । त्यो बेलामा दुई हजार मिल्थ्यो । खरदारको तलब ९४० चालीस भएका बेला २ हजार भनेको त धेरै लाग्थ्यो ।

पछि कान्छो भाइ वडा कार्यालय चाबहिल र निर्वाचन आयोगमा काम गर्न थाल्यो । पढाइमा तेज थियो मीन भवनबाट बिकम् गरेर शंकरदेवमा एमकमका लागि भर्ना भयो । मैले पनि सम्वत् २०४७ मा बिए पास गरेँ ।

अब हामीलाई जागिर चाहिएको थियो । घरबाट चामल आउँथ्यो । अब दुवै भाइ जागिरे र माइलो पनि असई तालिममा गएपछि घरमा खर्च पठाउनु पर्ने भयो । जागिरबाट आएको पैसाले दुःखजिलो गरी काठमाण्डूमा बाँचेर अलिअलि घरमा पैसा पठाउन थालियो ।

बीच बीचमा घर गइन्थ्यो । खेती चलेकै थियो । घर जाँदा उताको उधुमै माया लाग्ने । यता राजधानी आयो यताको भविष्यले पोल्ने । मैले त्रिवि कीर्तिपुरमा एमए पढ्न जोइन गरेँ । यो २०४८ सालको कुरा हो । ३ महिना पढेँ पनि । रस बसिसकेको थियो । त्यतिबेला विप्लव ढकालहरु त्रिवि पढ्थे । पुराना गुरुहरुले माया गर्न र चिन्न थाल्नु भएको थियो ।

अनि सम्वत् २०४८ साल मङ्सिर मध्यमा साथी कृष्णप्रसाद कोइरालाले जागिरका लागि आवा गरे । म चञ्चल भयो । अन्त्यमा गएँ रामेछाप । अनि मेरो शिक्षण जीवन सुरु भयो । मैले पढाउन थालेको २०४८ पुस ४ बाट तर नियुक्तिचाहिँ २०४८ पुस ६ बाट हो ।

सिद्धि हजुरबा भन्नु हुन्थ्यो –‘पढी गुनी कौनै काम ? हलो जोती खायो माम ।’ मलाई हलो जोत्न भनेपछि साह्रै दिक्क लाग्ने । अनि मैले घर छोडेको । सानो गाँठीको थिए । केटाकेटीमा केके रोग लागिरहे । पछि निको भएपछि पनि अलिक बलको काम गर्न नसक्ने ।

सम्वत् २०४४ देखि २०४६ दुई वर्ष वकालत पनि गरेँ । जीवन वकालतमै बित्छ जस्तो भएको थियो । एउटा मोही मुद्दाले गर्दा जीवन यु टर्न भयो । छाडेँ । केही समय घरमै बसेँ । घरमा कसै न कसैले भनिरहन्थे –‘थोडा पढा हलसे बाहर, ज्यादा पढा घर से बाहर ।’ त्यसैले बीए पास गर्ने धोको धेरै थियो जीवनमा ।

सो राजधानी आएर पूरा भयो ।

पछि त्रिवि पनि छाडियो । अनि २०५४ देखि प्राइभेट रुपमा एम्ए दिएर २०५६ मा मात्र पूरा गरेँ । त्यो पनि ब्याक लागेर । पहिले पढाइ राम्रो थियो तर जागिर थिएन । जागिर भेटियो उता पढाइ चिप्लियो । जीवनमा सबैथोक नहुने रहेछ । शिक्षणमै रहँदा एम्ए र बिएड् गरे ।

जीवनमा मास्टरी गरिँदैन होला भन्ने थियो तर जीवनका ३२ वर्ष मास्टरीमै बिते । बुवाको सानी आमाको घर सिरहा बस्तीपुरमा स्कुल पढ्दा बर्खे छुट्टीमा रुख कटहर खान जाँदा उहिले २०३३÷०३४ तिर भनेको सुनेको एउटा आहानले अझै चिमोटिरहन्छ –‘विधवा होए तो करे पिसौनी, करम घटे तो करे पढौनी ।’

धेरै वर्ष यो भनाइले लखेटिरह्यो । म मूक भएर पढाउने काम गरिरहेँ । अहिले भने यस्ता कुनै पनि भनाइले केही छुँदैनन् । छाला नै गैँडाको जस्तो बाक्लो भैसकेको छ । आखिर मानिसले जीवन भन्ने चिज बुझ्दा उसको आधा जीवन बितिसकेको हुँदो रहेछ ।

अहिले मैले यो अनुभूति चाहिँ राम्रैसँग सँगालेको छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button