जसलाई आशिक दिँदा ‘चाँडै मरेस्’ भनिन्थ्यो

प्रेरणा

केशवराज आचार्य

२०३७ सालमा धनकुटाको कचिडेमा पहिलो सन्तानका रुपमा जन्मेकी झमक कुमारी घिमिरेले ३० वर्षको उमेरमा अर्थात २०६७ सालमा “जीवन काँडा कि फूल” भन्ने पुस्तकमा मदन पुरस्कार पाइन् । उनले साहित्यमा अन्य पुरस्कार र मानपदवी पनि पाएकी छिन् । जन्मँदै प्रति मष्तिक (Cerebral palsy) रोगबाट पिडित उनका हात गोडा चल्दैनन् । उनी उभिन, हिँड्न, बोल्न सक्दिनन् तर सुन्न र बुझ्न चाहिँ सक्छिन् । खुट्टाका तीन औँला मात्र चल्ने हुँदा ती औँलाको सहयोगले उनी लेख्ने गर्छिन् ।

गरीब परिवारमा लुला हातगोडा र विकलाँग शरीर सहित जन्मेकी तथा मुर्कट्टा भनेर अपहेलित झमक कुमारीको बाल्यकाल अत्यन्तै कष्टकर थियो । झमकलाई दशैँमा टिका लगाएर आषिक दिँदा चाँडै मरेस् भनेर दिइन्थ्यो भने बाटो हिँड्ने मान्छेले उनलाई अलिच्छिनी भन्दै छलेर हिँड्थे । कुनै विद्यालय र गुरूको मुख देख्न नपाएकी उनले घरमा भाइ र बहिनीले पढे लेखेको देखेर र सुनेर नै पढ्न लेख्न सिकेकी हुन् । तर त्यसरी सिक्न खोज्दा पनि सहज चाहिँ थिएन ।

सिकेर के गर्छेस् भन्ने, गोडाको बुढी औँलाले रगत निकाल्दै भुईँमा लेख्दा भुईँ भत्काइ भनेर गाली गर्ने, अंगारले घरका भित्ताहरुमा कोर्दा भित्ता फोहोर पारेको भनेर गाली गर्ने, कापी कलम माग्दा कुट्ने तथा कहिलेकाँही हाँस्दा (उनको हाँसो साँच्ची कै मीठो छ) अलच्छिनी हाँसो भन्दै गाली गर्ने काम आफ्नै परिवारजनबाट पनि हुने गर्थ्यो । पाँच वर्षको उमेरमा उनलाई भात खुवाइदिने बजै मरेपछि गोडाका औँलाले मुछेर भात खान सिकेकी उनको बाल्य र यौवनकाल अधिकांश समय भोकै, प्यासै, नाङ्गै, गुहु मुतमा लुटपुटीँदै एकाकीपनमा बित्यो । २०५३ सालदेखि लेखनकलातिर आफ्नो रुची बढाएकी झमकले उनको जोखाना हेर्ने ज्योतिषीले घरका सन्तान पिर्छे भनेका कुराका विरुद्ध साहित्यमार्फत घर परिवारको आर्थिक उन्नति गर्न सफल भएकी छिन् ।

साहित्यका विभिन्न विधामा आफ्ना खुट्टाका औँला चलाउने तिनै प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरेको जन्मथलो धनकुटा बजारबाट पश्चिम उत्तर करीब तीन किलोमिटरको दूरीमा रहेको कचिडे गाउँमा म दिन भरीको अति व्यस्त काम सिध्याएर साँझपख उनलाई भेट्न उकालो बाटो हिँडेर पुग्दा उनी आफ्नो ओछ्यानमा पल्टिएकी थिइन् । आफूभित्र रहेको आन्तरिक शक्तिलाई पहिचान गरी हिजो आफूलाई हेप्ने समाजलाई आफ्नो उच्च खुबीले उनी प्रतिको संकोचित दृष्टिकोणलाई फराकिलो दायरामा बदल्न र सम्मान गर्न वाध्य पार्ने ती विरङ्गना नेपाल आमाकी छोरीलाई देख्दा साथ उनीप्रतिको सम्मानले मेरो शिर निहुरियो ।

अहिले परिवार, दाजुभाइ, नातेदार, समाज र सिङ्गो राष्ट्रले सम्मान गर्ने र उनको सुख सुविधामा सहयोग पुर्याउन तत्पर रहने उनीसँग धेरै विषयमा कुराकानी भयो तर उनले भनेको एउटा कुरा चाहिँ यहाँ उल्लेख गर्न चाहन्छु, ‘मान्छे सक्षम भएमा सबैले मान दिँदा रहेछन् । कमजोर र असक्तलाई त परिस्थितिवश आफ्नै बाउआमाले पनि केही गर्न नसक्ने रहेछन् । त्यसैले हरेक मान्छेको पहिलो धर्म भनेको आफ्ने आन्तरिक शक्तिलाई पहिचान गरी त्यसको संरक्षण र सम्वर्धन गर्नु रहेछ ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button