
भवानी घिमिरे ‘द्रोणाचार्य’, म ‘एकलव्य’
पेशल आचार्य
जीवन बगिरहने नदी रहेछ, दह भएर जम्ने पोखरी होइन । यी कुराहरू तेतिबेला बुझिएनन् जुन बेला हरेक मानिसलाई शोक न सुर्ता भोक न भकारी भन्ने तालको जीवन हुन्छ ।
खायो । खेलो । डुल्यो । हिँडयो । बाटामा गोल्टिनको बट्टा देख्यो भने लात्ताले फुट्ने गरी बजायो । अनि फेरि फर्केर हे-यो । फिस्स हाँयो । हिँड्यो ।
जिम्मेवारी नभएका मानिसको ताल र कुकुरको ताल उस्तै हुन्छ । कुकुर एकातिरबाट खुर्रर्र कुद्दै आउँछ । टक्क बीच बाटोमै अडिन्छ । अनि फरक्क फर्किन्छ केही पछाडि नै छुटेजस्तो गरी र फेरि कुद्दै त्यतै जान्छ जतातिरबाट ऊ अघि आएको हुन्छ ।
मैले झापा बसाइका केही गुत्थीहरू यस अघिका बेलगाम डायरीहरूमा नै लेखिसकेको छु । यो लेखाइले तिनै लेखाइलाई केही सहयोग गर्ने मात्र हो ।
ऊ बेला जीवन बगिरहेको नदीजस्तै फाष्ट स्पिडमा बगेको थियो । दुःखको कुरा जीवन बुझिँदैनथ्यो । अहिले जीवनलाई केही बुझिएको छ । बुझाउन समेत थालिएको छ तर अहिले बुझेको जीवन केही काम लाग्दैन ।
अहिलेको रुटिनबद्ध जीवनले दाल रोटी निखन्न मात्र लगाउँछ । घडी हेरेर उठ । काममा जाऊ । बेलुका रेसमा कुदेको घोडाझैँ लखतरान भएर फर्क । खानपिन गर । केही लेख । पढ । सुत ।
लेट नाइट बसेका छौ भने घडीको अलार्म लगाऊ । छैनौ भने पाँच बजे नै तिमीलाई तिमीले नै उठाउने हो ।
बसाइ त लगभग गाउँजस्तै सहरमा छ तर यो सहरमा लोकल कुखुराहरू पाल्ने चलन हराएको दसकौं भयो । ब्यायलर र गिरिराजहरूलाई बिजुली बत्ती बालिदिनु पर्छ । बत्ती बालिदिए पछि तिनीहरू उजेलै छ भनेर रातभरि नै बास्छन् । त्यसैले भाले बास्यो । अब उठ्नु पर्छ भन्ने नै मान्यता हरायो ।
यहाँ डाक बोलेर मानिस जगाउनेहरूलाई नै सबैभन्दा बढी मानिसबाटै डर छ । त्यसैले म अचेल कुखुराको उति धेर भर पर्दिनँ ।
…
सम्वत् २०३६ सालको घटना हो यो । म कक्षा ८ मा पढ्थेँ । हामी सुनसरी इनरुवाबाट झापा बसाइँ गएका थियौं । जीवनमा पहिलोपटक मानिस मात्र नभएर हामीले आफूले पालेको खसी, गाई र बाच्छाहरू समेत बसाइँ जाँदा लग्यो । खसीचाहिँ जीपमा गयो भने गाईहरू पु-याउने जिम्मा खत्री जेठाले लिएका थिए । आँटिला थिए उनी । लगभग रू. ११ सय रुपैयाँ लिएर ४ दिन लगाएर उनले गाईबाच्छाहरू झापा पु-याइदिए ।
हाम्रो जीवन फेरि लयमा फर्कियो । तीनै भाइ छोराहरूलाई बुवाले वीरेन्द्र मावि चन्द्रगढीमा भर्ना गरिदिनु भयो । कक्षा ८ मा म । कक्षा ६ र ४ मा भाइहरू क्रमशः बिमल र ईश्वर । मैले करिब दुई वर्ष ४÷५ हाइस्कुल पढेपछि एसएलसी दिए ।
ऊ बेला माघमा हुन्थ्यो एसएलसी । रिजल्ट निस्किन्थ्यो साउनमा । ठ्याम्मै ६ महिना लाग्थ्यो । एसएलसी गरिसकेपछि आइए पढ्ने कुरा आयो । त्यो बेला मेची क्याम्पस सरकारी क्याम्पसका रुपमा निकै प्रख्यात थियो । जहाँ प्रवीणता प्रमाणपत्रमा आइए र आइकम पढाइ हुन्थ्यो भने स्नातक तहमा बिए मात्र पढाइ हुन्थ्यो । मेची क्याम्पसको पढाइमा पुस्तकालयको योगदान, साथी भाइहरूको बिर्सन नसकिने गुन र क्रिकेटको खेलका बारेमा मैले निक्कै अगाडि लेखिसकेको छु ।
ती सबै कुराहरूभन्दा अझ मलाई लेखन र कविताको चस्का लगाइदिने मेरा गुरु (जसलाई मैले अबोला गुरु भनेको छु । मानेको छु । उनलाई पनि थाहा भएन । मैले मेरो कविताको गुरु मानेको चाहिँ छु ।) भवानी घिमिरेलाई म सम्झिरहन्छु ।
उनको दाहिने हात अलि छोटो थियो । अहिलेको सभ्य भाषामा भन्दा उनी हातका अपाङ्ग रहेछन् । कोट लगाएर हिँड्थे । होचाहोचा र पुड्का कदका घिमिरेको भद्रपुर भानु चोकमा भानु पुस्तक पसल थियो । साझा, एकेडेमी र अन्य प्रकाशनका किताबहरू त्यहाँ पाइन्थे । केही थान किताब किनेको रानारुनी सम्झना मात्र बाँकी छ –यो मनमा । तर कुन कुन किताब हुन् तिनको नाम भने बिर्सिसकेँ ।
हो, उनी कविता भन्दा इमोसनमा आएर कोटको खल्तीमा राखेको हात स्वाट्ट झिकेर दर्शकदीर्घातिर उज्याउँथे । अनि जब आफूले मेरो हात त अपाङ्ग छ अरुले देखे होलान् जस्तो फिल गर्दथे अनि स्वाट्ट फेरि हात झस्कँदै कोटकै खल्तीभित्रै पसाउँथे ।
हामी सिकारु कविताका शीर्षक, भाव र कथ्य भन्दा पनि उनको हात झिक्ने शैली र हात हाल्ने शैलीको मात्र मार्क गर्दथ्यौं ।
एकपटक एउटा ‘दसैँ’ शीर्षकको कविता भने । उसैगरी जोसिए कविवर । उसैगरी हात बाहिर झिके र भित्र पसाए । सूचिकारको ज्याला, दसैँको पिडा आदि भाव थियो –कवितामा । अहिले पनि त्यति चाहिँ सम्झेको छु । हो, आजआज भोलिभोलि गर्दै मैले कवि भवनी घिमिरेले भाग लिने कविता गोष्ठीहरू भद्रपुर र चन्द्रगढीमा हुँदा थाहा पाएजति कुनै पनि छुटाइँन ।
यसरी मैले उनलाई उनले थाहै नपाई एकलव्यले द्रोणाचार्यलाई गुरु मानेझैँ गरी गुरु मानेर कविता लेख्न सिकेको हूँ । अहिले यो संस्मरण लेख्दासम्म मैले कविता लेखेको ४३ वर्ष लागेको छ । भवानी गुरु बितिसक्नु भयो ।
उहाँका बारेमा अझै केही खिस्सा बाँकी छन् । सम्झेँ भने पछिका केही टुक्रामा लेख्ने छु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)