संस्मरण: ‘प्रयास’ हवाइ पत्रिका र सुविदजी

पेशल आचार्य

‘जीवनमा म पूर्णकालीन लेखक हुन सकिनँ ।’

मेरो अन्तर्मनले यही कुरा बारम्बार भनिरहेको छ । लेखन मेरा लागि कहिलै दालरोटीको पर्याय हुन सकेन । सामान्य सुकामोहर मात्रै टिपेर मेरा अनन्त आवश्यकताहरू कहिले परिपूर्ति भा’छैनन् । मैले बाँच्नैका लागि पच्चीसौं वर्ष मास्टरी गर्नै प¥यो । अझै गरिरहेको छु । कति गर्नु पर्ने हो ? बाँकी समय र स्वास्थ्यका जिम्मा ।

जबजब मलाई मेरो जागिरका समयबाट केही फुर्सद्का क्षण मिल्छन् । एकान्तवासका ती परम् सुखद् पलहरूका लागि मेरो जीवनमा ती पहेली बनेका छन् जुन पहेलीका रूझानमा म छत्तीस सालको ‘सडक कविता क्रान्ति’ देखि रमाएरै हिँडिरहेको छु । कहिले समूहमा कहिले फगत् एक्लै । कवि रवीन्द्रनाथ ठाकुरको अनुभूतिलाई समाएर –‘एक्ला चलो रे ! एक्ला चलो रे !! एक्ला चलो रे !!!’

‘लेखकलाई एकान्त देऊ ऊ झनै क्रियेटिभ हुन्छ’, कतै पढिएको कुराले अझै सान्त्वना दिन्छ । लेखन र लेखक एक्लो अवस्थामा रत्तिँतो रैछ । बत्तिँदो रैछ ।

मैले आजसम्म धेरैका लागि धेरैथरी रचनाहरू लेखेँ । धेरै संघ संस्थाका मुखपत्र र वार्षिक स्मारिका सम्पादन गरेँ । करिब २० वटा पुस्तकहरूको समीक्षात्मक समालोचनाको एउटा पुस्तक प्रकाशनको मुखमुखमा छ, यतिखेर । मेरा लागि आज लेखन व्यशन हो । त्यस्तै एउटा संस्मरणको पुस्तक समेत तयार छ जहाँ स्वगत्कथनमा मैले केही झिनामसिना सम्झनाका लेप लगाएको छु ।

मैले आफ्ना लागि लेख्दा मेरा कलेज जीवनका धेरै साथीमध्ये सुविदका लागि लेख्नै पथ्र्यो । लेखेँ । आज म बहुविध सन्तुष्ट बनेको छु । सुविद मेरो साहित्यिक जीवनमा व्यतिरेकी विश्लेषण भएर जोडिएको छ । समास र प्रत्यय भएर गाँसिएको छ । उपसर्ग र परसर्ग भएर साहित्य संरचनाको बहुविध विधामा रमाएको छ । अटाएको छ ।

विगत् चालीसको दसकमा चार वर्ष हामी ‘फुल टाइम’ साहित्यमा पठन र लेखनका सहायक मार्गमा अभिन्न यात्रारत थियौं । कहिले उसको गोष्ठी सञ्चालनको चालक गिरीमा म हिँडे हूँला । कहिले ऊ मेरो साहित्यिक वैचारिकतामा सानिध्यता देखाउँदै हिँड्यो होला । धेरै काम गरिए ती ऊर्जाशील चार वर्षमा । ‘प्रयास’ त्यसै बेलाको हाम्रो साहित्यिक सिँढी थियो । जसलाई सुविदले पहिले पर्चामा र पछि हवाइ पत्रिकामा जीवन्त राख्ने प्रयत्न गरेको थियो । त्यसको हेक्का कि मेरा मनमा छ । कि सुविदका मनमा । हामी यसका समान वादीप्रतिवादी भएका छौं । उसले पनि संस्मरण लेख्नुपर्छ । मेरो मनले यही भन्छ । सायद् उसले पनि यही भनेको होला । जो मेरो मनले आज लेखेको छ ।

‘प्रयास’ पत्रिका निकालौं भन्ने सुविदको हदैसम्मको रहर र केही जिद्दी थियो । सुनसरी क्याम्पसको भित्तोमा निस्किएको प्रयास केही महिनाको प्रशव वेदनापछि प्रेसबाट निस्कन सफल भयो । जसलाई हामीले त्यसबेलाका सालिन साहित्यकार÷समालोचक नरेन्द्र चापागाईंका हातबाट विमोचन गरायौं । हामी सामान्य नवोदित साहित्यिककर्मीको निमन्त्रणालाई स्वीकार्दै महोत्तरीबाट कथाकार मनु ब्राजाकी समेत आउनु भयो । वहाँलाई मैले मेरा घरमा लगेर आतिथ्यता दिएँ । सो दिन मेरा बाबाआमा छक्क पर्नु भयो । छोरो सानो छ । साथी भनेर बूढो मानिस ल्याउँछ । मनु दाइले मेरा घरमा एक छाक खाना खानु भएकाले म वहाँप्रति यति खुसी भएँ । अहिलेसम्म त्यो खुसी मेरा मनका तिजोरीमा राखिराखेको छु ।

त्यो खुसीको सहजकर्ता अरू कोही नभएर मेरो जिगरी दोस्त सुविद थियो ।

यस्ता धेरै साहित्यिक कार्यहरूमा सुविद अघि सरेर धेरै सिकारूहरूलाई डोहो¥याएको थियो । ती अहिले लेख्छन् या थाकिसके ? म यसै भन्न सक्तिनँ । पछि २०५२ सालतिर राजधानीका रैथाने साहित्यिक मित्र शान्तिप्रियले ‘नेपालका हवाइ पत्रिकाहरूको इतिहास’ लेख्ने क्रममा ‘महानगर’ सन्ध्याकालीन दैनिकमा ‘प्रयास’ का बारेमा निकै लामो र रोचक लेख लेखेका थिए । सायद् त्यसको कटिङ् सुविदसँग अझै सुरक्षित हुनुपर्छ ।

सुविद यसरी आफूमात्र नभएर अरूलाई पनि काउन्सिलिङ् गर्ने गथ्र्यो ।

यी चालिसको दसकका सुरूआती महिनाका दिनका कुरा हुन् । जसलाई सम्झँदै पनि म अझै दूरसुदूर प्रदेशबाट नोष्टाल्जिक हुन्छु । अझ मिहीन तवरले लेख्ने हो भने ती सम्झनाका फाँकीहरू उसका र मेरा लागि अनेक कृतिगत विषयातिरेक सन्दर्भ हुन्छन् । कालातीत समयमा कताकतै भैरहेका छन् ।

मलाई यो कुराको विश्वास थिएन । सुविद र मेरा सम्बन्धका विषयहरू पनि एकदिन यसरी लेखनको विषय हुन सक्छ । कुनै सरहद् नराखीकन म ती सम्झनाका तिजोरीमा भएका विषयलाई बेधड्क लेख्न सक्छु । कथ्न सक्छु । सोही समयकै छेको पारेर सुनसरी क्याम्पसले सरस्वती पूजाको भव्य आयोजना ग-यो । सुविद गुरागाईं, राजु भट्टराई, गोविन्द चिलुवाल र म यति खट्यौं कि त्यो पूजा नै सुनसरी क्याम्पसको इतिहासमा न भूतो न भविष्य भएको थियो । जसमा काम जति सबै सुविदले र मुख्य कर्ता मलाई बनाएको थियो । बजारमा हामीले सबैलाई निमन्त्रणा गरेका थियौं । दिल खोलेर सबैले सहयोग गरेका थिए । पुरी, बुनिया, मिठाई र अन्य चिज सबै हाम्रै रहरमा बने । सबैले तारिफ गरे । क्याम्पस चिफ सा’ब जगन्नाथ श्रेष्ठ खुसी हुनुभयो, हामीदेखि । जुन काम समापन पश्चात् सामाजिक रूपमा सुविद र मेरो अलिअलि नाम चल्यो । तत्पश्चात् इनरुवामा हुने साहित्य गोष्ठीमा स्थानीयहरूले राम्ररी सहयोग गर्ने गरे । त्यसपछि हामी कहिले भासी, कहिले इटहरी, कहिले डुम्राहाजस्ता ससाना ठाउँहरूमा साहित्यकारहरूको समूह लिएर जान सक्ने भयौं । एकपटक हामीले डुम्राहा भन्ने स्थानमा कथागोष्ठी ग-यौं जहाँ त्यसबेलाका प्रधानपञ्चले निकै खुला दिलले आर्थिक र अन्य सहयोग गरेथे ।

ती यस्ता कार्य थिए । त्यसबेला ती कार्यको कुनै माने रहेन तर अहिले सम्झँदा मात्र पनि मन एक तमासको भएर आउँछ । जे गरिएछ । राम्रै गरिएछ । जानेर होस् वा नजानेर होस् । पाइला पाइलाको साहित्यिक चालले यहाँसम्म ल्यायो ।

हुन त यी कुराले हामी दुईबाहेक अरूलाई छुनेगरी नछुन सक्छ । दुख्ने गरी नदुख्न सक्छ । निकटावस्था र कथ्यका सापेक्षमा ऊ र म नै यो कहिरनका पात्र उपपात्र बन्न सक्छौं । यो भावमा म केही क्षण हृदयको फाटक खोलेर आल्हादित हुन्छु ।

सायद् लेखनको परिमिति यही हो । जुन ज्यामीतिको गोल घेराबाट हामी वृत्तीय फेरो मारिरहेका थियौं र छौं । लेखनमा लेखनकै विषयातिरेक अन्तर्य बनेको छ, यो बेला ।

सुविद मसँग अनायासै सन्निकट हुन आएको थिएन । प्रारब्ध र नियितिले उसलाई र मलाई सँगसँगै शब्द कलामा एकसाथ डो¥याएको हुनुपर्छ । कलेज जीवनमा सुविद, गोविन्द बुइपाली, महेश कोइराला र गीतनारायण चौधरी मेरा सुनसरी क्याम्पसका मित्रवत् व्यवहारका हितैसी मित्र थिए । तर मलाई राम्रो हेक्का छ । यी कुनै नामहरू पनि मेरा समकक्षी कक्षाका समवेत् संज्ञाहरू थिएनन् । त्यो बेलामा हाम्रो चाहना साहित्यका वागमा केही पवित्रताका गोदावरी फुलाउनु रहेको थियो । ती फुले फुलेनन् सोको मूल्याङ्कन गर्ने जिम्मा पाठकलाई ।

सुविद र ‘प्रयास’ सँगै आउँछन् मेरा दिमागमा ।

आज मैले यहाँ केही आफ्ना लागि र धेरैजसो मित्र सुविदका लागि लेखेको छु । मैले उसका लागि लेख्नु थियो । धेरै वर्षदेखि यो प्रश्नले मेरा मनमा घर गरेको हो । तर किनकिन लेख्न सकिरहेको थिइनँ । के लेख्ने ? कसरी आरम्भ गर्ने प्राक्कथन र भूमिका कसरी बाँध्ने यो नै मेरा लागि सकसको विषय थियो । आज त्यो फुकेको छ । हलौं भएको छ मेरो मन अनि शान्त भएका छन्, सोचमय भावनाहरू ।

खासमा यो लेखको अन्तर्य यही हो । मेरो अतीव स्वीकारोक्ति । निर्लेप लेपनका स्वगत् अनुभूति छन् यहाँ । नाद् र निनाद् समेटिएका छन्, यसमा । मैले भन्नै पर्छ, जुन विगतातीत जीवनमा सुविद मेरो साथी भएर आएको थियो त्यो बेला हामी नेपाली साहित्यमा चिउला पलाएका भर्खरभर्खर उड्ने कोसीस गर्दै गरेका खेचर समान थियौं । जीवनका तीसतीस वर्षहरू ऊ र म नेपाली साहित्यको हाइवेमा आआफ्नो कित्तामा सयर गरिसकेका छौं ।

म लेखनमा पूर्व तयारीका साथ आएकै होइन । मैले जे लेखेँ त्यो आफ्नो तुष्टि समनका लागि मात्र गरेको छु । अहिले पनि खासमा स्वगत्स्वप्न तुष्टिका लागि लेखिरहेको छु । मेरो लेखनले कसैलाई केही दिन र कसैसँग केही माग्न चाहेको छैन । केवल स्वान्त सुखायको पर्याय बनेको छ, मेरो लेखन । शब्द कलाका यी वर्णनातीत अनुभूतिका स्वानुभूतिमय पर्यायले नेपाली साहित्यमा केही बुँद पानी सिँचन गरे भने म मेरो जीवन सार्थक भएको ठान्ने छु ।

मैले लेख्नका लागि लेखेँ । रहरका लागि लेखेँ । साथीभाइका करकापले लेखेँ । गोष्ठीमा पुरस्कार पाउनका लागि लेखेँ । हाहाहुहु र इन्द्रेणी जीवनका लागि लेखेँ । केही हिन्दी, केही नेपालीका पुस्तक र पत्रिकाका प्रभावमा साहित्यकार भइटोपलिनका लागि लेखेँ हूँला । मेरा रचना पढेर कसले के पाउँछन् वा पाउँदैनन् मैले अहिलेसम्म त्यो निक्र्यौल गर्न सक्या छैन । म लेख्न सकुन्जेलसम्म त्यो गर्न चाहन्न । अन्र्तमनले लेख्ने आदेश दिउन्जेलसम्म म लेखिरहनेछु । कसैको मोरमोलाहिजा र धाकधम्कीमा नआइकन लेख्न सकेँभने त्यो मेरो बास्तविक पुरस्कार हुने छ ।

तर मैले संगत गरेका धेरै साथीभाइहरूमा सुविद छुट्टै र विछट्टका मानिस थिए । कहिलेकाहीँ त ऊ मलाई ताल न बेतालका लाग्थे । म कस्तोकस्तो भाँती नपु¥याउने खालको होद्रो । सुविद अलि बाठो । चलाख । चतुर । सँगसँगै हुँदा हामीबीच कहिले कार्यशैली पृथक् भएकामा कस्तोकस्तो अनुभूति हुन्थ्यो ।

जीवनले त्यो बेला पाठ पढाएछ । हामीले ऊ बेला पाठ बुझेनछौं । अहिले म बुझ्दै छु । यी र यस्ता संस्मरणहरूबाट ।

पढ्नमा ऊ निकै तेज थियो । म औशत खालको । अहिले सोच्दा फरक लाग्छ । ऊ बेलाँ जीवनले हामीलाई लेखक बनाउँछ भन्ने पनि सोच्या थिएन । रहर पूरा गर्न लेखिन्थ्यो । गोष्ठीमा कुद्यो । सुन्यो । सुनायो । वाह्वाही पाइन्थ्यो । कहिलेकाहीँ ससाना पुरस्कारहरू हात लागी हुन्थे ।

एउटा खास सुखद् आश्चर्य । के हुन्थ्यो भने सुविद मभन्दा स्तरीय र मिठा कविता ऊ बेलै लेख्थ्यो । तर पुरस्कार मलाई प्राप्त हुन्थे । म बाहिर आफू पुरस्कृत भएकामा खुसी त हुन्थे तर भित्रभित्र मेरो प्रिय कवि सुविद पुरस्कृत नभएकामा दुखित् हुन्थे । हामीबीच एक प्रकारको लेखन प्रतिस्पर्धा । ऊ अलग धारका कविता लेख्थ्यो । म अलग धारका कविता लेख्थेँ । सँगसँगै भएर पनि बेगल रहेका नदीका दुई किनारजस्ता । देख्न सक्ने । छुन नसक्ने । बोल्न हुने । चुम्न नहुने । बग्नचाहिँ सँगै बग्नु पर्ने ।

यो बयालीस त्रिचालीस साल तिरको कुरा हो ।

हामी कविता सुनाउन भनेपछि इनरुवा, धरान, इटहरी, विराटनगरसम्म पुग्ने गथ्र्यौं । इटहरीबाट ‘सप्तकोसी’ साप्ताहिक र धरानबाट ‘आरसी’ साप्ताहिक पत्रिका छापिन्थे । इनरुवामा अर्जुन पोखरेलले भर्खरभर्खर ‘खुल्दुली’ हास्यव्यङ्ग्य पत्रिका शुुरू गर्नु भएथ्यो । धरानबाट त्यस्तै धारको ‘टुटुल्को’ निस्कन्थ्यो । जसकी सम्पादक थिइन् –सविता श्रेष्ठ बेहोसी । अहिले तिनी कहाँ छिन् ? लेखन पेसा भए त पत्रपत्रिकामा देखिनु पथ्र्यो । मेन स्ट्रिम साहित्यमा तिनको नाम कतै देखिन्नँ । सम्झन छाडेको छैन । मेरा केही रचना तिनको पत्रिकामा निस्केका छन्, सिकारू कालका ।

ऊ बेलाको लेखनभृत्य कल्पँदा अहिले पृथक् र प्राञ्जल हाँसो उठ्छ ।

जीवन सप्तकोसीझैँ रहेछ । नाम एउटै भए पनि अनेक भँगालाहरूमा बग्नु पर्ने । बेग्लिनु पर्ने । छुट्टिनु पर्ने । आआफ्ना साँध सिमानामा र चौहद्दीमा सिमित बनिनु पर्ने । सुविदसँगै भेट नभएको लगभग अहिले डेढ दसक नाघिसक्यो ।

फोन नभएको धेरै भयो । ‘नागरिक पूर्वेली’ मा उसले काम गर्दा पोहोरसम्म फोन हुन्थ्यो । आजकाल त अनलाइनमा कुराकानीमा सिमित भएको छ । त्यो पूर्व गाढा मित्रताको परिणति । ऊ के सोच्दो हो ? उसका पनि स्वास्नी छोराछोरी छन् । हिमालझैँ सेतै केस भैसकेकी एउटी बूढी आमा हुनुहुन्छ । दुईभाइ छोराहरू हाइस्कुल सकेर कलेज पढ्दै छन् । मेरा पनि दुई छोरीहरू कलेजमा आफ्ना भविष्य अजमाउदै छन् । सानो छोरो हाइस्कुलमा हाइस्पिड सपनाहरू कोरलेर पढ्दो छ ।

ऊ आफ्नो परिवारको एक्लो छोरो हो । म तीनभाइ छोरामध्ये जेठो हूँ । मेरा दुईभाइ विदेश । दिदी बहिनी छैनन् । दिदी बहिनीका हकमा ऊ धनी छ । उसका सातवटी दिदीहरू । ऊ परिवारको कान्छो सन्तान हो । उसका दिदीहरू व्यक्तित्व बनाउने गरी कसैले पढेलेखेको मलाई जानकारी भएन । ऊ भने नेपाली साहित्यको चालीसको दसकमा राम्रो नाम चलेको कवि र गजलकार हो । पत्रकारितामा पनि ऊ स्थापित भैसकेको छ । मैले सक्रिय पत्रकारिता कहिल्यै गरिनँ । फ्रि लान्सर लेखक भएर कहिल्यै लेख्न छोडिनँ । उसको ‘ट्रक साहित्य’ नामको एकथान पुस्तक प्रकाशित । मेरा ६ थान ‘कमिलाको ताँती’, ‘किस्ताको कम्प्युटर’, ‘विद्यालय स्तरीय निबन्धहरू’, ‘मनको दैलो खोल’ र ‘जून आमा जून’ नामक बाल साहित्यका र ‘पृथक अभियानमा आमा र साहित्यकार अशोक सुवेदी’ (समालोचना) मौलिक र भारतीय नेपाली कविता साहित्यका वरिष्ठ कवि पवन चामलिङसँगको एकथान अन्तर्वार्ता साहित्यको किताब प्रकाशित भएको छ । ऊ रजिष्टर्ड पत्रकार हो । मैले पत्रकारको परिचयपत्र अहिलेसम्म लिएको छैन । परिचयपत्र लिएर पत्रकारिता गर्ने सोच न विगत्मा सँगाले । न भविष्यमा लिऊँला । ऊ रेडियोमा कार्यक्रम सञ्चालन गर्छ । मैले रेडियो पत्रकारिता अहिलेसम्म गरेको छैन । भलै बेलाबेलामा अन्तर्वार्ता भने विविध विषय र प्रसङ्गमा दिएको छु । मैले उच्च मावि र क्याम्पसमा अध्यापन गराउने मौका पाएँ । मेरो बालसखा सुविद धेरै वर्ष मिडिल स्कुलको शिक्षक भएर आफूजस्ता दमदार पत्रकार र कवि उत्पादन गरिरहेको छ ।

ऊ गजलको उद्योग हो । म कविताको फ्याक्ट्रीजस्तो बनेको छु ।

यी र यस्ता थुप्रै सामिप्यता र असामिप्यताका तुलनाहरू उसका र मेरा जीवनमा देखिएका छन् । मेरो ठनाइमा सुविद वृहत् अध्ययनशील लेखक हो । उसले गजलको गहिरो अध्ययनका लागि मिर्जा गालिब, फैज अहमद् फैज, उमर खैयाम, जगजीत सिँह, अनुप जलोटाजस्ता माहिर उर्दू र हिन्दीका गजल गो र गजलगायकका सयौं पुस्तक पढेको छ । नेपालीका मनु ब्राजाकी, ज्ञानुवाकर पौडेल, रवि प्राञ्जल, ललिजन रावल, रमेश पौडेल, सनत वस्तीको संगत गरेर आफूलाई एउटा सक्रिय गजलकारमा स्थापित गर्न धेरै हिँउद्वर्षा चहारेको छ । मैले गजलका नाममा जानी नजानी छयालिस पूर्व र पश्चिम गरी जम्माजम्मी चारथान गजल लेखेँ । जसमा एउटा त गीत भएछ । पछि पत्तो पाएपछि आफैँलाई लाज लाग्यो ।

कविताका सम्बन्धमा मैले जति उसले सायद् लेखको छैन होला भन्ठान्छु –म । के कसो हो ? उसले कुनै दिन संस्मरण लेख्यो भने भेउपत्तो मिल्ला ।

सुविदसँग मेरो सामिप्य अनायासै भएको हो । म २०४२ सालमा जब इनरुवाका लागि बसाइँ सरेर पूर्वको झापा जिल्लाबाट आएँ । त्यसबेला इनरुवामा बाक्लैसँग कविता गोष्ठी हुन्थे । राजारानीका जन्मोत्सवमा हुने कार्यक्रममा हामी अरूका कुरा सुने नि नसुने नि बोलाए मात्र पनि जान्थ्यौं । नबोलाए पनि जान्थ्यौं । साहित्यमा त्यसबेला कुनै छोइछिटो थिएन । अहिलेजस्तो पार्टीगत विचार, जात र समावेशीताका अनावश्यक पाखण्ड त्यसबेला जबर्जस्त पलाएकै थिएनन् ।

हामी आफूले लेख्न थाल्दा नश्लीय आधारमा पनि कवि हुन सकिन्छ । पुस्तक प्रकाशनका लागि साझाले समावेशीको नारा दिँदै जात र क्षेत्रका आधारमा पुस्तक प्रकाशित गर्छ भन्ने सय मनमा एक मनमा पनि सोचिएको थिएन । भविष्यमा यस्तो अवस्था देशमा आउँछ भन्ने सोच्न सक्दैनथ्यौं । समयको छाल र वेगलाई आखिर कस्ले रोक्न सक्दो रहेछ र ? पारिजात, भूपी, कृष्णभूषण बललाई हामीले कहिल्यै संजातका आँखाले हेरैनौं । हेर्दैनौं । तर अहिले नाम कमाएका लेखकहरू पनि जात र नश्लका चस्मा लगाउन थाल्या छन् । हाम्रो जीवनमा एकमुठी सास भएसम्म हेर्ने छैनौं । नेपाल बाहिर रहेर भारतीय नेपाली साहित्य र नेपाली साहित्यमा क्रमशः अत्यन्त सम्मानीय स्थान बनाएका ईन्द्रबहादुर राई, वैरागी काँइला, शिवकुमार राई, डा.लख्खीदेवी सुन्दास, पवन चामलिङ यी र यस्ता थुप्रै नामहरू छन् । जसलाई हामी नमनीय व्यक्तित्वमा राख्छौं । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र अन्य कथित जातीय आन्दोलनका सिकञ्जाहरूमा नेपालीहरू क्रमशः फँस्दै जाँदा अहिले अनेक जात भञ्जनका कुराहरू आए ।

लेखन विश्व मानव कल्याणका लागि हुनु पर्ने हाम्रो इस्पाती मान्यतामा कुनै प्रकारको हिमपात भएको छैन । मेरो लेखन हिरो सुविदलाई पनि नहोला । यो मेरो विश्वासमय अनुमान हो ।

पढ्नु । पढ्नु । अनि पढ्नु । मेरो दिनचर्या बनेको छ यतिबेला । लेख्नु । लेख्नु । अनि लेख्नु दिनचर्या बनेको होला मेरोझैँ मेरो मित्र सुविदको । हामीमा अहिले आमनेसामने भएर गफ सायद् भए नेपाली, हिन्दी, मैथिली, भोजपुरी, बंगाली र अङ्ग्रेजी साहित्यका कस्ताकस्ता विषयमा बहस र चर्चा परिचर्चा हुन्थे होलान् ? थाहा छैन । म के भन्न चाहन्छु भने मेरो सुविद मेरो विश्वास डग्मगाउन चाहन्छ जस्तो मलाई लाग्दैन ।

सफरर भैसक्यो सुविद गजलमा ।

धेरै चिनेका जानेका र मैहूँ भन्ने स्थानीय साहित्यकारहरूको नौ नाडी गल्यो । हराए ती मुम्बइको भीडमा मानिस हराएझैँ । इनरुवाकै पुरुषोत्तम घिमिरे हराए । खेमराज खनाल (खखेरा) हराए । नारायण राजभण्डारी हराए । अनि हराउनुका पङ्क्तिमा रवीन्द्र चक्रवर्ती, गोपाल कोइराला, अर्जुन पोखरेल, छविनाथ रिजाल, विष्णु थापा मगर, राजन निरौला, रमेन्द्र कोइराला, पुण्य कोइराला, किको गहतेली, गोविन्द बुइँपाली, गीतनारायण चौधरी, विनोद डाँगी, महेश कोइराला, भेषराज पोखरेलहरूजस्ता गोष्ठीमय कविता लेख्ने कतिपय साथीहरू ।

कतिपयका जीवन नौकामा बहँदाबहँदै हराए । पुरानिए । माटिए । पंं टीकादत्त सुवेदी जस्ता आदरणीय गुरुहरूले यो धर्ती छाडेर गए । केही र कोही अझ लेख्दैछन् । कविराज पोखरेल लेख्दैछन् । डम्बर खतिवडा कविता र कथाबाट फड्किएर अहिले राजनीतिक विश्लेषणका लेख लेख्दैछन् । विवश पोखरेल लेख्दैछन् । लेख्नुको भीडमा स्वयम् सुविद कहिले हतारिएको साहित्य लेख्दैछन् । कहिले कथाकहानी र गीत गजल लेख्दैछन् ।

म पनि लेख्दै छु । तुष्टि छैन लेखनमा । डेस्टिनेसन निकै परको छ । लेख्नु छ । लेख्नु छ । लेख्नु छ । हातगोडा र दिमागले काम गर्न नछाडुञ्जेल लेख्नु छ । प्राप्ति भएमा लेख्नु छ । प्राप्ति नभएमा पनि लेख्नु छ । कसैसँग प्रतिस्पर्धा नगरीकन लेख्नु छ ।

ऊ भनेको सुविद । ऊ पूर्वको चल्तीको सहर भनौं भर्खरजस्तो उप महानगरपालिका भएको धरान र विराटनगरको माझमा पर्ने हस्याँइलो सहर इटहरीमा पत्रकारिता गरेर जमेर बसेको छ । म रामेछापको सदरमुकाममा मन्थली मावि, नामको विद्यालयमा सहायक प्राचार्यको भूमिकामा आएर थेच्चारिएको छु । दालरोटीले गाल्यो साहित्यलाई ।

‘साहित्य झुप्रामा फुल्छ र महलमा पुगेर मर्छ ।’ एकजना कविको ऊक्ति हो ।

मनका अन्तर कुन्तरमा केही रूनुझुनु बाँकी भएकैले केही नलेखीरहन नसक्ने क्रोनिक भइएको छ । लेख्यो । बस्यो । पढायो । तालिम दियो । काउन्सिलिङ् ग¥यो । जीवन यस्तैमा सुलुलुलुलु बित्दैछ ।

खहरे हुन कहिल्यै जानिएन् । बग्न कहिल्यै छोडिएन् ।

सुविदका बारेमा यो त प्राक्कथन मात्र हो । पूर्णरूपको विषय कन्टेन्ट अझै धेरै वर्ष लगाएर लेख्नु छ । समयले जब त्यो माग गर्छ । अनि लेखिएला । जसको आधा पूर्वाद्र्ध म लेख्छु । आधा उत्तरार्ध सुविदले लेख्नु पर्छ । अनि मात्र त्यो संस्मरण पूर्ण हुन्छ । जसमा यी र यस्ता खुद्रा संस्मरणमा छुटेका महारुद्र पोखरेल, अनील पराजुली स्मित, शशी बजगाईं र प्रह्लाद पहरेदारजस्ता केही सक्रिय र धेरै साहित्यिक मनिषीहरूको सम्झना सगोलमा आउन सक्छ । जो लेख्दालेख्दै दालरोटीको चक्करमा रफुचक्कर भएका छन् । तिनलाई पनि लेराउनु छ, लेखनी लेआउटको यो दिग्दिगन्तमा ।

अहिलेलाई यत्ति लेखेँ । धेरै बिर्सिएँछु । स्मृतिलाई साँध लगाएर पछि धेरै लेख्नु छ । विस्मृतिले स्मृतिका धेरै कुरा कतै रहस्यका गुफाहरूमा छिपाएका छन् । बाँकी अन्तरकुन्तरमा रहेका लेखनीका अन्तर्यहरू, सम्झनाका फाँकीहरू स्मृतिमै ल्याएर कोलाज बनाई संप्रेषण गर्नु छ । जीवनमा लेखेरै कहाँ सकिन्छ र ?

सम्झनाको पुरोवाक मात्र हो यो । फगत् प्राक्कथन हो । समूल कन्टेन्टमा कुनै दिन स्थुल पुस्तक लेखेर सुविदकै हातबाट विमोचन गराउने लालसा पनि मनका भित्री पत्रे चट्टानमा सँगालेर राखेको छु । स्मृति र विस्मृतिका पोयाहरूमा बाटिँदै लामो लठारो बनेर जीवनकै विविध रङ्गहरूलाई काम्रो बनाई पिङ खेल्ने धोको कहिल्यै ती दुखी हृदयका बान्कीहरूबाट हराएका छैनन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button