
तराईवासी भएको भए म रौदिया
‘सिरुवा पाबनी’ का यादले नोष्टाल्जिक बनायो !
पेशल आचार्य
म बीसको दशक र मोरङमा जन्मेको हूँ । याने २०२४ साल भदौ २२ गते हरितालिका पर्वका दिन बिहान आठ पन्ध्रमा ।
बीसको दसकलाई तराईमा रौदी (अनिकाल) भएको दशक भनेर बूढापाकाहरू भन्थे रे ! म तराईवासी भएको भए मेरो नाम ‘रौदिया’ राखिन्थ्यो रे ! बुवाले भन्नु भा’को । धन्न म मैथिल कुलमा जन्मिनँ । नभा मेरो नाम रौदिया हुने !
मेरा कति साथीहरूको नाम रविया, सोमे, मङ्गले, बुधे, गुरु, शुक्रे र शनिश्चर राखिएका छन् । यी नाममा पनि कतिपय अवस्थामा कालातीत संस्कार, भावातीत प्रेम र विगतातीत अनुभूतिहरू असमेल भएर रहेका पाउँछु म ।
तराईवासीहरू आफ्ना सन्तानका नाम प्रकृति, परिवेश, अवस्था, सातबार, देवी र देवताका नामसँग मिल्ने गरी राख्छन् भनेर भनेको सुनेको हूँ । खैर ! उसबेलाका बूढापाकाहरू अब त प्रायः बितिसके । गोटागोटी मात्र बाँकी छन् । कठै !
बूढापाकाहरूसँगै उनीहरूका स्मृति र इतिहासहरू समेत माटिइसके । हामी जो छौं, यतिखेर हामीसँग अधकल्चा इतिहास र स्मृति मात्रै बाँकी छन् । भन्न मिल्ने लेख्न भाँती पु-याएर नसकिने । या त लेख्न भाँती पु-याएर नसकिने भन्न भलिभाँती सकिने ।
अहिले सन्दर्भ चाहिँ ‘सिरुवा पाबनी’ रहेको छ ।
सिरुवा पाबनी याने सिरुवा मेला हरेक वर्ष बैशाख १ गते सुरु भएर असारको भूमिरज नहुन्जेल (असार, ८ गते) सम्म चल्ने गर्छ । बैशाख २ गतेलाई तराईका मैथिली संस्कृति मान्नेहरूले ‘जूड शीतल’ पर्वका रुपमा मनाउने गर्दछन् । यो दिन बिहान आफ्नो घरका जेष्ठ नागरिक या मान्यजनहरूले घरका अनुज सदस्यहरूलाई टाउकोमा चीसो पानी छम्केर साथसाथै चनाको सातु खान दिन्छन् । यो दिन आफ्नो फलफूलका बगैँचा हुनेहरूले बाल्टीमा राखेको पानी ससाना भए रूख बिरुवामाथि थाप्लाबाट ठूल्ठूला भए जरामा सिँचन गरी चीसो बनाउने गर्दछन् । जूड शीतल पर्वमा चनाबाट बनेका परिकारहरु बनाएर खाने गरिन्छ । चनाले शीतलता दिने हुनाले होला यसो गरिएको ।
हो, बैशाख १ गतेदेखि सुरु हुने सिरुवा मेलालाई थारूहरूले सिरुवा पाबनी भन्ने गर्छन् । सिरुवा पाबनीको इतिहास वसन्त ऋतुमा पलाउने सिरुको टुसोसँग सम्बन्धित रहेको छ । ऊ बेलामा झोरा फँडनी हुँदा थारू, यादव, झाँगड, राजभोर, तेली, सुँडी, मण्डल, चमार, दुसाध र खत्बे जातिका मानिसहरूले आफ्नो बल बुताले भस्मे र खोरिया खेतहरू बनाएका हुन्थे ।
तराई धेरै कुराले त्राहीत्राही हुन्थ्यो । क्षणपलमा डरै डरबीच मानिसको जीवन अघि बढ्थ्यो । बाघभालुको डर, हात्तीको डर, सर्पबिच्छीको डर, चोरडाकाको डर, बाढीडुवानको डर र अनिकालका डरले तर्साएका मानिसहरुले अनुभवजन्य हिसाबले राखेको नाम ‘तराई’ हो ।
बाक्लो आट्ब्यको जंगलमा घाँस, पात, पतिङ्गर र झाडीलाई काटेर आगो लगाएर भष्म बनाई बनाएको खेतलाई भस्मे र दाउ, खुर्पा र खुकुरीजन्य हतियारले काटेर बनाएको खेतलाई खोरिया भनिन्थ्यो रे ! यी कुराहरू मैले घरमा बुवाबाट र छिमेकमा सिद्धि हजुर बाबाट सुनेको हूँ । अनि खाली खुट्टा हिँड्दा सिरुका टुसाले सियोले झैँ घोच्ने र छर्छरी रगत बग्ने हुनाले त्यसको सम्झनाका लागि ‘सिरु पावनी’ हुँदाहुँदै ‘सिरुवा पावनी’ भएर अन्त्यमा ‘सिरुवा मेला’ शब्दको जन्म भएको रे !
तराईमा बाक्ला गाउँका छेउमा सफा सुघ्घर स्थानमा घेराबेरा बारेर डिहीबार र सहलेस महाराजका बेग्लाबेग्ला मन्दिर घर बनाएका पाइन्छन् । यो चालचलन मोरङका केही भूभागमा, सुनसरी, सप्तरी, सिरहा र धनुषासम्म रहेको देखेको छु । उहिले कृषि युगमा गाईभैँसीमा लाग्ने देसेन रोगहरू ः खोरेँत, मोहला, भ्यागुते र घुमाउनेजस्ता रोगहरूको निदानका लागि गाउँलेहरूले जरीबुटी र आफ्ना अनुभवका आधारमा अनेक दबाईहरू गर्दा समेत गाईभैँसी, बाख्रापाठा, बालीनाली, तुलफूल, केटाकेटी र परेवा कुख्राहरूको आरोग्यताका लागि त्यस्ता देवीदेवताहरू भाक्ने गर्दथे । खेतीपाती राम्रो होस् । घरमा आरोग्यता होस् । सन्तान फैलाऊन । सुखसुविस्ता होस् भनेर देवीदेवता भाकिन्थ्यो ।
देवीलाई कतैकतै लाटी देवी, कतैकतै सन्सारी माई, कतैकतै डिहिबार देवी समेत भनिन्थ्यो भने देवतालाई चाहिँ सहलेस महाराज भनिन्थ्यो ।
सहलेस महाराजका बारेमा अनेक वीरतापूर्ण कहानी र किम्बदन्तीहरू रहेका छन् भने डिहीबार देवीलाई भने रक्षक देवीका रूपमा गाउँलेहरूले मानेका पाइन्छन् । घरमा केही नयाँ अन्न पाक्यो भने, बारीमा नयाँ फलफूल तुल्याइयो भने, बिहे, बर्तुन भयो भने या कहीँ कतैबाट केही शुभलाभ भयो भने, मालजाल (वस्तुभाउ) किनियो भने पहिले देवी र देवतालाई केही भाग नसारी आफूले नखाने, नलिने या उपभोग नगरिने चलन रहेको थियो । यो चलनलाई अहले पनि जहाँजहाँ पारम्परिक गृहस्थीहरू खेती किसानीमा रमाएका छन् त्यहाँत्यहाँ तराईमा ती गृहस्थीहरूले धान्दै र मान्दै आएका छन् ।
अतः यो सिरुवा मेला पनि त्यही देवी देवताका थानलाई माझ बनाएर विभिन्न मितिमा विभिन्न स्थानमा हिँडुवा मेला (मोबाइल गतिमा) का रुपमा लाग्ने गर्दछ । यो संस्मरण लेखक सानो केटाकेटी हुँदादेखि नै त्यस्तो चालचलन देखे भोगेको हुनाले यसका मनमा यस्ता धेरै कुराहरू खिपेर रहेका छन् ।
अन्तका धेरै कुरा बिर्सिन लागिसकियो ।
म आज छोट्टोमा भगवती माईको मन्दिर अघिल्तिर हरेक वर्षको बैशाख –८ गते लाग्ने सिरुवा मेलाका बारेमा केही कुरा भन्दैछु ।
त्यो दिन अफिस, कार्यालय र स्कुल लाग्ने आइतबारदेखि शुक्रबार सम्मका दिन भए पनि लगभग विदाजस्तै हुन्थे । हामी बा आमासँग मेलामा चाहिने खर्चका लागि हप्तापन्ध्र दिनदेखि नै करकर गरेर पैसा हात पारी सक्थ्यौं । करिबकरिब दुईतीन दिन अघिदेखि साथी भाइहरू गुरुप्प मिलेर अघिल्लो सालको मेलाको मूल्याङ्कन र यो सालका बारेमा योजना बन्थे । हामी बेलुन (जसलाई हामी फुक्ना भन्थ्यौं) किन्ने, जुलेबी खाने, कागजको घुर्रो घुमाउने, बेतको रिङ्ले सामान घेर्ने खेल खेल्ने र मेला घुम्ने योजना बनाउँथ्यौं ।
मेलाबाट घर फिर्दा खेरी मिठा पान खाएर घर आउन पाए संसारकै धनी, मानी र शक्तिशाली मानिसमा गनिन्थ्यौं भन्ने केटाकेटीमय मिठो भ्रम थियो । यो भ्रम इनरुवा नछोडुन्जेलसम्मै रह्यो । जब इनरुवा छोडेर दालरोटीका लागि घरदेखि बाहिर भैयो अनि यस्ता ससाना कुराहरूलाई बिर्सन बाध्य भैयो ।
जीवन भनेकै पुराना कुराहरू छोडेर नयाँ कुराहरूसँग एकाकार हुनु रहेछ । अहिले त्यही लागिरहेको छ । हिजोका ससाना लाग्ने कुराहरू अहिले बेमिसाल ठूला र प्यारा लागिरहेका छन् भने आजका ठूला र न्यारा कुराहरू सामान्य लाग्न थालेका छन् । यसो किन हुन्छ ? म आफ्ना छातीमा अटेसमटेस भएका यस्ता प्रश्नहरू सोध्ने कुनै ठाउँ पनि देख्दिनँ । मलाई अहिलेका नयाँ मान्छेले मेरा ती पुरानिएका अद्र्धाना प्रश्नहरूको जवाफ देलान् र म सन्तोस हुन्छु जस्तो पनि लाग्दैन । त्यसैले म बेधडकसँग विना प्राप्तिको यो ‘बेलगाम डायरी’ लेखिरहेको छु ।
अँ ! मैले सिरुवा मेला भर्न जाने क्रममा बुवाको केही वर्ष देहातमा भएको जागिरका सिलसिलामा बसिएको सिमरिया, भमरी, पूर्व कुसाहा, पछिरा र भलुवाइ मेलाहरू समेत देखेको छु । यी स्थान भनेका सुनसरी जिल्लाका थारू बहुल बस्ती भएका ठाउँहरू हुन् । मलाई सप्तरी र सिरहाका बारेमा लाग्ने सिरुवा पाबनीका बारेमा केही थाहा छैन । तर पनि ती स्थानहरूमा मेला धुम धक्कडले लाग्ने गर्छन् ।
मैले मेरो परिवेश र पर्यावरणमा देखेको सिरुवा पावनीका बारेमा इनरुवा भगवती स्कुल र मन्दिर प्राङ्गणमा लाग्ने मेला बैशाख ८ गते (यो संस्मरण लेखेकै दिन) लाग्छ । अलिअलि सम्झना छ सखुवावाछीभन्दा केही उत्तरतिर रहेको कंशमरन भन्ने स्थानमा पनि हामी लुखुरलुखुर गरेर मेला घुम्न गएको याद छ । बाँकी सुनसरीका भए गरेका मैले माथि नै भनिसकेँ ।
आज फेरि यो पचपन्नको शरीर एकपटक बचपनमा पुगेर सिरुवा मेलामा मुरली फुक्दै, जिलेबी खाएर काजगको घुर्रो घुमाएको स्मरणमा लीन भएको छ । तर ती दिनहरू अब यो जुनीमा कसैगरी फर्केर आउनै सक्दैनन् ।
काश ! मानिसले आफ्ना यादहरू विगतावस्थामा फर्काएजस्तै गरी उमेरलाई पनि आफू अनुकूल र रहरमा इरेज गर्न पाए ?
\कस्तो हुन्थ्यो होला ? यो जीवन, जीवनगति र अवस्था ? अहिले म यिनै कुराहरू सिरुवा मेलाको पृष्ठभूमिमा नोष्टाल्जिक भएर गमिरहेको छु । साथै असिम आनन्दको चास्नीमा चोबलेका मिठा विगतानुभूतिका जिलेबीहरू खाएको परमानन्दमा भुलेको छु ।