
हाँस्न खाएको गाँजाले रुवाएको रात
प्रतिमा शर्मा
सुख्खानगरको फाँट, जताततै ग्राभिल बाटो । फाट्टफुट्ट घरहरु, त्यस्तै एउटा गल्लीमा हाम्रो घर, तर अपुर्ण थियो अनि एकान्त पनि ।
अहिले त्यहाँ घरैघर छन् । त्यति बेला घरमा बिजुली बत्ती पनि थिएन । मट्टीतेल बाटुकी बालेर पढिन्थ्यो । मध्यरातको समय, एक्लै भएको बेला, कसैले ढोकामा टक्टक्, टक्टक् हानेको आवाजले मन त डराएको थियो । एक छिनपछि मैले को हो भनेँ, ऊ बोलेन ।
ढोका फेरि पनि टक्टक् टक्टक् हान्यो । गल्लीमा च्यानल गेट थिएन, न त कम्पाउण्ड नै थियो । को हो भनेर सोधेपछि हान्न छोड्थ्यो । एक छिनपछि फेरि हान्थ्यो । धेरै पटक हानेपछि मलाई झोक चल्यो । साहस गरेँ र बाहिर सुनिने गरी भनेँ, भाइ मलाई खुर्पा दे, कि म मर्छु कि त्यसलाई मार्छु । त्यहाँ भाई त थिएन, तर म एक्लो नभएको आभास दिएँ उसलाई अनि एउटा हातमा खुर्पा बोकेँ र अर्को हातले ढोका खोलेँ ।
चातुर्यताका साथ दायाँबायाँ हेरेँ । अगाडि कोही आए काटिदिने सोचाइमा थिएँ । कानुनको विद्यार्थी भएको कारण, कानुनको केहि ज्ञान पनि थियो । लड्ने, भिड्ने, काट्ने, मार्ने जे आइपर्छ, त्यही गर्नको लागि मानसिक रुपमा तयार भएर खुर्पासहित बाहिर निस्केको थिएँ । तर ऊ भाग्यो । अँधेरी रात, बिनाबत्ती चिन्ने कुरा भएन । मेरो हातमा ब्याट्रीबाट चल्ने टर्चलाइट पनि थिएन । घरबाहिर धेरै बेरसम्म उभिइन म । किनकी म एक्लै नै थिएँ । झटपट् भित्र गएँ, ढोकोको चुकुल लगाएँ, झ्यालमा पर्दा मिलाएँ अनिमात्र टुकी बालेँ ।
रातको लगभग एक बजेको थियो । त्यसपछि म सुतिनँ । एक्लै, नसुतेर नै उज्यालो बनाएँ । बिहान ५ बजे सधैँ झै नित्यकर्म सकी क्याम्पस गएँ । कानुन संकायको विद्यार्थी म, बिहान ६ बजेदेखि ११ बजेसम्म क्लास हुन्थ्यो । २०४४–०४५ सालतिरको कुरा हो, आइएमा ‘पञ्चायती कानुन’ पनि पढ्नु पर्दथ्यो । त्यसमा लेखेको एउटा लाइन सम्झिन्छु ‘पञ्चायती व्यवस्था देशको हावा, पानी र माटो सुहाउँदो छ ।’ त्यो लाइन र यस्तै अन्य कुराले लाग्थ्यो, पञ्चायती व्यवस्था देशको हावा, पानी र माटो सुहाउँदो भए पनि जनता सुहाउँदो छैन, जनताका माग र चाहना सुहाउँदो छैन र यो व्यवस्थाबिरुद्ध बोल्न खुबै मन पर्दथ्यो । त्यति बेला, क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरु सक्रिय थिए । विद्यार्थी राजनीतिमा मेरो पनि रुची बढ्दै थियो ।
क्याम्पसको अध्यायन, त्यो पनि कानुन, पुस्तकालयमा पर्याप्त पुस्तक नपाइने, प्राय सबै पुस्तक किन्नु पर्दथ्यो । साथीहरुको अगाडि निरिह हुन मन नपर्ने, बुटवल बजार, खासमा खर्चिलो थियो दैनिकी । जसरी स्कुलको फी आफैले कमाएर तिरेँ, क्याम्पस पनि त्यसरी नै पढ्नुपर्छ भन्ने लाग्यो । ६ महिनासम्म मामाको घरमा बसेर पढेँ । सधैं मामा घरमा बस्नुभन्दा, आफ्नै घरको केहि कोठा तयार गरी उतै सर्ने निर्णय गरेँ ।
गाउँमा मेरै लागि, पसल गर्न बनाइएको काठको ट्याङ्की (घुम्टी) थियो । त्यही मगाएँ । मिलनचोक, यातायात कार्यालयको अगाडि, बाटोको छेउमा त्यही ट्याङ्की राखेँ र ट्याङ्कीमा पान पसल शुरु गरें । आमाको ढुङ्ग्री धितो राखेर क्याम्पस भर्ना हुन निकालेको केहि रकम बचेको थियो । त्यही पैसाले मीठापान र जर्दा पानको सामान किनेँ, साथमा तमोल (काचो सुपारी), चुरोट, खैनी, बिस्कुट, साबुन, चकलेट, मीठाई आदि किनेर ल्याएँ र त्यही ट्याङ्कीमा सजायर राखेँ । जहाँ पान पसल राखेँ, त्यो नजिक अरु पान पसल थिएन । घर सल्लाह गरेर मेरो माइलो भाइ खगेश्वरलाई पनि बुटवलमै ल्याएँ । मेरो क्याम्पसको पढाई बिहान ६ बजे देखि ११ बजेसम्म, भाइको स्कुल १० बजेदेखि ४ बजेसम्म हुन्थ्यो । भाइले साँझबिहान पान बेच्थ्यो भने मैले दिउँसोको । पान बेच्दा १०० प्रतिशत फाइदा हुन्थ्यो ।
शनिबारको दिन थियो, दिनभरी पसलमा बस्दा भाइलाई खाजा मन लाग्यो । नजिकै मःमः पसल थियो । मःमः अडर गर्यौं । जीवनमा पहिलो पटक मःमः खाएको दिन । कडा लसुन, मासुको कस्तो कस्तो गन्ध, खै के बासना आयो, मैले खान सकिनँ । भाइले खायो । मःमः खान पाएर भाइ खुसी हुँदा म असिमित रमाएँ । धेरै बर्षपछि म मुस्कुराएको दिन थियो त्यो ।
बाल्यकालका विभिन्न घटनाका कारण मेरो हाँसो लुटिएको थियो, मनैदेखि हाँसो लाग्नछोडेको थियो । सायद त्यो डिप्रेसन थियो । त्यसैले आइएल पढ्दा म पटक्कै हाँस्दिनथेँ । मेरा केही केटी साथीहरुले मलाई माया गर्थे, पच्छाउँथे पनि । मेरो अनुहारमा हाँसो देख्न चाहन्थे । र पटकपटक भन्थे, तिमी हाँस न, हाँसेर बोल, तिमी हाँसेको हेर्न मन छ । मलाई हसाउँ न त, मेरो जवाफ यहि हुन्थ्यो । कसरी हसाउँने ? सबैजनाले छलफल गरे । त्यतिबेलाको मेरो क्लासमेट अरुण ज्ञावली, मानविकी पढ्ने तर हामीसँगै बस्ने सरस्वती अर्याल र आफ्नो दिदीको घरमा बसेर पढ्ने लक्ष्मी आचार्य, यी ३ जना मिलेर मलाई हँसाउने जुक्ती निकाल्न थाले ।

‘तिमीलाई हामी हसाउँछौं, ल भन, कसरी हाँस्छौ ?’, मलाई सोधे ।
‘घोटुवा खुवाऊ, हाँस्छु होला ।’
हाम्रोतिर घोटुवा भनेको गाजाँको पातलाई पीसेर, घिउ, चिनी र दूधमा पकाएर बनेको एक मिष्ठान्न परिकार हो, प्राय शिवरात्रीमा खाने चलन छ । यो बेहद लाग्छ र हाँसिन्छ भन्ने सुनेको थिएँ । मैले त्यहि रोजेँ । कसैले घिउ ल्याउने, कसैले गाँजा, कसैले चिनी र दूघ जम्मा गर्ने जिम्मेवारी लिए । सामान जम्मा गरेपछि हाम्रै घरमा त्यो परिकार बनाउने योजना बन्यो । किनकी, हाम्रो घरमा, मेरो भाइ खगेश्वर र म मात्र थियौँ अनि सरस्वती पनि हामीसँगै बस्थिन् । यो स्मृतिकथा लेख्दै गर्दा लक्ष्मी आचार्यलाई मैले सम्झेँ, सुशील र मायालु थिइन् तर कालले उनलाई छिटै लग्यो । अरुणा ज्ञवाली सायद नेपालमा छैनन् । हाम्रो कुरा नभएको धेरै वर्ष भइसकेको छ । सायद यहि लेखबाट फेरि हाम्रो भेट होला । सरस्वतीसँग अहिले पनि हाम्रो कुरा र भेट भइरहन्छ । मायालु छिन उनी, सधैँ माया गरेर बोल्छिन् ।
एक हप्ताभित्र यी सबै सामान जम्मा गर्ने र घोट्वा खुवाएर मलाई हँसाउने योजनाबमोजिम हामी अर्को हप्ता भेट्यौं । सबैजना एकदमै एक्साइटेट थियौं । शनिबारको दिन थियो । साँझको बेला । सबैजना भेला भर्यौ र घोटुवा बनायौं । मेरो भाइ सानो थियो तर धेरै जिम्मेवार, सहयोगी र प्रेमील स्वभावको । सबैले भाइ भनेर माया गर्थे । उसलाई थोरैमात्र खान दियौं, घोटुवा । बाँकी सबै घोटुवा हामी चार जनालाई बराबर बाड्यौं । मैले अरुलेभन्दा छिटो खाएँ । सबैले गफ गर्दै थिएँ । म सुन्दै थिएँ । मलाई मेरो भागको घोटुवा खाइसक्दा पनि हाँसो लागेन । साथीहरु कराउन थाले, यो हाँसेको हेर्न यति दुख गरेका छौं, तर अझै हाँसिन । यसलाई पुगेन कि क्या हो भन्दै आफ्नो भागको घोटुवा अलिअलि निकालेर मलाई नै खुवाए । मैले खाइदिएँ ।
किन हाँसिनस् भनेर सोध्न थाले, गाली गर्न थाले मलाई । अब त, नक्कली हाँसो भए पनि हाँसिदिनपर्यो भन्ने सोचें अनि हाँस्नथालें । गाँजा लागेको तालमा, नक्कली हाँसो हास्ने नाममा एकोहोरो हाँसेको हाँस्यै भएँ । एकोहोरो हाँसो देखेर उनीहरुलाई बोर लाग्यो । मेरो मुखबन्द गर्दिनको लागि एक मुठी चिउरा हालिदिए मुुखभित्र । मेरो हाँसो रोकियो । कसैले आफ्नो व्वाइफ्रेण्डको चर्चा गर्न थाले । कसैले गीत गाएर नाच्नथाले । साथीहरु हाँस्दै नाच्दै थिए । उनीहरु नाच्दा, ह्याङ्गरमा झुण्डाइराखेको मेरो लुगा भुइमा खस्यो । त्यसपछि म रुन थालें । ला मेरो लुगा किन खसालेऊ ? भोलि के लगाउने मैले ? गाँजा लागेको तालमा प्रश्न सोध्दै रोएँ । बेथितिको रुवाई थियो शायद, हाँसेको हेर्न मन लागेकाहरुलाई, रोएको हेर्दा कस्तो लाग्यो होला ?
गाँजा लागेर सबै जना बेहाल भएका थियौं । तैपनि भाईसँग कागती पानी माग्दै पिउँदै गरेका थियौं । यस्तैमा मैले उल्टी गरेँ । नराम्रोसँग उल्टी गरेँ, तर अरु नाच्दै थिए ।
मध्यरात कटिसकेको थियो । अरुणा ज्ञवाली आफ्नो घरतिर जानुभयो, रातको समय, गाँजा लागेको अवस्था, एक्लै, घर पुग्नुहुन्छ कि पर ? मनमा तनाव थियो तर छोड्न जाने हालत थिएन ।
त्यसपछि केही साथी भुईंमा, कोही खाटमा लडे । म भाइसँग सुतेँ । अर्को दिन हामी कोही पनि उठ्न सकेनौं । सुतेकासुत्यै भयौँ ।
क्रमशः
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



