
पटुवा सागको त्यो जमाना !
न पटुवाको खेती हुन्छ अचेल । न जुट मिल विराटनगरमा ! दुवै सिद्धिए । बरा विचरा !
पेशल आचार्य
सम्वत् २०३२ साल तिरको कुरा । जोडेर ल्याउँदा ४६ वर्ष भैसकेको छ ।
कतिपय अवस्थामा यी कुराहरू पुराना हुन्छन् । कतिपय अवस्थामा यी कुराहरू अहिलेका पुस्ताका लागि नयाँ धेरै नयाँ पनि लाग्छन् । भोग्नेले भोग्यो । देख्नेले देख्यो । समय आयो । समय गयो । अहिलेकालाई के थाहा ? न अक्षर लिपिबद्ध भएर कतै बसेका छन् । न कुनै कोर्समा पढाइ नै हुन्छन् । कतिपय सबालमा त विश्वास पनि हुन्न होला । कसलाई के मतलव ?
हामीलाई त यस्तो महसुस हुन्छ भने हाम्रा बाआमाले भोगेको सकसमय जिन्दगी झन् के होला है ? लेखक हुनुका नाताले कहिलेकाहीँ मलाई यस्ता कुराहरूले असाध्यै पोल्ने गर्छन् । अन्त्यहीन पाराले चिमोट्ने गर्छन् । ती पोलाइ र चिमोटाइका बेमिसाल डाहाहरू शान्त पार्नैका लागि अनि म थाल्छु कम्प्युटरलाई बेधडक् ठटाउन ।
मेरो बेलगाम डायरी यसरी सुरु हुन्छ । यो कहिले त अन्त्यदेखि सुरु भएर सुरुमा गई अन्त्य हुन्छ । किन लेखेको हूँ ? कसका लागि लेखेको हूँ ? कहिलेसम्म लेख्छु ? कसरी लेखिरहन सकेको हूँ ? केही पनि थाहा छैन् । थाहा छैन भनेर मात्र थाहा छ तर पनि लेखिरहन चाहन्छु । मन पर्छ आफ्ना कुरा सुनाउन । अरुले सुनुन् या नसुनुन् । सायद् यो पनि एउटा बूढ्यौलीले छोएको प्रमाण हुनसक्छ ।
हिजो भनेकै हरेक समय इतिहास हो । आज वर्तमान हो । इतिहास जहिल्यै अग्रज र वर्तमान जुनसुकै अवस्थामा अनुज हुन्छन् । याने बाबु र छोराजस्तै । कहीँ कतै पढिएको याद् छ । पढेको ज्ञान ‘दस ज्ञान’ रे ! अनुभवको ज्ञान ‘एक ज्ञान’ रे ! जसले भने पनि अनुभव भनेको अनुभव हो । बाजेको अनुभव नातिलाई काम लाग्छ । नातिको उसको आजको अनुभव भोलिको उसैको नातिलाई समेत काम लाग्छ । ज्ञान सर्ने हुन्छ तर मर्ने हुँदैन । अझ अहिलेको विश्वमा त ज्ञानलाई अनेक विधि र प्रविधिले जतन गरेर राख्न सकिन्छ । राखिएको छ । खोज र अनुसन्धानका चक्रहरूबाट मानिसले आफूले पाएको, बुझेको र सुझेको ज्ञान पछिल्ला पुस्ताका लागि समेत समेटेर राखेको छ । यो सभ्य समाजको उपज हो ।
फेरि कन्था बरालिन लागे । अब भने कुरोकै मेसोमा आउँछु ।
केटाकेटी वयका कुराहरू कति सम्झे पनि कहिल्यै नरित्तिने । लाग्छ एउटा जीवनमा मान्छेले उसको जीवनलाई तीन भाग लगाएर लेख्न बस्यो भने बाल्यकाललाई नै लेखेर कहिल्यै सक्दैन । युवा काल र प्रौढ काल जिम्मेवारीका फालक हुन् । भोगिने जीवनलाई बेहिसाब र बेलगामसँग बाँचिएको जीवन त बाल्य काल नै हो ।
पटुवासँग पनि मेरा अनगिन्ती स्मृतिका फाँकीहरू लुकिरहेका छन् । अहिले अक्षर चरुले ती सम्झनाका वलिवेदीमा होम्न काम लागिरहेका छन् ।
बैखाखतिर हुनुपर्छ पानी पर्न थालेपछि तराईमा उसबेला किसानहरू पटुवा छर्दथे । पटुवालाई सनपाट पनि भनिन्छ । त्यो जुटका बोरा र जुटजन्य सामग्रीहरू बनाउन काम लाग्छ । त्यसैले विराटनगरमा त्यो बेला विराटनगर जुट मिल थियो जसले झापा, मोरङ र सुनसरीमा उत्पादन भएका जति सबै पटुवाहरू किन्दथ्यो ।
अब त्यो इतिहास भयो । न पटुवाको खेती हुन्छ अचेल । न जुट मिल नै छ विराटनगरमा ! दुवै सिद्धिए । बरा विचरा !
बैशाखमा लगाएको पटुवा करिबकरिब मध्य भदौतिर काट्न मिल्थ्यो । अनि सुक्रीविक्री गरेर किसानहरूले आउँदै गरेको दसैँलाई खिचिङ्मिच्रिङ् दसैँखर्च बनाउन पाउँथे । सडकका दायाँबाँया नालीमा भएका पानीमा त्यसलाई गाडेर माटाका चपरीले थिचेर राखेपछि करिब २२ दिनपछि त्यो धुन मिल्थ्यो । पटुवा पाकेपछि एक प्रकारको नमिठो गन्ध निस्कन्थ्यो । त्यो गन्धले नै पटुवा पाकेको जानकारी दिन्थ्यो । अनि धुन मिल्थ्यो ।
सप्रेको भए पानीमा धोएर र बिग्रेको भए बाहिर किनारमा निकालेर पटुवा धुन्थे कृषकहरू । त्यो कामका लागि दक्ष जनशक्ति चाहिन्थ्यो । आइमाई केटाकेटाको दैया चल्दैनथ्यो । हामीले केटाकेटीमा देखेका आधारमा त्यसमा सीप, बल र आँट तीनवटै कुराको मिश्रणपछि मात्र पटुवा धोइन्थ्यो । दह्रा नाडीको आवश्यकता पथ्र्यो ।
हाम्रा बाआमाले समेत पटुवा खेतमा लगाउनु हुन्थ्यो । हाम्रो भीट अबल खेत एक बिगहा जति थियो । बैशाखमा छरेको पटुवा पानीको छेकछन्द परेका बेला जेठ पहिलो सातातिर गोड्न मिल्थ्यो । जब पटुवा गोड्न मिल्थ्यो अनि त्यो बेला बाक्लो भएका ठाउँमा त्यसका कलिला बिरुवाहरूलाई खुर्पीले उखेलिन्थ्यो । गोड्ने भनेकै छाँट्ने हो । छाँटेका पटुवाका बिरुवाहरू घाममा हल्का सुकाएर जरामा लागेको माटो टक्टक्याएर र जरा काटकुट पारी सागका रुपमा पकाएर खान सकिन्थ्यो । पटुवाको साग त्यो जमानामा निकै सानको तरकारी थियो ।
भर्खरभर्खर चल्तीमा आएको मुस्लिम चालमको भात, रहरीको दाल, बैगुन (भेन्टा) को तरकारी र पटुवाको सागमा मिसाएर टमाटरको चट्नी भयो भने ज्वाइँ, भान्जाभान्जी र ‘ए ग्रेड’का अन्य पाहुनाको सत्कार भै हाल्थ्यो ।
खाइन् पाइनको ऊ बेलाको यो भान्से चित्र अब मेरा दिमागमा मात्र कैद छन् । मेरा दयाँलीका साथीभाइ र परिवारका सदस्यहरूलाई भने भलिभाँती थाहा हुन सक्छ । हल्का डढेको सुख्खा पटुवाको सागले भर्खर जरोबाट उठेका बेला खाना रुचाउने काम समेत गर्दथ्यो । जसको बयान के गरी गरम ??
अहिले पनि पटुवाको साग कालो कराहीमा आफ्नै उत्पादनको तेल हालेर सुकेका खुर्सानी पड्काएर पकाएको स्वाद जीब्रैमा झुण्डिएको झुण्डिएै छ । यी अक्षरहरूबाट पटुवा स्मृति गरिरहँदा समेत अहिले नै पटुवाको सागसँग भात खाएको नोष्टाल्जिक भैरहेको छ ।
विगतानुभूति मानिसका लागि जीवन जिउने आधारहरू रहेछन् । सम्झनाका प्युरीहरूबाट जति रुइयाहरू निकालेर बत्ती कात्यो त्यति ती मीष्ठ भावमा आफ्ना अघिल्तिर आइरहने रहनेछन् । अहिले ती सबै कल्पनामा मात्र सीमित भैरहँदा मलाई यो कुराको एहसास भैरहेको छ ।
याने कि बिते हुए कल । उम्केको माछो । मरेको पाडो । पोहोरको धान । यी सबै हातबाट फुत्केपछिका अनमोल खजानाहरू हुन्– जीवनका ।
यादहरूमा अल्झिएर जीवन बाँच्ने शैली नै भैसक्यो अब त । कास ! ती दिनहरूलाई अहिले पनि ‘रि बाइन्ड’ गरेर हेर्न मिल्ने भए ? कति हेरिन्थ्यो होला ? कति ??
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



