रिटायर्ड टिचर किन समाजशास्त्रको विद्यार्थी भइन् ?

समाजशास्त्रीय सोचले आफूभित्र नियाल्दा

प्रतीक्षा प्रधान जोशी
कभर फोटो क्रेडिटः जेसिका एमिटि

समाजशास्त्री सी. राइट मिल्सको विश्वव प्रख्यात ‘Sociological Imagination’ (समाजशास्त्रीय कल्पना-सोच-हेराई) ले यो तथ्यले भरिपुर्ण समयमा (Age of Fact) कुनै पनि आममानिसले आफ्नो जीवनमा हुने घटनाहरुलाई केवल व्यक्तिगत ढङ्गले हेर्ने हुनाले असहज महसुस गर्नु स्वभाविक भएको तर मानिसको जीवनमा आइपर्ने विविध घटनालाई इतिहास, राजनीति, विश्वका मामिलाहरुलगायत समाजशास्त्रीय आँखाले हेरेर मनन् गर्न सक्ने गुण विकास गर्ने जमर्को गर्दछ । मानिसको जीवनमा समाजमा हुने विभिन्न तरंगहरुले उसको जीवन प्रभावित भइरहेको हुनाले यी तरंगहरुको खेललाई टाढाबाट बुझ्नु नै समाजशास्त्रीय दृष्टिकोणबाट हेर्नु हो ।

हरेक मानिसमा आफ्ना केहि मुल्य मान्यताहरु हुन्छन् र यदि ती मुल्यमान्यताहरु समाजको आम सोचसँग मेल खाए, मानिसले सहज महसुस गर्दछ भने मानिसका महत्वपूर्ण मुल्य मान्यता समाजका मान्यताभन्दा अलग हुँदा मानिस एक किसिमको कष्टदार अनुभुतिबाट गुज्रिन्छ । यदि मानिस आफ्नो र समाज दुवैको मुल्यमान्यताको विषयमा सचेत नहुँदा ऊ भावशून्य छ । वर्तमानमा निहित भावशुन्यता र पिडालाई हटाउन सक्ने एक उपकरण नै समाजशास्त्रीय कल्पना(सोच(हेराई हो । यस लेखमा कुनै एक मानिस जागिरबिहिन हुनुमा उसको व्यक्तिगत कारण हुनसक्ने तर देशभरि नै बेरोजगारी छ्यापछ्याती हुँदा त्यो समाजको नै समस्या भएको बुझाई समाजशास्त्रीय हेराईले दिन सक्ने एक उदाहरणको रुपमा प्रस्तुत गरिएको छ । यसरी नै सम्बन्धबिछेदको पनि उदाहरण दिईएको छ। यस लेखमा म आफुलाई परिचय गराउँदै, एक शिक्षिका र नेपाली नारीको जीवनको घटनालाई समाजसास्त्रीय आँखाले विश्लेसण गर्नेछु ।

जिन्दगीभरि शिक्षण पेशामा संलग्न भएकोले म आफूलाई एक शिक्षिकाको रुपमा परिचय गर्न रुचाउँछु । २५ वर्षे लामो नेपाली भाषा अध्यापनको सिलसिलामा जीवनमा धेरै उतार चढाव आए पनि प्रत्येक बच्चा स्कुलमा आएको पहिलो दिनदेखि नै उसको आनिबानी बुझेर सबै बानीबेहोराको सम्मिश्रण गर्दै दिमागमा राख्थेँ र त्यसलाई कविताको रुपमा कक्षामा प्रस्तुत गर्थेँ । प्रत्येक बालबालिकाले गुरुआमा मेरो कविता भन्नुस् न भनेर खुशीको भाव व्यक्त गर्दा म हर्षले विभोर हुन्थेँ । हरेक पाठ पढाएपछि अन्तमा मेरा बालबालिकाले अझै प्रस्ट बुझुन् भनेर त्यसको कविता बनाउँथे । मैले हिजो पढाएका बच्चाहरु आज डाक्टर, इन्जिनियर ,वकिल र ब्यापारी भइसकेका छन् तर ती बच्चाहरुलाई भेट्दा म आज पनि उनीहरुको अक्षर र उनीहरुलाई मैले बनाएको कविताबाट सम्झने गर्छु । धेरै वर्ष पहिले बिए पास भएको र बच्चाहरुलाई निम्नमाध्मिक तहसम्म पढाएकीले म आफू पनि बच्चैजस्तो भइरहेको भान हुन्छ । पच्चीस वर्ष यस पेशामा बिताईसकेपछि मैले आफुलाई असाध्यै मनपर्ने पेशाबाट रिटायर हुन बाध्य भएँ । यस घटनामा विभिन्न कारकहरु संलग्न छन् । मैले जागिर छोड्नुमा मेरो स्वास्थ्य, समाज, नेपाली भाषाप्रतिको उदासिनता आदि प्रमुख कारण थियो । आज समाजशास्त्रको विद्यार्थीको आँखाले हेर्दा पितृसतात्मक समाज, वैदेशिक रोजगार, विदेश मोह र उमेर अनुसार राज्यले उचित रोजगार नभएरै हो कि जस्तो भान भइरहेको छ ।

Advertise
Hike & Write

नेपाली समाजमा बसेपछि हरेक रितीरिवाज भइरहेकै हुन्छ । न्वारान, पास्नी, विवाह, जन्मदिन, पूजा आदिजस्ता सामाजिक कार्यमा सरिक हुन मित्रजन र आफन्तहरुले बोलाएको टाइममा पुग्न धौ धौ पर्थ्यो । म एउटा अन्तरार्रष्ट्रिय स्कुलमा कार्यरत भएकोले धेरै बिदा लिन मिल्दैन थियो । विशेष गरेर मेरो श्रीमानतर्फको मानिसको घरमा कुनै रितीरिवाज परेको दिन छ र म त्यस दिन ढिलो पुगेँ भने उहाँ म छिटो नपुगेकोमा गुनासो गर्नुहुन्थ्यो । उहाँहरु म चाडैँ पुगेर उहाँहरुको काम सघाइदियोस् भन्ने चाहना गर्नुहुन्थ्यो । म चाहेर पनि छिटो पुग्न सक्दिन थिएँ । म बिहान पाँच बजे उठेर घरको सबै काम सकेर साढे सात बजे स्कुल बस चढेर दिनभर बच्चाहरुलाई पढाएर उहाँहरुले बोलाएको स्थानमा पुग्दा एउटा धेरै ठुलै युद्ध जितेको महशुस हुन्थ्यो तर मेरा आफन्त भने मैले कार्यक्रममा सामेल हुन नखोजेको जस्तो गर्दथे । थाकेको शरीर लिएर केही काम सघाउन पाइनँ भनेर हिनभावनाले ग्रसित हुँदै म आफन्त कहाँ पुग्थेँ ।उहाँहरु म ढिलो पुगेकोमा गुनासो गर्नुहुन्थ्यो । बीस, पच्चीस वर्षसम्म यहि प्रक्रिया चलिरहेकोले मलाई रिटायर्ड भएर मात्र मबाट अपेक्षित बुहारीको कर्तव्य पुरा गर्न सक्छु कि भन्ने लाग्थ्यो । २०, २५ वर्ष त मैले बिहान पाँच बजे उठेर, बिहानको काम सकेर नै साढे सात बजे बिहान स्कुल बस चढ्थेँ र साँझसम्म विविध काम सक्काएर घर फर्किन्थेँ । मैले घरको काममा सहयोग गर्न एउटी सहयोगी पनि राखेकी थिएँ तर साँझमा घर आइपुगेपछि मेरो सासूले उसले माझेका भाँडा देखाउँदै असन्तुष्टता प्रकट गर्नुहुन्थ्यो । दिनभर थाकेर घर पुग्दा उहाँको त्यस्तो व्यबहार देख्दा दिक्क लागेर आउँथ्यो । यो परिस्थितिले गर्दा मैले जागिर छोड्नुमा सामाजिक कारण देख्छु, अझै पितृसतात्मक समाजले महिलालाई जागिर खाएको देखिनसक्ने कटु सत्य पनि बुझेँ ।

सामाजिक कारणको साथसाथै विद्यालयभित्रै पनि नौलो समस्याहरु उत्पन्न हुँदै गए । सरुमा स्कुलमा नेपाली भाषामा धरै कार्यक्रमहरु हुने गर्दथ्यो । बिस्तारै ती कार्यक्रमहरु कम हुँदै जान थाल्यो । नेपाली भाषाभन्दा अंग्रेजी भाषालाई महत्व दिदै जान थालिएको थियो । स्कुल हाताभित्र नेपाली भाषा बोल्न पाईंदैन थियो । नेपाली भाषा कक्षा कोठाभित्र मात्र सिमित थियो । हरेक कार्यक्रम अंग्रेजी भाषामा गरिन्थयो । नेपालको स्कुलमा नै नेपाली भाषा खुलेर बोल्न नपाउॅदा अन्तरआत्माभित्र गहिरो चोट लाग्थ्यो र यो चोट मसँग अझै छ । विद्यालयमा नेपाली भाषाप्रति गरिने रुखो व्यबहारको कारण म बेला बेलामा दुखी भइरहन्थेँ । त्यसमाथि अभिभावकहरु पनि अंग्रेजी बोल्दा गर्वले फुल्ने र नेपाली भाषा बोल्दा हिनभावना राख्ने हुनाले पनि भाषा खिँइदै गएको छ । बच्चाहरु पनि बाह्र पास गरेपछि नेपाली पढ्न नपर्ने र त्यसपछि विदेश गइहाल्ने र पढ्ने वा पैसा कमाउने काम गरने कुरा गर्थे र यो नेपाली विषयमा धेरै मिहिनेत गर्दैन थिए । जापान, जर्मनी, नेदरल्याण्ड आफ्नै भाषाबाट समृद्ध भएको लेख सम्झन्थे । आफ्नै भाषाबाट सबै विषय पढाइ भएको दिन नेपाल पनि एउटा विकसित राष्ट्रको स्तरमा दाँजिन पुग्छ होला र त्यसपछि नेपाली भाषाको र नेपाली शिक्षकको इज्जत होला । तर यो अवस्थासँग मैले जुध्न नसकेको कारण हार मान्नु पर्यो । तर यो अवस्था सिर्जना हुनुमा विश्वव्यापिकरणदेखि विदेश मोहलगायतका कारण लुकेको अझै स्पष्ट हुँदैछु ।

जागिर छोडेर म चङ्गा झैं हुन्छु कि भने सोचे पनि र घर बसेता पनि मेरो मनले मलाई बेरोजगार भनिरहेकै थियो । जति उमेर बढ्दै जान्छ, मान्छे त्यति नै ज्ञानको भोको हुँदै जाने रहेछ । हरेक विषयको गहिराई र जरा नै समातेर ब्याख्या गर्न मन लाग्ने सिलसिलामा ज्ञानको भोकले म कलेजमा भर्ना भएँ । मैले पितृसतात्मक सोच भएको समाजले गर्दा आफ्नो पेशाबाट टाढिनु परे पनि मेरो अध्ययन गर्ने ईच्छा मबाट टाढा लग्न सकेन । कोरोनाको विश्वब्यापि महामारीले आक्रान्त भएको अवस्थामा इन्टरनेटमा बसेर पढ्न पाउनु विज्ञानको चमत्कारको उपयोग गर्दै जानी नजानी जुम र टिम्समा (Zoom/Teams) नियालिरहेको मेरो अवस्था छ ।

आज म रिटायर्ड टिचर र एक समाजशास्त्रको विद्यार्थी हुनमा पक्कै पनि विविध कारणहरु छन् र ती सबैको विश्लेशण गर्न ‘समाजशास्त्रीय कल्पना-सोच-हेराई’ले मद्धत गरिरहको र गरिरहने छ । यसरी नै वर्तमान अवस्थामा जस्तोसुकै कठिनाईबाट गुज्रे पनि मानिसले समाजशास्त्रीय सोचले आफु कता छु र यहाँ किन छु र यस्तो अवस्थामा कसरी छु भनेर मनन गर्न सके जीवन कुनै हदसम्म सहज हुन सक्छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. आफ्नो समस्याको प्रस्तुतिका साथ सामाजिक अवस्थाको चित्रण भयो। भन्न खोजेको विषय यहि हो र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button