जिन्दगीः म किन छोरो भइनँ ?

खासमा मलाई विवाह गर्ने मनै थिएन । दिदीले आफ्नो घरमा सास्ती भोगेको, गाउँघरमा पारिवारिक कलह देखेको, कैयनले विहेपछि दुःख पाएको देख्दा मलाई भित्रैदेखि डर लाग्थ्यो । सासु बुहारीको सम्बन्ध कहीँ पनि राम्रो देखेकी थिइनँ मैले । त्यसैले नयाँ सम्बन्ध जोड्न मन थिएन । मैले नचाहे पनि बाको चाहना जे थियो, आखिर त्यही भयो ।

प्रतिमा शर्मा

बा को एकमात्र चाहना थियो, छोरी विवाह गरेर दिएको घरमा बसोस् र बाउआमाको इज्जत राखिदियोस् । बाको चाहना जे छ, त्यहीं पुरा गरिदिने मेरो अभिष्ठ हुनुपर्ने रे । छोरी हुनुको पीडा हो यो । विचरा म, किन छोरो भइनँ भनेर सोचिरहन्थें । छोरी भएकोमा म विवश थिएँ । शिशु अवस्थामा रोगी थिएँ रे । किन नमोरेको होला भनेर आफैलाई धिक्कार्थें । त्यसैले होला कहिलेकाहिँ मोर्न पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो ।

खासमा मलाई विवाह गर्ने मनै थिएन । दिदीले आफ्नो घरमा सास्ती भोगेको, गाउँघरमा पारिवारिक कलह देखेको, कैयनले विहेपछि दुःख पाएको देख्दा मलाई भित्रैदेखि डर लाग्थ्यो । सासु बुहारीको सम्बन्ध कहीँ पनि राम्रो देखेकी थिइनँ मैले । त्यसैले नयाँ सम्बन्ध जोड्न मन थिएन । मैले नचाहे पनि बाको चाहना जे थियो, आखिर त्यही भयो ।

मेरोमात्र होइन, मेरी दिदीको विवाह पनि बालविवाह नै थियो, १२ वर्षको उमेरमा । उनीमाथि भयंकर अन्याय भएको थियो । स्कुल जान पनि पाएकी थिइनन् । तर उनी ज्ञानी बनिन्, विवाहविरुद्ध केही पनि बोलिनन् । म बोले । बोलेता पनि जबरजस्ती विवाह गराइएको थियो र नगद पनि तिरिएको थियो, पटकपटक । ५ रुपैयाको सिन्दुर हालेवापत मेरो अमुल्य यौनिकता र केही लाख बुझाइएको थियो । चाहे मलाई बेचेका हुन् वा फोहरसरह पैसा तिरेर फालेका हुन्, मेरो परिभाषामा त्यो मानव बेचबिखन नै थियो । उसलाई म र पैसाका फी थिएन, न त ऊ पत्नीव्रतवाला थियो ।

मेरो वैवाहिक सम्बन्ध जहाँ भयो, २ वर्षपछि त्यहाँ पु¥-याइएकी थिएँ म । जबरजस्ती पु-याइयो । त्यो केटाको काकाको घर रहेछ । मेरो लागि पराई घर, पराइमान्छे, सबै पराई पराई । जहाँ बसे पनि मन बेखुस थियो । केटाको आफ्नै घर किन लगिएन, मलाई त्यति धेरै थाहा छैन । मैले कहिल्लै चासो दिएर सोधिन । म महसुस गर्थे कि सायद केटाको परिवार आर्थिक रुपमा सक्षम थिएन, त्यसैले ऊ आफ्नो काकासँग आश्रित थियो । मलाई यो शंकाको सुविधा रह्यो किनकी, विवाहपछि मलाई केटाको आफ्नो घरमा लगिएको पनि थिएन । काकाको घरमा भित्राइएको थियो र बाले दोस्रो पटक लग्दा पनि काकाकै घरमा लगेर छोडिदिनु भयो । तर मलाई जहाँ भित्राइयो, उहाँहरु सम्पन्न हुनुहुन्थ्यो ।

धन र मन दुवै रुपले सम्पन्न हुनुहुन्थ्यो । व्यावसायिक रुपमा मेडिकल, कुखुरापालन र बंगुर फारम समेत थिए त्यहाँ । घरायसी प्रयोजनका लागि भैसी थियो । म जति बसेँ, आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने कोशिस गरें । घाँस, दाउरा, मेलापात, चुलो, खेतबारी, आदि सबै काममा आफ्नो बेस्ट दिने कोशिस गरें । भान्साको केही काम त्यहीँबाट सिकेँ । बालबालिकालाई केही समय ट्युसन पनि पढाए । म माथि पनि त्यो परिवारबाट कहिलै नराम्रो भएन । तर सिन्दुरवालासँग प्रेम पनि बसेन । जुन दिन केटाकै मुखबाट उसको गर्लफ्रेण्ड छ भन्ने थाहा पाएँ, त्यो दिनदेखि म त्यो घर र केटाको लागि होइन, म मेरो लागि पनि होइन, म त केवल बाको लागि त्यहाँ बसिदिएको थिएँ । जति बसे इमान्दारिताका साथ बसें । के केटीहरुले विहेपछि, आफ्नो श्रीमानलाई म पैसाको लागि विवाह गरेकी हुँ, यौनको लागि मेरो ब्वाइफ्रेण्ड छ भन्न सक्छन् त ? भनिहाले भने के हुन्छ ? के त्यो केटा र परिवारले स्वीकार्दछन् ? कदापी स्वीकार्दैनन् । मैले पनि स्वीकार्न सकिनँ ।

सिन्दुरवालाले माया गर्दैन भन्ने थाहा छ, आफ्नो पनि उप्रति कुनै सद्भाव छैन । त्यसकारण म निराश थिएँ, मेरो ओठमा हाँसो थिएन । शायद त्यसैले होला, सबैकी प्यारी सेनीआमा (काकी) ले मलाई ढाडस दिदै भन्नुहुन्थ्यो, तिम्रो आमाको र मेरो माइती एउटै भएकाले तिम्रो मेरो स्वभाव मिल्छ, विचार र व्यवहार मिल्छ । चिन्ता नगर, तिमी र म सँगै बसौंला, तिम्रो लागि म छु, मेरो लागि तिमी । हामी मिलेर केही गरौंला । उहाँको यस्तो ढाडसले एक किसिमको उर्जा आउँथ्यो मनमा, तथापी सधैँभरी साथ दिएर बस्न सकिनँ, माफी चाहन्छु सेनीआमासँग । अहिले पनि हजुरप्रति मेरो सम्मान छ, आभारी छु, त्यो माया र सद्भावको लागि ।

अन्ततः त्यो घर छोडेर म आफ्नै जन्मघर फर्किएँ । त्यही बेला गाउँमा प्रौढ शिक्षाको अभियान चलेको थियो । म प्रौढ शिक्षा पढाउने अभियानमा समाहित भएँ । तनावै तनावका बीच दिएको एसएलसीको परिणाम खराब आयो । कति रुनु ? रुँदारुँदा आँखा पनि गुच्चाजस्ता भएका थिए तर नारायण अंकलले माया गरेर फकाउँदै मीठो मीठो खानेकुरा खुवाएको हिजो जस्तै लाग्छ ।

गाउँका धेरै दाइहरुले भारत गएर एसएलसी दिने योजना बनाए । नेपालमा असफल भएपछि भारततिर जाने चलन थियो त्यतिबेला । मैले पनि दाइहरुसँग भारत जाने विचार गरें र सँगै गएँ । सनौली, नेपालभारत सिमानामा हामीलाई रोक्यो । धेरै केटाहरुको बीच, एउटी केटीलाई देख्दा, बेचबिखनमा परेको हो कि भन्ने शंका लाग्यो होला । अलगअलग कोठामा थुनेर राखे हामीलाई चारपाँच घण्टा रोकेपछि, अन्तरवार्ता लिएर नेपाल प्रहरीले छोडिदियो । त्यतिबेला प्रहरीले सोधेको प्रश्न अझै सम्झेको छु ।

प्रहरीले दाइहरुलाई र मलाई अलगअलग कोठामा राखे, उनीहरुलाई के सोधे, थाहा छैन । मलाई यसरी सोधेः

‘कहाँ जान लागेको बैनी ?’, एकजना प्रहरीले सोधे ।

‘गोरखपुर’, मैले भनेँ ।

‘किन ?’ उनले फेरि सोधे ।

‘एसएलसीको लागि फारम भर्न ।’

‘उसो भए पिपुल भनेको के हो ?’

‘जनता’, मैले उत्तर दिएँ ।

‘पिपुल बहुवचन हो कि एकवचन ?’, उनले सोधे । सायद उनी धेरै पढेका प्रहरी थिए ।

मैले ‘बहुवचन’ भनेँ । मनमा डर लागेको थियो गलत भनेँ कि भनेर ।

‘होइन, गलत भनेऊ’, उनले हाँस्दै प्रतिक्रिया दिए ।

त्यसको केही बेरपछि छोडिदिए ।

लोकल रेलमाचडेर गोरखपुरतिर हिड्यौं । उडुसले टोकेर हैरान । गोरखपुरबाट एसएलसीको फारम भरेर फक्र्यौं । फारम भरेको केहि महिनामै एसएलसीको लागि बोलाए । बाँसँग गोरखपुर पुगेँ । प्रवेशपत्र लिने लाइनमा बसेँ म । घण्टौंपछि मेरो पालो आयो । तर, मलाई प्रवेशपत्र दिइएन, आपका प्रवेशपत्र तयार नही हें । त्यसको मतलब पैसा मागिएको हो रे । मैले आशय बुझिनँ । त्यसैले म त्यहाँबाट खाली हात फिर्ता भएँ ।

Advertise
Hike & Write

ठीक त्यही बेला, पुन परिक्षको लागि फारम भर्ने सूचना आएको थियो । म आफ्नै स्कुलमा गएँ र पुन परिक्षा दिने फारम भरें । परिक्षा दिने समय आयो, खासमा नपढीकनै परिक्षा दिएँ र राम्रो अंकसहित पास भएँ ।

क्याम्पस पढ्ने रहर जाग्यो । मनै त हो । कथाले मागेपछि उद्देश्यहरु पनि समयसापेक्ष, परिवर्तन हुँदारहेछन् । प्रौढ शिक्षा पढाएर कमाएको पैसा सबै बाआमालाई दिइसकेको थिएँ । मसँग केही थिएन । बासँग मागें । छैन भन्नु भयो । आमासँग मागें । बजारको कुनै साहुको पसलमा धितो राखेर आफुलाई चाहिने पैसा लिएर क्याम्पस पढ्नु र कमाएपछि, लागेको सबै पैसा तिरेर यो ढुङ्ग्री फिर्ता ल्याएस् भन्दै आमाले आफ्नो कानमा लगाउने सुनको एउटा ढुङ्ग्री दिनुभयो ।

म खुसीले गदगद् भएँ । आमाले दिएको ढुङ्ग्री लिएर बुटवल, मिलनचोकमा एउटा नेवार अंकलको घरमा पुगेँ । त्यही धितो राखें र अलिकति पैसा लिएँ । कानुन संकायमा भर्ना भएँ । शुरुशुरुमा मामाको घरमा बसेर पढ्न जान्थेँ । पछि, बाले बनाउँदै गरेको घरमा झ्यालढोका हालेर बस्नथालें । एक्लै बस्न अलि एकान्त थियो । मेरो माइलो भाइ र म बस्न थाल्यौं । यस्तैमा, चामल सकिएर भाई घर गएको थियो, म एक्लै थिएँ, राति बेस्सरी ढोका हान्यो । बाहिर अँध्यारो थियो, हल्का हावा चलेको थियो । भित्रभित्र मेरो मन डराएको थियो, मलाई एक्लो देखेर कसैले केही गर्छन् कि भन्ने डर थियो । को हो ? मैले चर्को स्वरमा सोधें । कोही बोलेन ।

मलाई झोक चल्यो, भित्र तड्पेर बस्नुभन्दा लड्ने विचार गरें । भाइ नभए पनि उसको नाम बोलाउँदै खुर्पा मागेँ । म एक्लो नभएको आभास दिएँ उसलाई । ढोकामा हानिरहेको थियो । साहस गरें र उसले सुन्ने गरी भने, कि म मर्छु कि तँलाई मार्छु । अनि एउटा हातमा खुर्पा बोकेँ र अर्को हातले ढोका खोलेँ ।

(क्रमशः)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button