१ रुपैयाँ नाफा खान थालेँ

‘पढेर, रूख चढेर र बाटो हिनेर जिन्दगीमा कहिल्यै सकिँदैन !’

पेशल आचार्य

जीवन यात्रा हो । एकल यात्रा । बिहेपछि भने युगल यात्रा रहेछ ।

मैले जुनबेला अलिअलि चेतना सँगाले त्यो बेला यति विकसित प्रविधिहरू थिएनन् । विकसित प्रविधि छ्यापछ्याप्ती हुँदा हामीलाई फुर्सद कम हुन थालेको छ । हिजो विगतमा मैले भोगेको बालापन, समय, अभाव, दुःख, जीवनशैली र कथा-उपकथाहरू सम्झँदा अहिले सिनेमाका रिल घुमेझैँ फन्फनी हुन्छन् ।

खासमा म मान्छे नै बेलगामे हूँ । मैले जीवनमा जति सिकेँ । जाने । बुझेँ । बुझाएँ । कुनै क्षेत्रका पनि मेरा गुरु छैनन् । कवितामा चैँ भवानी घिमिरेलाई अलि मान्छु । किनकि कविता भन्ने शैली उनको मैले सिको गरेँ ।

म अन्तर्मनको आवाजलाई सुनेरै यत्तिको भएँ । हो, यो कुरामा मलाई भरथेग गर्ने बाउआमाहरू, सानोमा भाइहरू र बिहेपछि पत्नीको साथ सहयोग भने पाएको छु ।

अचेल मलाई जे लेखे पनि लेख्न स्वतन्त्र छ । मेरा धेरैजसो दिनहरू लेख्नपढ्न मै बित्छन् ।

अँ, आज म २०३१ सालतिरको कहिरन लेख्दै छु ।

कति सम्झन्छु सबै सत्य सम्झने प्रयत्न गर्नेछु । तिनताक म ४ मा पढ्थेँ । हामी ३ भाइ छोराहरू । बुवा भूमि प्रशासन कार्यालय सुनसरीको खरदार । आमाले धानेको घरखेत । ४-५ बिगा खेत, गाईभैँसी, बाख्रापाठा र घोडा पनि पालिन्थ्यो कुनै बेला ।

बुवा घोडा र कहिले साइकलमा हिँडिरहनु हुन्थ्यो । मोटरसाइकलको जमाना आएकै थिएन । अझ त्यसलाई तराईमा भट्भटे भनिन्थ्यो ।

त्यो बेलाँ गाउँमा कसैले भट्भटे ल्यायो भने हामी केटाकेटीहरू पछि दगुथ्यौं । गाउँ घरका सबै सडक धूले थिए । धूलो उडेर जात्रा हुन्थ्यो । बिजुली भर्खर बजारमा आएको थियो । हाम्रो गाउँमा त आएकै थिएन । जमाना कस्तो कस्तो थियो भने ७ रुपैयाँ जोर परेवाका बच्चा पाइन्थे । खसीको मासु पनि सातै रुपियाँ किलो थियो । हाम्रो घरमा हरेक शुक्रबार बुवा अफिसबाट छिटो आएर हामी तीन भाइ छोरालाई परेवा ल्याउन अह्राउनु हुन्थ्यो । दुई जोरका लागि १४ रुपियाँ लाग्थ्यो तर बुवाले १५ रुपियाँ दिनु हुन्थ्यो ।

बाँकी रहने १ रुपैयाँ हात पार्नका लागि तीन भाइमा लड्डी चल्थ्यो । अनि पालो मिलाइदिनु हुन्थ्यो । एक हप्ता जेठोको, अर्को हप्ता माहिलोको र तेस्रो हप्ता कान्छोको । नत्र कान्छो दह्रो थियो । हामी दुई भाइलाई पछाथ्र्यो ।

तर परेवा किन्नेले कन्ती (कराई) मा पानी तताएर परेवा काटकुट पारी पकाउनका लागि ठिक्क पारेर भान्सामा आमालाई दिनु पर्दथ्यो । त्यो भने हामीलाई घिन लाग्थ्यो । सुरु सुरुमा बुवाले सिकाइदिनु भयो । पछि मैले सिकेँ । सिकेकाले मैले नै धेरैजसो परेवा ल्याएर १ रुपैयाँ नाफा खान थालेँ । त्यो हिसाब बुवालाई दिनु पर्दैनथ्यो ।

खासमा त्यो १ रुपैयाँ काम गरे पछिको अवार्ड रहेछ । भनेका बेला परेवाका बच्चा हम्मेसी नपाइने हुनाले गाउँघर पुरै डुल्नु पर्दथ्यो । अनि पाइँदा साना, खिनौटे र मासु नपर्ने बच्चा ल्यायो भने गाली खाइन्थ्यो । सो डरले म चाहिँ जहिल्यै एक्लेएक्ले ४ वटा बच्चा खोजेर २ जोर बनाउँथे । मासु पर्ने र स्याबासी पनि पाइने । यो जुक्तिले धेरै काम गर्दैनथ्यो । सबै मानिस बाठा थिए । कुनैकुनै दिन हुन्थ्यो पनि ।

अँ, मैले परेवा बनाउन सिकेँ ।

‘चरा चुरुङ्गीको मासुलाई खुकुरीले अचानामा राखेर एकैचोटीमा ट्क्रा पारेको र धेरै चोट लगाएर टुक्रा पारेकोमा स्वाद फरक पर्छ’ भनेर बुवाले भनेको सुनेको थिएँ । केटाकेटी बेलाँ याद भएन । पछि उमेर पुग्दै गएपछि थाहा पाएँ ।

गाउँमा सबैभन्दा मिहीनेती किसान चेतनाथ पोखरेल थिए । उनी आफ्नो हलो आफैँ जोत्थे । उनकाबाट हामीले २०३१ साल चैतमा ३० रुपियाँमा पूजा गर्न मिल्ने ८ केजी सम्मको बाख्राको पाठी किनेको याद् छ ।

त्यो बेला राम्रो लैनो गाईलाई ३ सय र ठिकैको गाईलाई २ सय सम्ममा पाइन्थ्यो । पाठी किनेर कमला माईमा पूजा गर्न लगेको मलाई पूरै याद छ । त्यो किन्दा ३० रुपैयाँ दाम पाठीको र १ रुपैयाँ बगाल छोडाउ लिने चलन थियो । बेच्दा दुमु झिकेर मात्र दिने गर्थे गाउँलेहरू । त्यो पाठी किन्दा चेतनाथकी जहानले ३० मा दिनै मानिनन् । अनि म फर्केर घर आएँ । आमासँग १ रुपैयाँ मागेर फेरि लगेर दिएपछि मात्रै उनले पाठीको दाम्लो मेरा हातमा दिइन ।

त्यो बेलाँ चिजबिच सस्तो तर पैसा महँगो थियो । अहिले ठ्याक्कै उल्टो छ । पैसा सस्तो चिजबिज महँगो । यसो हुनुको कारण मैले एकपटक पचासको दसकमा आफ्नै एकजना विद्यार्थी अर्थशास्त्रीलाई सोधेथेँ । उनी भन्थे– ‘सर, ठिक भन्नुभो । त्यो जमानामा नेपालीहरू वैदेशिक रोजगारीमा यति धेरै जाँदैनथे । देशमै रमेका थिए युवाहरू । अर्थतन्त्रले खासै ठूलो रूप लिइसकेको थिएन । कृषिप्रधान देश थियो । कृषिले सबै कुरा थेग्थ्यो । चिनी, चियारङ, लुगाफाटा, साबन, सलाई र मट्टीतेल बाहेक केही किन्नु पर्दैनथ्यो । सबै उब्जनी खेतबारीमा हुन्थ्यो । मिहीनेती र निरोगी थिए गाउँलेहरू । अहिले रेमिटेन्सले पेपर मनी सस्तो बनायो । अनि उल्टो भयो अर्थतन्त्र समेत ।’

समयको नदीमा म पनि बग्दै गएँ । हुँदाहुँदा अब बुढ्यौलीले छोएको छ । भागेको जीवन सम्झँदा लाग्छ– जीवन नै पाठशाला रहेछ ।

चेतनाथ ठुलाबा चुरोटले खाइसकेका कालाम्मे दाँत देखाएर भन्थे, ‘पढेर, रूख चढेर र बाटो हिनेर कहिल्यै सकिँदैन ।’ नपढेका मान्छेले हामी भर्खर पढ्न सिक्दै गरेर चिचिले भुरालाई जिस्काएको जस्तो लाग्थ्यो तर सोह्रै आना ठिक भन्या रहेछन् ।

अहिले आएर बुझेँ । यतिखेर कसैले यसैसँग मिल्ने उखान या भनाइ निकाले भने म चेतनाथ ठुलो बालाई झल्झली सम्झन्छु । विचरा उनी भने मरेर गएको दुई दसक बढी भयो !

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button