
‘सचिवज्यू ! सरूवा गरिदिनुपर्यो, नत्र आत्मदाह गर्छु’
शेरबहादुर ढुङ्गाना
(अधिवक्ता ढुङ्गाना खाँदबारी नगरपालिका निवासी नेपाल सरकारका सेवानिवृत्त महानिर्देशक हुन् ।)
कुरा २०६३ सालतिरको हो । जिल्ला विकास समितिको सभापतिको जिम्मेवारी पनि मेरै थियो । पदले म स्थानीय विकास अधिकारी थिएँ । केही जिल्लामा स्थानीय विकास अधिकारीको पदमा रही जिल्ला सभापतिको जिम्मेवारी पूरा गर्ने अवसर पाएको अनुभवी थिएँ भनुँ ।
‘एलडियो साहव ! तपाईं अनुभवी स्थानीय विकास अधिकारी हुनुहुन्छ । यो अति विकट हिमाली पहाडी-जिल्ला । अनुदान वितरण गर्न आएको एक करोड रूपैंयाँ यसरी अनुदान दिउँ न ल । गरिबी निवारणका लागि बिजुली बाल्नु अपरिहार्य छ । यो एक करोड रूपैंया देहायका चारवटा साना जलविद्युत आयोजनाका नाममा अनुदान दिउँ’, यति भनेर जिल्ला सभापति, दलका अध्यक्ष, सभापति भइसकेका पदमा बहाल रहेकाले प्रस्ताव गर्नु भयो ।
अघि मेरो अध्यक्षतामा बैठक पुस्तिकाको शीरमा आजको जिरी उठाइसकेको थियो ।
‘विषय प्रवेश गराउँ’ भनी विषयसम्म लेखियो। ‘थप छलफल आगामी बैठकमा’ लेखियो ।
योजना तिनै चार जना जनप्रतिनिधिका नामका साना जल विद्युत आयोजना भनी जान्न मलाई समय लागेन, ठेगानाले त्यही बताउँथ्यो । डेरामा फर्केर श्रीमान् सचिवज्यूमा फोन गरें, ‘मेरो सरूवा गरिदिनुपर्यो हजुुुर, नत्र म नजिकैको नदीमा आत्मदाह गर्छु ।’
भोलिपल्ट शनिवार । आइतबार दिउँसो सरूवा पत्रको फ्याक्स आयो । रवाना भएँ ।