‘माइकमा बोल्न’ जनमोर्चालाई समर्थन

राजन सिम्खडा

मुलुकको प्रजातान्त्रिक आन्दोलनमै महत्वपूर्ण परिघटना सावित २०१७ सालको खनियाबास काण्ड र नेपाली काँग्रेसद्वारा २०३१ सालमा सशस्त्र विद्रोहको तयारी गरिएको तथा २०३६ सालमा बहुदल-निर्दलका लागि निक्कै घम्साघम्सी परेको दार्खामा कुनै गतिविधि नभइकनै २०४६ सालमा निर्दलको अन्त्य र बहुदलको आगमन भयो, जतिखेर म मामाघरमा बसेर पढ्दै थिएँ ।

बहुदलीय व्यवस्था पुनस्र्थापनापश्चात २०४८ साल वैशाखमा भएको आमनिर्वाचनमा भने म रसरमाइलोमै प्रचार प्रसारमा लागें, तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार पुष्पविक्रम मल्लको अभियानमा सरिक भएर । सल्यानकोट कारीगाउँका मल्ल काठमाडौंमा पढ्दा शैलेन्द्र काका र जिवेन्द्र दाइको ‘रुममेट’ रहेछन् । त्यही नाता लगाउँदै उनले माइलाबुवा हरिप्रसादको घरमा दार्खाको चुनाव प्रचार मुकाम बनाएका थिए ।

त्यो आमनिर्वाचनका बेला हाम्रो स्कुलले पनि दिन बिदा दिएको थियो । म गाउँ गएँ र पल्लोघरमा चुनाव मुकाम बनाएका मल्लको प्रचारमा सहभागी भएँ । धादिङ क्षेत्र नम्बर १ बाट त्यो वर्ष नेपाली काङ्ग्रेसका दामन पाख्रिन, एमालेका गुरु बुर्लाकोटी, राप्रपाका बुद्धिमान तामाङ र जनमोर्चाका मल्ल मुख्य उम्मेदवार थिए ।

मलाई माइकिङ गर्ने ठूलो रहर । अरू कोही अगाडि सरेर नबोल्ने, सबैले मलाई नै ‘ल राजन, बोल बोल’ भन्थे । म पनि माइकमा बोल्ने मौका पाउँदा किन छोड्थें ? खासमा मलाई राजनीतिक पक्षधरताले भन्दा पनि ‘माइकमा बोल्न पाउने’ लोभले चुनावी प्रचारमा तानेको थियो । चुनाव प्रचारमा लाग्नु मेरा लागि आफूभित्रको कला अनुराग प्रवाहित गर्ने र प्रतिभा प्रदर्शन गर्ने अवसर थियो । त्यो अवसर प्रयोग गर्न मैले कुनै कसर बाँकी राखिनँ ।

आमनिर्वाचनमा बुवा र माइला बुवाको समर्थन काङ्ग्रेसप्रति थियो । गाउँ पूरै काङ्ग्रेसमय । काकाचाहिं शिक्षक सङ्गठनदेखिकै एमाले, त्यसैले त्यो बेला पनि एमाले पक्षधर । गाउँमा काङ्ग्रेसको प्रभाव कस्तो भने काकालाई ‘एमालेको पक्षमा धेरै प्रचार नगर्नू’ भनेर केही काङ्ग्रेसका केटाहरूले थर्काएका समेत थिए । त्यस्तो माहोलमा मैले भने ‘माइकमा बोल्न’ जनमोर्चालाई समर्थन गरेको थिएँ ।

जनमोर्चाको प्रचारमा जनवादी गायक जीवन शर्माको चर्चित गीत घन्कन्थ्यो:

‘सिमली छायाँमा बसी
भरिया लामो सास फेरेको
उमेरै भैसक्यो असी
झन् ठूला दुःखले घेरेको’

यस्ता गीत मलाई औधी मनपर्ने । माइकमा बोल्न पनि पाइने अनि यस्ता गीत सुन्न र गाउन पनि पाइने ! यही आकर्षणले मलाई जनमोर्चाको प्रचारमा होमेको थियो ।

चुनाव प्रचार अवधिभर गाउँमा धेरै रमाइलो भयो । गीत गाइयो । नाटक खेलियो । प्रचार समापन हुने अघिल्लो दिन नाटक मञ्चन गरियो । ‘रणभूमिमा एउटा गोलीले’ भन्ने गीतमा ओपेरा खालको नृत्य थियो । नाटकमा मैले पनि अभिनय गरेको थिएँ ।

प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो चुनाव । मतपेटिकाको सुरक्षाका लागि हेलिकोप्टरमा आर्मी आएका थिए । गाउँको रौनक नै बेग्लै । हाम्रै ठाँटीबारीनेर आर्मीले क्याम्प खडा गरेका थिए । उनीहरू दूध, आलु, तरकारी किन्न हाम्रो घर पनि आउँथे ।

मतदान सकिएपछि धमाधम परिणाम आउन थाल्यो । त्योबेला मकै गोड्ने सिजन चलिरहेको थियो । हामी दिनभरि मकैबारीमा हुन्थ्यौं । मकैबारीमा बसेर रेडियो सुन्दै कसको कति भोट आयो, को–को निकटतम प्रतिद्वन्द्वी भए भन्दै दीपक दाइ हातमा कापीकलम लिएर टिप्न बस्नुहुन्थ्यो । मतप्राप्तिका आधारमा पहिलो, दोस्रो र तेस्रो स्थानसम्मका उम्मेदवारको उहाँले सूची नै बनाउनुभएको थियो ।

हाम्रो क्षेत्रमा काङ्ग्रेस उम्मेदवार दामन पाख्रिनको जित भयो । बुवा, माइला बुवा खुसी हुनुभयो तर मेरा लागि न हर्ष भयो, न त विष्मात नै !


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button