क्रिकेटले आइए फस्ट इयर क्लियर !

पेशल आचार्य

झापामा हामी चानचुन ६ वर्ष बस्यौं । झापाबाटै मैले २०३८ सालमा एसएलसी गरेँ । झापामै मेरो कलेज लाइफ सुरु भो । सुरुमा मैले कमर्समा नाम लेखाएँ तर मनपर्ने सबै साथीहरू आर्टस्मा गएकाले रजिष्ट्रेसन फाराम भर्ने बेला मैले फेरि आर्टस्मा नाम लेखाएँ ।

एकातिर मेरो कलेज लाइफ जीवनकै सर्वाधिक रोमाञ्चपूर्ण घटनाले भरिएको थियो भने अर्कोतिर अभावै अभावले जेलिएको थियो । भलो साथी ३ जना भएकाले मलाई डर थिएन ।

कलेजमा हामी ‘फोरस्टार ग्रुप’का नामले विस्तारी विस्तारी चम्किन थाल्यौं । फोर स्टारमा हामी ‘प्रफरापे’ क्रमशः प्रदीप तिमिल्सिना, फणीन्द्र पोखरेल, राजेश श्रेष्ठ र म पेशल आचार्यका नामका अघिल्ला अक्षरबाट रोजेर समूह निर्माण गरेका थियौं ।

हाम्रो हरेकको विशेषता थियो । प्रदीप कलेजमा हुने हाजिरी जवाफ प्रतियोगितामा भाग लिन अब्बल थियो भने फणीन्द्र त्यसबेला दामीचालले क्रिकेट खेल्थे । राजेश हेर्दैमा हिन्दी सिनेमाको त्यो बेला चलेको कुमार गौरवजस्तै हिरो थियो । ऊ सिनेमा खेल्न मुम्बई जाने भन्थ्योे । मेरो बसाइ गाउँमा थियो । ३ जना आन्द्रे साथी सहरमा बस्थे । म कामकाजी श्रमिकको छोरो तर साथीहरू जागिरे र बेपारीका पुल्पुलिएका सन्तान जो थिए ।

राजेश फुर्सदमा उसको भद्रपुर बजारमा रहेको बाउको पसल चलाउँथ्यो । बाउचाहिँ चन्द्रगढीमा जेलर जागिरे थिए । म कवितातिर लहसिएको थिएँ ।

मेची क्याम्पसमा त्यो बेला पढाउने गुरुहरूमध्ये डा.द्रोण पौड्याल, प्रा.चिन्तामणि दहाल र प्रा.रामनाथ शर्माजस्ता गुरुहरूको आशीर्वाद थियो– हामीलाई । पुस्तकालयमा रजनीश नामक लोकल कर्मचारी थिए । यतिखेर उनको थरचाहिँ बिर्सिएँ । पान खूब खाने । उनलाई पान खुवायो भने हप्ताको ७ वटा किताब पढ्न दिन्थे नत्र उही कोटाको एउटामात्र पाइन्थ्यो ।

मचाहिँ द्रोण सर, चिन्तामणि र रामनाथ शर्मा सरहरूसँग लेपासिएर उहाँहरूका सङ्कलनमा भएका किताबहरू पढ्न माग्थेँ । चिन्तामणि सरले नेपाल र विश्व इतिहासका जति पनि किताब दिनुहुन्थ्यो । म पढेर ससानो नोट बनाएर भनेकै बेला ट्याक्क फिर्ता गर्थें । भेटमा सरले पढेका केही कुरा सोध्नुहुन्थ्यो म खुसी भएर भन्थेँ ।

उहाँ हामीलाई नेपालको इतिहास पढाउनु हुुन्थ्यो । इतिहास त्यति प्रष्ट भएर पढाउने शिक्षक मैले फेरि जीवनका कक्षामा कहिल्यै भेटिनँ । उहाँले पढाएको कक्षा लिएपछि त जाँचमा प्रश्न पढ्दा एकैचोटी दिमागमा उत्तरहरू खरररर आउँथ्यो । कस्तो अचम्म ! उहाँको लवज, पढाउने शैली र पर्सन्यालिटी !!

यसरी बिस्तारै बिस्तारै हाम्रो ‘फोरस्टार ग्रुप’ले साथी र सरहरूको दिल–दिमाग जित्दै जानथाल्यो । हामीले कलेजमा भित्ते पत्रिकामा रचना छाप्न थाल्यौं । कलेजमा हुने कार्यक्रममा भाग लिन थालियो ।

यस्तैमा एकदिन नरेश भुर्तेल र पुष्कर भुर्तेलको टोलीसँग हाम्रो फणीन्द्रको टोलीको मैत्रीपूर्ण क्रिकेट खेलियो । केही समय राम्रैगरी खेल अघि बढ्यो तर अन्त्यतिर पुगेका बेला प्रदीप तिम्सिनाले गरेको बलिङ्ले हुइँकिएर विपक्षी ग्रुपमा रहेका नरेशको नाके डाँडीमा लाग्यो । उनी खुत्रुक्कै ढले । हामी पानी छेप्न थाल्यौं । कोही चैँ अब के गर्ने के गर्ने भन्दै आत्तियौं । कसोकसो बाइक हुने दर्शक साथीले आफ्नो बाइकमा राखी अस्पताल लगेछन् । नरेश १५ दिन कलेज आएनन् । हामी त डरले थुरूरू ।

त्यहाँदेखि क्रिकेटस्रिकेट खेल्न छोडियो । अनि लागियो पढ्न लेख्नतिर ।

त्यो बेला १ वर्षमा सकिने कोर्स डेढ वर्षमा सकिन्थ्यो । अनि जाँच हुनका लागि अर्को ६ महिना लाग्थ्यो । यसरी दुई वर्षमा १ वर्षको कोर्स सकिने झ्याउलोले २ वर्षको कोर्स सकिँदा त कहिले ३ वर्षै भुत्लिने ।

मैले पढ्नमा उधूमै मन लगाएँ । हामी आइए फस्ट इयरमा १७६ जना थियौं । २ वटा सेक्सन थियो । पछि परीक्षा नतिजा आउँदा त ‘फोरस्टार ग्रुप’को एकजना म मात्रै पो क्लियर हुनेमा परेछु । बाँकी ३ जना ‘प्रफरा’ चिलिम भएछन् । त्यो बेलामा क्लियर हुने साथीहरूमध्ये फस्ट पशुपति सापकोटा र सेकेन्ड सुरेश ढकालसँग पछिसम्म भेट हुन्थ्यो । अर्को थर्ड हुने एकजनाको चैँ नामै बिर्सिएँ । आजकाल देश छन् कि विदेश ? पत्तोफाँट छैन । फोर्थ हुने मचैँ देशमै बसेर पढाउने–लेख्ने काम गर्दैछु ।

आइए सेकेन्ड इयर विराटनगरमा रहेको चल्तीको क्याम्पस मोरङ क्याम्पस पढियो । त्यहाँ पढ्दाका छुट्टै कहानीहरू छन्, जसलाई कुनै दिन सविस्तार वर्णन गर्नुपर्ला ।

अँ, त्यो दिन क्रिकेटमा हामीले जितेको भए पढ्नमा औसत भएर खेलतिर पो गइन्थ्यो कि ? यस्तैयस्तै तरङ्गहरू अझै टिभिमा क्रिकेट टुर्नामेन्टहरू भएको देख्दा मनमा उठ्ने गर्छन् ।

त्यसबेला म फिस्स हाँस्छु ! अनि वरिपरि कोही छन् कि भनेर घुमेर हेर्छु !!


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button