
इन्जिनियरको आत्मकथाः छोराछोरीले पनि इन्जिनियरिङ नै पढे
नवराज न्यौपाने ‘मौन’
सानो छँदा प्राय: सबै मानिसले मलाई भन्ने गर्थे, ‘बाबु ! तिमी त डाक्टर, इन्जिनियर बन्नुपर्छ है ।’
म पनि गर्वसाथ भन्ने गर्थें, ‘म ठुलो भएर इन्जिनियरिङ पढ्ने छु ।’
यसरी ममा इन्जिनियरिङ्ग विषय पढ्ने रहरले डेरा जमाएको थियो । एक कक्षादेखि दश कक्षासम्म पढ्दा कहिल्यै दोश्रो हुनु परेन । विद्यालय तहमा सातपटक सर्वप्रथम भएको म एसएलसी परीक्षामा भने तनहुँँ जिल्लामा तेश्रो हुन पुगेको थिएँ ।
२०४४ साल साउनमा म इनिनियरिङ्ग अध्ययन संस्थान,पश्चिमाञ्चाल क्याम्पस, लामाचौर पोखरामा सिभिल इन्जिनियरिङ्ग बिषयमा डिप्लोमा तहमा भर्ना हुन पुगें । उक्त क्याम्पसका पहिलो ब्याचका विद्यार्थी हामीहरु राजननीतिमा कम र पढाइमा बढी ध्यान दिने गर्थ्यौं ।
पोखरामा घर भएका बाहेक अरु सबै विद्यार्थीहरु छात्राबासमा बसेर पढ्थ्यौं । हरेक दिन चार घण्टा सैद्धान्तिक कक्षा र छ घण्टा प्रयोगात्मक कक्षा हुन्थ्यो । प्रयोगात्मक कक्षा प्रयोगशाला , कार्यशाला र क्याम्पस हाता परिसरमा हुन्थ्यो । छात्राबासको समय पनि लेखपढ र नक्शाङ्कन कार्यमै बित्थ्यो । कहिलेकाँही शनिबार र बिदाको दिन पनि प्रयोगातक कक्षामा सरिक हुने गरिन्थ्यो ।
त्यो बेला नेपालमा कम्प्यूटर र डिजिटल प्रविधि भित्रिसकेको थिएन । भर्नियर स्केल भएका उपकरण प्रयोग गर्नुपर्थ्यो भने ग्राफ पेपरमा हातैले नक्शा बनाउनु पर्थ्यो । पढाइमा कम्प्यूटर कोर्स नै समाबेश थिएन । मानिसको दिमागले गर्ने काम सबै गर्नुपर्थ्यो । सबैजना लेखेपढमा व्यस्त र अभ्यास्त हुने गरिन्थ्यो ।
तीन वर्षमा सकिनुपर्ने हाम्रो पाठ्यक्रम जनाअन्दोलन २०४६ र भारतीय नाकाबन्दीका कारण झन्डै चार वर्ष लागेको थियो । २०४७ चैत्रमा पढाइ सकियो र एक महिना नबित्दै नतीजा पनि आयो । त्यसपछि म जागिरको खोजीमा काठमाडौं आएँ ।
२०४८ साल साउनमा मैले भूकम्प पीडित क्षेत्र पुनर्निर्माण तथा पुनर्स्थापन आयोजनामा स्थायी जागिर पाउन सफल भएँ । मेरो दरबन्दी ललितपुर जिल्लामा भयो । २०४५ सालमा शुरु भएको आयोजना आफ्नो लक्ष्य पूरा भएपछि स्वत: बन्द हुने निश्चित थियो । तर पनि हामी निश्चिन्त भएर भूकम्पले भत्केका घर तथा विद्यालय निर्माण गर्ने काममा दत्तचित्त भएर खटिएका थियौं ।
भूकम्प प्रतिरोधी विद्यालय निर्माण गर्न सिमेन्ट र फलामे छड पनि प्रयोग गर्नु पर्थ्यो । त्यतिखेर गाउँघरमा छडको प्रयोग नौलो मानिन्थ्यो । निर्माण कार्यको क्रममा हामी २५ कोश टाढा तहेको ठूलादुर्लुङ गाविससम्म घुमी घुमी निर्माण कार्यको अवलोकन गर्ने र निर्देशन दिने गर्थ्यौं । विद्यालय परिवार र गाउले जनसमुदायले हामीलाई आदर र सत्कार गर्ने गर्थे । देशको सेवा गर्न पाएकोमा मलाई गौरवको अनुभूति हुन्थ्यो ।
विसं २०५० वैशाखमा दुर्गम क्षेत्र विकास समितिमा प्राविधिक मागको विज्ञापन खुल्यो । मैले पनि परीक्षा दिएँ । तर नाम निकाल्न सकिएन । २०५० मङ्सिरमा पुन: विज्ञापन खुल्यो । यसपटकको परीक्षामा भने म नाम निकाल्न सफल भएँ । अनि भूकम्प अफिसमा राजिनामा दिएर मैले दुर्गम क्षेत्र विकास समितिको सब इन्जिनियर पदमा स्थायी नियुक्ति लिएर म २०५० साल पौष महिनामा मनाङ जिल्ला हान्निएँ ।
जिल्लामा हाम्रो कार्यालय जिल्ला विकास समितिको कार्यालयमा हुन्थ्यो । दुक्षेविसका योजनाहरु २२ दुर्गम जिल्लाका दुर्गम स्थानहरुमा राखिएको हुन्थ्यो । बिकाससँग सम्वन्धित अन्य कार्यालयहरुले कार्यक्र्म नराखेका विकट स्थानमा योजना सञ्चालन गर्नको लागि साइट इन्चार्ज भएर बस्नु पर्दथ्यो । घोडेटो बाटो, झोलुङ्गेपुल, लघुजलविद्युत, सोलार आदि योजनाहरु सञ्चलन गर्न योजनास्थलमा डेरा जमाएर बस्न पर्थ्यो ।
हामीलाई बाह्रै महिना व्यस्तताले गाँजिरहेको हुन्थ्यो । दुक्षेविसका योजना लगयात उक्त क्षेत्रमा गाविस, जिविस र केन्द्रबाट सञ्चालन हुने सारा योजनाको सर्भे, डिजाइन, लागत इष्टिमेटदेखि लिएर योजना कार्यन्वयन र सुपरिवेक्षण कार्यमा तल्लीन भएर दिन बिताउनु पर्दा आफ्नो घर परिवारको बारेमा सोच्ने फुर्सद कहिल्यै मिल्दैनथ्यो । फेरि सबै काम उपभोक्ता समिति मार्फत गर्नुपर्ने हुँदा प्राविधिकको उपस्थिति अनिवार्य हुन्थ्यो ।

दुर्गम क्षेत्र विकास समितिमा रहेर मनाङ, मुस्ताङ, कालिकोट, गोरखा, धादिङ, सङ्खुवासभा र रसुवा जिल्लाहरुमा भौतिक पूर्वाधारका संरचना निर्माण गर्ने काममा निकै दु:खकष्ट झेल्नु पर्यो । सशस्त्र द्वन्दकालमा पनि हाम्रा योजनाहरु निर्वाध रुपमा सञ्चालन भइरहे । योजना सञ्चालनको समयमा उपभोक्ता समितिका पदाधिकारीहरु मलाई लिन र पुर्याउन आउथें । यसरी एक्काइस वर्ष गुमनाम भएर दुर्गम गाउँबस्तीमा बिताएको थिएँ । योजनास्थलबाट फर्कदा र जिल्लाबाट सरुवा हुँदा गलाभरी खादा र अनुहारभरी अविर लिएर बिदाबारी हुनुपर्थ्यो । यी एक्काइस वर्षमा मैले आर्जेको सम्पत्ति भनेको गाउले जनसमुदायको माया र सद्भाव नै हो । सोह्र वर्ष सब इन्जिनियरको भूमिका निर्वाह गरेपछि मात्र इन्जिनियरमा बढुवा हुन सफल भएँ । अहिले सम्झदा पनि मलाई नोष्टाल्जिक बनाइरहन्छ ।
२०७१ साउनबाट मेरो केन्द्रमा सरुवा भयो । केन्द्र (श्रीमहल, पुल्चोक)मा सरुवा भए पनि काम पर्दा जिल्लामा गइरहनु पर्थ्यो । तर अधिकांश समय भने कार्यालयमा नै बित्ने गर्थ्यो । जिल्लामा बिताएका ती कहालीलाग्दा दिनहरु सम्झेर केन्द्रमा बस्दा केही राहत मिलेझैं हुन्थ्यो ।
म केन्द्रमा आएपछि छोराछोरी पनि काठमाडौं पढ्न आउने भए । छोरी एसईई उत्तीर्ण गरेर र छोरा सात कक्षा उत्तीर्ण गरेर काठमाडौं आए । छोरी मोर्गन कालेजमा विज्ञान बिषयमा १२ कक्षामा भर्ना भइन् भने छोरा सिद्धार्थ बनस्थली इन्स्टिच्युटमा आठ कक्षामा भर्ना भयो । उनीहरुको अविभावक बनेर मैले आफ्नो जागिरलाई पनि निरन्तरता दिइरहें । तर संघीयता लागू भएका कारण २०७५ सालबाट दुर्गम क्षेत्र विकास समिति विघटन भयो । दुक्षेविसका कर्मचारीहरुलाई दुर्गम जिल्लाका दुर्गम गाउँपालिकाहरुमा समायोजन गरियो । दुर्गम जिल्लाका दुर्गम गाउँपालिका रोज्ने विकल्प पनि दिइएको थियो । तर स्वास्थ्य र घरायसी दुवै कारणले गर्दा मैले पुन: दुर्गम भेगमा नजाने निर्णय गरें र स्वेच्छिक अवकाश लिएर बसें । अनि साहित्य लेखन र पत्रकारिता क्षेत्रमा समय खर्चिने निर्णय गरेर छोराछोरीसँग नै बसिरहेको छु ।
अहिले छोराछोरी पनि ठूला भईसकेका छन् । छोरीले अर्किड कलेज गौशालाबाट बीएस्सी सीएसआइटी उत्तीर्ण गरी एउटा निजी संस्थामा सिनियर सफ्टवयर इन्जिनियरको रुपमा काम गरिरहेकी छन् भने छोराले ललितपुर इन्जिनियरिङ्ग कलेजमा कम्प्युटर इन्जिनियरिङ्ग बिषयमा बीइ दोश्रो वर्षमा अध्ययन गरिरहेको छ । म भने उनीहरुको अभिभावक बनेर बँचेको समय लेखन कार्यमा लगाइरहेको छु । जीवन रहे जगत देखिने रहेछ, भावना र सम्झना भए कहानी लेखिने रहेछ । र, यसरी नै हरेक दिन अनुभूतिको सिँढी टेकिने रहेछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



