छोराछोरी नै डाक्टर बनेपछि आमाको खुशी

रामेश्वरी पन्त

बेलाबेलामा सन्तानबाट प्राप्त हुने खुशीले मनै फुरुङ्ग पारिदिन्छ । हुन पनि बाबुआमाका खुशी भनेका यिनै सन्तान त हुन् नि ! त्यसो त सन्तानलार्ई खुशीको परिभाषाभित्र मात्रै राखेर हेर्नु पनि सोह्रै आना सही हुन सक्दैन किनकी कैयौं बाबुआमाका दुःख सन्तानबाटै शुरु भएका र सन्तानकै कारण जीवनभर दुःखको समुद्रमा डुब्दै त्यही दुःखैदुःखमा जीवनको अन्त्य भएका उदाहरण पनि प्रसस्त नदेखेको कहाँ हो र ! तर जे भए पनि आजका दिनसम्म सन्तानबाट कुनै दुःख र असन्तुष्टि बेहोर्नु परेको छैन । यसर्थ पनि हामी आफूलाई भाग्यशाली बाबुआमा ठानिरहेका छौं । भोलिको त कसलाई पो थाहा छ र ? बिहानले नै दिउँसोको संकेत गर्छ भन्छन् । त्यसैले पनि सन्तानका कारण हुनसक्ने भोलिको चिन्ताबाट टाढै छौं ।

यहाँ आज म एक ‘आमा’ भएर सन्तानको सफलतामा उम्लिएका खुशीका भावहरूलाई यहाँहरूसामू छताछुल्ल पार्न मन लागेर उपस्थित भएकी छु । मेरा दुई सन्तान– एक छोरा, एक छोरी । दुबै डाक्टर भएका छन् अहिले । दुवैले शिक्षा मन्त्रालयबाट प्राप्त हुने चिकित्साशास्त्र तर्फको सरकारी छात्रवृत्तिमा नाम निकालेर एम.बी.बी.एस. पास गरे । छोराले साढे तीन वर्ष अघि नै एम.बी.बी.एस. पास गरेर पहिलो पटकमै नेपाल मेडिकल काउन्सिलको चिकित्सक लाइसेन्स परीक्षा पनि पास गरी दुई वर्ष सरकारले खटाएको ठाउँमा गई सेवा गरेर गतवर्ष अल ईण्डिया ईन्स्टिच्युटबाट लिइएको पोष्ट ग्य्राजुएट (एम.डी.)को प्रवेश परीक्षामा विश्वभरिमा तेस्रो नम्बरमा नाम निकालेर पूर्ण छात्रवृत्तिमा भारतको एक प्रतिष्ठित विश्वविद्यालयमा हाडजोर्नी विषयमा स्नातकोत्तर चिकित्सा अध्ययन गरिरहेको छ । अब दुई वर्षपछि एक कुशल चिकित्सक बनेर फर्कनेमा ढुक्क छु ।

यसै वर्ष गत बैशाखमा एम.बी.बी.एस. पास गरेर इन्टर्नसिप गर्दै गरेकी छोरीले पनि अहिले अस्ति यही पुस २४ गते भएको नेपाल मेडिकल काउन्सिलको चिकित्सक लाइसेन्स परीक्षा पास गरी । जसरी एस.एल.सी.(अहिलेको एस.ई.ई.) परीक्षालाई स्कुले विद्यार्थीको फलामे ढोका भनिन्छ त्यसैगरि चिकित्सा विज्ञानमा स्नातक गर्नेहरूका लागि मेडिकल काउन्सिलको परीक्षा पनि फलामे ढोका नै सावित भएको छ । छोराछोरी दुबैले सजिलै यो फलामे ढोका पार गरेकोमा अपार खुशी र आनन्द महशुस भएको छ । त्यसो त अध्ययनको कठिन यात्रा पार गरेर यो फलामे ढोकाबाट बाहिर निस्कन यिनीहरू र यी जस्ता धेरैलाई कहाँ सजिलो भएको होला र ! यिनका दुःखको शाक्षी त म स्वयं छँदैछु । यस विषयमा जानुअघि नेपाल मेडिकल काउन्सिलले लिने परीक्षाकै बारेमा केही लेख्न मन लाग्यो ।

बाह्र कक्षा पास गरेपछि मेडिकल साइन्स पढ्नकै लागि क्षमतावान् विद्यार्थीहरू दिनरात नभनी घोटिएर खारिंदै चिकित्साशास्त्र अध्ययन संस्थानले लिने प्रवेश परीक्षा पास गरेर चार वर्षसम्म उस्तै दुःख र मेहनतले पढिरहेका हुन्छन् । चार वर्षसम्म अनवरत पढेर, सिकेर एम.बी.बी.एस. पास भएपछि र अनि अर्को करिब एक वर्ष इन्टर्नसिप गदैगर्दा (यो अवधिमा विद्यार्थीहरू पूरै प्रयोगात्मक सिकाई गरिरहेका हुन्छन्) फेरि उनीहरूको लागि अर्को फलामे ढोका खडा गर्छ नेपाल मेडिकल काउन्सिलले र लाइसेन्स परीक्षाको नाममा अत्यन्त कठिन प्रश्न सोधेर (स्वयं विद्यार्थीहरूकै अनुभव) धेरैलाई अनुत्तिर्ण गरी अगाडि बढ्नबाट रोकिदिन्छ । के पाँच वर्षसम्म पढेर सम्बन्धित कलेजले पास गराएर पठाएका विद्यार्थीलाई काउन्सिलले यसरी फेल गराउनु ती विद्यार्थीहरूमाथि न्याय गर्नु हो ? अथवा ती विद्यार्थीले पढेका आफ्नै देसका कलेजहरूप्रति काउन्सिलको विश्वास नभएको हो भनेर मान्ने ? होइन भने छिमेकी भारतमा आफ्नो देशभित्रका कलेजमा पढेर पास भएका विद्यार्थीलाई यसरी त्यहाँको मेडिकल काउन्सिलले लाइसेन्सको नाममा परीक्षा लिने व्यवस्था भएजस्तो लाग्दैन । विदेशमा पढेर आएका विद्यार्थीको हकमा यसरी परीक्षा लिनु त जायज होला नै तर आफ्नै देशभित्रका मेडिकल कलेजहरूप्रति काउन्सिलको विश्वास नरहनुमा दोष कसको ? काउन्सिलको ? या सम्बन्धित कलेजले विद्यार्थीलाई राम्रो शिक्षा दिन नसकेको हो भनेर मान्ने ?

हरेक पटक झैँ यस पटक पनि काउन्सिलको परीक्षामा धेरै विद्यार्थी फेल भए । परीक्षामा निकै अफ्ठ्यारा प्रश्न आए भन्दै धरै विद्याथीहरू दुःखी भएको सुनियो । अब्बल भनिएका र छात्रवृत्तिमा नाम निकालेर पढेका विद्यार्थीमा पनि पास हुन्छु भन्ने विश्वास नभएर परीक्षाको नतिजा नआउँदासम्म नुन खाएको कुखुरा जस्तो अवस्था देखियो भने अरुको झन् कुन हालत भए होला !

परीक्षा दिएर आएकी छोरी आफै पनि ढुक्क थिइन । भोलिपल्ट दिनभर उसको अनुहारमा खुशीको रेखा पढ्न सकिएन । फ्रस होलि भनेर उसलाई लिएर हामी आमाबुबा ठमेलतर्फ लाग्यौं । उसलाई त्यहाँ पसलमा कुनै सामान किन्न पनि मल लागेन । उसको नजर केवल हातको मोबाइलमा नै रह्यो । डुल्दै घुम्दै दरबारमार्ग आइपुग्दा झमक्कै साँझ परिसकेको थियो । हामी एउटा जुत्ता पसलभित्र थियौं । ऊ बाहिरै मोबाइलमा ब्यस्त । त्यतिबेला बल्ल ऊ हाँसेको देखेँ । हामीले अड्कल गरिहाल्यौं कि ऊ पास भई । साँच्ची नै हो रहेछ । खुशीले हामी दुबैले छोरीलाई अँगालो हालेर दरबारमार्गको पेटीमा उफ्रियौं र बधाई दियौं । यसपछि बल्ल ऊ जुत्ता पसलभित्र छिरेर जुत्ता हेर्न थाली । उसलाई हामीले दिनभर सम्झाइरह्यौं कि तिमीजस्तो अब्बलले आफैमाथि भरोसा गर्नुपर्छ । यो नै सफलताको ठूलो कडी हो । तर परीक्षा भनेपछि सबैलाई उस्तै डर लाग्ने रहेछ, मलाई पनि त्यस्तै हुन्थ्यो रिजल्ट नआउन्जेलसम्म । तर छोरा भने यसमा सधैँ अपवाद निस्क्यो । सधैँ बिन्दास । सधैँ परीक्षा दिएर आउँथ्यो तर ढुक्क ! जे हुन्छ, परिणाम आएपछि हुन्छ ।

यस पटक (पुस २२–२५ सम्म) नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा सामेल भएका एम.बी.बी.एस. तर्फका १७३४ जना परीक्षार्थीहरू मध्ये ४९ प्रतिशत अनुत्तिर्ण भएको देखियो भने बी.डी.एस. तर्फका ४३५ परीक्षार्थीहरू मध्ये ५९ प्रतिशत अनुत्तिर्ण भएको देखियो । यो नतिजा हेरेर के निष्कर्षमा पुग्ने ? यसको दोष ती अनुत्तिर्ण हुने विद्याथीलाई दिने कि सम्बन्धित कलेजलाई ? या काउन्सिललाई ?

अब पढाइको कुरा गरौं । पढ्नु कहाँ सजिलो कुरा छ र ! अझ त्यसमा पनि अहिलेको पढाई । हाम्रो पालामा जस्तो घाँसदाउरा र मेलापात गर्दै पढेर पनि परीक्षामा प्रथम भई दुईचारवटा कापी र सिसाकलम पुरस्कार थापेर आधा घण्टाको बाटो एकै सासमा पार गरेर घर आइपुगेजस्तो सजिलो कहाँ छ र अहिलेका विद्यार्थीहरूलाई ! विचराहरूलाई तोतेबोली नफुट्दै बोर्डिङ स्कुलका किताबको भारी बोकाइन्छ । अनि बिहानदेखि रातीसम्मै किताबकै रटान । किताबकै प्रतिस्पर्धा । लाग्छ, सबैभन्दा दुःखको काम नै पढ्नु हो । अहिलेका छोराछोरीहरू राति कतिबेला सुत्छन् र बिहान कतिबेला उठ्छन् थाहा हुँदैन । न खानको ठेगान । बिहान आँखा मिच्दै स्कुल कलेज धाउनु, साँझ झमक्क भएपछि घर आउनु । फेरि पढाइमै घोटिनु ।

छोराछोरीका यिनै दुःख हेर्दै आफ्नो आधा उमेर बिताएछु । बिहान आठबजेदेखि राती दशबजेसम्मको सरकारी ड्यूटी गर्ने जागिरे श्रीमान् । पढ्न त गतिलै जागिर खान पुग्नेगरी नपढेको त मैले पनि कहाँ हो र ! भारतीय संस्कृतिभित्रकी आम नारी जस्तै म पनि एक नारी । घर, परिवार र सन्तान ! यिनैको संरक्षणमा आफ्नो खुशी देखेँ र रमाउन थालेँ ।

Ad

बिहानै श्रीमानलाई चिया नास्ता गराएर अफिस पठाउनु, छोराछोरीलाई खाना बनाएर खुवाई चिटिक्क तयार पारेर स्कुल पठाउनु, घरको कामधन्दा सम्हाल्नु, लुगा धुनु, दिउँसो छोराछोरी आएपछि तिनको स्याहार, खाजा अनि गृहकार्य गराउनु, साँझको घरधन्दा र भान्सा । दिन यसरी नै मेरा बिते पनि कुनै चिन्ता पिरलो रहेन । पढाईमा छोराछारी दुबै अब्बल । हरेक परीक्षामा उनीहरू फेल होलान् भन्ने चिन्ता होइन, प्रथम नहोलान् कि भन्ने चिन्ता लाग्थ्यो मलाई । उनीहरूलाई गृहकार्य गराउँदा कतै शिक्षकले गलत पढाएको चाल पाएँ भने तुरुन्त स्कुलमा गएर शिक्षकहरूसँग बहसमा उत्रन्थेँ । त्यसैले पनि मलाई सबैले ‘कडा अभिभावक’ भनेर चिन्थे । जे भने पनि मेरो छुच्चो पनले गर्दा शिक्षकहरू सजग र सचेत बन्थे यसैमा खुशी लाग्थ्यो ।

अलि ठूला भए छोराछोरी । दुबैले गण्डकी बोर्डिङबाट उत्कृष्ट नतिजा ल्याएर एस.एल.सी. पास गरे, उत्कृष्ट नतिजामै सेन्ट जेभियर्स कलेजबाट बाह्र कक्षा पास गरे । हामीले छोराछोरीमा कुनै कुरामा विभेद गरेनौं । न हुर्काईमा न सिकाईमा न पढाईमा । दाजुबहिनी एकअकार्मा हरेक कुरामा प्रतिस्पर्धा गर्दै हुर्किए । मैले दुबैलाई छोरा र छोरी होइन ‘मान्छे’ बनेर हुर्कन सिकाएँ । यो कुरा मेरा छोराछोरीहरूलाई कत्तिको महशुस भएको छ त्यो त उनीहरूलाई नै थाहा होला तर म आजसम्म निकै सन्तुष्ट छु ।

हाम्रो समाजमा अझै पनि बाबुले भन्दा आमाले जन्मदै आफ्ना छोराछोरीलाई छोरा र छोरी बनाएर हुर्काएको देखिन्छ । जन्मदै छोरालाई कस्तो लुगा लगाइदिने, छोरीलाई कस्तो लुगा लगाइदिने । कस्तो खेलौना छोरालाई, कस्तो खेलौना छोरीलाई । छोरा भए बन्दुक वा गाडी, छोरी भए गुडिया किनिदिने पढालेखा आमाहरू अझै भेटिन्छन् । छोरा भए कपाल काटेर छोट्याइदिने, कट्टु र टिसर्ट मात्र लगाइदिने तर छोरी भए न्वारान पनि नगर्दै कपालमा फूलबुट्टे हेयरबिन (हेडबिन) लगाईदिने, निधारमा टिका, आँखामा गाजल लगाई रंगीबिरंगी फ्रक लगाइदिने गर्छन् । अझ कतिले त अचेल विभिन्न फङ्सनमा ‘संस्कृति जोगाउने’ भन्दै राम्रोसँग बोली पुट्न पनि नपाएका छोरीहरूलाई उनीहरूले धान्नै नसक्ने गरि गुन्यूचोली, गहना र श्रृङ्गारका भारी बोकाएर उनीहरूलाई ‘छोरी’ बनेरै हुर्कन सिकाइरहेका हुन्छन् न कि एक मानिस ! यो देखेर दिक्क लाग्छ ।

सन्तान असल बने भने आफ्नो कर्तव्य आफै पहिल्याउने छन् । विवेकी भए भने आफूमाथि बाबुआमाले गरेको शारीरिक, मानशिक भावनात्मक तथा भौतिक लगानीको लेखाजोखा गर्लान् नै र त्यसको मान राख्लान् नै । नत्र यस्ता कुरामा कुनै पनि बाबुआमाले हिसाबकिताब खोज्नु मूर्खता र अज्ञानता मात्र हो । यस्ता बाबुआमा सायदै कमै भेटिन्छन् होला । बाबुआमाको लागि त सन्तानको खुशी र प्रगति भन्दा ठूलो सुख, खुशी र आनन्द सायदै अरु कुनै होला । हो, सन्तान भनेको बाबुआमाको लागि बुढेसकालको सहारा पनि हो, सुखदुःखको साथी पनि हो । भोलिको यही आशा र भरोसामा उनीहरूले सन्तानलाई हुर्काइरहेका हुन्छन् । उनीहरूमा लगानी गरिरहेका हुन्छन् । सन्तानको मुहारमा देखिने आजको हाँसोमा उनीहरू भोलिको आफ्नो खुशी पनि झल्किरहेको पाउँछन् । भोलि जब उनीहरू अशक्त हुनेछन्, उनीहरूलाई धेरै ठूलो कुराको आवश्यकता र अपेक्षा पनि त हुँदैन, मात्र केवल सन्तानबाट मीठो बचन र साँझबिहानको दुईछाक खाना अनि एकसरो लुगा । अरू त के नै पाउनु छ र ! के नै भोग्नु छ र त्यो बुढेसकालमा ! बस् ! सन्तानको बोलि र व्यवहारले त्यो हृदय नदुखाइदिऊन् जुन हृदयमा केवल सन्तानकै माया नै माया भरिएको हुन्छ ।

सन्तानको सफलताको खुशी बयान गर्दैगर्दा एउटा कुरा त भन्नै बिर्सेँछु । विद्यार्थी जीवनका उनीहरूका दुःख देख्दा यस्तो लाग्छ, उनीहरूलाई डाक्टर बनाउने सपनामा कतै हामीले उनीहरूलाई दुःखैदुःख त दिएनौं ? अझै पढ्दैछन् उनीहरू र आफ्नो पेशा अवधिभर यसरी नै दुःख गरिरहनुपर्ने छ । पढिरहनुपर्ने छ । आफ्नो समय नभनिकन सेवामा खटिनुपर्ने पेशा रोजेका मेरा छोराछोरीजस्ता कैयौं छोराछोरीले यसैगरी आफ्नो सारा समय अरुकै सेवामा खर्चिनुपर्ने छ । आम मानिसका झैँ उनीहरूका पनि व्यक्तिगत चाहना, रमाउने, घुम्ने रहर नहुने कुरै भएन तर यी सबको लागि उनीहरूले समय कसरी निकाल्लान् खै ! परिवारको लागि समय कसरी निकाल्दा हुन् यी डाक्टरहरूले ? अहिले देखिरहेछु, यो महामारीमा आफ्नो ज्यानको बाजी लगाएर रातदिन नभनीकन विरामीको सेवामा खटिएका डाक्टर र नर्सका दौडधूप । यही महामारीको बीचमा कोहीकोहीले भनेको सुनियो– ‘डाक्टर र नर्स भनेका ज्यूँदा भगवान हुन् ।’ तर यिनै ‘ज्यूँदा भगवान’बाट यदि उपचारको क्रममा कसैको ज्यान गैहाल्यो भने उनीहरू नै भन्ने गर्छन्– ‘डाक्टर भनेका यमराज हुन्’ र अनि उनीहरूको टाउको फुटाउन उद्दत हुन्छन् । त्यसैले हामीमा विवेक छ भने यी भगवानहरूमाथि जाइलाग्नु अघि एक पटक सोचौं त !

डाक्टर र नर्स पनि ‘मान्छे’ नै हुन् र मानवीय त्रुटी जोसुकैबाट पनि हुनसक्छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button