
धन्नै आत्महत्या गरेँ
प्रतिमा शर्मा
‘के लगाएर स्कुल जाने ?’
स्कुल पोशाकको छलफलमा केही दिनहरु यत्तिकै बिते । म सट-स्कट वा सट-पाइन्टमा स्कुल जान चाहन्थेँ । तर अनुमति पाइनँ । त्यो, आजभन्दा ४ दशक पहिलेको समाज, धेरै नै पीडादायी थियो । खासमा छोरीहरुका लागि । आज पनि तराईका मुस्लिम समुदाय र सुदुरपश्चिमका ग्रामीण समुदायमा छोरीहरुमाथि उस्तैउस्तै विभेद र पीडा छ । अहिले मेरो समुदायमा मेरा बहिनीहरु जाँगेमा बस्छन्, केही फरक पर्दैन । सबै स्विकार्य छ । त्यो बेला विवाहपछि सारी ब्लाउज वा लुङ्गी र टीसर्ट लगाउनु पर्दथ्यो ।
इन्डीड ! म स्कुल गएँ । लामो जामा लगाएर । सबै साथीहरु र शिक्षकहरुले थाहा पाइसकेका थिए कि मेरो विवाह भएको छ । कसैले सोचेकै थिएनन् रे, म स्कुल फर्किन्छु भनेर । किनकी विवाह भएपछि कुनै छोरी पढ्नको लागि स्कुल फर्केका थिएनन् रे । म फर्केँ । मलाई स्कुल पोशाक अनिवार्य गरेनन् । विवाह भएकै कारण स्कुलपोशाक बाहेकको पोशाकमा पनि स्कुल जाने अनुमति दिए । हरेक दिन पोशाकका कारण पीडावोध हुन्थ्यो मलाई । अरुभन्दा फरक पोशाकमा देखिँदा मलाई पीडावोध हुन्थ्यो । त्यसैले प्रार्थनाको बेला अनुपस्थित हुन चाहन्थेँ । स्कुलका हरेक अतिरिक्त क्रियाकलाप जस्तै, खेल र कविता प्रतिस्पर्धामा भाग लिन छोडी दिएँ । यसको कारण मेरो फरक पोशाक र त्यो फरक पोशाकको कारण बालविवाह थियो । त्यतिबेला मभित्र कार्यक्रममा भाग लिने र साथीहरुलाई जित्ने उमंग थिएन, सबै रहर र उमंग म¥यो । बरु मन थिलोथिलो भएको थियो । पहिला पहिला हरेक प्रतिस्पर्धामा भाग लिन्थेँ र १०० मिटर दौडमा बाहेक अरु खेलमा जित्थेँ । त्यसताका कुनै कार्यक्रममा भाग लिने चाह थिएन, पोशाककै कारण ।
म दुब्लाउँदै गएको थिएँ ।
घरको कामले गर्दा स्कुल जाँदा सधै ढिलो हुन्थेँ र एक्लै जान्थेँ । तर स्कुलबाट फर्किँदा प्राय साथीहरुसँग आउथेँ । बाटोमा आउँदा मलाई दाइहरुले जिस्काउँथे ।
‘केटीहरु कमजोर हुन्छन्, तेरो शरीरमात्र ठूलो हो, तँलाई त एउटा औंलाले जित्छु’ आदि आदि । दाईहरुको यस्तो कुरा सुनेर मलाई झोक चल्थ्यो । अनि, दाईलाई जित्ने आँट गरेर भन्थेँ, ‘आउनुस् न लडौँ, कस्ले जित्छ ?’
मधु मामाले उक्साउनु भयो । हिमलाल दाई र म लड्यौँ । पुरै बल प्रयोग गरेर लड्यौँ । मैले दाइलाई जितेँ । लक्ष्मी दाइले पनि लड्ने आँट गर्नुभयो । उहाँ हिमलाल दाईभन्दा अलि मोटो हुनुहुन्थ्यो । तथापी, उहाँलाई पनि मैले जितेँ । त्यसपछि कहिल्यै कमजोर ठानेनन् दाइहरुले र जिस्काउन पनि छोडे । उमेरले सानो भए पनि शारीरिक रुपमा सानो थिइनँ, बलियो थिएँ र मानसिक रुपमा लड्न बाध्य बनाएको थियो परिस्थितिले ।
हाँसो ठठ्ठा गरेर सबैलाई हसाउन मन पर्ने मान्छे थिएँ म । बाल्यकालमा उट्पट्याङ गर्थेँ मैले, अनि हसाउँथे मानिसहरुलाई । एकदिनको कुरा हो, परिवार नियोजनका लागि गाउँका धेरै आमा, भाउजु र गाउँका अरु नाता पर्ने नपर्ने २० जना महिलाहरुलाई लिएर भैरहवा भिमअस्पतालमा जाने जिम्मेवारी दिए । गाउँबाट ती २० जना महिलाको साथी र सहयोगी बनाएर इन्दिरा खनाल (भान्जी बैनी) र मलाई पठाए । हामी गयौँ । अस्पताल पुगेपछि परिवार नियोजन गर्ने महिलाहरुको नाम लेख्ने रजिस्टरमा एक एक गरेर नाम लेखायौँ । इन्दिरा बैनी र मैले सल्लाह ग¥यौँ र त्यो रजिस्टरमा हाम्रो पनि नाम लेखाइदियौं । हाम्रो नाम अन्तिममा थियो । त्यतिबेला हामी दुवैजना अविवाहित किशोरी थियौँ । क्रमशः नाम बोलाउदै गए, आफ्नो आफ्नो पालामा सबै जना भित्र गए । हामी एकदमै एकसाइटेट थियौँ, कति बेला पालो आउला भनेर ।
अन्ततः हाम्रो पनि पालो आयो । परिक्षणका लागि हामीलाई भित्र बोलाए । हामी गयौँ पालैसँग । परिवार नियोजन गर्दा लगाउने लुगा लगाएर परिक्षण गर्दै अप्रेसन गर्ने कोठामा पुग्यांँ हामी । मनमा कत्ति पनि डर थिएन ।
डाक्टरसाबले जाँच्दै सोधे, ‘कति वर्षकी भयौ ?’
मैले भनेँ, ‘१५ ।’
‘कति जना छन सन्तान ?’
म हाँसे, बोलिन ।
फेरि सोधे, ‘२ वटा छन् ?’
‘नाईं’, मैले उत्तर दिएँ ।
‘कति छन् त ? ३ वटा ?’
म फेरि हासें ।
‘किन हाँसेको’, डाक्टरले सोधे ?
‘मेरा सन्तान छैनन्, तर म बच्चा जन्माउन चाहन्नँ, मेरो अप्रेसन गर्दिनुस्’, मैले भनेँ ।
मेरो कुरा सुनेर डाक्टर ट्ँवा परे । एकछिनपछि मलाई सम्झाएर बाहिर पठाए । अनि पालो इन्दिराको आयो ।
रमाइलोको लागि त्यतिसम्मको उट्पट्याङ गर्थेँ मैले ।
गाउँमा केटा मान्छेको विवाह भयो भने रतौली खेल्ने चलन थियो । म बाको लुगा लगाएर जोकर बनेर जान्थेँ, कसैले चिन्दैनथे ।
तर, बालविवाह पछि परिस्थितीले मलाई अर्कै बनायो । मेरो हाँसो, खुसी, र उट्पट्याङ सबै हराएँ । ममा केवल निराशामात्र थियो । रमाइलोमा कुनै चाह थिएन ।
त्यस्तैमा ९ कक्षाको बार्षिक परिक्षा आयो । परिक्षा दिएँ । मेरो परिक्षाफल विगतमा जस्तो राम्रो थिएन । पाँचौं स्थानमा पास भएँ । विवाह भएकी मान्छे, पोइको याद आयो होला भनेर जिस्काउँथे शिक्षकहरुले । विवाहको पीडाबोध भएकी बिचरा मलाई, पोइको यादले सताउने कुरै थिएन । विगत बिर्सन चाहन्थेँ म । मलाई समाज र परिस्थितीले बिर्सिनै दिँदैनथ्यो । जसले जिस्काउँदा पनि रिसले टोकुँजस्तो लाग्थ्यो । सुन्थेँमात्र । बोल्दिनथेँ म ।
दशैं आयो । विवाहपछिको दशैं । पहिलो दशैंमा विवाह भएको घर जानुपर्छ भनेर दवाव आउन थाल्यो । मैले नाइनास्ती गर्दै थिएँ तर मानेन् । मलाई बाले जबरजस्ती पुराइदिनु भयो । ३ दिन बसेर दशैंको दिन पुन घर फर्केँ म । १० कक्षामा पढ्दै थिएँ । त्यो वर्ष एस.एल.सी. को तयारी गर्नुपर्ने थियो । त्यसताका मेरो पसल थिएन । तर, खुरुखुरु स्कुलको फी तिर्दिनुहुन्थ्यो बाले । आमा बिरामी भएको समयमा बाहेक भान्सामा खासै काम गर्न पर्र्दैनथ्यो, तर खेतमा धेरै काम गर्नुपथ्र्यो । बिडम्बना ! आमा रोगी हुनुभयो । आमाको दुबै हातमा उकुच भन्ने रोग र लहरे खोकी लाग्नु, त्यसकारण आमाले केही काम गर्न नसक्नु, बा नेता बनेर हिँड्नु, भाइबैनी सबै साना हुनु, दिदीको धेरै पहिला नै विवाह भइसक्नु आदि कुराले घर, गोठ, खेतबारीको काम र स्कुल सबैतिर मैले ध्यान दिनुपर्दथ्यो । ममाथि घरको सबै जिम्मेवारी थपिएको महसुस हुन्थ्यो ।
मपछि ५ जना भाइबैनी थिए । मभन्दा ३ वर्ष कान्छो तर सबैभन्दा ठूलो भाइ लगभग १२÷१३ वर्षको थियो, त्यसपछि साइली बहिनी, कान्छी बहिनी, माइलो भाइ र कान्छो भाइ थिए । सबै सानासाना भाइबैनीहरु । आमा बिरामी भएको बेला ठूलो भाइको सहयोगमा गोठ, खेतबारी र घरको काम गर्थेँ । साँझबिहान गोठको काममा ठूलो भाइले सहयोग गर्दथ्यो । दिउँसोको समयमा भाइ स्कुल जान्थ्यो भने मेरो स्कुल प्राय छुट्थ्यो ।
आमालाई लहरे खोकी र उकुचले निकै दुख दिएको थियो । एक दिन राती सर्पले टोकोस र मोर्न पाउँ भनेर आमा झाङमा (झाडी) गएर बस्नुभएछ । म राती पिसाव गर्न घर बाहिर निस्केँ । त्यही बेला आमालाई झाडीमा देखेँ । आमा खोकी र उकुचको पीडा सहन नसकेकोले सर्पले टोकोस् भनेर झाडीमा जानुभएको रहेछ । आमालाई गाली गर्दै बिस्तारामा ल्याएर सुताएँ ।
अर्को दिन म स्कुल गएँ ।
‘स्कुल किन आउँदिनस् ?’, साथीहरुले सोध्थे ।
‘आमा बिरामी भएकोले’, म उत्तर दिन्थेँ ।
रुद्रपुर भन्ने गाउँमा एउटा मेडिकल थियो, विजय दाइको ।
‘त्यो मेडिकलमा औषधि पाइन्छ’, साथीहरुले भने ।
म त्यो मेडिकल खोज्दै गएँ । म सँग १० रुपैयाँ थियो । एउटा गोलीलाई रु. १० पर्दो रहेछ । विजय दाइले एउटा गोली दिए र भातको पहिलो गाससँग चपाएर खान देऊ भनेर सिकाए । आमाले भातको पहिलो गाससँग त्यो गोली खानु भयो । मैले घरधन्दा सकेर गृहकार्य गर्न थालेँ । आमा आफ्नो बिस्तारामा सुत्नुभयो । त्यो एउटा गोलीले आमालाई राहत मिल्यो । रातभरी निदाउनु भएछ ।
त्यस्तैमा १० कक्षाको सेन्टप परिक्षा आयो । हाम्रो पालामा सेन्टप पास गर्न नसक्नेहरुले एस.एल.सी. दिन पाउँदैनथे । मैले सेन्टप परिक्षा दिएँ । केहि महिनापछि परिक्षाफल आयो । आफ्नो कक्षामा मैले छैठौं पोजिसन ल्याएर सेन्टप पास गरें । एस.एल.सी.को तयारी शुरु भयो । म रुपन्देहीको विद्यार्थी, कपिलवस्तु जिल्लामा मेरो एस.एल.सी.को सेन्टर परेको थियो । बाले बुटवलमा एउटा कोठा खोजेर एस.एल.सी.को तयारी गर्नका लागि राखिदिनु भयो । जीवनमा पहिलो पटक कोठा भाठामा लिएर एस.एल.सी.को तयारी गर्न बसेँ ।
नेवार बस्ती थियो । तिनाउ खोलानजिक । चोकमा पसलहरु पनि थिए । तिनाउ खोलामा नुहाउन र लुगा धुन जान्थेँ । भुसे चुलोमा खाना पकाउनु पर्दथ्यो । बाध्यताले घरमा खाना पकाएँ तर मेरो मनमर्जीले भान्साको काम पटक्कै गर्दिनथेँ । अहिले पनि भान्साको काम गर्न मन लाग्दैन । एस.एल.सी.को तयारीका लागि बसेको बेला जम्मा एक छाकबाहेक भात कहिल्यै पकाइनँ मैले ।

एक कचौरा चामलसँग चिउरा साट्थेँ, कालो चिया पकाउँथे, त्यही चिया र चिउरा खाएर पढ्थेँ । पढाइ बिग्रेको चिन्ता थियो मनमा । चुरोटले चिन्ता मेटिन्छ भनेको सुनेको थिएँ । त्यसैले एक पाकेट चुरोट किनेँ र २ दुई तीन दिनसम्म खुब धुँवा उडाएँ, तर चिन्ता भागेन । बरु खोकी लाग्यो । चुरोटले चिन्ता भाग्दैन भन्ने विश्वास भयो । त्यसपछि दोस्रो पकेट कहिल्लै चुरोट खाइनँ ।
बाले घरबाट ल्याइदिएको तरकारी, दाल, घिउ, तेल सबै कोठामा नै थियो । तर खाना पाकेन । आफै कसरी पाकोस् ? म पकाउँदिनथेँ । त्यस्तै त्यस्तैमा १५-२० दिन बिताएँ । एक दिन मलाई किन किन मोर्न मन लाग्यो । मर्नुमा जस्तो आनन्द केही छैन जस्तो लाग्यो । त्यसैले तिनाउ खोलाको गहिरो ठाउँ खोज्दै उत्तर दिशा चिडियाखोलातिर गएँ र पानीमा डुब्न खोजेँ । तर मलाई त्यो पानीले डुबाएन । केहीबेरमा म पानीबाट बाहिर निस्केँ ।
अर्को दिन । गाउँबाट दुर्गा बहिनी आइन्, जसले मलाई मनैदेखि माया गर्थिन्, मेरो विवाहमा रुँदारुँदा बिरामी भएकी थिइन्, उनले आफ्नो घरमा पकाएको खीर लिएर आएकी रहिछिन् । उनको साथमा केही सामान किनेर बचेका र टीका लगाएर पाएका पैसाहरुको पोको पनि रहेछ । म उनको मनको मान्छे रे, पढ्न गएकी मनको मान्छेलाई सम्झेर कापी, कलम र मसी किन्नको लागि संगालेर राखेको पैसाको त्यो पोको, उपहारस्वरुप मेरो हाममा राखिदिइन् र भनिन्, ‘राम्रोसँग पढ, अनि पास हुनुपर्छ है ।’
त्यो पोकोमा कति पैसा थियो, मैले गनिनँ । जति भए पनि त्यो उनको महानता थियो र मेरो लागि अमुल्य उपहार बन्यो ।
त्यो रात उनी मसँगै बसिन् । उनैले लिएर आएको खीर खायौँ, म पढ्न बसेँ । उनी मेरो छेउमा सुतिन् । मभन्दा केही वर्ष सानी, होची र फुच्ची बैनीले आफ्ना हातहरु फिजाउँदै अंकमाल गरिन् र समाहित भइन् ममा … ।
(क्रमशः)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



