
पढ्ने रहरले ६० रुपैयाँको पसल
प्रतिमा शर्मा
(अधिवक्ता)
कक्षा ५ मा पढ्दै थिएँ । बैशाखसम्मको स्कुलको फी तिरिसकिएको थियो । पाँच कक्षामा पनि ५० प्रतिशत छात्रवृत्ति पाएको थिएँ । जेष्ठ, असार, साउन र भदौ महिनाको फी लिएर भदौमा स्कुल जानुपर्ने थियो ।
भदौको पहिलो हप्ता । स्कुल खुलेको तेस्रो दिन । स्कुले पोशाकमा सजिएँ म । स्कुल जाँदा पुस्तक राख्ने झोला बोक्दै बासँग २४ रुपैया फी र ५ रुपैयाँ जरिमाना गरी २९ रुपैयाँ मागेँ । तर, बाले आफ्नो निर्णय धाराबाही सुनाउनु भयो, ‘पैसासैसा छैन, स्कुलको फी पनि तिर्दिन्न, यति धेरै सन्तानलाई योभन्दा धेरै पढाउन सक्दिन, स्कुल छोड्दे, खेतमा काम गर्न जा, मंसिरमा विवाह गर्ने हो ।’
म निशब्द भएँ । आँखाभरी आँशु भरिए । जहाँका तहीँ टक्क उभिइ रहेँ म । मुटु ढुकढुक गर्न थाल्यो । छातिमा केही गह्रौ कुराले थिचे जस्तो आभास भयो । बाआमाको काखमा पनि यसरी निस्सासिएँ कि मेरो श्वासप्रश्वास अड्केको महसुस भयो । भाइहरुले स्कुलको फी माग्दा स्कुल छोड कहिलै भन्नुभएन तर मैले माग्दा धेरै पटक यस्तो भन्नु भयो । सायद मलाई जस्तो पीडाबोध भाइहरुलाई कहिल्लै भएन । छोरीको लागि आफ्नै बाआमाको काख यति कहालीलाग्दो किन भयो ? छोरी हुनुमा मेरो कुनै दोष थियो र ?
भदौको महिना । सानीमा पनि आउनुभएको थियो घरमा । त्यतिबेला उहाँ खेतालासहित खेतमा धान गोड्दै हुनुहुन्थ्यो । बाले स्कुल नजा भनेपछि आमाले सानीमा र खेतलालाई बिहानको खाजा लगि दे भनेर काम दिनुभयो । आमाले ‘म बाउलाई सम्झाउँछु, स्कुल जा’ भन्नुहुन्छ कि भन्ने आशा थियो । तर आमाले पनि खेतमा जा भनेपछि मेरा सबै आशाहरु मरे । आमाले पनि बुझ्नु भएन मलाई । आमासँग पनि मेरो मन खिन्न भयो । बाल्यकालमा मनमा लागेका घाउहरुले अहिले पनि घच्घचाउँछ मलाई ।
‘ओई कान्छी, सुनिनस्, खेतमा खाजा लगिदिन धेरै अबेर भइसक्यो, छिटो लग्दे’, आमाको चर्को स्वरले झसंग् भएँ । शरीरबाट स्कुले पोशाक निकालेँ । झोला दराजमा राखेँ । रुँदै खाजा बोकेर खेततिर गएँ । बाटोभरी आँशु अविरल बगिरहे । आँखा फुलेर ठूलोठूलो भएका थिए । आँशु बगाउदै पुछ्दै म खेतमा पुगेँ, जहाँ सानीमाको नेतृत्वमा खेत गोड्ने काम हुँदै थियो । म खेतमा खाजा लिएर आएको देखेर मेरी सानीमा छक्क पर्नुभयो ।
‘स्कुल नगएर किन आएकी खेतमा ?’, सोध्नुभयो ।
‘बाले स्कुल नजा भन्नुभयो, अनि आमाले यता खेतमा पठाउनु भयो’, मैले रुँदै जवाफ दिएँ ।
म डाँको छोडेर रोएँ । सानीमाले म रोएको देख्न सक्नुभएन । आफ्नो हातले आँशु पुछिदिनु भयो ।
सायद सानीमाले मेरो आँशुको लय र मनको भावना बुझ्नुभयो । मलाई ढाडस दिदै भन्नु भयो, ‘जाऊ कान्छी, स्कुल जाऊ । म सम्झाउँछु भिनाजुलाई । दिदीलाई पनि सम्झाउँछु । नरोइकन स्कुल जाऊ ।’ यति भन्दै मेरो हातबाट खाजाको पोको लिनुभयो ।
सानीमा साँच्चिकै प्यारी हुनुहुन्थ्यो । अहिले यो संसारमा हुनुहुन्न । मैले कैयनपटक उहाँलाई मीस गर्छु । आमाकै अगाडि पनि धेरैपटक भनेकी छु कि सानीमा आमाभन्दा पनि धेरै मायालु हुनुहुन्थ्यो भनेर । उहाँ सबैकी प्यारी, सुन्दर मन र मायाकी खानी हुनुहुन्थ्यो । तर यो दुनियाँबाट धेरै छिटो, अल्पायुमै बिदा लिनुभयो । मनको पीडा बिसाउने मेरो ठाउँ पनि खुम्चियो । भाइ (सानीमाको छोरा) लाई ती असल आमाको अभाव कति पिडादायी भयो होला, म अनुमान गर्नसक्छु । भाइलाई जति महसुस अरु कसैलाई हुनैसक्दैन ।
१२ वर्षे बालिका थिएँ म त्यतिबेला । सानीमाले भनेपछि बाले मान्नुहुन्छ भन्ने विश्वास लाग्यो मलाई । म खिस्स हाँस्दै आँशु पुछेर घर फर्के । स्कुल अलि टाढा थियो । एक घण्टाभन्दा बढी हिँडेर जानुपथ्र्यो । खेतमा गएर आउँदा अलिकति अबेर भइसकेको थियो । त्यसैले म दौडेँ । उमेरभन्दा अग्लो र मोटो थिएँ म । ठूलो शरीर भएकोले होला दौडिन मन लाग्दैनथ्यो । स्कुलमा पनि म्याराथुन दौडमा भाग लिएँ भने हार्छु भनेर भाग नै लिन्नथेँ । दौडबाहेकका सबै प्रतियोगितामा भाग लिन्थेँ । जे होस्, त्यो दिन म दौडिदै स्कुल गएँ । त्यो दिनको प्रार्थना छुट्यो तर सर पुग्नुअगाडि म कक्षामा प्रवेश गरें । मनमा नरमाइलो महसुस भएको थियो । दिन मलिन लाग्थ्यो । सरले फी माग्दा शीर तल झुक्थ्यो । कैयनपटक शीर झुकेको छ मेरो । मेरा साथीहरुलाई मलाई जस्तो टर्चर थिएन घरमा । कहिलेकाहिँ लाग्थ्यो, ‘मेरो पनि त्यस्तै घरमा जन्म हुनुपर्ने, किन भएन होला ?’
अर्को हप्ता, बिहिबारको दिन थियो । बाले मलाई ‘कपिलवस्तु जिल्लाको गजेडा भन्ने ठाउँमा हाटबजार लाग्छ, त्यहाँ गएर बंगुरको बोसो किन्दे, मझिल्ला (खेत जोत्ने हली) ले बोक्छ, तैले छुनुहुँदैन’ भन्दै ६० रुपैयाँ दिनुभयो । त्यतिबेला असार साउनभरी दुई महिना खेत जोतेका गोरुहरुलाई भिटामिनको रुपमा बंगुर वा सुंगुरको बोसो खुवाउने चलन थियो ।
घरमा काम परेकोले १ दिन घर बिदा पाउँ भनी स्कुलमा निवेदन लेखी पठाएँ । बजार जान पाउँदा म खुसी नै भएँ । मेरो खुसीमा एउटा रहस्य थियो । बाले बजार जा भन्दाबित्तिकै मेरो दिमागले एकैछिनमा धेरै कुरा सोच्यो । विभिन्न समयमा टिका लगाएर दिएको १५ रुपैयाँ थियो मसँग । त्यो कसरी प्रयोग गर्ने भनेर सोच्न थालेँ । आमाले बजारमा केही किनेर खानु भन्दै १५ रुपैयाँ दिनुभयो । त्यो जोड्दा ३० रुपैयाँ पुग्यो । मेरो मनले बाको आस्कोट छाम्न पठायो । त्यहाँ धरै पैसा थियो । तर मैले जम्मा १५ रुपैयाँ झिकेँ । जीवनमा पहिलो पटक बालाई थाहा नदिइकिन सुटुक्क झिकेँ । यस्तो झिकाइलाई चोरेको भनिन्छ होला । तर मेरो चोराइमा सुन्दर अभिष्ठ थियो ।
मेरो साथमा ४५ रुपैयाँ पुग्यो, म मुस्कुराएँ । बाटो हिँड्दा त्यो पैसा कैयन पटक गनेँ । गन्दै गोजीमा राख्दै, गन्दै राख्दै गरें । मनमा केही योजना बनाएकोले प्रफुल्ल थिएँ म । २ घण्टा हिँडेपछि बजार पुगें । बाले सामान किन्न पठाएको ६० रुपैयाँबाट २ किलो बंगुरको बोसो किन्नु थियो । मलाई विश्वास थियो कि घरमा लगेर त्यो पुन जोख्दैनन् । त्यसैले २ किलो भनेकोमा डेढ किलो मात्र किनिदिएँ । त्यहाँबाट पनि मैले १५ रुपैया बचाएँ । अब मसँग ६० रुपैयाँ पुग्यो । त्यो पैसा खर्चेर मैले केही पनि खाइनँ । खानुभन्दा पनि मलाई आफ्नो लक्ष्य पुरा गर्नु थियो ।
त्यही हाटबजारमा भएको सबैभन्दा ठूलो किराना पसलमा गएँ र केही सामानहरु किनेँ । एक बन्डल बीँडी, एक बन्डल चुरोट, अलिकति पाते सुर्तिको धुलो, एक पोका रातो मिठाइ, एक दर्जन लुगा धुने साबुन, एक दर्जन माचिस, एक दर्जन कापी र पेन्सील किनेँ । ती सबै सामान आफ्नो स्कुल व्यागमा मिलाएर राखेँ । कुन कुन सामान कति पैसामा बेचेपछि कति रुपैयाँ फाइदा हुन्छ, त्यो सबै कुरा त्यही पसलेबाट सिकेँ ।
मझिल्लाले सुँगुरको बोसो बोक्यो, मैले मेरो सामानको पोको बोकेँ । गाउँमा पुग्दा गोधुली साँझ भएको थियो । गाउँको पल्लो छेउबाट छिरेँ र घरतिर लागेँ । गाउँको वल्लो छेउमा हाम्रो घर थियो । ‘मैले दुकानको सामान ल्याएकी छु, मेरो घरमा किन्न आउनु है’, बाटोमा देखेजतिका सबैलाई यहि भन्दै हिडेँ । साँच्चिकै, मेरो गाउँमा कुनै पसल थिएन त्यो दिनसम्म । एउटा साबुन वा सलाई किन्न पनि आधा घण्टा हिँडेर जानु पथ्र्यो । गाउँमै सामान पाएपछि समयको बचत, काम पनि छिटोछरितो हुने । मैले सबैको स्याबासी पाएँ । उमेर सानो भए पनि सही ठाउमा माइन्ड चलाएकै हो ।

६० रुपैयाँको सामान एक दुइ दिनमै बिक्रि भएर सकिन्थो । दिउसो म स्कुल गएको बेला आमा बाले बेचिदिनुहुन्थ्यो र साँझ म आएपछि हिसाब बुझाउनु हुन्थ्यो । घर भएको बेला साँझ बिहान म आफै बेच्थेँ । ६० रुपैयाँको सामान बेचेर २० रुपैयाँ फाइदा पाएँ । मेरो हौसला बढ्यो । फेरि ८० रुपैयाँ लिएर सालझण्डी बजार गएँ, अलि धेरै सामान लिएर आएँ । एवंरितले एक हप्तामा मैले चालिस पैतालिस रुपैयाँ नाफा कमाएँ । त्यही नाफाबाट मेरो स्कुलको फी तिरेँ । अहिलेसम्मकै सबैभन्दा मज्जा आएको दिन हो त्यो । आफ्नै मेहनतले, कसैको सल्लाहबिना, दिमाग लगाएर राम्रो काम गरेको र स्कुलको ४ महिनादेखिको बाँकी शुल्क तिरेको दिन । त्यो दिन बेहद खुसीले निद्रा लागेन । मैले सोचेँ, ‘अब बासँग पैसा माग्नु पर्दैन, पैसाको कारणले विवाहको नमिठो कुरो सुन्नु पर्दैन, अब त निर्धक्क स्कुल जान पाउँछु ।’
उमेरले म सानै थिएँ तर परिवेशले धेरै सिकाएको थियो । मिठाइ, कापी र पेन्सिल स्कुलमा पनि बेच्थें । बिस्तारै दिनहरु बित्दै गए । दशैं आयो । दशैंमा टीका लगाएर पाएका पैसाले मिठाइ खान सक्छन्, साबुन अलि धेरै बिक्रि हुन सक्छ, चिनी र भेली पनि बिक्रि हुन सक्छ । त्यसैले थोरै थोरै भए पनि त्यो सबै सामान ल्याएर राखें । मैले सोचे जस्तै सबै सामान बिक्रि भयो । छिमेकीहरु पनि खुसी भए । दिनहरु बित्दै गए । मेरो साहस केही बढ्दै गएको थियो ।
कार्तिक शुरु भयो । सामान बेचेर २०० रुपैयाँ जम्मा गरिसकेको थिएँ । बिस्तारै तिहार नजिकिदै थियो । मलाई थाहा थियो, तिहारमा सप्तरंगी टीका, माला, टोपी र रुमाल चाहिन्छ । त्यो २०० रुपैयाँको तिहारमा प्रयोग हुने यिनै सामानहरु ल्याउँछु । यी सामान किन्न बुटवल जानुपर्छ । बाआमालाई मेरो कुरा सुनाएँ । बुटवल बजार सुनेको मात्र थिएँ । कति टाढा पर्छ थाहा थिएन । त्यही पनि आमाले हुन्छ भन्नु भयो । बा मुसुमुसु हाँस्नुभयो । म सामान किन्न बुटवल जाने पक्का भयो ।
भोलिपल्ट बिहानै उठें । नित्यकर्म सकेँ । दुधको चिया दिनु भयो आमाले । घरमा सधै दुध हालेर चिया पाक्थ्यो । २ वटा भैंसी र गाईको दुध प्रशस्त थियो । बेच्ने चलन थिएन ।
केके सामान लिने, एउटा सूची तयार गरेँ । त्यही स्कुल जाँदा पुस्तक हाल्ने कपडाको झोला बोकेर म हिडें । बा टुप्लुक्क आउनु भयो ।
‘कान्छी हिँडिस्’, मीठो तरिकाले सोध्नु भयो ।
‘हिडेँ बा’, मैले उत्तर दिएँ ।
कसैले बुवा भन्छन्, कसैले बाबा, कसैले पापा भन्छन् त कसैले ड्याडी वा ड्याड । हाम्रो घरमा त्यतिबेला बा भन्ने चलन थियो । मैले बा भन्थेँ । अहिले पनि बा नै भन्छु ।
बाका हातमा एक एक सयका ४ वटा नोट देखें । त्यही नोटहरु मलाई दिदै भन्नुभयो, ‘ला ४००, हिजो खसी बेचेको थिएँ, त्यही खसी बेचेको पैसा हो यो । तैले रहर गरिस्, तलाई चाइएको सामान लिएर आ, बेचेपछि फिर्ता गरेस् ।’
म दंग परे । हत्तपत्त गर्दै त्यो ४०० रुपैयाँ लिएँ । वाउ, अब केटीले केही गर्छे जस्तो लाग्यो ।
मेरो गाउँबाट बुटवल धेरै टाढा थियो । जिन्दगीमा हरेक कुरा एक पटक नयाँ र पहिलो पटक हुन्छ । धेरै पढ्ने रहरले, खासमा १० कक्षासम्म, यी सबै दुख गरेको थिएँ ।
‘२ घण्टा हिँडेर जंगलको बाटो काटेपछि, फारलाइन भन्ने ठाउँ आउँछ । त्यहाँबाट बस चढेर बटौली झरेस् । बटौलीको बजारमा पाल्पाली नेवारको कपडा पसल छ, त्यहाँ सबै सामान पाइन्छ’, सिकाउनु भयो, बाले पहिलो पटक । जंगलको बाटो २ घण्टा हिडेर जानु पर्ने थियो । एक्लै, १२ वर्षे बालिका ।
जे भए पनि मनमा उत्साह र उमंग मात्र थियो, डर थिएन । जंंगलको बाटो, एक्लै हिँड्दा यौनदुव्र्यवहार हुन्छ कि भन्ने सोचाई मनमस्तिष्कमै थिएन । नसुनेको र नदेखेको कुरा, अबोध थिएँ म यो बिषयमा । तर मलाई डर थियो चोरको । तराइमा त्यो पनि भारतको बोडर नजिक, चोरको हल्ला चलिरहन्थ्यो ।
बल्लबल्ल २०० कमाएको, बाले दिएको ४०० सापटी, त्यो मेरो लागि सबैभन्दा ठूलो पैसा थियो त्यति बेलासम्मकै । सरल तर चलाखीपूर्ण तरिकाले हिँड्थे म जंगलमा । मानौ मसँग केही पनि छैन । निर्धक्क तरिकाले जंगल पार गरेर फारलाइनमा पुगें । मनमा अलिकति डर त थियो । कसैले पैसा खोस्छ कि भन्ने तर पनि बाहिरबाट हेर्दा म निडर देखिन्थे । शरीरले साथ दिएको थियो, परिपक्व उमेरको जस्तो देखिन्थेँ ।
पश्चिमतिरबाट ठूलो बस आयो । मलाई थाहा छैन बस कसरी रोक्ने हो । अन्जानमै मैले हात उठाए छु । बस रोक्यो । म बुटवल पुगे । आफ्नो सूची अनुसारको सामान किने । फेरि फर्केर घर आएँ । मलाई पसलेले ‘३ रुपैयाँको टोपीलाई ६ रुपैयाँ, ६ रुपैयाँको लाई १२ र १२ रुपैयाँको टोपीलाई २५ रुपैयाँमा बेच’ भनेर सिकायो । मैले त्यसै गरें । तिहारमा जुवा तास खेल्नेहरुलाई रातभरी चिया पकाएर खुवाएँ । त्यो वापत उनीहरुले पैसा दिए । भाइ टिकाको भोलिपल्ट मेरो सामान बेचेर आएको नाफा र चिया खुवाएँवापत पाएको जितौरी जोड्दा ६००० नाघेको थियो । बालाई रुपैयाँ ४००मा ५० रुपैयाँ थपेर फिर्ता गरिदिएँ । मैले यसरी काम गरेर पैसा कमाएको देखेपछि बाले पसल राख्ने ट्यांकी बनाइदिनुभयो । ट्यांकीमा टन्न सामान राखेँ ।
समय बित्दै गयो । म कक्षा पनि चढ्दै गएँ । फेरि विवाहको चर्चा चल्न थाल्यो जो म सुन्नै चाहन्नथेँ । मभन्दा सानो उमेरकी बहिनी, काकाकी छोरी पहिलो पटक रजश्वला भइन् । मभन्दा अगाडि । रजश्वला भएकै नाताले उनलाई स्कुल छोडाए र विवाह गरिदिए । मेरो पनि विवाह गरिदिने चर्चा सुनेँ । त्यतिबेला म कक्षा ८ मा पढ्दै थिए । आजकल स्कुलको फी तिर्ने समस्या त छैन, तर रजश्वला हुनुअगाडि चोखो जल खाने बाआमाको रहर र संस्कारको अगाडि लड्नु मेरो लागि सानो कुरा पनि थिएन ।
केही महिनापछि पिसाव गर्न बसेको बेला रगत बग्यो पहिलो पटक । मलाई पनि रजश्वला भयो भन्ने ज्ञान भयो । मलाई रजश्वला भयो भनेर कसरी सुनाउँ ? यो कुरा थाहा दियो भने स्कुल छुटाउछन र विवाह गरिदिन्छन् भन्ने ठूलो डर थियो मलाई । पहिलो पटक महिनावारी हुँदा बा, दाजुभाई, मर्द र सूर्यको मुख हेर्नु हुँदैन, हेर्यो भने पाप लाग्छ भन्थे । महिनावारी भएका छोरीलाई कि त थारुको घरमा कि दिदीबैनीको घरमा अँध्यारो कोठामा लुकाउने चलन थियो । त्यसपछि स्कुल नपठाउने र विवाह गरिदिने चलन थियो । त्यसैले आँट गरे, साहस गरें र महिनावारी भएको कुरा कसैलाई भनिनँ । पाप लाग्छ भन्ने कुरालाई मनमस्तिस्कबाट हटाइदिएँ । म महिनावारी भएकी छु र नवार्दा वा दाजुभाइसँग देखिदा पाप लाग्छ भन्ने कुरा बिर्सिदिएँ मैले । किनकी जसरी पनि १० कक्षासम्म पढ्नु थियो र स्कुलमा वा कुनै कार्यालयमा जागिर खानु थियो मलाई । किन किन महिनावारी भएको बेला पाप लाग्छ नै लाग्दैनथ्यो । हाम्रो गाउँमा थारुका छोरीहरु पनि महिनावारी हुन्थे, मगर र दलित समुदायका छोरीहरु पनि महिनावारी हुन्थे, कसैलाई लुकाएको देख्दिनथे । उनीहरु सबै ठीकै थिए । हामी बाहुन क्षेत्रीलाई किन लुकाउनु परेको, किन बार्नु परेको होला भनेर मनमा धेरै प्रश्नहरु आउँथे । सोच्थेँ पनि । कसैसँग चित्तबुझ्दो जवाफ हुँदैनथ्यो । त्यसैले मैले बारिनँ । मलाई केही पनि भएन ।
एक वर्षसम्म फेरि महिनावारी भएन । स्कुल निरन्तर गइरहें । तर पनि विवाह गरिदिने हल्ला चलेको चलै थियो । हेर्न आउने केटाहरुको लाइन, प्राय हरेक बार । मलाई कसैले मन नपराइदिए हुन्थ्यो जस्तो लाग्थ्यो, त्यसैले हेर्न आउँदैछन् भन्ने थाहा पाएँ भने आँटीमा लुक्थें, तल झर्दिनथें, कपाल कोर्दिनथें र अलि भुत्ले भएर बस्थें । कसैले विवाहको प्रस्ताव गरे भने मैले सिधै नाई भन्थें । मन नपरेको कुरा सुनिरहनु पर्दा कति टर्चर हुन्छ, त्यो मैले जस्तो अनुभव कसैले गरेको छैन होला । त्यो समय मलाई निकै टर्चर हुन्थ्यो । बिशेषगरी ‘पढाई छोड, विवाह गर’ भन्ने कुरा मेरो बाल्यकालको सबैभन्दा मन नपर्ने कुरा थियो । यसले बालमनोबिज्ञानमा कति गहिरो असर पर्छ, कसैलाई वास्ता थिएन । कहिलेकाहिँ त रोएर रात बित्थ्यो र रुँदारुँदा मेरो सिरानी पुरै भिज्थ्यो । त्यो बेला मलाई माया गर्ने कोही छैन जस्तो लाग्थ्यो । भाइबैनी मभन्दा साना, दिदीको पहिल्लै विवाह भइसकेको थियो ।
शरीरले कहिल्लै एक झापट पाएन आमाबाको हातबाट । तर मेरा दिदीबहिनीहरुलाई कैयन पटक आमाबाले हात र लठ्ठीले पिटेको देखेकी थिएँ । सायद मेरा भाइहरुले पनि पिटाइ पाएनन् । मेरो शरीरले पिटाइ नखाए पनि भावना र मनमस्तिस्कले धेरैपटक चोट पाएको थियो । भनिन्छ नि, हातले हानेको एक ठाउँमा दुख्छ, वचनको घाउ सय ठाउँमा । मेरो बाल्यकाल आमाबाको मीठो मायाको महसुस नगरिकिन बित्यो ।
बालमस्तिस्कले सकेसम्मको कोसिस गरें, विवह नगरिकिन १० सम्म पढ्न सकुँ भनेर । अन्ततः म असफल भएँ । दिउँसोको समय थियो । ४-५ दिनदेखि ज्वरोले थला परेको थिएँ । औषधि खाएर सुतें । अचानक निद्राबाट व्युँझिदा मेरो विवाह हो रे भन्ने सुनें । आकाश खसेजस्तो, जमिन भासिएजस्तो, मेरो श्वासप्रश्वास टक्क रोकिए जस्तो भयो । म अवाक भएँ । टाउको गहृुङ्गो हुदै आयो, मुटु फुट्लाजस्तो भयो ।
(क्रमशः)
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



