नेपालमा आमा, चीनमा मामा
ब्राम्हणपुत्र लकडाउन डायरी – १३
भरत शर्मा
फोटोः अशोक सिलवाल
चीनमा छोराछारीहरु मामासँग धैरै डराउने । र, त्यहाँ मामाको आदेशमा घर परिवार चलेको देखेँ । छोराछोरीहरु बाबुसँग भन्दा आमासँग डराउने कयौं दृश्य देखेपछि मलाई अनौठो लाग्यो ।
एक दिन अध्यापक ह्वाँगलाई मामासँग किन चिनियाँ बालबालिका डराउँछन् भनेर सोध्दा उनले मीठो जवाफ दिए, ‘चीनमा महिलाहरुदेखि हामी पनि डराउँछौं । चिनियाँ भाषामा आमालाई मामा भनिन्छ । घर परिवार भनेको मामाको निर्देशनमा चल्ने चीनमा । त्यसैले छोराछोरी पनि मामासँग डराउँछन् ।’
चीन सरकारले पहिले त एक सन्तानको नीति लिएको थियो । अहिले चीनमा दुई सन्तानको खुकुलो नीति छ । र, अहिले पनि त्यहाँ छोराको भन्दा छोरीको जनसंख्या कम रहेको छ ।
चीनमा मातातीर्थ औशीको बारेमा कक्षा कोठामा अध्यापन गराउँदा हिन्दी र नेपाली पढ्ने चिनियाँ छात्रहरुलाई प्रश्न गरेँ, ‘तपाईहरुलाई सबैभन्दा बढी माया कस्को लाग्छ ?’
‘पहिले आमाको त्यसपछि मात्र पिताको’, सबैले एक स्वरमा उत्तर दिए ।
‘अनि घरमा सबैभन्दा बढी डरलाग्ने कस्को नि ?’
‘आमाको’, सबैले भने ।
म फेरि छक्क !
‘नेपालमा छोराछारीलाई सबैभन्दा बढी माया कसलाई गर्छन् र कोसँग डराउँछन् ?’, उनीहरुले प्रश्न गरे ।
मैले केही समय सोचेर उत्तर दिएँ, ‘छोरीहरुले आमाहरुलाई धेरै माया गर्छन् । छोराछोरी चाहिँ आमासँग भन्दा पितासँग अलि बढी डराउँछन् ।’
‘पैसा माग्नु पर्यो भने, आमासँग कि पितासँग माग्ने चलन छ नेपालमा ?’
‘बाउले कमाउने, आमाले खर्च गर्ने’, मैले भनेँ ।
नेपालमा आमाको दाजुभाईलाई मात्र मामा भनिन्छ । तर, नेपाली परम्परा अनुसार आमा पछिको मामा भन्ने चलन पनि छ ।
संस्कृतमा माता, नेपालीमा आमा, अंग्रेजीमा मदर र ममी, हिन्दीमा माँ, चिनियाँमा मामा कस्तो प्यारो शब्द छ है आमा ।
चीनमा बस्दा विश्वविद्यालयको फूलबारीमा घुम्न आउने साना बालबालिकाले मामा, मामा भनेर बोलाएका सुन्दा आमा र मामा एउटै रहेछन् भन्ने लाग्थ्यो ।
संस्कृतमा माता, जननी, अम्बालगायतका शब्दले आमालाई सम्बोधन गर्न सकिन्छ । आमाको बयान नभएको कुनै पूर्वीय ग्रन्थ र शास्त्र नै छैन जस्तो छ । वेद, महाभारत, पुराण, मनुस्मृति आदि ग्रन्थमा माता, पिता भन्दा अर्को कुनै नाम र तीर्थ नै छैन भनेर लेखिएको छ । महाभारतमा राजा युधिस्ष्ठरले आमाभन्दा सर्वप्रिय नाम नै छैन भनेका छन् ।
कुपुत्रो कुपुत्री, जायते क्वचिदपि कु माता न भवति ।
छोराछोरी खराब हुनसक्छन् तर आमाचाहिँ छोराछोरीका लागि कहिल्यै खराब हुन सक्दैनन् ।
नेपाली समाजमा त कयौं यस्ता उदाहरण छन् । छोरीले रोजेको केटोसँग घर परिवारमा विद्रोह गरेर विवाह गरेर गइन भने पनि पहिले आमाले नै छोरीलाई भेट्न जाने र माइतीमा ल्याउने काममा आमा नै अघि सरेका सत्य कथा कयौं छन् ।
बाउ, दाजुभाइले नदेख्न गरी छोरी माइती आउने र छोरीलाई भेट्ने आमा नै हुन ।
पूर्वीय शास्त्रले भनेको छ, पिता र गुरुको ऋण तिर्न सकिन्छ तर आमाको ऋण कहिल्यै र कसैल पनि तिर्न सक्दैनन् । यसो विचार गर्दा कुरा अकाट्य हो । शास्त्रमा जहाँ पनि पहिले आमाका नाम आउँछ । भनिन्छ मातृदेव भव । त्यसपछि मात्र पिता र गुरु ।
हरेक दिन पूजा अर्चना गरेपछि अन्तमा उच्चारण गर्ने श्लोकमा पनि आमाको नाम पहिले राखिएको छ ।
त्वमेव माता च पिता त्वमेव ।
छोराछोरीको पहिलो शिक्षक पनि आमा नै हो । बच्चाले उच्चारण गर्ने पहिलो शब्द नै आमा हो ।
पश्चिमाको कुरा गर्दा अमेरिकाका महान नेता राष्ट्रपति अव्राहम लिंकनले पनि पूर्वीय शास्त्रको आधारमा भनेका छन्, जो व्यक्तिसँग भगवानजस्ती आमा छिन् त्यो व्यक्ति नै धनी व्यक्ति हो । यसको दार्शनिक चिन्तन गर्ने हो भने छोराछोरीले आवश्यक रकम पितासँग माग्दा छैन, दिन्न, किन चाहियो, खर्च गर्नु हुँदैन भनेर अत्तो थापेर नदिन पनि सक्छन् तर आमाले चाहिँ धेरै कुरा नसोधी पैसा दिने गरेका छन् ।
रामायणको कुरा गर्दा मर्यादा पुरुषोत्तम रामले पनि आफ्नी आमा कैकेयीको वचनलाई मानेर १४ बर्ष जंगल यात्रा जान मञ्जुर गरेका हुन् । आर्य सभ्यतामा आमालाई अर्थात महिलालाई धैरै मान र सम्मान दिइएको छ । हामीहरु अहिले पनि रामसीता भन्दैनौं, पहिले सीताराम भन्ने गर्दछौं ।
पिता भन्दा एकहजार गुणा माथि छ आमाको नाम भनेर मनृस्मृतिमा त्यसै लेखिएको होइन नि ?
सनातन वैदिक संस्कृतिमा आमा अर्थात नारीलाई ईश्वरीय शक्ति र ईश्वरका स्वरुपमा पूजा गर्ने संसारमा कुनै अर्को संस्कृति नै छैन । हामी त हरेक बर्ष दुईपटक नवरात्रको बेला नवदुर्गा देवी र मातृशक्तिको पूजा आराधना गर्ने संस्कृतिका हिमायती हौं ।
आमाका अनेक विशेषता रहेका छन् । आमाको वात्सल्य, आमाको धैर्य, आमाको त्याग, आमाको ममता, भावना, संवेदनाका बारेमा कयौं साहित्यिक कृतिमा लिखित शब्दहरुले आमाको पूजा भएको छ ।
आमा र नारीको महत्वबारे कुरा गर्दा कलियुगमा चाहिँ नारीको शत्रु नारी नै हुने लखिएको छ । आमालाई छोरीले बढी माया गर्ने र छोराले चाहिँ विवाहपछि स्वानीका कुरा सुनेर आमालाई अपमान गरेका वास्तविक तस्वीरहरु हामीले समाजमा देखेका छौं ।
छिमेकी चीनमा छोराका विवाहपछि सकेसम्म छोरा र बुहारीलाई बाबुआमाले नयाँ घरको व्यवस्था गरी राखिदिने चलन बढ्दो छ । यस्तो किन भनेर मैले खोजी गर्दा नेपाली चिनियाँ भाषाका अध्येता प्रा.डा वाँगचुग्ले भने, ‘घरमा छोरा बुहारीलाई साथमा राख्दा सासु र बुहारीको झगडा हुनसक्छ त्यसैले विवाह गरेपछि छोराबुहारीलाई अलग्गै राखिदियो भने हामीले धेरै माया पाउँछौं । छोरा बुहारीको सन्तान भएपछि हामीलाई छोरा र बुहारी दुवैले माया गर्छन् । नाती वा नातिनी स्याहार र सेवा गर्ने काममा हाम्रो सहयोग चाहिन्छ । हामीले नाती र नातिनीलाई माया गर्छौं । छोरा र बुहारीले पनि हामीलाई माया गर्छन् ।’
साँच्चै चिनियाँ परम्परा गजबै रहेछ ।
नेपाली समाजमा पनि श्रीमतीको कुरा सुनेर आमासँग अलग बस्ने छोरा बुहारीले सन्तान जन्मेपछि आमालाई माया गर्न शुरु गरेका प्रसस्त उदाहरण भेट्न सकिन्छ ।
पूर्वीय सव्यतामा आमाको बखान जति धेरै छ, पश्चिममा पनि आमाको महत्वमा कमी छैन होला तर आमाबा बृद्ध भएपछि घरमा होइन, बृद्धआश्रममा राखिदिने प्रचल चाहिँ पश्चिमबाट चलेको हो । नेपालमा पनि धार्मिक क्षेत्र देवघाटलगायतका क्षेत्रमा बनेका बृद्धआश्रममा आमाहरुको संख्या बढ्दै गएको छ ।
बृद्ध आमालाई बर्षमा एकपटक सम्झेर होइन, हरेक दिन विहान पहिले आमालाई सम्झेर पूजन र अर्चन गरेर दिनको शुरुवात गर्दा मात्र जीवन धन्य हुन्छ । हाम्रा ऋषिमुनिका शास्वत वचनलाई मनन गरेमात्र आमा दिवसको सार्थकता रहन्छ ।
आजलाई यति नै आमाबारे । भोलि आमाको आशीर्वादले लेख्ने काम जारी रहन्छ नै ।
kya gajjab