अमेरिकामा छु तर अन्तिम सास नेपालमा लिन पाउँ
नेपालनाम्चाको विशेष स्तम्भ हो ‘देश विशेष’ । जो जुन देशमा छ, त्यो देशलाई छाम्ने र त्यहाँबाट फेरि आफ्नै मातृभुमि सम्झने एउटा प्रिय थलो हो यो स्तम्भ । यसपटक यो स्तम्भमा विश्वराज अधिकारी ।
तपाई कुन देशमा हुनुहुन्छ ? कति बर्षदेखि त्यहाँ हुनुहुन्छ ? र, कुन सपनाले तपाईं त्यहाँ पुग्नु भयो ?
म संयुक्त राज्य अमेरिकामा बसोबास गर्छु । म अमेरिका आएको १६ वर्ष भयो । सपनाको कुरा गर्ने हो भने म अध्ययन गर्न आएको हो । देश दुनियाँ देख्न आएको हो ।
२तपाईंका सपनाहरुका हालखबर के–कस्ता छन् ?
मेरा सपनाहरूः उच्च शिक्षा प्राप्त गर्ने, अध्यापन गर्ने, पूरा भएका छन् ।
तपाईंलाई त्यो देशको के चीजले सबभन्दा बढ्ता छोयो ?
मुख्य गरी दुई कुराहरूः पहिलो, अमेरिकीहरू अति नै परिश्रम गर्छन् । यो कुरा मलाई अति मन पर्छ । दोस्रो, काम, समाज र राजनीतिप्रति अमेरिकीहरू अति इमान्दार छन् । त्यो पनि औधि मन पर्छ । अमेरिकाको बजारमूखि अर्थतन्त्र पनि अति नै मन पर्छ । अमेरिकाकी अर्थतन्त्रका विशेषताबारे मैले एक पुस्तक अमेरिकी अर्थतन्त्रका विशेषता” लेखेको छु जुन नेपालमा र कोरोना संकटले गर्दा प्रेसमा थन्किएर बसेको छु । वितरण गर्न सकिएको छैन ।
त्यो देशका पाँच राम्रा पक्षबारे भन्नुस्न् । मनलागे पाँच नराम्रा पक्षबारे पनि भन्न सक्नु हुनेछ ।
राम्रा पाँच कुराहरूः
क. इमान्दारी ।
ख. सहकार्यमा विश्वास गर्नु र आफ्नो स्थान (सहर, नगर) को विकासको लागि स्वयंलाई जिम्मेवार देख्नु ।
ग. समाजसेवामा आफ्नो आम्दानी खर्च गर्नु ।
घ. अरूको कुरा काट्नमा र चियो चर्चा गर्नमा आफ्नो समय खेर नफाल्नु ।
ङ. हरेकको गोपनियताको सम्मान गर्दै हरेकलाई स्वतन्त्र भएर बाँच्ने वातावरण बनाइ दिनु ।
नराम्रा पाँच कुराहरूः
क. काम र मुनाफालाई अति महत्व दिने क्रममा मानवीय भावना- प्रेम, दायित्व, सौहार्दता आदिलाई महत्व नदिनु
ख. अति भौतिकवादी हुनु, अर्थात विलासी वस्तुहरूको अति उपयोगलाई नै सफल जीवनको उच्च सूचकाङ्क मान्नु
ग. ठूलो परिवारमा बस्न पटक्कै नरुचाउनु
घ. वृद्ध भएपछि व्यक्तिहरू वृद्धआश्रममा बस्नु पर्ने एक किसिमको वध्यता हुनु । परिवारका सदस्यहरूसँग जीवनको अन्तिम क्षणमा बस्न नपाउनु वा उनीहरूद्वारा सेवा नपाउनु ।
ङ. काम गर्दा काममा लगाउने काम गर्नेलाई मेसीन झै सम्झिनु ।
बेलाबेला नेपालसँग त्यो देशलाई तुलना गर्नु हुन्छ होला ? के फरक र समानता पाउनु हुन्छ ?
आर्थिक विकासलाई छाडेर कुरा गर्ने हो भने नेपाल अमेरिका जतिकै सुन्दर र समृद्ध छ । नेपालका आफ्नै मौलिक विशेषताहरू छन् । आफ्नै इतिहास छ। नेपाली समाजमा अमेरीकीहरूभन्दा बढी राजनीतिक चेतना छ जस्तो लाग्छ ।
नेपाल हुँदा र त्यता गइसकेपछि नेपाल र बाँकी विश्वलाई बुझ्ने तपाईंका आँखामा के फरक आएको छ ? वा छैन ?
स्वतन्त्र अमेरिकी समाजले यो जीवन र जगत् अवलोकन गर्ने एक विशेष किसिमको धारणा, ज्ञान र दृष्टि दिन्छ । अमेरिका संसारभरिमा नै स्वतन्त्रका लागि प्रख्यात छन् । सामान्य व्यक्तिले पनि अमेरिकमा पूर्ण स्वतन्त्रताको उपभोग गर्न पाउँछ ।
अहिले पनि धेरै नेपालीको लागि विदेशको जीवन एक खालको कल्पनाको जीवन हो । तर, के त्यो खासमै काल्पनिक हुन्छ ?
अमेरिका वा विदेश प्रति नेपालीहरूको मोह बढेर अमेरिका वा विदेशलाई सपनाको देश मान्नु लघुकालको लागि उचित हुन सक्छ । शिक्षा एवं अनुभव हासिल गर्न अमेरिका वा विदेश आएर नेपाल फर्किनु राम्रो हो । तर सँधै अमेरिका वा विदेश बस्ने किसिमले सोच्दा अमेरिका वा विदेश सपनाको देश हो भनेर बुझ्नु सही होइन । विदेशमा बस्दा अनेक किसिमका समस्याहरू आउँछन् जुन कुनै पनि व्यक्तिले विदेश आएको तिस वा चालिस वर्ष पछि भोग्छ । जस्तै लामो वा सधैं विदेशको बसाइमा व्यक्तिले आफ्नो परिचय (देश, समाज, संस्कृति) आदि सधैंको लागि गुमाउँछु। उसको परिचय केवल सुखको लागि विदेश पसेको एक प्रवासीबाहेक केही पनि हुँदैन । हात आयो शून्यजस्तो । भौतिक सुविधा प्राप्त भए पछि परिचय शून्य भए झैं।
तपाईंको जीवन कसरी चलिरहेको छ ? विदेशमा रहँदाका जीवनका उकालीओराली सम्झनुस्न् ।
मेरो व्यक्तिगत जीवनको कुरा गर्नु हुन्छ भने म बढी अध्ययन र अध्यापनमा समय व्यतित गर्ने व्यक्ति हो । नेपालमा हुँदा पनि त्यहाँका विभिन्न कलेजहरूमा १५ वर्ष जति अध्यापन गरेँ । अमेरिकामा अध्यापन गरेको पनि करिब एक दसक हुन थाल्यो । विदेशको बसाइको बारेमा मेरो छोटो अनुभव के छ भने विदेशको बसाइ भौतिक सुविधाको हिसाबले भने राम्रो हो तर मानसिक सन्तुष्टिको हिसाबले भने अति नै कष्टपूर्ण । यो मेरो व्यक्तिगत अनुभव हो र मेरो यो अनुभव अरुका लागि पूर्ण सत्य नहुन पनि सक्छ ।
विदेशमा हुनुहुन्छ तर नेपालको राजनीति र समाज व्यवस्थालाई पनि हेरिरहनु भएकै होला । कस्तो लाग्छ ?
म स्वदेशलाई अति नै माया गर्ने व्यक्ति हो र त्यसको उदाहरण वा प्रमाण हो मैले अमेरिकाबाट नै पनि नेपालका पत्रिकाहरूका लागि लेखेको १४।१५ वर्ष भयो। कतिपय नेपाली दैनिक पत्रिकाको म अहिले पनि नियमित स्तम्भकार नै छु । विषयगत (अर्थशास्त्र, व्यवस्थापन, बजारशास्त्र) र साहित्य गरी नेपाली भाषामा मेरा तिस भन्दा बढी पुस्तकहरू प्रकाशित छन् । र, ती नेपालमा उपलब्ध पनि छन् ।
विदेशमा गएपछि देश अझ बढी पाउनुभयो होला आफैभित्र । तपाईं नेपालाई कत्तिको मीस गर्नु हुन्छ ? र, सबभन्दा बढी के सम्झनु हुन्छ ?
यो अन्तिम प्रश्नको उत्तर माथिका प्रश्नहरूमा आइसकेको जस्तो लाग्छ । तैपनि, नेपाल कत्ति छुटेको जस्तो लाग्छ भन्ने प्रश्नको उत्तरमा म के भन्न चाहन्छु भने म केही वर्ष भित्रमा नै नेपाल सदाका लागि फर्किने तयारीमा छु । म अन्तिम सास नेपालमा हुँदा लिन पाउँ र मेरो भौतिक अस्तित्व पशुपतिनाथको पञ्चनालमा विलीन होस् भन्ने मेरो प्रबल इच्छा छ । मेरो शेषपछि मलाई खोज्नेले बाग्मतीमा पाउन् । शिव एक व्यक्ति र भगवानको रुपमा मेरो जीवन आदर्श हुन् ।