देशको माया अष्ट्रेलिया आएपछि झन् लाग्यो
नेपालनाम्चाको विशेष स्तम्भ देश विशेषमा निरु त्रिपाठी ।
तपाईं कुन देशमा हुनुहुन्छ ? कति बर्षदेखि त्यहाँ हुनुहुन्छ ? र, कुन सपनाले तपाईं त्यहाँ पुग्नु भयो ?
अष्ट्रेलिया । विगत ८ वर्षदेखि । पत्रकारितामा मास्टर्स् गर्न आएको ।
तपाईंलाई त्यो देशको के चीजले सबभन्दा बढ्ता छोयो ?
बहुसाँस्कृतिक परिवेश, कामको रेस्पेक्ट र सिस्टम ।
त्यो देशका पाँच राम्रा पक्षबारे भन्नुस्न् । मनलागे पाँच नराम्रा पक्षबारे पनि भन्न सक्नु हुनेछ ।
सेल्फमेड बन्न सहयोग गर्छ ।
हरेक कुरा सिस्टममा चल्छ ।
निति नियम सबैको लागि बराबर छ ।
काम सानो ठूलो हुँदैन । सबैको कामको सम्मान छ ।
सरकारले दिने सुविधा र हेरचाह पनि राम्रो छ ।
यी सबै हुँदाहुँदै पनि परदेश भनेको परदेश हुँदो रहेछ । देशको याद र देशको माया हरेक क्षण हुन्छ । सुनको पिँजडाजस्तो लाग्छ ।
बेलाबेला नेपालसँग त्यो देशलाई तुलना गर्नु हुन्छ होला ? के फरक र समानता पाउनु हुन्छ ?
मायाको तुलना हुँदैन । त्यो हिसावले सिङ्गो देशलाई नै यो देशसँग तुलना गर्दिन । सानो देश नेपाल यो विशाल महादेशको अगाडि मलाई अझै पनि बृहत्त लाग्छ र यो सब देशप्रतिको प्रेमले हो । यदि जन्मभूमि र कर्मभूमिमा देखेको केही कुरामा फरक छुट्याउनु भन्नु हुन्छ भने कामको रेस्पेक्ट र मान्छेलाई सिस्टममा बाँध्न सकेको छ, जुन नेपालमा त्यति देखिन मैले ।
अहिले पनि धेरै नेपालीको लागि विदेशको जीवन एक खालको कल्पनाको जीवन हो । तर, के त्यो खासमै काल्पनिक हुन्छ ?
कतिपयको लागि काल्पनिक हुन्छ तर कतिजनाले आफ्नो मेहेनतले वास्तविक पनि बनाएका छन् । फेसबुकमा समुन्द्र, अग्ला भवन र विभिन्न रमाईलो गरेको फोटो खिचेर बसिरहन पाउने जिन्दगी पनि छैन ।
तपाईंको जीवन कसरी चलिरहेको छ ? विदेशमा रहँदाका जीवनका उकालीओराली सम्झनुस्न् ।
विद्यार्थी जीवनमा अलि गाह्रो भएको थियो । त्यो गाह्रो पनि नेपालमा मैले सानोतिनो काम गर्न नजान्दा भएको हो । यदि आमालाई राम्ररी सघाएको भए, त्यति गाह्रो पनि हुँदैनथ्यो होला । तर पढाई सकेपछि मैले खोजेकै रोजेकै जस्तो जागिर पाएकोले अलि सजिलो भयो । तर, यो भनिरहँदा मान्छेको जीवनमा आआफ्नो प्रकारको उकालीओराली भइरहेको हुन्छ ।
विदेशमा हुनुहुन्छ तर नेपालको राजनीति र समाज व्यवस्थालाई पनि हेरिरहनु भएकै होला । कस्तो लाग्छ ?
नेपालको राजनीति र समाज व्यवस्थालाई राम्ररी हेरिरहेको छु । कहिलेकाँहि निराश बनाउँछ । सायद यदि राज्यव्यवस्था बनाउने र चलाउनेले चाह्यो भने देश अझ राम्रो हुन सक्छ ।
विदेशमा गएपछि देश अझ बढी पाउनुभयो होला आफैभित्र । तपाईं नेपाललाई कत्तिको मीस गर्नु हुन्छ ? र, सबभन्दा बढी के सम्झनु हुन्छ ?
धेरै राम्रो प्रश्न गर्नुभयो । पक्कै पनि म आफैभित्र मेरो देशलाई अझ पाउँछु । देशको माया-महत्व यता आएपछि झन् लाग्यो । देशको चिन्ता गर्न सिकायो । अझ पनि सपना नेपालकै देख्छु । अझ पनि सपनामा नेपाली नै बोलेको हुन्छ । तपाईं आफै विचार गर्नु देशलाई कति सम्झिरहेको हुन्छु ।