अस्ट्रेलियामा त्यस्तो, नेपालमा यस्तो !
ग्लोवल
कोम खत्री
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको वार्षिक तलब ५ लाख ४९ हजार २ सय ५० अस्ट्रेलियन डलर अर्थात् महिनाको ४५ हजार ७ सय ७० डलर छ । हालको नेपाली दरभाउमा यो तलब लगभग मासिक ४० लाख ५० हजार जति हुन्छ । यो तलब निर्वाचित सांसदले पाउने वार्षिक २ लाख ११ हजार २ सय ५० माथि १ सय ६० प्रतिशत ‘लोडिङ’ अथवा अतिरिक्त सुविधा जोडेर बनेको हो । उनी विश्वका सबैभन्दा बढी तलब पाउने १० राष्ट्राध्यक्षहरूको सूचीमा समेत पर्दछन् भने आयकर मात्रै करिब २ लाख २० हजार डलरभन्दा बढी वार्षिक रूपमा तिर्ने गर्दछन् ।
यति धेरै तलब पाए पनि यहाँका प्रधानमन्त्रीको जीवनशैली त्यति तडकभडकयुक्त भने देखिँदैन । क्यानबेरामा वा सिड्नीको किरिबिली (प्रम निवास) तिर कहिलेकाहीँ कार्यालय समयतिर पुगियो भने उस्तै परे प्रधानमन्त्री विना सुरक्षाकर्मी हिँडिरहेका भेटिन सक्छन् । उनीहरू हिँड्दा सुरक्षाकर्मीको घेरा, गाडीको लस्कर वा रातो कार्पेट कतै भेटिँदैन ।
प्रधानमन्त्री मोरिसनले पहिलोपटक सन् १९९५ मा ३ लाख ३० हजार अस्ट्रेलियन डलरमा पहिलो घर किनेका थिए जुन उनले सन् २००९ मा ९ लाख ८५ हजार डलरमा बेचेका थिए । त्यसै वर्ष उनले ९ लाख २० हजार डलरको घर बैंकमार्फत् लोन लिएर किनेका थिए ।
जे होस् अस्ट्रेलियामा नेताहरूको तलब भत्ता र सुविधा पारदर्शी देखिन्छ र त्यसैअनुरूप आफ्नो जीवनयापन गरिरहेका भेटिन्छन् । पूर्व प्रधानमन्त्री टोनी एबट हाल वेलायतमा ‘बोर्ड अफ ट्रेड’ मा सल्लाहकारका रूपमा कार्यरत छन् । त्यसैगरी पूर्व प्रम माल्कम टर्नबुलले एक अन्तर्राष्ट्रिय फर्ममा आर्थिक सल्लाहकारका रूपमा कार्यरत छन् भने पूर्वप्रम जुलिया गिलार्ड स्वास्थ्यसँग सम्बन्धित संस्था ‘वेलकम ट्रष्ट’मा आगामी अप्रिल महिनादेखि अध्यक्षका रूपमा कार्यरत रहनेछिन् । त्यसैगरी पूर्वप्रधानमन्त्री केभिन रड आइएमएफमा सल्लाहकारका रूपमा कार्यरत छन् । सन् २०१३ मा संसदबाट राजीनामा गरेपश्चात् उनले हारबर्ड विश्विद्यालयमा सिनियर फेलो तथा एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटमा अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।
यहाँ प्रधानमन्त्री वा नेताहरूलाई भन्दा बढी खेलाडी, गायक, कलाकार वा त्यस्तै देशका लागि केही गर्ने व्यक्तिहरूलाई बढी जनताले चिनेको र महत्व दिएको प्रष्टसँग देखिन्छ । यही जनमतको फलस्वरूप राजनीति भनेको देश र जनतालाई सेवा गर्ने एउटा क्षेत्रका रूपमा लिइन्छ र जनताको म्यान्डेटलाई सहर्ष स्वीकार पनि गरिन्छ । चुनावमा हारियो भने राजनीति छाडेर आफ्नो जीवनयापनको लागि अर्कै व्यवसाय रोज्न नेताहरू बाध्य हुन्छन् र सजिलैसँग गर्छन् पनि ।
त्यसको विपरीत नेपालमा राजनीतिलाई अजम्बरी व्यवसायका रूपमा बुझिन्छ । यस्तो व्यवसाय जुन जन्मदेखि मृत्युसम्म निरन्तर गरिरहनुपर्दछ । त्यसको अर्को विकल्प नै छैन । नेपालमा कुनै नेताले राजनीति त्यागेर अन्य व्यवसाय रोज्नु भनेको अपवादका रूपमा लिइन्छ । चुनाव जिते पनि, हारे पनि वा जनताले रुचाए पनि, नरुचाए पनि राजनीति भनेको हाम्रो बुझाइमा ब्रह्मनालमा गएर सकिने व्यवसायको रूपमा परिणत भइसकेको छ । नेपालमा एउटा चुनावमा हारेका नेताहरू अर्को चुनाव पर्खेर बस्नु समान्य रूपमा लिइन्छ । चुनावी हारलाई स्कुलको परीक्षामा फेल भएजस्तै ‘ट्राई अगेन’का रूपमा लिइन्छ ।
हाल नेपालका प्रधानमन्त्रीको मासिक तलब ९१ हजार १ सय ९० रुपैयाँ छ । त्यसैगरी मन्त्रीहरूको मासिक तलब ७१ हजार ९ सय ४५ र सांसदहरूको मासिक तलब ६५ हजार १ सय ७१ रहेको छ । अलिकति ठूलो परिवार हुने हो र पुख्र्यौली सम्पत्ति नहुने हो भने यति तलबले अहिले देशको राजधानीमा बसेर ज्यान पाल्न पनि ठिकैठिकैसम्म मात्र होला । तलबमाथि पाइने भत्ता र अतिरिक्त सुविधाहरू जोड्दाचाहिँ राम्रैसँग जीवन धान्न सकिएला ।
नेपालका नेताहरूको जीवनशैली, ठाँटबाँट र रवाफ हेर्ने हो भने कुनै सेलिब्रेटीको भन्दा कम भने देखिन्न । नेताले पाउने तलब र सुविधाअनुसार उनीहरूको जीवनशैली दूरदूरसम्म मेल खाँदैन । सत्तामा रहेकादेखि लिएर भूतपूर्व भएकासम्म नेतालाई सुरक्षाकर्मी नभई हुँदैन । सरकारी गाडी, रातो कार्पेट र सुरक्षा घेरामा हिँड्नु शानसौकतका रूपमा लिइन्छ । यतिसम्म कि पद खुस्किए पनि ती सुविधाहरू नछाड्ने नेताहरू छरपस्टै भेटिन्छन् ।
राजनीतिको यही फोहोरी खेल र बुझाइ अहिले प्रवासका कुनाकुनासम्म फैलिएको छ । विदेशका राम्रा कुरा र राजनैतिक संस्कार देखेका र बुझेका मानिसले स्वदेशमा खबरदारी गर्दै सही मार्ग निर्देश गर्ने दायित्व बहन गर्नुपर्नेमा त्यही हिलोमा डुब्न मन पराउने जमात्को विगविगी हुनुले हाम्रो राजनैतिक संस्कारको विकृत रूप छर्लङ्ग झल्काउँछ । अहिले हारियो त के भो ? अर्को चुनाव छँदैछ नि भन्ने मानसिकतादेखि गुटबन्दी र टीकेप्रवृत्ति यहाँ पनि उस्तै हुनुले हाम्रो समाजको सङ्कुचित वैचारिक मार्ग र सोंचाइलाई प्रष्ट पार्दछ ।
नेतालाई देख्नासाथ सेल्फी खिच्ने वानीलाई प्रश्न गर्ने, खबरदारी गर्ने संस्कार अनि राजनीति भनेको अजम्बरी व्यवसाय हो भन्ने बुझाइलाई व्यवहारिक रूपमा परिवर्तन गर्न नसकेसम्म हामीले देशले कोल्टे फेर्छ भन्ने कल्पना गर्नु दिवास्वप्न जस्तै हो ।