देश विशेषः नेपाल छँदा समुद्रको लालसा, अमेरिकामा हिमाल
‘जीवनमा तिनै सानो-तिनो, छोटो-मिठो पलहरुको ‘किमत’ बढी हुने रहेछ । काठमाडौंको चिसो हावा, बिहानीपखको घाम, मामुको हातको खाना, परिवार, आफन्त, सबै नै, साथी-संगीहरुको घुमघाम, बेपरवाहीका ती बचपनाहरु, चाडबाडको रौनक, मन्दिर, गुम्बा, विहार आदिका शान्त, सौम्य वातावरण, दरबारक्षेत्रहरुमा बितेका रमाइला क्षणहरु, यस्तै यस्तै । साँच्चै, अचेल मलाई माईक्रो बसमा कोचिएर यात्रा गर्दा हुने ‘चिढ्चिढ्’ समेत मीस हुन्छ । अनि सायद, यो कुरा मीस नहुने त नेपाली जन्मेको नै छैन होला ! अनि यदि कोही नेपालीले यो कुरा मीस गर्दिन भन्छ भने बुझे हुन्छ- त्यो नेपाली नै होइन भनेर । त्यो त बुझी नै हाल्नु भयो होला- म:म: ! साह्रै, साह्रै याद आउँछ ‘, अमेरिकाबाट उनले भनिन् ।
कविमन । उडिरहन्छ सपनाहरुजस्तै । र, अहिले उनी छिन् उनकै मनको नेपालमा । तर, खासमा उनको बसाई अचेल अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा । नेपाली, अंग्रेजी, हिन्दीलगायतका भाषामा कलम फरर । पोइट्री र माइक्रो पोइट्री अनि फिक्सन र ननफिक्सन सबैतिर उस्तै र उत्तिकै सशक्त । अंग्रेजी किताबहरुकी सर्जक । अन्वेषण र भावना दुवैमा उस्तै गहिरो अभिरुचि राख्ने अन्तरराष्ट्रिय सम्बन्धकी अध्यार्थी ।
नेपालनाम्चाको विशेष स्तम्भ ‘देश-विशेष‘को उद्घाटन अंकमा विशेषै कुराकानी अस्मिता आचार्यसँग ।
कुन सपनाले त्यहाँ पुग्नु भयो ?
मातृभूमि नेपालबाट एउटा नयाँ मुलुकलाई कर्मभूमि बनाउँछु भनेर हिँडेको यही जनवरीमा सात वर्ष पूरा भयो । ओहो ! सप्तरङ्गी सात वसन्त पार भएछन् त हेर्दाहेर्दै । तर, रमाइलो के भने अमेरिका बसाईका यी सात वर्षमा केवल वसन्तहरु मात्रै होईन, अनेक रङ्गहरु देखियो, अनेक ऋतुहरु भोगियो ।
तपाईले बडो यकीनसाथ प्रश्न गर्नुभयो, कुन सपनाले मलाई यहाँ डोहोरायो भनेर । आफ्नो जन्मथलो नेपालदेखि यो कर्मथलो अमेरिकासम्मको यात्राका पछाडि सपनाहरु त पक्कै थिए । यी सपनाहरु नै त हुन्, जसले निद्राबाट ब्यूँझिन घचघच्याउँछन्, जागृत भएर ती सपनाहरु विपनामा पूरा गर्नको निम्ती प्रेरित गर्छन् । त्यसो त जीवन भन्नु आश र सासबाहेक अरु के नै हो र ?धेरैअघि कोरेको एउटा हाइकु याद आयो ।
‘अड्छ जीवन
आशारुपी मिहिन
एक तृणमा‘
हो, त्यही आशाको त्यान्द्रोले मलाई यहाँ तान्यो । मेरा कतिपय मित्रहरुका कथाका पछाडि ‘पुश’ फ्याक्टरहरु पाएकी छु । मेरो कथाको कारक तत्वहरु ‘पुल’ फ्याक्टरहरु हुन् । त्यस अर्थमा मेरो अनुभव अलिक फरक छ । तर, नढाँटी भन्नुपर्दा, सात वर्षअघि त मैले जीवन बुझेकी नै थिईन रहेछु । त्यो बेला मैले त्यो बेला बाँचिराखेको जीवनशैली अझै राम्रो होस् भन्ने मात्रै सोचेकी रहेछु । अहिले आएर थाहा हुँदैछ, जीवन सुन्दर हुनु र जीवनशैली सुन्दर हुनु दुई भिन्न कुरा हुन् ।
तपाईंका सपनाहरुका हालखबर के–कस्ता छन् ?
सास चलुन्जेल मान्छेमा पलाइरहने आशहरु त छन्, हुन्छन नै । तथापि, केवल जीवनशैलीको पछाडि दौडिँदा जीवन छुट्न जान्छ । जीवनशैली अझै कसरी सहज बनाउने भन्ने चक्करमा जीवन सुन्दर बनाउने बाटोहरु पहिल्याउन सफल भएकी छु, यहाँ आएपछि म । जीवन सुन्दर हुँदा जीवनशैली आफ्-से-आफ् सुन्दर बन्दै जाने रहेछ ।
अमेरिकाले मेरा सपनाहरुलाई उडान दिएको छ । जीवनलाई एउटा गति दिएको छ । आफ्नै बारेमा बिर्सिसकेका कतिपय आयामहरु थिए, जुन यहाँ आएयता फराकिला भएका छन् अहिले । चिन्न सक्नेलाई यहाँको माटोमा अवसरहरुको कमी छैन । त्यही मोतीहरु टिप्ने प्रयास जारी छ मेरो । तर, यसो भनिरहँदा मेरो भनाईको गलत अर्थ नजाओस् । यो मेरो नितान्त व्यक्तिगत अनुभव हो ।
म परेँ अध्ययनमा रुची भएको मान्छे । पुस्तक भए मलाई अरु केही चाँहिदैन । साहित्य, दर्शन, कला, इतिहास, संगीत, भाषा, इत्यादिको बारेमा लेखन-पठन त नेपालमै हुँदा देखि हुन्थ्यो सानै देखिन् । राजनीतिमा पनि त्यतिकै रुची थियो । अनि, नेपालमा छँदा म अङ्ग्रेजी साहित्य, संचार र पत्रकारिताको विद्यार्थी थिएँ ।
सुरुमा पत्रकारिताको क्षेत्रमा नै केही गरिन्छ कि जस्तो लागेको थियो । तर, समयसँगै योजनाहरु परिवर्तन हुँदै गयो । फार्माकोलोजी पनि पढें, त्यही नयाँ क्षेत्रको खोजीको क्रममा । समाजले विशेषज्ञता खोज्दछ र विविध विषयमा भएको मेरो विविध रुचिहरुमध्ये म कुन क्षेत्रमा दक्षता चाहन्थें, यो कुरा निर्क्यौल गर्न नै गार्हो भयो सुरुमा त मलाई । एकताका मनोविज्ञान पनि खूब पढियो । यसरी भौँतारिंदा भौँतारिंदा विगत केहि वर्षदेखि चाँही ट्र्याकमा आएको छ जीवनको गाडी ।
अन्तत: अहिलेचाँही मनले खाएको विषयको अध्ययन र त्यसै अन्तर्गत अनुसन्धान एवम शोधहरु गर्दैछु । अचेल म युनिभर्सिटी अफ टेक्सस ऐट अस्टिनमा अन्तरराष्ट्रीय सम्बन्ध तथा वैश्विक अध्ययनमा मेजर गर्दैछु । बहुआयामिक विषयमा शोधहरु हुँदैछ । त्यसैले म स्वयम् त एकदमै कृतज्ञ छु अमेरिकाप्रति, मेरो सपनाहरुलाई बाटो देखाइदिएकोमा ।
तपाईंलाई अमेरिकाको के चीजले सबभन्दा बढ्ता छोयो ?
विश्वका राष्ट्रहरुमध्ये निकै कान्छो छ अमेरिका, अरु धेरै राष्ट्रहरु हेरिकन । कुनै पनि समाजभित्रबाट एउटा राष्ट्र बन्छ भने त्यसको पछाडि अनेक कारणहरु हुन्छन् । मलाई सबैभन्दा मनपर्ने पक्ष भनेको अमेरिका जुन चीजको लागि बन्यो, जे लक्ष्यका साथ बन्यो, त्यो नै हो ।
अमेरिकाको स्थापना, यसको संविधान र स्वतन्त्रताको घोषणापत्र, यी सबै आधारित नै यी तीन तत्वहरुमा छन्- लाइफ, लिबर्टी उन्ड परस्युट अफ ह्यापपीनेस । यानि ‘जीवन,’ अझ स्पष्ट भन्नु पर्दा ‘स्वतन्त्रतासँग जिउन पाउने जीवन,’ अनि त्यो भन्दा पनि महत्वपूर्ण लाग्छ मलाई ‘खुसीको खोज गर्दै निर्वाह गर्ने जीवन ।’ ‘अमेरिकन ड्रीम’- यहाँ आउने मजस्ता आप्रवासी हर एक व्यक्तिको सपना, यो देशको सपना त्यही नै त हो नि, होइन र ?
‘अमेरिकन ड्रीम’को मूल मर्म बुझ्न सके त्यो अमेरिकन ड्रीम प्राप्त गर्न कति संघर्ष गर्नु जरुरी छ, त्यो आफै बुझिन्छ । जीवनका विभिन्न बन्धनहरुबाट मुक्ति र स्वतन्त्रता पाउन गर्नुपर्ने संघर्ष आ-आफ्नै भए पनि हर व्यक्तिपिच्छे उसको खुसीको परिभाषा भिन्दा-भिन्दै भए पनि अमेरिका मात्रै होईन, मलाई लाग्छ, संसारको जुन कुनामा बसेतापनि हर व्यक्तिले चाहने आधारभूत कुराहरु त यिनै त हुन् आखिर ।
खुसीको खोजकर्ताहरुले बनाएको देश हो अमेरिका । यी सपनाहरु देखेर बनेको देश हो अमेरिका । यो यूटोपिया पक्कै होइन, त्यो कतै पनि हुँदैन । तर, सदैव हर क्षेत्रमा विस्तार गर्ने लक्ष्य भने पक्कै राख्छ यहाँको समाजले । चाहे त्यो ज्ञानको दायरा फराकिलो पार्ने कुरामा होस या धरातलियदेखि आकाशीय सिमान्त विस्तारमा होस् । कुन कुरा जायज हो होइन्, थियो थिएन, त्यो सबैको विश्लेषण अहिले गर्न भ्याईनँ ।
तर, यो सिमान्त विस्तारको जुन एउटा लक्ष्य छ, त्यो यदि हामीले हाम्रो जीवनको हर क्षेत्रमा, हर आयाममा लागू गर्नसके व्यक्तिमा लुकेर बसेको प्रतिभा प्रस्फुटनका सम्भाव्यताहरु पनि विस्तार हुन्छन् । त्यसो भयो भने यो सारा विश्व नै कस्तो हुन्थ्यो होला !
अमेरिकाका पाँच राम्रा पक्षबारे भन्नुस्न् । मनलागे पाँच नराम्रा पक्षबारे पनि भन्न सक्नु हुनेछ ।
१. समय अमुल्य हुन्छ भनेको सुन्दै हुर्केकी हूँ । तर मैले यहाँ आएपछि मात्रै बुझेको कुरा हो यो- कि त्यो अमुल्य समयको कति मोल हुन्छ भनेर । वास्तवमै अमेरिकाले मलाई सिकाएको छ- घडीको सेकण्ड सुईभन्दा पनि तेज रफ्तार र त्यही सुई घुम्दाखेरी पहिलो बिन्दुबाट अर्को बिन्दुसम्म नपुगुन्जेलसम्मको ठहराव । यहाँको समाजले समयको महत्व बुझेको छ । यो कुरा सबैभन्दा बढी मनपर्छ ।
२. कुनै पनि काम सानो हुँदैन । कथित साना काम गर्ने जुन वर्ग समाजले निर्माण गरिदिएको छ, तिनको पनि उत्तिकै मान हुन्छ यहाँ, जति कथित ठुल्ठुला कामहरुको हुन्छ । विद्यार्थीहरुले उच्च शिक्षा प्राप्त गर्ने क्रममा पसलहरुमा काम गर्दै या रेस्टुरेन्टमा काम गर्दै पढ्नु यहाँ सामान्य कुरा हो। तर, नेपालमा शिक्षित हुँदैमा केवल बौद्धिक कार्य मात्रै गर्नु पर्छ, शारीरिक परिश्रम गर्यो भने समाजले के भन्ला भन्ने डर र लाज लाग्ने जुन परिपाटी छ, त्यो यहाँ छैन । यो पनि अमेरिकाको एकदमै सकारात्मक पक्ष हो ।
३. शिक्षा क्षेत्रकै कुरा गर्नुपर्दा कम-से-कम मैले देखेको कुरा यो हो कि यहाँ पढ्नको लागि उमेरले छेक्दैन । हुन त, कहीं पनि छेकबार हुनु नपर्ने हो उमेर भन्ने कुरा, विद्याको कुरामा । मेरै सहपाठी एवम सहकर्मीहरुका उमेरको रेञ्ज हेर्ने हो भने २०-२५ का देखि लिएर ७०-७५ पनि सम्म छन् । त्यो भन्दा बढी-कम पनि होलान् अन्त अन्य ठाउँहरुमा त । अनि हाम्रो अन्तरक्रियाहरु यो उमेरको विविधताका कारण नै पनि कति इनरिचिंग् हुन्छ ।
४. दैनिकीको रमाइलो लाग्ने कुरा भन्नुपर्दा यहाँका मानिसहरुले एक-आपसमा देखाउने सदभाव नौलो लाग्छ अझै पनि । एकदम राम्रो-रमाइलो चलन । पसलहरुमा नै होस्, आफ्नो अपार्टमेन्ट कम्प्लेक्स वा अरु कम्प्लेक्सका छर-छिमेकमा होस्, मर्निङ्ग/इवनिंग वाकहरुमा निस्किँदा होस्, मेरो मतलब अपरिचित व्यक्तिहरुले पनि यत्तिकै सामान्य अभिवादन गर्ने चलन मनपर्छ । यस्तै सामान्य ‘हाउ आर यु डुइङ्ग ?’ बाट मेरो धेरै मित्रता सुरु भएको छ ।
५. यहाँ मानसिक स्वास्थ्यलाई दिईने प्राथमिकता मनपर्छ साह्रै । बच्चादेखि विद्यालयमा काउन्सलर थेरापिस्ट राखिएको हुन्छ । एउटा सर्पोट सिस्टम हुन्छ सबैतिर । नेपालमा जस्तो ‘ट्याबो’ छैन यहाँ । यसको विषयमा त म घन्टौं कुरा गर्न सक्छु । अहिलेको लागि यत्ति मात्रै भन्छु- कि मानसिक रोग, मानसिक उपचार अनि मानसिक स्वास्थ्य इत्यादिलाई सामान्यकरण गर्नु जरुरी छ ।
यी सबै कुराहरु मनपर्ने कुराहरु भए । चित्त नबुझ्ने कुराहरु छन् पक्कै पनि । त्यसको बारेमा चाँही अरु कुन दिन बात मारौंला, है त ?
बेलाबेला नेपालसँग अमेरिकालाई तुलना गर्नु हुन्छ होला ? के फरक र समानता पाउनु हुन्छ ?
सायद सुन्दा अचम्म सुनिएला, तर मैले नेपाल र अमेरिकाबीच समानता धेरै पाएँ । रोस्टोवको मोडल हेर्दा पक्कै पनि अमेरिका निश्चित पनि माथि होला अमेरिका नेपालको तुलनामा । तथापि, आधारभूत कुराहरु हेर्ने हो भने खासै फरक त म देख्दिनँ । जात-पातको लडाईं त्यहाँ पनि छ, यहाँ पनि छ । धनी-गरीबको बीच दूरी त्यहाँ पनि छ, यहाँ पनि छ । रंग-विभेद, जाति-विभेद, अनि लिंग-विभेद त्यहाँ पनि छ, यहाँ पनि छ ।
मापन गर्दा कति मात्राको फरक, अनि कुन मुद्दामा को अगाडि, को पछाडि भन्ने कुरा मात्रै फरक हो । होइन भने, मानव प्रवृत्ति त एउटै नै हुन्छ । विभेदको कुरा गरिरहँदा यो पनि बिर्सिनु हुँदैन कि त्यसता विकृतिहरुसँग लड्न खोज्ने, जुझ्न खोज्ने नै प्रवृत्ति-प्रकृति हुन्छ मान्छेको । संघर्षको कथा, अनि अझै विकसित, अझै परिष्कृत, अझै राम्रो सभ्यतातर्फ उन्मुख हुने चाहना पनि दुवै मुलुकमा उत्तिकै देख्छु म ।
नेपाल हुँदा र त्यता गइसकेपछि नेपाल र बाँकी विश्वलाई बुझ्ने तपाईंका आँखामा के फरक आएको छ रु वा छैन ?
निश्चय पनि यात्राले मानिसलाई, उसको सोचलाई, फराकिलो त पार्छ नै । नेपाल छँदा पनि बुझ्नको लागि त बुझेकै कुरा थियो कि मानवताको कुनै सिमाना हुँदैन । त्यो मेरो साहित्यमा पनि झल्किन्थ्यो पहिले पनि । तैपनि, सामान्यतयास् हर व्यक्तिको चलिरहेको जीवनमा एउटा मुलभूत सिद्धान्तमा अडेको हुन्छ । ‘कोर कन्भिक्सन’ भन्छौं नि जसलाई । ती ‘कोर कन्भिक्सन’हरुमा कसैले प्रश्न गर्दा असहज महसूस हुन्छ । विश्वका युद्धहरु पनि त्यही सिद्धान्तहरुको टकराव नै त हो ।
जीवन जिउँदै जाँदा, नानाभाँतीका अनुभवहरु भोग्दै जाँदा, अनि विशेषगरी अन्तरराष्ट्रिय सम्बन्ध नै अध्धयन गर्दै जाँदा मेरा आफ्नै सिद्धान्तहरुमा अडेको मेरो विश्वास धेरै पटक टुटेको छ । त्यहि भएर पनि म अनुसन्धान, शॊध, खोज, सोच, यो सबमा यति धेरै समर्पित छु । प्रश्न गर्ने, सवाल उठाउने, जिज्ञासा राख्ने बानी थियो सानैदेखि, अहिले पनि छ । अहिले आफूसँग एउटा ‘तकनिकी’ छ, बाटो छ, तरिका छ, कसरी ती सवालहरुका निचॊड निकाल्न सकिन्छ भन्ने बारेमा सपष्टता छ । मेरो अनुसन्धानमा त्यही भएर पनि झल्किन्छ प्रश्नहरु धर्म, संस्कृति, भाषा, जाति, राजनीति, शासन-प्रणाली, अनि दर्शन इत्यादिको समिश्रण । संक्षेपमा भन्नुपर्दा यहाँ आएदेखि मैले संसारलाई दुई वटै तरिका- ‘अ टप-डाउन अप्रोच र अ बटम-अप एप्रोच’ बाट हेर्न/बुझ्न सिकेकी र सकेकी छु ।
अहिले पनि धेरै नेपालीको लागि विदेशको जीवन एक खालको कल्पनाको जीवन हो । तर, के त्यो खासमै काल्पनिक हुन्छ ?
मलाई लाग्छ, यो कुरा सबैमा नै लागु हुन्छ । विदेशको जीवन सबैका लागि नै कल्पनाको संसार हो । भनिन्छ नि, अर्कोपट्टिको घाँस जहिले पनि बढी हरियो देखिन्छ । मेरो आफ्नै उदारहण दिनुपर्दा- नेपालमा छँदा समुद्रको लालसा हुन्थ्यो । अहिले यहाँ आएदेखि हिमालको लालसा हुन्छ । सुमुद्र भने पनि, हिमाल भने पनि हुन त आखिर प्रकृति नै हो । जहाँ बसे पनि, जहाँ भए पनि गर्नु पर्ने त संघर्ष नै हो, बाँच्नु पर्ने त जीवन नै हो ।
अमेरिकन ड्रीम देख्नु नराम्रो कुरा होईन, अमेरिकन ड्रीमको पछि दगुर्नु त्यो पनि नराम्रो होइन । तर, यति भन्न चाँहें कि- अमेरिकामा डलरको रुख हुन्छ अनि बिना कुनै मलजल त्यो डलर टिप्न पाईन्छ भनेर हावादारी सपनाहरु देख्यो भने चाँही नराम्ररी पछारिनुपर्छ ।
कुनै बेला पत्रकारिताको अध्ययन गरेकी भएर पनि थोर-बहुत ज्ञात छ कि मिडियाले कुन कुरालाई कुन हदसम्म तोड्मरोड् गर्न सक्छ भनेर । सिनेमा र सिट्कममा देखिने कफिहाउसको रमाइलो मात्रै होइन अमेरिकन ड्रीम । त्यो एक छिनको रमाइलोको पछाडिका संघर्षहरु प्रायस् हामी देख्दैनौ, देखाउँदैनौ । चाहे त्यो कोही व्यक्ति विशेष होस्, या चाहे त्यो मिडिया नै किन नहोस् । अब झन् अचेल त, सामाजिक संजालमा हामीले कोरेको कल्पनाका ज्वलन्त उदाहरणहरु देख्छौं । न्यूयोर्कको एम्पायर स्टेट बिल्डिङ्गको अगाडि खिचेको कसैको फेसबुक/इन्स्टाग्रामबाट तपाईं त्यहाँ बस्ने आप्रवासीको पीडा बुझ्न सक्नु हुन्न ।
नेपालको जस्तो सामूहिक समाजबाट निस्केर चाहे तपाईं जुनसुकै देशमा जानुहोस्, त्यहाँको समाज नेपालकै जस्तो सामूहिक भएतापनि तपाईं स्वयं वैयक्तिक जीवन जिउन बाध्य हुनुहुनेछ । त्यो कुनै स्वार्थले होइन, तपाईंको जिवीकोपार्जनमा तपाईंले खर्चनुपर्ने समय-परिस्थितिले नै तपाईंलाई त्यसतो बनाईदिन्छ । यो त केवल एउटा मात्रै उदाहरण भनें । यस्ता कैयन् अरु पक्षहरु पनि हुन्छन् जसको बारेमा प्रायस् हामी विचार गर्दैनौं ।
जीवन कसरी चलिरहेको छ ? अमेरिकामा रहँदाका जीवनका उकालीओराली सम्झनुस्न् ।
मूलतस् अध्धयन-अनुसन्धानमै बित्छ दैनिकी त । त्यसबाहेक सामाजिक संस्थाहरुमा संलग्न छु । अनि राजनीतिमा पनि हल्का-फुल्का । साहित्य सिर्जना त भनिरहनु नै परेन । जीवन सार्थक बनाउने प्रयासमा छु । खुशी छु, सुखी छु, आत्मसन्तोष छ, जीवनले पकडेको बाटोप्रति आशावादी छु ।
भौतिक रुपको दुख छैन, भएन पनि । तर, नेपालमा हुँदा मामुले पकाको खाना खान पनि हैरान गर्ने मैले यहाँ आएर जीवनलाई शुन्यबाट सुरु गरेसरह भोगेकी छु । आफ्नो मामु सम्झिनु, आफुले माया गर्ने मान्छेलाई सम्झिनु, आफुलाई माया गर्ने मान्छेहरुलाई सम्झिनु, ती भावहरुको सुख पनि छ, दुस्ख पनि छ । साँच्चै नै, नोस्टाल्जियामा नै जिउँछौं हामी परदेशीहरु । खुशी पनि लाग्छ- कि माया गर्नेहरु छन् भनेर । उदास पनि भईन्छ- माया गर्नेहरुसँगै भौतिक रुपमा साथमा छैन भनी ।
अमेरिकामा हुनुहुन्छ तर नेपालको राजनीति र समाज व्यवस्थालाई पनि हेरिरहनु भएकै होला । कस्तो लाग्छ ?
मैले शोध गर्दै गरेको विषयभित्रैबाट प्रश्न गर्नु भयो । त्यो कुराहरु औपचारिक नभएसम्म त अहिले नै बाँट्न अलिक मिलेन । सामान्य रुपमा भन्दा चाँही मलाई लागेको कुरा- यहाँ सिद्धान्तको लडाईं हुन्छ । वाद-विवाद पनि मुद्दाहरुको विषयमा हुन्छ । नेपालको सारा चीज मन परे पनि चित्त नबुझ्ने एउटा कुरा भनेको चाँही हामी सिद्धान्तगत लडाईं लड्दैनौ । लडेजस्तो पक्कै गर्छौ तर भित्र-भित्रै हामी व्यक्तिगत लडाईं लड्छौं । नेपालले संक्रमणकाल भोगेको धेरै अघिदेखि हो, धेरै पटक हो । त्यो हिसाबमा नेपालले गर्नु पर्ने प्रगतिको स्तर अहिलेको भन्दा धेरै माथिको हो । ‘इन ट्रान्जिसन’बाट गुज्रिरहेको मुलुक विकसित हुन सजिलो हुन्छ, अनि बिग्रिन बेर पनि लाग्दैन । अमेरिकाको अर्को एउटा नयाँ संक्रमणकाल सुरु भएको छ भर्खरै जाति-आन्दोलनहरुको मामिलामा ।
शासन-प्रणालीका नाना रुपहरु देखियो नेपालमै पनि, यहाँ पनि । कहिले प्रणाली नै गलत हुन्छ, कहिले सत्ता सम्भालने हातहरु गलत हुन्छन् । त्यो चिन्न सक्नु पर्छ । अरु केही नभए पनि हात-हातमा मोबाइल छ सबको, सामजिक संजालमा पहुँच छ सबैको । अरब स्प्रिङ्गकै उदाहरणहरु सम्झे पुग्छ । अम्ब्रेला मुव्मेण्ट, सनफ्लावर मुव्मेण्ट, इत्यादि सम्झे पुग्छ । नेताहरुलाई गाली मात्रै गरेर त केही हुँदैन । गाली संगसँगै राजनैतिक अभियानहरु थालनी भईराख्नुपर्छ, बिना रुकावट संचालन भइराख्नुपर्छ । नेपालीहरुमा अत्ति नै सहनशिलता छ- त्यो देखेर चाँही दिक्क लाग्छ । जसले जे गरे पनि त्यसरी नसहे हुन्थ्यो भन्ने लाग्छ ।
विदेश गएपछि देश अझ बढी पाउनुभयो होला आफैभित्र । तपाईं नेपालाई कत्तिको मीस गर्नु हुन्छ ? र, सबभन्दा बढी के सम्झनु हुन्छ ?
ओहो ! अब कसरी बयान गरूँ । नेपालमा हुँदाका पलहरु सजीव भइरहन्छन् । आफ्ना मान्छेहरुसँग बिताएका पलहरु । आश्चर्य लाग्छ, विदेश आएपछि सम्झिने कुराहरु ठुल्ठुला हुँदैनन् रहेछ- स-साना कुराहरुको याद आउँछ । जीवनमा तिनै सानो-तिनो, छोटो-मिठो पलहरुको ‘किमत’ बढी हुने रहेछ ।
काठमाडौंको चिसो हावा, बिहानीपखको घाम, मामुको हातको खाना, परिवार, आफन्त, सबै नै, साथी-संगीहरुको घुमघाम, बेपरवाहीका ती बचपनाहरु, चाडबाडको रौनक, मन्दिर, गुम्बा, विहार आदिका शान्त, सौम्य वातावरण, दरबारक्षेत्रहरुमा बितेका रमाइला क्षणहरु, यस्तै यस्तै । साँच्चै, अचेल मलाई माईक्रो बसमा कोचिएर यात्रा गर्दा हुने चिढ्चिढ् समेत मीस हुन्छ । अनि सायद, यो कुरा मीस नहुने त नेपाली जन्मेको नै छैन होला ! अनि यदि कोही नेपालीले यो कुरा मीस गर्दिन भन्छ भने बुझे हुन्छ- त्यो नेपाली नै होइन भनेर ।
त्यो त बुझी नै हाल्नु भयो होला- म: म: ! साह्रै, साह्रै याद आउँछ ।