मृत्य-अनुभुतिः हिउँजस्तो चीसो शरीर जल्दै गर्दा मलाई कुनै पीडा भएन

रितु शाक्य

अचम्मको सुनसान समय । न दिन न रात पत्तै थिएन । झिँझोलाग्दो शून्यता अनुभूति हुँदैथियो । नयनहरु बन्द थिए तैपनि आभास राम्रै भइरहेको थियो ।शरीर अचल हुँदा पनि मन चलिरहेको थियो । कस्तो कस्तो कहालीलाग्दो परिस्थिति अनुभूति हुँदा आफ्नो शरीर पनि अचल भइदियो । चल्न खोज्छु, चल्न सकिएन । बोल्न खोज्छु, बोल्न सकिएन । के भयो मलाई थाहा नै छैन ।

अचानक कोही रोईकराई रहेको आवाज कानमा गुन्जियो । चिनेको आवाज लाग्यो र गहिरिएर सुनें । मेरी आमा रहिछिन् पत्तो लाग्यो । किन बिलौना गर्दै हो, थाहा थिएन । सँगै अरु पनि सुँक्कसुँक्क गरेको सुनें । मेरी छोरी रुँदै थिइन् । सँगै श्रीमान् पनि । किन सब रोइरहेका हुन् भन्ने कुरा मैले बुझ्नै सकिनँ । आफूचाँहि फिटिक्कै चल्न सकेको थिइनँ । त्यतिकैमा सब आफन्तजन पनि भेला भइसकेछन् । एउटा आफन्तजनलाई बोल्दै गरेको सुनेँ, ‘कठैवरा ! यस्तो खाइलाग्दो उमेरमा निष्ठुरी कालले कसरी चटक्कै चुँडी लान सकेको होला । के गर्नु भाग्यको लेखा नमेटिने रहेछ । हुने भई नै सक्यो, अब रोएर के गर्नु ? गएको फर्केर आउँदैन ।’

म त छाँगाबाट खसे झैँ भएँ । म त स्वर्गवास पो भएछु । कसरी पत्याउने ? अघिसम्म ओछ्यानमा सुतेको याद छ मलाई ।

शरीर मेरो हिउँ झै चिसो भएको छ । श्वास विल्कुल चलेको छैन । अब विश्वास भयो कि यो ज्यान त छुट्यो मेरो अब । ओहो ! कस्तो बिडम्बना, कति काम त अधुरै रहने भयो, कति इच्छा अपूर्ण रहने भए ।

अब मेरो पार्थिव शरीरलाई कहाँ घरमा राखिन्थ्यो र । सब मिलेर अर्थी उठाए । मलामीको लावालस्करसहित मेरो अन्त्येष्टि गरिँदै थियो । शरीर जल्दै गर्दा मलाई बिल्कुल पीडा भएन । खरानी हुन्जेल पनि मलाई केही आभास नै भएन ।

जो मलाई औधी प्रेम गर्थे, भक्कानिँदै रोईकराई गर्दै थिए । मेरो आत्माले उनीहरूलाई सम्झाउन खोज्यो तर सकिएन । म त हावा बनेछु अदृश्य । कोही छेवैमा बसेर तमाशा हेर्दै थिए । मनमा सोच्दै थिएँ, ‘सबलाई जित्ने भन्थिस् खोइ काललाई जितेको ? खुब फुर्ती लाउँथिस् नि, बल्ल पर्यो फेला कालको जालैमा ।’

बाहिर रोएको अभिनय गर्दै भित्र खुसी हुँदै गरेकाहरुको नौटंकी पनि देख्न पाईयो । अहो, कस्तो अचम्म । कसको मन कस्तो हुन्छ, छुटाउनै गार्हो ।

धन्न ! जीवन छउन्जेल अध्यात्मको बाटोमा हिँडियो । जीवनका हरेक भौतिक सुख–सुविधा, आफन्त सब अस्थायी हुन् भन्ने बुझेकी थिएँ । शरीर, सम्पत्ति पद, प्रतिष्ठा, जसमाथि हामी यति घमण्ड गर्दछौं, सब क्षणिक त रहेछन् । धन्न, म यो सबबाट परिचित थिएँ र त आज सबलाई छोड्दै गर्दा पनि मलाई कुनै पीडा दुःख भएको छैन । यो जीवनमा मोक्ष नमिलेपछि अर्को जन्ममा अवश्य मिल्ने छ भनेर ढुक्क पनि थिएँ । यदि मैले यो ज्ञान नपाएको भए मेरो आत्माले कहिले शान्ति पाउने थिएन होला । म भड्किन्थेँ सायद । गुरु कृपा र परमात्माको असीम अनुकम्पाले मलाई यतिसम्म मुक्ति र आनन्द त दियो नै । धन्य छ मेरो भाग्य, कमसेकम पीडायुक्त जीवन जिउन परेन ।

ढकढकको आवाज आइरहेको थियो । के को आवाज होला सोच्दै थिएँ । आवाज फेरि चर्कियो । आमाले बोलाउँदै हुनुहुन्थ्यो, ‘कति सुतेको हो, उठ, छिटो ढिलो भो ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button