अंग्रेजी नयाँ बर्षमा नेपाली नयाँ बर्षको कुरा

नयाँ बर्ष

दीन पन्थी

वसन्त आयो फेरि । पृथ्वीले अर्को एक फन्को मारिन् । हेमन्तले नंग्याएका बोटहरुले पालुवाको हरियो खास्टो ओढे । शिशिरले भुत्ल्याएका पाखाहरुले फेरि हरियो चोली लगाए । पर्वतहरुले कोरीबाटी गरे । सिउँदोमा गुराँस फुलाएर पर्वतहरु सौभाग्यवती बने । आरुबखडाका बोटहरुमा हिउँ झैं शुभ्र फूलहरु लागे ।

माहुरीहरु डुल्न थाले फूलमा, नक्कली स्वार्थी प्रेमी झैं । चौरहरु हरिया भए । धरती रंगीन बनिन् थरिथरिका फूलले, पालुवाले । चराहरुले वसन्तको स्वागत गान गाए । बैस र वसन्तको सम्बन्ध छ अनादिकालदेखि । वसन्तमा बैंस जाग्छ । सृष्टिलाई अविरल चलाउन ब्रह्माले वसन्त र कामदेवको सृजना गरेका हुन् भन्छन् पुराणहरु । सृजना अखण्डित छ । प्रणयलीला दोहोरिन्छ वसन्तमा । चराहरुले गुँड बनाउन थाले ।

प्रत्येक वर्ष आउँछ वसन्त यस भूखण्डमा । वसन्त सुखद छ । आँखाहरुलाई सुन्दर रुपरंग छन्, नाकलाई फूलका सुगन्ध छन्, कानलाई कोइलीका मधुर गुञ्जन छन्, जिभ्रालाई मधुर किम्बु, काफल र ऐंसेलु छन् र छालालाई अनुकूल वायुका सुखस्पर्श छन् । पाँचै इन्द्रिय प्रसन्न हुन्छन् वसन्तमा । सुखद वसन्तको माझमा उभिएर मनायौं हामीले नव वर्ष अहिले पनि । आकाश नाँगो र नीलो छ । पहाडहरु घाम तापिरहेछन् । सल्लाहरु विरहको सुसेली सुसेल्दै छन् । दानी बादलहरु देखिन्नन् कतै । छुचो आकाश थकाइ मारेर पसारिएको छ अनन्तसम्म । पानी दिन्न आकाश तर काकाकुल पानी मागिरहेछ । छुच्चासँग के माग्नु ? ऋतु परिवर्तन भइरहेछ अनादि कालदेखि । घडी, मुहूर्त, प्रहर, अहोरात्र, पक्ष, मास, ऋतु, अयन हुँदै संवत्सर फेरिइरहेछन् । प्रकृतिले रुप बदलिरहन्छिन् । यही परिवर्तन र नित्यनूतनतालाई हामी सौन्दर्य भन्छौं । घुमिफिरी प्रत्येक वर्ष वसन्त आइरहेछ, नव वर्ष भनेर हामी दंग पर्छौं ।

रुखका मात्र होइन हाम्रा पनि पात झरिरहेछन् उमेरका । प्रत्येक नव वर्षले हाम्रो केशमा तुसारो छर्छ, हाम्रा अनुहारमा चाउरी थप्छ । प्रत्येक नव वर्षले हामीलाई जीर्ण बनाइरहेछ । हो एक वर्ष बढी बाँच्यौं हामी कालसँग पैंठेजोरी खेलेर । फेरि कोइलीको सुमधुर गुञ्जन सुन्न पायौं । फेरि काफल खान पायौं । फेरि कोमल पालुवा र प्रफुल्ल वल्लीहरुमुनि बसेर प्रेमका गीत गाउन पायौं । कानेखुसी गरेर भए पनि नव वर्षका शुभकामना बाँड्न पायौं । गुलाव फुलेको र ओइलिएको हेरेर जीवनका रहस्य बुझ्न पायौं ।

Ad

प्रकृतिका नूतनताहरु हेरेर सृष्टिको शाश्वतता बुझ्न पायौं । प्रकृतिमा वसन्त छ तर तुँवालो लागेको छ बस्तीभरि र मान्छेका मनभरि पनि । आकाशमा चन्द्रमा हाँस्छन् तर मन अँध्यारो छ मान्छेको । बम र बारुदका त्रासको धरापमुनि चाँपिएर हामीले नव वर्षको शुभकामना बाँड्यौ यस पालि । सुखद वसन्तबीच पनि हामी उन्मुक्त हाँसो हाँस्न पाएनौं यसपालि । प्रेतहरु डुल्छन् बस्तीमा मृत्युको सन्देश बोकेर । रुख पलाए, मन पलाएन मान्छेको । फूलहरु फुले तर फुलेनन् मान्छेका अनुहारहरु । भाइले दाइलाई मार्यो । भान्जाले मामालाई मार्यो । भतिजाले काकाको टाउको काट्यो । नेपालीले नेपालीलाई मार्यो यस पालि । कुरुक्षेत्र भयो नेपाल यस पालि ।

शान्तिको यस बगैंचामा यस पालि त्रास, क्रोध, द्वेष र मृत्युका फूल फुले । सेवा, परोपकार, सृजना र तपको यस साधनाभूमिमा यस पालि द्वेष र रागका विषवृक्षहरु पलाए । तैपनि सन्त्रासमुनि जिजीविषा बाँचिरह्यो । मानवताको भावना कुनामा लुकेर बाँचिरह्यो यस पालि । मृत्युका सन्त्रास र अमंगलबीच पनि फेरि चिरायु र उत्तरोत्तर प्रगतिका मंगलमय कामनाहरु गरिए । गत वर्ष कतै बम पड्के, कतै बन्दूक, गर्जे, कतै खुँडा–खुकुरी नाचे । मरेकाहरुको सम्झना गर्न भ्याएनन् बाँचेकाहरुले । आँसु बगाउन पाएनन्, दिवंगतहरुको सम्झनामा बाँच्नेहरुले । बाँचेकाहरुले दशैं मनाए सुटुक्क । प्रेमी– प्रेमिकाहरुले प्रीत गाँसे खुसुक्क । त्रासमुनि पनि सृष्टि रोकिएनन्, प्रकृति रोकिएन, नदीनालाहरु बगिरहे । घडीको टिक्टिक् चलिरह्यो । धेरै पसिना बग्यो खेतबारीमा । झर्नाहरुमा पानी बग्यो ।

शहरतिर बार र डिस्कोहरुमा भोड्का र बियरसँग बैंस पनि बग्यो भन्थे । हाम्रो गाउँतिर त वर्षैभरि मान्छेको रगत् बग्यो । कतै भोक चिच्यायो, कतै रोग जम्जमायो, कतै शोक र सुर्ता बास बसे त कतै त्रासले डेरा जमायो । पोहोर जस्तै त होला यस वर्ष पनि । युद्ध चलिरहला । बन्दूक पड्किरहलान् । सपनाको खोजीमा देश–परदेश भौंतारिनन् युवाहरु । शान्ति स्थापनाका वार्ता र गोष्ठीहरु चल्लान् पाँचतारे होटलहरुमा । मन्त्रीहरुका मिठा भाषण सुनिएलान् । हेलिकप्टर उड्लान् आकाशमा । हत्केलाको पाली बनाएर हेर्लान् मान्छेहरु तलबाट । देशविकास होला कुरामा । चन्दाको धन्दा चलिरहला । गाउँहरुलाई खिज्याएर हाँस्लान् शहरहरु । नेताहरुका बैठक अविरल चल्लान् गण्डकी बगेझैं । कागजका विकासी घोडाहरु टाप कँसेर दगुर्लान् फाइलहरुमा । शान्ति, विकास र राष्ट्रियता कुनामा लुकेर बस्लान् । त्याग, अहिंसा, सदाचार र नैतिकता शब्दकोशमा बाँच्लान् । शान्तिवार्ता चलिरहला र अशान्ति पनि भइरहला फाइदामन्द व्यापार झैं । दुःखीका चर्चा गर्न पाउलान् सुखीहरु । कमैयाहरुको नाममा भित्रिएको सहयोग कमाउहरुको भागमा जाला ।

सत्ताको खेल चलिरहला यस वर्ष पनि । सधै खेलखाल त चल्छ यस भूखण्डमा । दुर्गम पहाडतिर अनिकाल र हैजाले मान्छेहरु मर्लान् । विषाक्त मदिरा र च्याउ खाएर ज्यान गुमाउनेहरुको समाचार आउला टि.भी. र रेडियोहरुमा । बलले विचारलाई बिचरा बनाउला । अन्यायले न्यायलाई गिज्याउला । विवेकमाथि प्रतिबन्ध छ यस लोकमा । हो यस वर्ष पनि यस्तै–यस्तै होला । उज्यालो आउने छेकछन्दै छैन क्षितिजमा । अँध्यारैमा बित्ला यो वर्ष पनि ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button