सगरमाथाले आफ्नै रेकर्ड तोडेपछि कसले के भने ?
श्रीकला गुरुङ / नेपालनाम्चा सम्वाददाता
सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८.८६ मिटर (२९,०३१.६९ फिट) छ । सन् ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो ।
सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्छन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो । पछि सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा राखेका हुन् । साथै, उनले सगरमाथाको नेपाली नाम झ्यामोलोङ्मो पनि लेखेका छन् । यसलाई कतै कतै देवढुङ्गा पनि भन्ने गरेको पाइन्छ ।
सगरमाथा शिखरमा सर्वप्रथम सन् १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए ।
सगरमाथाले आफ्नै रेकर्ड तोडेपछि कसले के भने ?
खुशीको दिन ।
सिर्जना लामा, उपाध्यक्ष, नौकुन्ड गाउँपालिका, रसुवा ।
बधाई, धेरै बधाई, हार्दिक बधाई सगरमाथा, हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दश्रृङ्गारमा ‘सुन्दर , शान्त, विशाल’ नेपालका गौरव सगरमाथा, तिमीलाई अभिनन्दन ! तिमी बढ्यौ, मुलुकै बढ्यो, हामी सबै अपवादविना बढ्यौँ !! कसलाई गिराउन नपरी । हे ! सगरमाथा, आफू अन्धो भए पनि तिम्रो गरिमा देखेका इतिहासकार बाबुराम आचार्यका प्यारा सगरमाथा तिमीलाई जय नेपालको अभिवादन सलाम !
अरविन्द रिमाल, लखेक तथा अध्येता ।
सगरमाथा हाम्रो गौरब हो। उंचाई बढ्यो । हामी नेपाली यसमा खुशी हुनु पर्छ । कतिपय साथीहरुले बढ्यो त के भयो भनेर टिप्पणी गरेको देख्दा, मन खिन्न भयो । देशको सम्पदाहरु माथि पनि गर्व गर्न सक्दैनौ भने, हामीले आफूलाई कसरी नागरिक भन्ने ? प्रश्न सरकारको असफलताको मात्र होइन । हामीमा पनि नागरिक विचलनता देखा पर्दैछ । त्यो मुलुकको भविष्यका लागि निकै ठूलो चिन्ताको विषय हो ।
भीमार्जुन आचार्य, संविधानविद् ।
सगरमाथाको उचाइबारेमा जुन सहमति नेपाल र चीनबीच भएको छ त्यसले नेपाल‐चीन सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ । यो नेपालको कूटनीतिको प्याराडमसिफ्टको एक आयामको रूपमा रहनेछ । त्यसैले यो यस्तो उत्सवको बेला हो, जसले प्रत्येक नेपालीलाई अब हामी पनि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा स्वाभिमानलाई सगरमाथा जस्तै उच्च राख्न अगाडि बढ्न, श्रम गर्न, उद्यमी बन्न र समृद्धि हासिल गर्न क्रियाशील हुन प्रेरणा दिएको छ ।
कृष्णमुरारी भण्डारी, कार्यकारी अध्यक्ष, गोरखापत्र संस्थान ।
मेरो स्टडी ठिकै रहेछ भन्ने देखियो । मैले सगरमाथाको उचाइ बढेकै हुनुपर्छ भनेको थिएँ । यसका ६ कारण र उपकारण बताएको थिएँ, ती ठिकै रहेछन् भन्ने देखियो । मैले गत २७ वर्षदेखि सगरमाथाको उचाइबारे अध्ययन गरी विभिन्न पत्रपत्रिकामा अंग्रेजी र नेपालीमा १३ वटाजति लेख लेखेको थिएँ । अमेरिकाले सन् १९९९ मा सगरमाथाको मापन गरी उचाइ ८८५० मिटर घोषणा गरेकाको नेपाली फिल्ड सर्भेक्षण टोलीको नेतृत्व मैले गरेको थिएँ । सर्भेयरहरु डा. जोशी, अमिरमान शाक्य, संघरत्न बजाचार्य, श्याम श्रेष्ठ आदि थियौं । हामीले फेरिचे, त्यांगबोचे, नाम्चे, लुक्ला, अपर राउजे, लोओर राउजे आदि स्टेशनमा जीपीएस अब्जरभेसन तथा डिफ्ले्क्सन अफ भर्टिकल अब्जरभेसन गरेर डाटा अमेरिका पठाएका थियौ । ती डाटा प्रशोधन गरेर उचाइ निर्धारण गरिएको थियो । अमेरिकामा अध्ययन गरिरहेका विष्णु फुयाल पनि केही समय फिल्ड सर्भेक्षणमा सम्मिलित भएका थिए ।
यी तथ्यका आधारमा मैले अध्यपन गर्दै सगरमाथाको उचाइ त बढेकै हुनुपर्ने हो भनेर डिसेम्बर ७ मा फेसबुकमा उजागर गरेको थिएँ । नभन्दै सगरमाथाको उचाइ बढेकै प्रमाणित भयो । यो गौरवको कुरा हो, हाम्रो सम्पत्ती सगरमाथा हामी नेपालीले नै मापनको सम्पूर्ण कार्य गर्यौ र अब शुद्ध उचाइ पनि घोषणा भयो । यो सम्पूर्ण नेपालीको पहिचानको कुरा पनि हो ।
बुद्धिनारायायण श्रेष्ठ, सीमाविद् ।
विश्वको सम्पत्ति हामीसँग छ र हामीले प्रथम पटक उक्त सम्पत्तिको उचाई दिएका छौ ।
सगरमाथाको उचाई बढेको छ । बढेको उचाई मापन समुहको एक अंश बन्न पाएकोमा गर्व महसुस गरेकी छु । हिमालको कार्यक्षेत्रमा खटाउने नेपाल सरकार, सगरमाथाको उचाई मापन समुहको एक अंशको रुपमा सम्मान गर्ने भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागप्रति आभारी छु ।
स्मरणमा रहने छ आजको दिन ।
मीरा आचार्य, प्रवक्ता, पर्यटन विभाग ।