
अल्छी ‘ब्राह्मणपुत्र’ जागे, लौ न ! अब के हुने हो

भरत शर्मा
बर्ष दिनदेखि ‘ब्राह्मणपुत्र’ अर्थात् चिरञ्जीवी शर्मा निकै अल्छी भएको छ । अल्छी हुनुुका कारण छन्, किन हो, कुन्नी एक बर्षदेखि लेख्नभन्दा बढी पुस्तक पढ्न र शास्त्र अध्ययन गर्नमा मात्र तल्लिन !
समय कति बलबान छ ! अनुुभव र अनुुभूूति गर्दैछु । फर्केर हेर्छु, मेरो काम नैं लेख्ने थियो । अहिले किन अल्छी भएँ भनेर आफैले आफैलाई धेरै पटक प्रश्न सोधेको छुु । र, गाली गरेको छु । पाठ्यपुस्तक पढनु, पढाउनु र पुस्तक पढ्नु मात्र मेरो काम होइन, मेरो काम निरन्तर लेख्ने पनि हो । यो काममा किन अल्छी भएँ म ? उत्तर खोज्दै छु ।
अध्ययनका चार पाटाहहरु छन्- पढ्नु, सुुन्नु, बोल्नु र लेख्नु । सनातन शास्त्रको चार पुरुषार्थ छन्- धर्म, अर्थ, काम र मोक्ष । धर्मको काम गर्दैछु अर्थात् आचरण पालन गर्दै हरेक दिन देवताको ध्यान, पुजा अर्चना र पाठ पढ्दै छु । अर्थ आर्जन पनि राम्रो छ, मेरो योग्यता र क्षमताअनुसार काम गरेअनुसार चिनियाँ सरकारले दिएको आरएमबी रकम हरेक महिनाको २५ तारिख बैक सन्देश आएकै छ । कुनै महिना तलब आएन भन्नु परेकोे छैन । तेस्रो, पुुरुषार्थ काम पनि जिम्मेवारी अनुसार समयमा गरेको छु । चौथो, र अन्तिम पुरुषार्थको बाटोमा तगारो लागेजस्तो अनुुभव गर्दैछु । त्यसो त धर्म, अर्थ, काम गरिसकेपछि मोक्ष प्राप्तिका लागि अलि समय पनि लाग्छ । यस्तै, पढ्ने, सुन्ने र बोल्ने काम जति सजिलो छ, लेख्ने काम त्यति सजिलो नभएर होला, यता चार पुरुषार्थमा मोक्ष यात्रामा हिँड्न जति कठिन छ, यस्तै लेख्न पनि कठिन छ । यतिबेला मीन राशिलाई शनिको साढेसाती पनि लागिरहेको छ । शनिको प्रभाव पनि हुनसक्छ, लेखन कार्य प्रायः शून्य छ ।
काशीमा आचार्यसम्म पढेर, ब्यासासनमा बसेर श्रीमद्भागवत महापुराण वाचन गर्ने योजना बनाएर वि.स २०५१ सालतिर हिँडेको बालक ‘ब्राह्मणपुत्र’ भारतको गर्मी र जाडो सहन नसकेपछि करिव तीन बर्ष उत्तरमध्यमा अर्थात् प्रवीणता प्रमाणपत्र तह उर्तीण गरेर नेपाल फर्किए । काठमाडौं खाल्डोको मध्यभागमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा लेख्ने र बोल्न विषय अर्थात् पत्रकारिता विषय लिएर पढ्ने इच्छा मुताविक शुरु गरेको पत्रकारिता अध्ययन यात्राले एमफिल (दर्शनाचार्य, आचार्यभन्दा एक तह माथि) पुरा गर्दासम्मका यात्रामा लेखन नै प्रमुख विषय थियो । दिन–दैनिकको पत्रकारितामा एक दशक र त्यसपछि नेपाल चिनाउने पर्यटन यात्रामा लागेपछि बोलेर खाने काम गरे पनि लेख्न र पढ्न त छोडेको थिएन ।
समयको कुरा हो, सन् २०१९ देखि उत्तर छिमेकी चीनको विश्वविद्यालयमा पढ्ने र पढाउने कर्ममा लागिरहँदा पनि लेखन ‘प्यारै’ थियो । अहिले पनि छिमेकी चीनको युनान विश्वविद्यालयमा दक्षिण एसियाली भाषा विभागमा कार्यरत रहेर पढ्नेलेख्ने काम गरिरहेको छ । तर, मोक्ष यात्रा अर्थात लेखनमा अल्छी भएको छ ‘ब्राह्मणपुत्र’ ।
सनातनले भनेको छ, आफ्नो मूल्याङ्कन अरुले होइन, आफैले गर्ने हो । सिद्धार्थ गौतम बुद्धको सूत्र वाक्य ‘अप्प दीपो भवः’ अर्थात् आफ्नो बत्ती अर्थात् प्रकाश आफै बन्ने हो । जीवनका सहयात्री परिवार, मित्र, समाज र देशका लागि आफूले सकेको योगदान गर्ने हो ।
चिरन्जीवी, भरत र ब्राह्मणपुत्र एकै पात्र हुन् । चिरञ्जीवी जन्मिएको ११ दिनमा ज्योतिषी हजुरबुुबाले दिनुुभएको नाम हो । रेवती नक्षत्र, मीन राशिका ‘ची’ अक्षरबाट नामाकरण भएपछि चिरन्जीवी, विद्यालयमा ‘क’ र ‘ख’ सिक्नु पर्ने भएपछि बालकको स्वभाव देखेर मर्यादा पुरुषोत्तम श्रीरामका भाइ भरतजस्तो भएका कारण पंण्डित हजुरबुबाले लेखाइदिनुभएको प्यारो नाम । जुन नाम उच्च शिक्षा, मित्र मण्डली र समाजले लेख्ने, बोलाउने बनेको छ । तर, सबैभन्दा मेरो प्यारो नाम हो, ‘ब्राह्मणपुत्र’, यो नाम मलाई दिने पात्र हुन, नेपाली पत्रकारिताका आदरणीय व्यक्तित्व जिवेन्द्र सिम्खडा ।
जसले पत्रकारितामा लाग्न र लेखनमा निरन्तरता दिन सधै ‘मेलो’ कहाँ पुुग्यो भनेर प्रश्न गरिरहनु हुन्छ । उहाँ पनि विगत एक बर्षदेखि ‘अल्छी ब्राह्मणपुत्र’ भनेर मसँग अति ‘नाराज’ हुनुहुन्छ । नेपालमा भएको बेला हरेक हप्ता जसो काठमाडौंको रानीबनको छेउमा बसेर जंगल हेर्दै ‘कडा कफी’ सुुरुप्प पार्दै ‘यार केही गजबको चीज लेख्नु पर्यो’ भनेर सम्झाउनु हुन्छ । हाम्रो तीन भाइ समूह छ, जिवेन्द्र, अशोक र ब्राह्मणपुत्र । कफी बहसमा हामी आफ्ना कुरा, नेपाली समाज र छुटिन बेलामा देशको राजनीति समीक्षा गरेर रानीबन, म्हैपी र अर्यालटारतिर लाग्छौं ।
भनिन्छ, ब्राह्मणकुलमा जन्मिदैमा कोही ब्राह्मण हुँदैन, ब्राह्मण हुनका लागि ब्राह्मण आचरण र संस्कार चाहिन्छ । मेरो एकजना मगर साथी छ । ऊ पशुपतिनाथको भक्त हो । नेपालमा रहँदा सधै पशुपतिनाथ मन्दिरमा सोमबार र विहीबार साँझ आरतीको समयमा भेट हुन्छ, केही शास्त्र चर्चा गरिन्छ । मगर अध्यात्मशास्त्र अध्ययन गर्ने छात्र हो । म पनि संस्कृत र अध्यात्मको विद्यार्थी भएकोले हामी बीच कडै दोस्ती छ । तर मेरो एक जना मामा छन्, ब्राह्मणकुलमा जन्मिएर के गर्नुु, आचरण संस्कार नभएकाले एक दशकदेखि उनीसँग भेट हुन सकेको छैन । भनिन्छ, मामा र आमा एउटै हुन् । कहिलेकाही यसो सोच्छु, १० बर्ष अगाडि आमा गुमाए, आमासँगै मामाको माया गुम्यो । अहिले मामाभन्दा मेरो लागि मगर प्यारो साथी, आफन्त भएको छ । हरेक हप्ता मगर मित्रसँग शास्त्र चर्चा हुन्छ । श्रीमद्भगवत गीता, विवेक चूूडामणि, श्रीमद्भागवत महापुुराण, हाम्रा सनातन संस्कृति अनेक विषयमा ।
हिजो, मेरो मगर साथीले फोन गरेर मसँग ठुस्स पर्दै भन्यो, अब म तपाईसँग बोल्दिनँ । एक्कासी साथी रिसाउनुुको कारण के हो भन्ने सोच्दै सबैभन्दा मलाई माया गर्ने मित्र रिसाउँदा म पनि खिन्न भएँ । कारण के हो भन यार, मेरो गल्ती भए माफँ पाउँ, मैले विनम्र भावमा भनेँ । साथीले भने, तपाई हिजोआज ‘अल्छी’ हुनुुभयो, कुनै लेख रचना छैन, यति मिठो गफ दिनुुहुन्छ । यही गफलाई लेखिदिनुस् न । मैले भनेँ, यार गफ लेखेर कसले पढ्छ हिजोआज, पढने संस्कृति कम भएको छ । मानिसहरु फेसबुक, टिकटक र युुट्युवमा मस्त र ब्यस्त छन् ।
उनले भने, हाम्रा देशका नेताहरुले कति गफ दिएका छन्, नेपालका अनलाइनहरुमा कति गफ छापिएका छन् । गफै लेख्नुस् कसैले नपढे म पढ्छु ।
मगर मित्रले अलि अडकिएर भने, यो सामाजिक सञ्जाल खहरे खोला जस्तो हो । तपाई पनि ति नेताको गफ लेखिएको अनलाइन र सामाजिक सञ्जालमा भुलेर लेखन कम भएको होला । हामी त समुन्द्र जस्तै भएर शास्त्रको मर्मलाई अध्ययन, मनन र चिन्तन गर्नु छ । मोक्ष प्राप्तिको यात्रामा अघि बढ्ने हो भने शास्त्रको अध्ययन गर्नु र निरन्तर लेखिरहनुुको विकल्प छैन । तपाईले कोभिड महामारीको बेला एकसय तीस दिनसम्म ‘नेपालनाम्चा डटकम’ अनलाइनमा निरन्तर लेखेर लेखनको मोक्ष यात्रामा हिँडनुभएको बिर्सनु भयो । तपाईको हरेक दिनको लेख पढेर मैले पनि धेरै कुरा सिकेको थिएँ । कसैले नपढे पनि म पढछ्, तपाई लेख्नुस् अल्छी हुने छुट छैन तपाईलाई ।
प्यारो मगर मित्रले यस्तो शास्त्रीय शैलीमा झपारे कि फोन राख्दै भने, भोलि केही लेख पढन पाउँ ।
मगरले मित्रको झापडपछि उही दुःख र सुखमा मित्र, सहपाठी, सहकर्मी, नाता जोडिन खोज्दा आफ्नै मान्छे अशोक सिलवाललाई फोन गरेर भनेँ, ‘म अल्छी ब्राह्मणपुत्रको तर्फबाट नमस्कार है ! के छ हालखबर ? कता हो ?’
रातको समय भए पनि कता भनेँ ।
उनी म्हैपीकै निवासको भान्सामा थिए । दिनभर गोरालाई ‘नेपालको सम्पदा’ पढाएर आएका होलान्, थकित मुद्रामा ‘दालभात’ अर्पण गर्दै थिए ।
‘मलाई एकजना परम मित्रले थकाए नि आज, बुझ्नुभयो ?’
‘किन ?’
‘भन्छ, तपाई ‘अल्छी ब्राह्मणपुत्र’ हुुनुुभयो !’
‘होइन, कति काम छन् कर्म क्षेत्रका । कता अल्छी हुनुु !’
‘होइन लेखन, यात्रामा अल्छी भएँ रे !’
‘अँ, हो, त्यो त हो ?’, मित्र अशोकले पनि थपे ।
यता, चीनतिर पनि उस्तै हाल छ । मेरा मित्र, सहकर्मी, भाषा विभागका प्रमुख हाकिम प्रा.डा वाङ चुुङले पनि तपाईले किन लेख्न कम गर्नुभएको भन्दै थिए ।
उता मेरो विद्यार्थी स्याओले पनि भने, ‘गुरुजी, हिजोआज तपाईको लेख रचना पढ्न नपाएको धेरै भयो, किन होला ?’
रानीवनबाशी अर्थात् जिवेन्द्र सिम्खडा, अशोक र मेरो प्यारो मित्र मगर, सहकर्मी डा वाङ चुुङ र छात्र स्याओको सामुहिक गुनासोपछि अबचाहिँ मोक्षयात्रा अर्थात् लेखन जारी राख्ने प्रण गरेँ । अब हरेक हप्ता ‘नेपालनाम्चा’मा हाम्रो भेट हुनेछ । ।
मेरो लेख उही मगर साथीले सोमबार पशुपतिनाथ मन्दिरको पूर्वतिर साँझ आरती हुने स्थानभन्दा माथि डाँडामा बसेर पशुुपतिनाथ दर्शन गर्दै पढ्ने भनेको छ । एकजना पाठकको लागि भने पनि पशुुपतिनाथको आदेशानुुसार अब हरेक शनिवार लेख्ने र सोमबार पशुुपतिनाथ परिसरमा बसेर पढ्ने पाठकका लागि लेख्नै पर्ने छ ।
मित्र अशोकजी, तपाईसँग एउटा अनुरोध छ, ‘तपाई पनि ‘गोरा’लाई पशुुपतिनाथ घुमाउन जाँदा भनिदिनु है, अब ‘ब्राह्मणपुत्र’ अल्छी हुँदैन ।’
अस्तु:
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




रसिला कुरा पढेर आनन्द आयो ।
कति सुन्दर प्रस्तुती।अन्तरङ्गका साथै दर्शनलाई घुलाएर मिठ्ठो सर्वत वनाएर पिलाई सक्नु भएछ।जयहोस्!