
बिर्खे टोपी शिरमा तिम्रो रामायण छ हातमा
कविताः भानुको योगदान
रचना कार्की
कक्षा ९, स्वर्णिम स्कुल, डल्लुआवास ।
जन्मियौ भानु सुन्दर गाउँ तनहुँ चु्दीरम्घामा
श्रीकृष्ण र धर्मावतीका बासलिएर कोखमा
संस्कृतका विद्वान् हजुरबा थिए गुरु घरैमा
कविताका श्लोक तिमीले कण्ठ पार्यौ सानैमा ।
बिर्खे टोपी शिरमा तिम्रो, रामायण छ हातमा
सबैजना आकर्षित भए तिम्रा असल विचारमा
छक्क पार्यौ सबैलाई तिमीले रामभक्ति गाएर
एकजुट हुन सिकायौ तिमीले रामायण लेखेर ।
घुम्दै जाँदा घाँसीलाई भेटी कुराकानी भएर
बल्ल आँखा, खुलेछन् उनका चोटिला कुरा सुनेर
उपकारी गुणी व्यक्ति नै हुनेरहेछ अमर
ठाने उनले यो घाँसीको कति असल विचार ।
पाँच महिना विनाकसुर कुमारी चोकमा थुनिँदा पनि
उदायौ तिमी नेपाली साहित्यका ध्रुवतारा बनी
मोतीरामको आदिकवि उपाधिले साहित्यमा चिनियौ
कान्तिपुर अमरावती भनी बालाजु स्वर्ग नाम दियौ ।
रामभक्ति धाराले चुलीमा पुर्याइ बन्यौ कवित्व महान
वधुशिक्षा लघुकाव्यले दियो आशुकविको सम्मान
प्रश्नोत्तरले ज्ञान र चेतनाजगायो जनमानसमा
भक्तमालाले नभुल भन्यो संसारी मायाजालमा ।
रामायणमा रामचन्द्रको जीवनगाथा बयान गरी
मौलिकता, सरलता, कवि भनी दिए आफ्नो चिनारी
भाषा दियौ लोभमोह त्यागी, जनताका बन्यौ कवि
वियोगमा पनि कलम नरोक्ने थियो अनौठो खुबी ।
भाषालाई एकीकरण गरी गुन लायौ नेपाली साहित्यलाई
राष्ट्रिय कवि हौ भानु ! स-सम्मान छ तिमीलाई
२०८ औँ भानुजयन्तीको तिमीलाई दिन्छु कामना
पुष्पवृष्टि चढाउँदै भन्छु भानु श्रद्धा सुमन ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



