मेलम्चीको महादुख, सिथिनख र भोका कुकर

ब्राह्मणपुत्रको लकडाउन डायरी–४९
भरत शर्मा

एक– नारायणी नदी इतिहासकैं उच्च विन्दुमा
दुई– अझैं तीन दिन भारी वर्षा हुने
तीन– मेलम्ची आयोजनाको मजदूर क्याम्प बगायो, मजदूरको अवस्था ‘अज्ञात’ ।

आजका हेडलाइन ।

मनाङ, लमजुङ, लुम्बिनी, धादिङ, गोरखालगायतका जिल्लाहरुमा भएको अध्याधिक बर्षापछि गएको पहिरोले भएका क्षतिको विवरण आइरहेका छन् ।

निकै दिनदेखि लेख्दै आएको शब्द आज पनि जोड दिएर दोहो-याउँदै छु । समय ‘दुर्दिन’ छ । यो बर्ष संवत्सर नैं ‘राक्षस’ परेको छ । बर्षको शुरुवातदेखि कोरोना महामारीको दोस्रो लहर र लकडाउनको अन्ततिर आएको दैवी प्रकोपले नेपाललाई दुःखी बनाएको छ ।

सिन्धुपलान्चोकको मेलम्ची क्षेत्रमा हिजोदेखि विनास शुरु भएको छ । नारायण नदी इतिहासकैं उच्च विन्दुमा भन्ने खबरले जन–जनको मनमा चिसो पसेको छ ।
दैवीप्रकोपले विनास गर्ने भयो ।

हिमाली क्षेत्र मनाङदेखि पहाड र तराई क्षेत्रसम्म दैवीप्रकोपले अाँकलन गरेभन्दा पनि बढी क्षति पु¥याउने अनुमान लगाउन सकिन्छ । असार महिनाको पहिलो दिन साँझ शुरु भएको वितण्डकारी प्रकोप एउटा संकेत मात्र हो । असार, साउन र भदौं महिनासम्म पर्ने बर्षाले जनधनको क्षति पु-याउने भयो ।

यस्तो दुःखको समय आउँछ भनेर यसअघि यही डायरीमार्फत पनि सूचित गरिएको हो । राज्य र नागरिक सबैलाई सूचना पुगेकैं थियो । अझै पनि आपदा–विपदा टरेको छैन । नेपाल–भारतलगायतका देशहरुमा थप आपदा आउने अनुमान गरिएको छ ।

भारत सरकारले पनि आफना नागरिकहरुलाई बर्षाद्को शुरुवातसँगै बाढी आउने र क्षति पुग्ने जनाऊ दिइसकेको छ ।

बाढी र क्षतिको कुरा यति नैं । जहाँ हुनुहुन्छ, सुरक्षित हिसाबले रहनु होस्, कामना गरिरहनु पर्छ ।

आज पनि बिहानैदेखि छिन–छिनका बर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान विभागले भनेको छ, ‘आजदेखि तीन दिन लगातार बर्षा हुनेछ ।’

एक त लकडाउनको समय । अर्को, बर्षाद्ले मानिसको दैनिकी र मन दुवैलाई अशान्त बनाइदिएको छ ।

पात्रोमा आज ‘शीतल षण्ठी’ एवं ‘रज पर्व’ हो । आजै काठमाडौं उपत्यकाका नेवार समुदायले साँझ ‘सिथिनख’ पर्व मनाउने गर्दछन् । सनातन शास्त्रअनुसार आजको दिन भगवान शिव एवं भगवती पार्वती (शिव र शक्ति) को मिलन भएको तिथि र पर्व हो ।

महामारीको विभीषिकाका बीचमा हामीले शिव र शक्ति दुवैसँग प्राथना गर्ने हो । के गर्ने, नगर्ने भन्ने कुरा तपसिलका कुरा हुन् । हामीभित्रको सबैभन्दा ठूलो शक्ति भनेको ‘मन’ हो । मन बलियो बनाउने भनेको आस्था र अध्यात्म हो । हामी पुकारा मात्र गर्न सक्छौं । लौन, हामी सबैको प्राथना छ (शिव–शक्ति) सँग महामारी र दुर्दिन दुवै कहिले हट्ने हो ?

मानिसले रोकेर रोक्न नसक्ने विपत्ति त आइसक्यो ।

समाचार पढ्न र सुन्न पनि मन छैन भन्या । सबैतिर दुःखका कुरा मात्र छन् । कतै हर्ष र खुसीको कुरा केही छैन । राजनीतिभित्र लाजनीति छ । कोरोना महामारी र लकडाउनले हरेक मानिसको दैनिकी बिग्रेको छ । खल्ती रित्तो हुन थालेको छ । काम पनि छैन, आम्दानीका स्रोत पनि बन्द छ ।
सरकारको अर्थतन्त्रमा पनि तुँवालो लाग्ला जस्तो छ । असार लागिसक्यो, कर उठेको छैन । कर उठाउनका लागि भने पनि लकडाउन हटाउनु पर्ने भन्नेमा सरकार छ । जनताको जस्तै सरकारको पनि उही हाल र ताल होला जस्तो छ ।

आजको लकडाउन डायरीमा शहरभित्रका कुकुरको कुरा गर्ने मन थियो । तर, दैनिक डायरीमा आजको कुरा उठान गनैं प-यो ।

कुकुरको कुरा

गाउँ, शहर, मानिसका कथा धेरै लेखियो । आज कुकुरको कुरा गर्न मन लागेको छ । लकडाउनको बीचमा काम विशेषले घरभन्दा बाहिर निस्कदा सडकमा मानिस कम भएपनि कुकुर चाहिँ पहिले भन्दा बढी देखेको छु ।

राजधानीमा शहरमा बस्न थालेको २० बर्ष पुग–नपुग भयो । शहरभित्र यतिधेरै कुकुरको बथान देखेको मेरो अनुभवनमा पहिलो पटक हो ।
साताको सोमबार र विहीबारको दिन शहरभित्रका केही मठ–मन्दिर दर्शनका लागि जागि जाने बानी छ । फर्कदा अलि ढिलो हुँदा सडकमा सबैभन्दा बढी मैले कुकुरबाट खेदिएको यसपटक ।

समय, रात्रीको आठ बजेको थियो । गत सोमबार पशुपतिनाथदेखि बासस्थान ताहाचलसम्म आइपुग्दा बाटोमा सयभन्दा बढी कुकुरले मलाई लखेटे । मुल सडकबाहेक भित्री सडक सुनसान जस्तै थियो । सडकतिर मानिस थिएनन्, कुकुरहरुको लस्कर नैं थियो ।

भोटाहिटीनिर आएपछि डर पनि लाग्यो, कुकुरको हुल देखेर । विस्तारै स्कुटर चलाउँदै कुकुर नजिकै पुगेर उनीहरुको मनोविज्ञान बुझ्न खोजेँ ।

उनीहरु भोका रहेछन् । मसँग झोलामा केही विस्कुट थिए । निकालेर दिएँ । खुसी भएर खाए ।

लकडाउनको समयमित्र शहरभित्र मानिस मात्र होइन, कुकुरहरु पनि भोका रहेछन् ।

काठमाडौं महानगरपालिकाले बेला–बेलामा छाडा कुकुरलाई भोजन दिने व्यवस्था सुनेको थिएँ । तर, लकडाउनको बेला मानिसको सेवा गर्न नसकेको महानगरले कुकुरको सेवामा के सोच्न सक्थ्र्यो र ?
यो अनुभव तपाईहरुले पनि गर्नुभएको होला ? आफनो टोल छिमेकमा रहेका रहेका कुकुरलाई केही खान दिने गर्नुहोला । उनीहरु पनि भोका छन् ।

पशुपति र स्वयम्भू क्षेत्रमा रहेका ‘वनकर’ बाँदरहरु पनि भोका छन् । गत केही दिनअघिको कुरा हो । स्वयम्भूको फेदी सडकमा हिँडिरहेकी महिलालाई बाँदरले झम्टदै गरेको दृश्यको साक्षी थिएँ ।

एकछिन उभिएर बाँदरको चालचलन बुझ्दा बाँदर पनि भोकको लडाईमा थियो । लकडाउनले मानिसलाई मात्र होइन, शहरभित्र रहेका कुकुर र बाँदरलाई समेत भोकसँग पौंठे जोरी खेल्न बाध्य बनाएको छ ।

पशुपति–स्वंयम्भूमा बाँदरका सेवा गर्ने भक्तहरु अहिले घरभित्र लकडाउनमा छन् । साँझ र रात्रीको समयमा सडकमा मानिस नहिँडेको देखेर कुकुरहरु जम्मा भएर कराउन थालेको छन् ।

देशमा दोहोरो महामारीको संवेदनाका दर्दनाक तस्वीरहरु देख्दा अक्षरहरु पनि लेख्न जाँगर चलेन । चल्नु पनि कसरी ? समाचार र सामाजिक सञ्जालभित्र बाढी र पहिरोका वेदनाका कथाहरु लेखिएको लेखियै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button