
अपूर्व पूर्वको बाटो हुँदै धिमाल गाउँसम्म
डा. बिपी बडाल

असार २ गतेको बिहान थियो | घडीले ६ बज्नै लागेको थियो। काठमाडौंको कालधारा चाेकमा हामी सबै पर्यटनकर्मीहरू भेला भएका थियौँ | नेपाल ग्रामिण पर्यटन प्रवर्द्धन मञ्च (VITOF Nepal) को आयोजनामा पूर्वी नेपालको पर्यटन सम्भावनाको अध्ययन गर्ने उद्देश्यले सुरु हुन लागेको यात्राप्रति सबै उत्साहित थियौँ | यात्राको गन्तव्य केवल पूर्वी नेपालका केही पर्यटकीय स्थलहरू मात्र थिएनन्, हामी त्यहाँको संस्कृति, समुदाय, जीवनशैली र पर्यटनका सम्भावनाहरूलाई नजिकबाट बुझ्न निस्किएका थियौँ |

वास्तबमा यात्राको प्रारम्भमै भक्तपुर पुगेपछि सुरेन्द्रजीले सबैलाई केरा बाँडेर आत्मीय स्वागत गर्नुभयो | त्यो सानो व्यवहारले यात्रामा पारिवारिक आत्मीयताको अनुभूति गरायो | काभ्रेको भकुण्डेबेसीमा बिहानको खाजा खाइसकेपछि हाम्रो बस पूर्वतर्फ हुइँकियो | रोशी खोलाको किनार हुँदै गुडिरहेको गाडी, कच्ची र जोखिमपूर्ण सडक, त्यसमाथि बिग्रिएको एसी र असह्य गर्मी—यी सबैले नेपालको पर्यटन विकासका वास्तविक चुनौतीहरूको झल्को दिइरहेका थिए | हामी पर्यटनको सम्भावनाबारे छलफल गर्दै थियौँ, तर सडकको अवस्था आफैंमा एउटा अध्ययनको विषय बनेको थियो |

सिन्धुलीको खुर्कोटमा खाना खाएर गाडी मर्मत भइरहँदा हामीले केही तस्वीरहरू खिच्यौँ | त्यसपछि भिमान, दुधौली, कटारी, गाईघाट, बेल्टार हुँदै यात्रा अघि बढिरह्यो | साँझ ढल्दै जाँदा पूर्वी तराईको हरियाली र ग्रामीण जीवनले मन लोभ्याइरहेको थियो | रातको करिब आठ बजेतिर बराहक्षेत्रको प्रवेशद्वारमा पुगेपछि स्थानीय पेडाको स्वाद लिँदै हामीले यात्रालाई निरन्तरता दियौँ | रातको १० बजेतिर मोरङको बेलबारी नगरपालिका–१० स्थित माटीगाउँ पुग्दा थकानले शरीर गलेको थियो | तर स्थानीयवासीको हार्दिक स्वागतले सबै थकान क्षणभरमै हरायो | स्थानीय चामलको भात, लोकल कुखुराको मासु र आँपको अचारले ग्रामीण आतिथ्यताको मिठास चखायो | त्यस रात धिमाल सामुदायिक होमस्टेमा बस्ने अवसर प्राप्त भयो | सफा कोठा, व्यवस्थित वातावरण र आत्मीय व्यवहारले यो होमस्टेलाई विशेष बनाएको थियो | चुदुर, सिकौती, चिचिरा र बगियाजस्ता धिमाल परिकारहरूको स्वादले स्थानीय संस्कृतिप्रतिको हाम्रो जिज्ञासा अझ बढायो | भोलिपल्ट बिहान माटीगाउँको अवलोकन गर्दा धिमाल समुदायको जीवनशैली, परम्परा र संस्कृति नजिकबाट बुझ्ने अवसर मिल्यो | निर्माणाधीन ‘जीवित सङ्ग्रहालय’ (Living Museum) ले मलाई विशेष रूपमा आकर्षित गर्यो | यहाँ संस्कृति केवल प्रदर्शनीका रूपमा राखिएको थिएन; मानिसहरू आफैं आफ्नो संस्कृति बाँचिरहेका थिए | परम्परागत घर, भेषभूषा, कृषि प्रणाली र सामाजिक जीवनशैलीले धिमाल समुदायको मौलिक पहिचान उजागर गरिरहेका थिए |

बेलबारी नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा VITOF नेपालका सदस्यहरू सहभागी थिए | कार्यक्रममा धिमाल सामुदायिक होमस्टेका अध्यक्ष योगेन्द्र धिमालले आफ्नो समुदायको संस्कृति र पर्यटनबीचको सम्बन्धबारे अत्यन्त भावुक र प्रेरणादायी विचार राख्नुभयो | उहाँका शब्दहरूले स्पष्ट पार्थे कि पर्यटन केवल आर्थिक गतिविधि होइन, आफ्नो पहिचान बचाउने माध्यम पनि हो | कार्यक्रमपछि हामी इटहरी हुँदै धरानतर्फ लाग्यौँ | इटहरीस्थित नेपालइरिका होटलको अवलोकन तथा छोटो अन्तरक्रियापछि धरान पुग्दा त्यहाँको बहुसांस्कृतिक वातावरणले मन छोयो | दन्तकाली र बुढासुब्बा मन्दिरमा दर्शन गर्दा धार्मिक आस्थाले पर्यटनसँग कसरी जोडिन्छ भन्ने कुरा अझ स्पष्ट भयो। मन्दिर परिसरमा भेटिएका श्रद्धालुहरू, स्थानीय व्यापारी र पर्यटकहरूको चहलपहलले धरानको धार्मिक पर्यटनलाई जीवन्त बनाएको थियो |

साँझपख भेडेटार पुग्दा मौसम शीतल थियो | तल फैलिएको तराई र माथि उभिएको पहाडको अनुपम दृश्यले यात्रालाई रोमाञ्चक बनायो | भेडेटारको हावामा एउटा छुट्टै ताजगी थियो | रात त्यहीँ बितायौँ। बिहान स्काईवाक टावर पुग्दा बाक्लो हुस्सुले दृश्य ढाकेको थियो, तर त्यो रहस्यमय वातावरण आफैंमा आकर्षक लागिरहेको थियो। धनकुटे बिस्कुट र तातो चियाको स्वादसँगै हामीले भेडेटारलाई विदा गर्यौँ | त्यसपछि हाम्रो यात्रा बराहक्षेत्रतर्फ मोडियो | कोशी नदीको किनारमा अवस्थित पवित्र बराहक्षेत्र धाम पुग्दा धार्मिक आस्थाको गहिरो अनुभूति भयो | शान्त वातावरण, मन्दिर परिसर र नदीको प्रवाहले मनमा अद्भुत शान्ति भरिदियो | धार्मिक र प्राकृतिक सम्पदाको यस्तो सुन्दर संयोजन नेपालका धेरै गन्तव्यहरूमा विरलै पाइन्छ | इटहरीको त्रियुगा होटलमा स्थानीय पर्यटन व्यवसायीहरूसँग भएको अन्तरक्रियाले पूर्वी नेपालको पर्यटन विकासका सम्भावना र चुनौतीबारे नयाँ दृष्टिकोण प्रदान गर्यो | पर्यटन पूर्वाधार, गन्तव्य व्यवस्थापन, प्रचार–प्रसार र स्थानीय सहभागिताका विषयमा भएका छलफलहरू अत्यन्त उपयोगी थिए |
फर्कने क्रममा बर्दिबास र लालगढ क्षेत्रको अवलोकन गरियो। लालगढस्थित होटल गौतममा बिताएको अन्तिम रात पनि सुखद रह्यो | भोलिपल्ट बिहान मुल्कोटमा खाना खाएर हामी काठमाडौंतर्फ लाग्यौँ | साँझ करिब पाँच बजे काठमाडौं पुग्दा यात्रा समाप्त भएको थियो, तर मनमा अनगिन्ती सम्झना, अनुभव र नयाँ दृष्टिकोणहरू सञ्चित भइसकेका थिए | यो यात्रा केवल स्थानहरूको भ्रमण थिएन; यो नेपाललाई नजिकबाट चिन्ने यात्रा थियो | बेलबारीको धिमाल संस्कृति, धरानको बहुसांस्कृतिक पहिचान, भेडेटारको प्राकृतिक सौन्दर्य, बराहक्षेत्रको धार्मिक महत्व र पूर्वी नेपालको ग्रामीण जीवनले पर्यटनका अनन्त सम्भावनाहरूको झलक देखायो | यस यात्राले मलाई विश्वास दिलायो कि समुदायमा आधारित पर्यटन, सांस्कृतिक संरक्षण र स्थानीय सहभागितालाई प्राथमिकता दिन सकियो भने पूर्वी नेपाल विश्वस्तरको पर्यटन गन्तव्य बन्न सक्छ |
यात्राभन्दा माथि एउटा परिवार – यो यात्रा केवल गन्तव्यहरूको यात्रा मात्र थिएन, यो त विभिन्न अनुभव, विचार र व्यक्तित्वहरूको संगम पनि थियो। VITOF नेपालको अध्यक्ष हरिशरण थपलियाको नेतृत्वमा अगाडि बढेको टोलीमा प्रथम उपाध्यक्ष मनहरी दाहाल, महासचिव अजीव भट्ट, सचिव सुरेन्द्र भट्ट, कोषाध्यक्ष इन्दिरा रिमाल न्यौपाने तथा सह–कोषाध्यक्ष नारायण सोडारीको सक्रिय उपस्थिति थियो | यात्राभर उहाँहरूको व्यवस्थापकीय क्षमता र समन्वयले टोलीलाई एकसूत्रमा बाँधिराख्यो | टोलीमा पर्यटन विज्ञ तथा VITOF नेपालका प्रमुख सल्लाहकार डा. आलोक प्रसाईको अनुभव र दृष्टिकोण यात्राका प्रत्येक छलफलमा झल्किन्थ्यो | पर्यटनको दिगोपन, समुदायको भूमिका र गन्तव्य व्यवस्थापनका विषयमा उहाँले राख्नुभएका विचारहरू यात्राका महत्वपूर्ण सिकाइ बने | पूर्व अध्यक्ष चित्रबहादुर गुरुङले ग्रामीण पर्यटनको विगत, वर्तमान र भविष्यबारे सुनाउनुभएका अनुभवहरूले हामीलाई नेपालको पर्यटन तथा भिटोफको इतिहाससँग परिचित गराउनु भएको थियो | पर्यटन पत्रकार भूमराज तिवारी र राजकुमार सिलवालले यात्राका हरेक क्षणलाई समाचार र दस्तावेजका रूपमा टिपिरहनुभएको थियो भने नियात्राकार राजेन्द्रमान डंगोलले यात्रालाई साहित्यिक दृष्टिबाट हेर्ने कला सिकाइरहनुभएको अनुभूति हुन्थ्यो |

सद्भावना दूत अशोक सिलवालको हँसिलो स्वभावले लामो यात्राको थकानलाई धेरै हदसम्म कम गरिदिएको थियो | टानका सदस्य अम्बिर गुरुङ, पूर्व टान सदस्य ठाकुरप्रसाद सापकोटा तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधि क्षितिज बस्नेतले पर्यटन नीति, बजार र सम्भावनाबारे गरेका छलफलहरू अत्यन्त उपयोगी रहे | कवि तथा रैथाने उत्पादन अभियन्ता शिवप्रसाद आचार्यले स्थानीय उत्पादन र पर्यटनबीचको सम्बन्धबारे रोचक दृष्टिकोण प्रस्तुत गर्नुभयो | सुनिता अधिकारी न्यौपाने, प्रदीपकुमार तामाङ र माधव ढुङ्गानालगायतका साथीहरूको सक्रिय सहभागिताले यात्रालाई थप जीवन्त बनाएको थियो |
भक्तपुरमा सुरेन्द्रजीले सबैका लागि किनेका केराहरूबाट सुरु भएको आत्मीयता यात्रा समाप्त हुँदासम्म अझ गाढा बनेको थियो | बसभित्रका हाँसो, बाटोका दुःख–सुख, होटलका चियागफ, पर्यटनका बहस र सामूहिक फोटोहरू आज सम्झँदा लाग्छ—हामी केवल पर्यटक थिएनौँ, एउटै सपनाका सहयात्री थियौँ | माटीगाउँको धिमाल बस्तीमा स्थानीय समुदायले गरेको स्वागत, बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा कोइरालाले देखाएको आत्मीयता, योगेन्द्र धिमालले प्रस्तुत गर्नुभएको आफ्नो समुदायप्रतिको गर्व र समर्पण, यी सबैले यात्रालाई औपचारिक कार्यक्रमभन्दा धेरै माथि उठाएर मानवीय सम्बन्धको उत्सव बनाइदियो | काठमाडौं फर्कंदासम्म हामीले १२ जिल्ला पार गरिसकेका थियौँ, तर वास्तविक रूपमा हामीले पार गरेको दूरी किलोमिटरमा मात्र सीमित थिएन | त्यो दूरी थियो—एकअर्कालाई चिन्ने, नेपालको विविधता बुझ्ने र पर्यटनमार्फत समुदायलाई जोड्ने यात्राको दूरी | त्यसैले यो भ्रमण केवल पूर्वी नेपालको पर्यटन अध्ययन थिएन; यो साथीहरू, समुदायहरू र संस्कृतिहरूलाई जोड्ने एउटा सुन्दर मानवीय नियात्रा थियो | पूर्वको यो यात्रा सम्झँदा धिमाल गाउँको आत्मीय मुस्कान, भेडेटारको शीतल हावा र बराहक्षेत्रको आध्यात्मिक शान्ति मनभित्र ताजै भएर आउँछन् | नियात्राको यही सुन्दरता हो— यात्रा सकिन्छ, तर यात्राका अनुभूतिहरू कहिल्यै समाप्त हुँदैनन् |
….
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।



