पर्यटनको रुपान्तरण

डा. बिपी बडाल

नवपुनर्जागरणको युग सुरुभएको छ | जेंजी बिद्रोह पश्चातको आम निर्वाचन सुसम्पन्न भयो | धेरै साथिहरुमा चुनाव हुने बिषयमा धेरै संसय थियो | यस अर्थमा सुशिला कार्की सरकारलाई धन्यवाद भन्नै पर्दछ | यद्दपी रास्वपाले अत्याधिक बहुमतले विजय प्राप्त गर्ने रुझान देखिएको छ | यस निर्वाचनको मुखमा नेपालका प्रमुख राजनैतिक दलहरुले पनि आआफ्नो घोषणा पत्र जारी गरेका थिए | निर्वाचनमा आफ्नो सिद्धान्त, रणनीति, र जनचाहना समेटेर घोषणा पत्र प्रकाशन गर्ने चलन १९ औं शताब्दीमा युरोपबाट सुरुभएको मानिन्छ | जर्मनीमा कार्लमार्क्सको समय देखि नै यो प्रचलन आएको हो | राजनैतिक दलको योजना तथा कार्यक्रमको औपचारिक दस्तावेज नै घोषणा पत्र हो | देश विकासको मार्ग निर्देशनको आधिकारिक धारणा हो | देशको भविष्यको मार्ग चित्र हो | तर आजकाल यसलाई भोट माग्ने आकर्षित नाराको संग्रह रुपमा प्रस्तुत गर्न थालिएको छ | देशमा निर्वाचनमा यस्तो महत्वपूर्ण दस्तावेजमा आर्थिक मेरुदण्ड पर्यटनलाई विविध ढंगले प्रस्तुत हुनु राम्रो कुरा हो | यो रुपान्तरणको युग हो |

नेपाली कांग्रेशले आगामी १० बर्षमा ३० लाख पर्यटक भित्र्याउने बाचा गरेको थियो भने एमालेले आगामी ५ बर्षमा अहिलेको दोब्बर अर्थात् लगभग २३ लाख भित्र्याउने घोषणा गरेको थियो | कसरी १० बर्षमा ३० लाख र कसरी ५ बर्षमा २३ लाख पर्यटन भित्र्याउन सकिन्छ ? कुनै लेखाजोखा छैन | देशका प्रमुख राजनैतिक दलहरु नै देशको प्रमुख आर्थिक मेरुदण्ड – पर्यटनप्रति जिम्मेवार देखिंदैनन् | यो तथ्यांक कसरी उत्पन्न भयो ? यस्तै “गन्तब्य नेपाल” भन्दै “आक्रमक ब्र्यान्डीङ्ग ” गरिने भनिएको रहेछ, नेपाल पर्यटन बोर्डले बर्षौंदेखि यहि काम गरिरहेको छ तर किन परिणाम आउन सकेन ? यस्तै विना आधारका असत्य विषय चर्चामा ल्याएर भोटको राजनीति भन्दा माथि उठ्न नसकेकाले जनताले नराम्रोसंग हराई दिएका छन् | देशले अब नयाँ मार्ग लिएको छ | रुपान्तरण सुरु भएको छ |

नेकपाले पर्यावरणमैत्री दीगो विकासमा आधारित पर्यटनको परिकल्पना गरेको रहेछ | पर्या-पर्यटनको मोडेल के हो, स्पष्ट पारिएको छैन | रास्वपाले पर्यटनमा डिजिटल प्रणाली र अन्तर्राष्ट्रिय स्तरको पूर्वाधारको विकास गर्ने कुरा गरेको छ | कसरी कति लगानी गर्ने ? स्पष्ट छैन | जडिबुटी, योग तथा आरोग्य पर्यटनको विषय सबै राजनैतिक दलले उठाएका छन | यसको पनि कुनै मोडेल निर्धारण गरिएको छैन | आजको पर्यटक अनलाइन सूचना, डिजिटल भुक्तानी, द्रुत इन्टरनेट र पारदर्शी बुकिङ प्रणाली खोज्छ | “डिजिटल पर्यटन रणनीति” अझैसम्म बन्न सकेको छैन | को आउँछ यत्तिकै ? अर्को लुम्बिनी, पशुपतिनाथ, र मुक्तिनाथ भनेर धार्मिक आध्यात्मिक पर्यटनको कुरा गरिएको छ | थाहा हुने आस्था हुने दर्शनार्थी (हिन्दू बौद्ध) आफैं आउने छन् | देश धर्म निरपेक्ष छ तर धार्मिक पर्यटन भन्नु आफैंमा द्वन्द्वात्मक छ | “पर्यटन प्रवर्धन गरिने छ”, “रोजगारी सृजना गरिने छ”, “पूर्वाधार विकास गरिने छ” जस्ता अमुर्त शब्द खेर फाल्नु हुँदैन | अब रास्वपाले जितेको छ | यस्ता विषयमा गम्भीर हुनु पर्दछ |

पर्यटनले सम्पूर्ण अर्थतन्त्र चलायमान हुन्छ | एकजना पर्यटक आउँदा होटल-रेस्टुरेन्ट, यातायात, हस्तकला, कृषि उत्पादन, गाइड सेवा, सांस्कृतिक कार्यक्रम सबै चलायमान हुन्छन् | सबै क्षेत्रमा ग्राहस्थ उत्पदानमा वृद्धि हुन्छ | ग्रामीण भेगमा होमस्टे सञ्चालन गर्ने परिवारदेखि सहरका ट्राभल एजेन्सीसम्मको सम्पूर्ण चक्र सक्रिय हुन्छ | सबै बस्तु तथा सेवामा बहुआयामिक रोजगारी उत्पन्न हुन्छ | पर्यटन भनेको देशको प्राकृतिक र सांस्कृतिक पहिचान हो | नेपालको प्राकृतिक पहिचान भनेको हिमाल, पहाड. र तराई हो | सेता भब्य हिमाल, हरिया सुन्दर पहाड र पहेंलो आकर्षक तराईलाई प्रवर्धन गर्ने यहिंको संस्कृति हो | २०० किमीको दुरीमा विश्वको शिर सगरमाथा ८८४८ मिटरदेखि ५७ मिटरको नेपाल आमाको पाउ केचनाकवल विश्वमा कतै पाइंदैन | हिमाली घाँसेमैदानदेखि चारकोशे झाडीसम्मको विविध बनस्पति, बन्यजन्तु, र चराचुरुंगी अन्त पाइंदैन | उत्तरी हिमाली ब्रह्मपुत्र सभ्यता (भोट-बर्मेली) र दक्षिणी गंगा सभ्यता (आर्य)को उत्कृष्ट संगम नेपाल हो | नेपालमा पृथ्वीको उत्पत्ति कालदेखिको मानवीय विकासक्रमको सिलशिला स्पष्ट अनुभूत गर्न सकिने स्थलहरु अद्वितीय छन् | यस्ता सम्पदा भएपनि देशमा सुशासनको अभाव, राजनैतिक द्वन्द, भ्रस्टाचार, सडक प्रदर्शन, आन्दोलन जस्ता क्रियाकलापले पर्यटकको मनोविज्ञानमा गहिरो असर गरेको हुनाले हामी अगाडी बढ्न सकेनौं | पर्यटन नै नेपाली अर्थतन्त्रको मेरुदण्ड हो भन्ने कुरा राजनैतिक दलहरुले बुझ्नै सक्नु भएन | तर अब समय आएको छ | नयाँ बिहानीको सुरुवात भएको छ |

सम्पूर्ण जीव तथा मानव जीवनको सुरुवात नेपालबाट भएको हो | कालिगण्डकीमा पाइने पवित्र शालिग्राम हिमालयको उत्पत्ति र लगभग २५ करोड बर्षअघिको टेथिस सागरको अस्तित्वको प्रमाण भएको जिवास्म हो | डार्विनको उद्विकास्वादको सिद्धान्त अनुसार सबैभन्दा पहिला जीवन जलमा देखिएको थियो | परमात्माले मत्स्यरूप धारण गरेको थियो पनि भनिन्छ | चीनिया तथा भारतीय टेकटोनिक प्लेटहरुको टकरावले जमिन माथि उठ्दै गयो | सगरमाथाको उत्पत्ति भयो | जलचर प्राणिहरु उभयचर हुँदै गए | प्रकृतिले कुर्म अवतार प्रादुर्भाव गर्यो | बराहक्षेत्र धर्ति कै पहिलो तिर्थस्थलमा, बलिया बँदेल प्रजातिहरु उत्पन्न भए | शास्त्रका बराह, नरशिंह, वामन हुँदै परशुराम अवतार सबै मानव उद्बिकासकै सिद्धान्तका समरूप हुन् | तिनाऊ खोला बुटवलमा १० लाख बर्ष अघिको रामापिथेकसको दाँतले पुष्टि गर्दछ कि यो क्षेत्र मानव उद्विकास कै केन्द्र हो | यसले आर्यन इन्भेजन थेउरी अथवा हिमयुगमा अफ्रिकाबाट मानव उद्बिकास भएको सिद्धान्तलाई स्वीकार गर्दैन | त्यसैले यहि हिमालयन क्षेत्र – नेपालबाट नै मानवजाती विश्वभरी फैलिएको हो भन्ने विषय पुष्टि भैसकेको छ | जीव उत्पत्तिको केन्द्र नेपाल हेर्न विश्वबाट पर्यटक आउनु पर्दैन ? नआइ हुन्छ ? तर किन आएनन भने हामीमा सुशासन, प्रेम र अतिथिदेवोभवको दर्शन धुमिलिंदै गयो | नवपुनर्जागरणको युग सुरु भएको छ |

यस्तै लगभग ३३०० विसी तिर सुरुवात भएको सिन्धु सभ्यतामा नै पशुपतिनाथको छाप तथा असंख्य शिवलिंगहरु भेटिनु, ऋग्वेदमा नै पशुपतिनाथको महिमा उल्लेख गरिनु, देउपाटन–देवपत्तन जस्ता नेवारी नगरहरु मोहन्जोदारो शैलीमा देखिनु, किरातेश्वर महादेवको मन्दिरको स्थापना किरातकाल मै हुनु, जातभातको कुनै भेदभाव नहुनु, चित्र शैलीको लेखन देखिनुले गर्दा पाशुपत सभ्यता सिन्धु सभ्यता भन्दा पुरानो सभ्यता हो भन्ने तथ्य पुष्टि हुन्छ | सम्भवत: पाशुपत सभ्यता मिश्र वा मेसोपोटामियाको सभ्यता भन्दा पुरानो सभ्यता हो | त्यस्तै बौद्ध धर्मका भगवान, भगवान गौतम बुद्धको त जन्मस्थल नै लुम्बिनी हो | जीवनमा एक पाइला टेके मात्रै पनि मुक्ति मिल्छ | विश्वका १२० करोड हिन्दू र ३३ करोड बौद्धले एकपटक नेपाल टेक्नै पर्छ | हरेक हिन्दू बौद्धको कानमा यी संदेश पुर्याउने कार्यक्रम घोषणा पत्रमा आउनु पर्नेथियो | आएन, यद्दपी जनतामा नयाँ उत्साह र उमंग आएको छ |

सबैदलले अन्तर्राष्ट्रिय विमानस्थलको कुरा उठाएका थिए तर बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र फास्ट ट्रयाकको चर्चा हराएको छ | पोखरा र भैरहवाका एरपोर्ट भ्रस्टाचार र अनियमितताले आक्रान्त छन् | अन्तर्राष्ट्रिय आकाशमा नेपाली विमान उड्न वर्जित छन् | हाम्रा विश्वव्यापी १० सम्पदा पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, हनुमानढोका, पाटन, भक्तपुर, चांगुनारायण, लुम्बिनी, चितवन र सगरमाथा आर्थिक मात्रै होइन सम्पूर्ण नेपालीको पहिचान हो | सम्पदा संरक्षण, पहिचान र आर्थिक विकासको वैज्ञानिक एकीकरण घोषणा पत्रमा आउनु पर्ने थियो | यस्तै सरकार फेरिंदा नीति फेरिने, निजि क्षेत्र, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको एकीकृत पर्यटन नीति नभएको र “पर्यटन नीति निरन्तरता ऐन” नै नभएकोले पर्यटन नारामा मात्रै सिमित भएको छ | दार्चुलाको सडकको खाल्डा पुर्न शिंहदरवारको सडकबिभागको अनुमति लिनुपर्ने बाध्यता छ | केन्द्रले नक्सा र बजेट पठाएर नियमन गरे पुग्छ | अब आउने सरकारले यो जनचाहना बुझ्ने छ |

खुला बजार अर्थतन्त्रको युगमा नेपाली कृषि र उद्योगले चीन तथा भारतका उत्पादनसंग प्रतिसपर्धा गर्नै सक्दैनन् | भारत तथा चीनले आफ्नो सुरक्षित बजार नेपाल गुम्न दिंदै दिंदैनन | कुटनैतिक प्रयासले पनि आफ्नो बजार सुरक्षित राख्छन | त्यसैले नेपालले अर्थतन्त्र लाई पर्यटकीय अर्थतन्त्रमा रुपान्तरण गर्नु पर्दछ | पर्यटनलाई शुसाशन र सुरक्षासंग जोड्नु अपरिहार्य छ | “सुरक्षित नेपाल, स्वागतयोग्य नेपाल” बनाउनु पर्छ | अर्ग्यानिक-कृषि उत्पादनलाई होटेल व्यवसायसंग जोड्नु जरुरि छ | “एक जिल्ला एक विशेष उत्पादन”लाई जिल्लाको संस्कृतिक कार्यक्रमको क्यालेन्डर बनाएर नै प्रवर्धन गर्नुपर्छ | यस्तै जलबायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न “हरीत पर्यटन” नीति निर्माण गर्नुपर्छ |

पर्यटन विदेशी मुद्रा कमाउने माध्यम मात्र होइन, अन्तर्राष्ट्रिय कुटनीति, राष्ट्रिय छवि निर्माण तथा देशप्रेमको पहिचानको सुत्र हो | त्यसैले नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड पर्यटनलाई मानेर, स्पष्ट भिजन, मिसन, गोल र समय-सिमा सहित रणनीति निर्माण गर्नुपर्दछ | पर्यटकको संख्या, औसत बसाई अवधि, प्रति पर्यटक खर्च, होटेल होम्स्टे क्षमता, जस्ता सूचकमा आधारित योजना निर्माण गर्नु पर्दछ | त्यसैले अब नेपालको राजनीतिले पर्यटनको पुनर्व्याख्या गर्नु पर्दछ | पर्यटन रणनीति दलको भोट माग्ने नारा होइन राष्ट्रिय एकता र पहिचानको आधारशिला हुनुपर्छ |

जय पर्यटन |


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button