विभाजित मन, गन्तव्य टान

राम्राहरू छायाँमा परे । हाम्राहरूको उदय हुन थाल्यो ।

व्यवसायी विभाजित नहुँदा एउटा समयमा टानको विल्डिङ बनेथ्यो, अर्को समयमा विल्डिङ बन्दा लागेको ऋण पनि चुक्ता भएथ्यो, संयोगले दुवै अध्यक्ष नुवाकोटेली थिए

राजेन्द्रमान डंगोल

टानको आसन्न निर्वाचनका प्रत्यासीत्रय अर्थात् टानका तीन विभाजित मन हुन् यी । स्वार्थ नमिल्दा मनहरू विभाजित भइरहनु टानका लागि फेरि पनि दुर्भाग्य हो । कम बेसी अलग कुरा, यी मनका पछाडि थुप्रैथुप्रै टुटेफुटेका मनहरू लाम लागेका छन् । टान जोगाउने अर्थमा । गठबन्धनको अर्थमा । साझा र समावेशीको टीमको अर्थमा ।

टानको सवालहरूमा एक हुन नसकेर दलको ‘भातृसंगठन’का नाममा व्यवसायीहरू संगठित भएको यथार्थ जगजाहेर छ । एकिकृत हुनु बलियो हुनु हो । सामाजिक जीवनको पनि एउटा सुन्दर पक्ष हो । कोभिड– १९ पछि टान इतिहासको एउटा सङ्गिन मोडमा आइपुगेको छ । यो अवस्थामा पनि मतपेटिकामा अभिशापको कलङ्क भर्न गइरहेका छौँ । यो जत्तिको विडम्बना अरु केही हुन सक्दैन ।

व्यवसायी विभाजित नहुँदा एउटा समयमा टानको विल्डिङ बनेथ्यो । अर्को समयमा विल्डिङ बन्दा लागेको ऋण पनि चुक्ता भएथ्यो । व्यवसायी विभाजित नहुँदा व्यावसायिक हक र हितका लागि लड्न सहज हुन्थ्यो । चुलिँदो थियो, टानको मूल्य, मान्यता र गरिमा । व्यवसायी विभाजित हुँदा एनएमएले भोगचलन गरिरहेको चुलीहरू गुमाएको र अर्काे एकथरि व्यवसायीले नै ताली बजाएको यथार्थ पनि हामीबाट छिपेको छैन । व्यवसायी–व्यवसायीमा विभाजनका रेखा कोरिन थालेदेखि टानको शक्तिमा स्खलन आउन थाल्यो । राम्राहरू छायाँमा परे । हाम्राहरूको उदय हुन थाल्यो । प्रत्येक पटकको निर्वाचनमा अघिल्ला पटकका प्रत्यासीले जाहेर गरेका प्रतिवद्धता र थाति रहेका योजनाहरू काखी च्याप्नुबाहेक हाम्राहरूले नयाँ योजना ल्याउन सकको उदाहरण छैन । टानको आजको वर्तमान त्यसैको परिणाम हो भन्दा अतिशयोक्ति नहोला । आगामी निर्वाचनमा मतदाता संख्या घटेर १,२४८ मा सिमीत हुनु आफैँमा अर्को विडम्बना भएको छ ।

टानको आसन्न निर्वाचनका प्रत्यासीत्रयका प्रतिवद्धता र योजनाहरूमा पनि नवीनता देखिन्न । त्यसो त कुनै नयाँ कार्यक्रम ल्याएकै भए पनि मतदाताले पत्याइहाल्छन् भन्नेमा शङ्का छ । ‘भातृसंगठन’हरू उही । त्यसमा आवद्ध हाम्राहरू उनै । सिसी नयाँ भए पनि पुरानै रक्सी हालेपछि स्वाद त कहाँ बदलिन्छ र !

व्यवसायीहरूको फाटेको खुसीलाई विभाजित मनले टाल्न सके भने मेरा लागि त्यो आश्चर्य नै हुने छ । र, म यही आशा गर्छु ।

‘डु नट ड्वेल इन द पास्ट, डु नट ड्रीम अफ द फ्युचर, कन्सन्ट्रेट द माइन्ड इन द प्रेजेन्ट मोमेन्ट’ भन्ने गौतम बुद्धको यो भनाइलाई आगामी निर्वाचनमा विजयी हुनेले आत्मसाथ गरेको खण्डमा व्यवसायीमा टानप्रति गौरव गर्न सक्ने अवस्था आउँछ ।

आगामी निर्वाचनका लागि तीनैजना प्रत्यासीलाई मेरो शुभकामना !

यति बेला भने म नारायण गोपालले गएको गीत गुन्गुनाइरहेछु–

‘मेरो यो गीतको मुर्छना एउटै
त्यो तिमी होइन को भन्न सक्छ ?
एउटै छ धर्ती, आकाश एउटै
एउटै छ उच्छवास, चाहना एउटै
तरङ्ग धेरै विछिप्त मनको
आँखाले मात्र को गन्न सक्छ ?’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button