तिहार एक, तिहार अनेक

स्पर्श भट्टराई
कक्षा ७, युनाइटेड स्कुल, इमाडोल, ललितपुर

नेपाल बहुजाती, बहुभाषिक तथा बहुधार्मिक राष्ट्र भएकाले यहाँ विभिन्न चाडवाडहरु मनाउने गरिन्छ । त्यसमध्ये तिहार पनि एक हो । यसलाई हिन्दूधर्मालम्वीहरुले दशैपछिको दोस्रो ठूलो चाडका रुपमा लिने गर्छन् । यसलाई फुलैफूलको पर्व अनि बत्तीको पर्वका नामले पनि चिन्ने गरिन्छ । घर घरमा दीप प्रज्वलनका साथ यो पर्व मनाइने हुनाले यसलाई दीपावली भन्ने गरिएको हो । तिहार मुलतः पाँच दिनसम्म मनाइने हुनाले यी पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । कात्र्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कात्र्तिक शुक्लपक्षको द्धितीया तिथिसम्म यो चाड मनाइन्छ ।

तिहारको पहिलो दिन काग तिहार हो । यो दिन कागको पूजा गरी खान समेत दिइन्छ । पौराणिक मान्यता अनुसार कागलाई यमदुतको रुपमा लिइन्छ । अर्कोतर्फ, कागलाई पन्छीहरुमध्येकै अत्यन्त चतुर पन्छी पनि मानिन्छ । यसले हाम्रो बालीनालीमा लाग्ने किराफट्याङ्ग्रा अनि वरपरको अन्य फोहोर खाएर वातावरण स्वच्छ राख्नमा मद्दत गर्दछ । त्यसैले कागलाई खुशी राख्नुपर्छ भन्ने मान्यता छ ।

तिहारको दोस्रो दिन कुकुर तिहार हो । यस दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ । कागजस्तै कुकुरलाई पनि यमदुतका रुपमा लिने गरिन्छ । कुकुरवफादार प्राणी पनि हो । यसले आज्ञापालन मात्र नगरी आफ्नो मालिकको रक्षक भएर वफादारिता निभाउने गर्दछ । यसले कुनै दैवी वा प्राकृतिक विपत्ति हुन लागेमा पूर्वसंकेत पनि दिने गर्दछ । कुकुरको घ्राणशक्ति अतुलनीय हुन्छ । विशेष घटनास्थल तथा व्यक्ति पहिचान गर्न आजकल कुकुरकै प्रयोग गर्ने गरिन्छ । यसरी मानिसलाई सहयोग गर्ने साथै वफादारिता सिकाउने कुकुरको पूजा गर्नु पौराणिक एवम् सामाजिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यसदिन घरमा सजिएर बसेका सुकुमार कुकुरदेखि गल्ली गल्ली चहार्दै हिड्ने भुस्याहा कुकुरलाई समेत खोजी खोजी पूजा गरी खाना खुवाउने प्रचलन छ ।

तिहारको तेस्रो दिन अर्थात कात्र्तिक कृष्ण औँशीका दिन हिन्दू धर्मावलम्बीका घर घरमा गाई तिहार मनाइन्छ । यसै साँझ दीप प्रज्वलनका साथ धुमधामसँग धनधान्यकी देवी माता लक्ष्मीको पूजा आराधना गरिन्छ । हिन्दू धर्ममा गाईलाई आमा समान मान्ने गरिन्छ । गाईको दूध आमाको झैँ पोसिलो हुने हुँदा यसलाई अमृतका रुपमा लिइन्छ । यसका साथै हिन्दू धर्ममा हुने सोह्र संस्कारमा पवित्रताका लागि गाईकै गोबर, गहुँत आवश्यक पर्छ । त्यसैले हरेक कर्ममा महत्व राख्ने गार्ईको यसदिन पूजा गरेमा सुखशान्ति प्राप्त हुन्छ भन्ने पौराणिक मान्यता रहेको छ । साँझमा धनकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । लक्ष्मीलाई खुशी पार्न सकेमा दरिद्रता हरण भई सदा सुख प्राप्त हुने विश्वास रहँदै आएको छ । यसैदिन रङ्गोली साथै स्वस्तिक चिन्ह बनाई दीपप्रज्वलन गरी धनप्राप्तिको समेत कामना गरिन्छ । घर घरमा बलेका दीपले औँसीको अन्धकारलाई चिरेर जताततै उज्यालो पारेझैँ हामीमा अन्तरनिहित अज्ञानतालाई ज्ञानको प्रकाशले प्रज्वलित गर्न सकोस् भनी प्रार्थना पनि गर्ने गरिन्छ । उक्त साँझ चेलीबेटीहरु मिलेर घर घर गई भैलो खेल्ने अनि आशिष दिने प्रचलन छ ।

Ad

तिहारको चौथो दिनलाई गोरु तिहार अनि गोवद्र्धन पूजाका नामले पनि चिन्ने गरिन्छ । पुराणमा बयान गरिएअनुसार द्वापरयुगमा गोकुलवासीहरु स्वर्गका राजा इन्द्रको भक्ति गर्दथे । जति भक्ति गर्दापनि इन्द्रबाट उनीहरु केही पाउँदैन थिए । त्यसैले भगवान् कृष्णले इन्द्रको भक्ति गर्नुभन्दा त यति राम्रो घाँस दाउरा दिने यही गोवद्र्धन पर्वतकै पूजा गर्दा वेश हुने राय गोकुलवासीहरुलाई दिन्छन् । त्यहीँदेखि गोकुलवासीहरु कृष्णले भने बमोजिम गोवद्र्धन पर्वतको पूजा गर्न थाल्छन् । गोकुलवासीको यस्तो व्यवहारले इन्द्र आफू अपमानित भएको महशुस गर्छन् । त्यसैले रिसाएर घनघोर वर्षा गराउँछन् । भगवान् कृष्णले यही गोवद्र्धन पर्वत उठाएर डुब्न लागेका गोकुलवासीको संरक्षण गरेपछि इन्द्रले समेत हार मानेर भगवान् कृष्णसामू माफी मागेको किम्वदन्ती पाइन्छ । त्यहाँदेखि नै गोबरबाट गोवद्र्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने प्रचलन चलेको देखिन्छ ।

नेपाल कृषिप्रधान देश हो । हरेक ठाउँमा ट्रयाक्टर अनि नयाँ नयाँ प्रविधिले खेती गर्न यहाँको भौगोलिक संरचनाले पनि अझै सम्भव हुने देखिदैन । हामीलाई वर्षभरि चाहिने अन्न उत्पादन गर्न आजपनि अधिकांश ठाउँहरुमा गोरुकै प्रयोग गरी हलो जोत्ने गरिन्छ । यसका साथै, गाई गोरुको मलमुत्रले नै अन्नवाली फस्टाउने भएकाले गाईगोरुलाई हाम्रो सहयोगीका रुपमा लिएर आजको दिन पूजा गर्ने प्रचलन रहेको पाइन्छ । साँझमा केटाहरुले देउसी खेली आशिष दिने परम्परा रहेको छ ।

तिहारको पाँचौ दिनलाई भाइटीका भनिन्छ । परापूर्वकालमा बहिनी यमुनाले तिहारको पाँचै दिन आफ्ना दाजु यमराजलाई घरमै राखेर कात्र्तिक शुक्ल द्धितीयका दिन पूजाआजा गरेबाट नै तिहार मनाउन लागिएको हो भन्ने धार्मिक विश्वास रहेको छ । तसर्थ तिहारका यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसदिन दिदी बहिनीहरुले दाजुभाइहरुको यश, आरोग्य अनि दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका अनि मखमली, सयपत्री साथै दुवोको माला लगाइदिने गर्छन् । सयपत्रीको रङ्ग नखुइलिने, मखमली कहिल्यै नओइलाउने र दुवो सदा सर्वदा हरियै रहने हुनाले यसको छुट्टै धार्मिक महत्व रहेको पाइन्छ ।आप्mना दाजुभाइहरुलाई कुनै बाधा व्यवधान नआओस भन्ने कामना गर्दै पानी तथा तेलले घेरा हालिन्छ । ढोका बाहिर ओखर र यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । सप्तरङ्गी टीका लगाई मीठा मीठा परिकार दिइन्छ । सगुनका रुपमा दिदी बहिनीले दाजुभाइलाई दही, ओखर खुवाउने गरिन्छ । दाजु भाइले पनि टीका लगाई दिदी बहिनीहरुलाई उपहार तथा दक्षिणा दिने प्रचलन रहेको छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button