मैले गरेको हुँ भन्नु पनि बेकारको अभिमान हो

ब्राह्मणपुत्रको लकडाउन डायरी-९५

आइतबार, १७ साउन २०७८ । श्रावणकृष्ण पक्ष अष्टमी । बिहान ८ः११ पछि नवमी तिथि । सूर्य दक्षिणायण । बर्षा ऋतु । राक्षसनामसंवत्सर । १ अगस्त ।

आइतबार भनेको सूर्यको बार हो । कर्मयात्राको पहिलो दिन हो । सरकारी र निजी दुवै कार्यालयको काम आइतबारबाट शुरु हुन्छ ।

सरकारी काम गर्नु छ भने आइतबारको दिन शुरु गर्दा त्यो काम छिटो सकिन्छ भन्ने मान्यता छ । आइतबार कहिल्यैं अल्छी गर्नु हुँदैन । सकेसम्म आइतबार छुट्टी नलिनु राम्रो हुन्छ ।

आज आइतबार बिहान ५ः१३ देखि ६ः ५४ सम्म राहुकाल छ । साउनको महिना भएकाले बिहान सबैर घर नजिक कुनै शिवालय छ भने त्यहाँ गएर जलअभिषेक गर्नु नभए पनि घरको शिवालयमा शिवलाई स्मरण गर्दा आफनो, परिवारको सबैको भलो हुन्छ ।

मध्यान्ह ११ः४४ देखि अभिजित शुभ मुहूर्त शुरु हुन्छ १२ः ३७ सम्म । चन्द्रमा मेष राशिमा चलेको छ । आजका देवता हुन् अग्नि, ग्रहदेव शनि ।

आजको दिन काठबाट बनेको सामान खरिद र विक्री गर्दा लिने र दिने दुवैलाई राम्रो हुनेछ ।

अध्ययन अनुसन्धानको काम शुरु गर्न सकिन्छ । सरकारी काम बाधा उत्पन्न आएको छ भने आजको दिन बिहान ११ः३० बजेभन्दा पछि सरकारी अड्डामा पुगेर पहल गर्दा काम बन्न सक्छ ।

आज पश्चिम दिशा फर्केर यात्रा नगर्नु होला । आइतबारको दिन कुनै सभा, समारोहमा सहभागी हुन शुभ मानिदैन । आइतबारको दिन तपाई जुन काम या कर्मयात्रामा हुनुहुन्छ, त्यही काममा दत्तचित लागेर काम गर्दा सफल हुन सकिन्छ ।

अष्टमी तिथिको दिन सैन्यसम्बन्धी कार्य, हातहतियार खरिद, त्यसको पूजा अर्चना गरिन्छ । मोटर खरिद बिक्री गर्दा पनि अष्ठमी तिथिका दिन गर्दा फलामले साथ दिन्छ भन्ने छ ।

आत्म–अनुशासनको नियम बनाउने, तपस्या, साधनाको शुरुवात गर्न चाहनुहुन्छ भने आजको दिन उत्तम रहेको छ । हरेक व्यक्तिले आफनो कर्म यात्रामा गरिरहेका कामको समीक्षा र मूल्याङ्कन गर्दा राम्रा नराम्रा दुवै कामको समीक्षा गर्नको लागि आजको दिन निकै शुभ छ ।

काम गर्दा गल्ती र कमजोरी हुन्छ । त्यसलाई सच्याएर, समीक्षा गरेर अगाडिका दिनमा सुधार गर्ने योजना बनाउनका लागि पनि आजको दिन उत्तम छ ।   

र, अन्त्यमा,

सुखस्यदुःखस्य न कोपि दाता, परो ददातीति कुबुद्विरेषा ।

अहं करोमीति वृथामिमानः स्वकर्मसूत्रग्रथितो हि लोकः ।।

अध्यात्मरामायण

अर्थात– सुख या दुःख दिने कुनै अरु व्यक्ति हुँदैन, अरु कसैले सुख या दुःख दियो भन्नु कुबुद्वि मात्र हो । साथै मैले गरेको हुँ भन्नु पनि बेकारको अभिमान हो, किनकि मानिस आ–आफनो कर्मको डोरीमा बाधिँएको हुन्छ । कर्मको आधारमा प्राप्त हुने फल नै हो । के काम गरेको छ, त्यो कामको फल कस्तो हुन्छ, त्यसले दिने आनन्द र सन्तुष्टी के हो भन्ने बारेमा सचेत भएर कर्मयात्रामा लागौं ।

शुभदिन । 

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button