एक दिन सम्झनु र अरु ३६४ दिन आमालाई वेवास्ता गर्नु नराम्रो
पारस घिमिरे
जन्म दिने आमा र मातृभूमि स्वर्ग समान् हुन्छ । हाम्रो पूर्वीय दर्शनमा सबैभन्दा उच्च कल्पना स्वर्गको छ । पश्चिमेली दर्शनमा पनि त्यो पाइन्छ । तर, हाम्रोमा स्वर्गीय कल्पना बढी नै पाइन्छ । मतलब हामीकहाँ कल्पनाको उच्च स्थान आमा र मातृभुमिको छ ।
आमा भनेकी सृष्टि हुन् । नौ महिनासम्म गर्भमा राखेर, अनेक दुख कस्ट सहेर आमाले हामीलाई जन्माउँछिन् । अनि अनेकौं परिस्थिति सामना गर्दै हुर्काउँछिन् । योग्य बनाउँछिन् । आमाको योगदानअगाडि सबै फिका लाग्छन् । एउटा परिवारलाई सफल र असफल बनाउन कसैको हात छ भने त्यो आमाको नै हो । आमालाई जस्तोसुकै विशेषण लगाए पनि त्यो अपुर्ण नै हुन्छ ।
पूर्वीय सभ्यताको राम्रो पक्ष भनेको आमा, बुबा र गुरुहरुलाई उचित सम्मान दिनु हो । तर, पछिल्लो समयमा युवा पुस्ता हाम्रा पुरातन मुल्य मान्यताबाट विचलित भएको देखिन्छ । हाम्रा साँस्कृतिक परम्परालाई भन्दा पश्चिमेली संस्कृतिलाई अपनाइरहेकोे पाइन्छ । वास्तवमा यो विडम्वनापुर्ण छ । आमालाई एक दिन मात्र सम्झनु, सामाजिक संजालमा आमाको तस्विर प्रदर्शन गर्नु र अरु ३ सय ६४ दिनचाहिँ वेवास्ता गर्नु नराम्रो हो ।
आमालाई सम्मान दिनु र आमाको योगदानप्रति गर्व गर्नु नै हामी सबैको कर्तब्य हो । आमा हामी सबैको पहिचान हो ।