‘आमा ! नयाँ बर्षको एकाबिहानै छोरा जन्माउँदा के भने मान्छेहरुले ?’

जन्मदिनकै दिन शुभकामना नयाँ बर्षको

कमल ढकाल

कोइलीले ‘कोहो ! कोहो !’ भनिरहँदा हिँड्दै भन्न मन लाग्छ, ‘म हुँ । म हुँ ।’

लटरम्म फुलेको फुलहरु देख्दा त्यहि फुलमै टाँसिरहुँ झै लाग्छ । वसन्तका पालुवाले रुखहरु पुरै नयाँ हरियो देख्दा त्यहि रुखको छहारीमा एक छिन बसिरहुँ झै लाग्छ ।

हो, यो हो मनमोहक महिना । बैशाख महिना अनि वसन्तको महिना । हामीले यहि महिनाबाट बर्ष क्यालेन्डरको पात्रो पल्टाउँछौ । नयाँ बर्ष मनाउन थाल्छौं । मेरी आमाले यहि पात्रो पल्टने दिन बैशाख १ गते पहिलो बच्चा जन्माउनु भएको हो ।

यो दिनको विशेष अर्थ छ भन्ने कुरा धेरै पछि बुझ्न थालेँ । मान्छेहरुले ‘कस्तो बिशेष दिन जन्मेको बिशेष हुनु पर्दछ तपाई त !’ भनेपछि मैले आफुमा के बिशेष कुरा छ त भनेर खोज्न थालेँ । आमाले अरुले ‘ह्याप्पी बर्थ डे’ भन्दा तिमीले धन्यवाद मात्र नभनी नयाँ बर्षको शुभकामना भन्नु है भने झैं लाग्यो । बधाईमा पाउने विशेषणजस्तै विशेष बन्न सके नसके पनि केही खास बन्न खोजिरहेको छु ।

बैशाख १ बाटै जीवनको रथ यो पृथ्वीमा चलेको हो मेरो । हरेक मान्छेले जन्मदिनबाट आफ्नो जीवनको रथ चलाउँछ । त्यो रथमा कति परिवार चढाउँछ ? कति साथीभाई चढाउँछ ? कति प्रियजन चढाउँछ ? अनि कतिलाई ओराल्छ ? यो कुरा पनि अर्थपुर्ण छ । रथ बन्द गरेर ऊ यो धर्तिबाट जाँदा उसको जीवनको रथमा कति मान्छे चढिरहेका हुन्छन् । यसले ऊ महापुरुष बन्यो कि सामान्य भन्ने अर्थ राख्दो रहेछ ।

मान्छे जन्मँदा नाम हुँदैन, सास हुन्छ । मान्छे यो धर्तीबाट विलय हुँदा सास हुँदैन नाम हुन्छ । यहि नाम र सासको बीचमा रुमल्लिएको जिन्दगीमा मान्छेको जीवनरथ कसको कहिलेसम्म छ केही थाहा हुँदैन । जीवन छ र सँगै मृत्यु पनि छ । मृत्युको मुखमा पुग्दा आफ्नो बितेको दिनहरु फर्केर हेर्दा पश्चाताप नहोस्, फुलको बोटजस्तै बनोस् । यहि सोचेर हरेक मान्छेले काम गरिरहेको हुन्छ ।

म पनि गरिरहेछु ।

यत्रो बर्षपछि आजै मैले आमालाई सोधेँ, ‘आमा एकाबिहानै नयाँबर्षको दिन छोरा जन्माउँदा तपाईलाई के भने मान्छेहरुले ?’

आमाले भन्नुभयो, ‘के भन्नु नि, नयाँ बर्षमा नयाँ मान्छे जन्मँदा म धेरै खुशी भएँ । सबै गाउँ र इष्टमित्रले बधाई दिए ।’

आमाले भने पनि म बुझ्ने भैसकेको छु । अहिले त मेरै पनि छोरी नौ बर्षकी भैसकिन् । एक आँखाबाट शारिरिक पीडाको र एक आँखाबाट खुशीको आँशु हरेक आमाले बच्चा जन्माएको दिन बग्छ भन्ने मलाई थाहा भैसक्यो । आमालाई पनि त्यस्तै भयो होला, खुशी मात्रै त के भयो होला र भन्ने लाग्यो । तैपनि केही सोधिनँ ।

मेरो बुबा २०५५ सालमै बित्नु भयो । मैले सोध्ने यादै गरिनँ । त्यो अल्लारे बेला पनि थियो । ‘बुवा ! तपाईलाई कस्तो लागेको थियो ? बैशाख १ गते नै छोरा जन्माउँदा ?’, यति सोध्न पाएको भए अहिले पनि क्या खुशी हुने थिएँ, उहाँको उत्तर पाएको भए । के गर्ने फोटोमा सोधेर अब उत्तर आउँदैन । आँशुु मात्र आउँछ । त्यहि फोटोमा हेरेर सोध्न पनि सकिनँ ।

जन्म जीवनको लागि हो । आमाको जीवन बुबाको पनि हो । त्यसैले आमालाई खुशी राख्ने प्रयास हरदम रहनेछ मेरो । आमाको व्यापक परिभाषा राष्ट्र पनि त हो । राष्ट्रलाई भलो हुने काम गर्न पाए भन्ने लागेर केही बर्ष यतादेखि म घोष्ट राइटिङ नेपाल खोलेर अरुको जीवनमा आफ्नो जीवन खोजेर हिँडिरहेको छु । अक्षरमा जीवन खोज्ने प्रयासले र पुर्खाको इतिहासले पुस्ता बदल्छ, हरेक मान्छे नलेखिएको इतिहास हो, उसको दस्तावेज बन्नै पर्दछ भनेर जन्मिएको घोष्ट राइटिङले मेरो देशमा १ सय ५० जनाको जीवन प्रकाशित गरिसक्यो । पाँच सय भन्दा बढीको लेखिरहेको छ । दश हजारको जीवन लेखेर अनि त्यो जीवनलाई दश हजार बर्षसम्म राखेर यो धर्ती छाड्न पाए जन्मेको सार्थकता हुन्थ्यो भनेर म लागिरहेछु ।

जीवनको भ्यालु नभएको यो देशमा यो काम गाह्रो छ । कहिले बाढी, कहिले पहिरो, कहिले सडक दुर्घटना र कहिले भुकम्प र द्वन्दका नाममा नेपालमा अनैकौनेक मान्छे मरे । हरेक बर्ष त्यहि ठाउँमा पहिरो, त्यहि ठाउँमा सडक दुर्घटना अनि बाढीले मान्छे मर्दछ । बोक्सी, दाईजोले मान्छे मरिरहेका छन् । जीवनको भ्यालु बढेको भए त यो क्रम रोकिनु पर्ने हो नि । यहि सोचेर पनि यो समाजको हालको इतिहास कायम गर्न मान्छे आफैले आफ्नो कथा लेखोस भनेर सिर्जनात्मक लेखन चलाइरहेका छौ । मान्छेले एकै दिनमा दुइ–तीनवटा नाटक गर्ने देखेर कुन्ज नाटक घर चलाइरहेका छौ । मरेका मान्छेको पनि उत्खनन गर्दै कथा मर्न नदिन घोष्ट राइटिङ नेपाल चलाइरहेका छौ । यी सबैलाई जोड्ने सेतु बनेको छ, लेखनकुन्ज, जहाँ लेखनका पुन्जहरु भेटिन्छन् ।

मेरो जीवन यसमै बितिरहेका छ ।

नयाँ बर्ष आईरहदा मैले पुराना गएका बर्षहरुलाई पनि हेरेँ । आफुलाई हेरेँ । सडकको ट्राफिकजस्तै बनेर हेर्दा त ओहो ! के के देखेँ देखेँ । कति मान्छे मरेछन् । कति मान्छे जन्मिएछन् । कति आफ्नो जस्तो लाग्ने सम्बन्ध बिरानो भएछन् । कति बिरानो जस्तो लाग्ने आफ्नो भएछन् । कति रोगहरु आएछन् गएछन् । कति शोकहरु पर्व बनेर हिडेका रहेछन् । कति पल्ट मरेर बाँचिएछ । कतिपल्ट बाँच्दा बाँच्दै मरिरहेको झै लागेछ । मान्छेले दिएको धोका, अविश्वासले मुटु छियाछिया भए झै लाग्दथ्यो । अहिले त त्यसले पो मुटु बलियो बनाएको रहेछ । ओहो ! यो संसारमा मात्र हैन, आफ्नै र आफन्तमा पनि नयाँ बर्षहरु दश बर्ष मात्र पुराना हुँदा कति परिवर्तन हुने रहेछ झैँ लाग्यो ।

जन्मेरै यो देखेको त हो भन्ने लागेपछि जन्ममै एक छिन घोत्लन मन लाग्यो । जन्म के हो ? शरिर किन आउँछ पृथ्वीमा ? अनि के गरेर जान्छ ? शरिरभित्र आत्मा मर्दैन भने त्यो कहाँ जान्छ ? ओहो ! जन्म कति जटिल रहेछ बुझनलाई पनि । जन्मलाई अमर बनाउन खोज्छन् मान्छेहरु । को कति समयलाई अमर हो, त्यो पनि फगत रहेछ । एक शासक फेरिँदा धेरै कुरा फेरिँदा रहेछन् ।

ओहो ! कति जटिल रहेछ जन्म र जीवन । झन् रहस्य रहेछ मृत्यु ।

जति जति बैशाख १ जीवनमा थपिदै जान्छन् । जीवनअंकको बढोत्तरी हुदै जान्छ । थाहा छ, कोही मान्छे कोहीसंग तुलना हुँदैन । तर, पनि तुलना गर्छन् मान्छेहरु । यति अंकमा यसले यस्तो गरेथ्यो, आफ्नो त केही भएन भनेर दुःखी हुन्छन् । प्रयास गरेर पुर्ण कहिल्यै बन्न सक्दैन मान्छे । त्यो पनि मान्छेलाई थाहा छ तर पनि प्रयास छाड्न मान्छेले छाड्दैन । त्यहि दिव्यता र पुर्णताको लालशाले मान्छे आफ्नो जन्म छन्जेल प्रयत्न गर्दछ ।

मलाई त उमेर पनि शारिरीक, मानसिक र सम्वत अनुसारको हुन्छ भन्ने लाग्छ । कोही सम्वतमा बढी हुँदा पनि मानसिक र शारिरिक रुपमा स्वस्थ हुन्छन् भने ती युवा हुन् । जस्तो हाम्रोमा सत्यमोहन जोशी हुनुहुन्छ । एक सय एक बर्षमा न चश्मा छ, न मेमोरी लस छ । कोही चालिस बर्षमै शारिरिक र मानसिक रुपमा समस्यामा छन् भने उनीहरु क्रमगत रुपमा कम भएर मात्र के भयो र ?

नयाँ बर्षको दिन जन्मेकोमा म पुलकित नै छु । आमालाई धन्यवाद भन्छु । आफुलाई शुभकामना दिने नदिने सबैलाई शुभकामना दिन्छु । नयाँ भन्नाले के नयाँ ? पुरानो भन्नाले के पुरानो ? तैपनि नयाँ बर्ष र आफ्नो जन्मदिनको यो दिनमा यहाँहरु सबैको सुस्वास्थ्य, दीर्घायु, उत्तोरोत्तर प्रगति उन्नतिको शुभकामना टक्राउँछु । शुभकामनाले शुभ काम बनोस् । सकरात्मक उर्जा थपोस् र तपाईको यो जीवनलाई समृद्धिमा लम्काओस् । जीवनको समृद्धिको लागि यो नयाँ सालले नयाँ रिमार्केवेल काम गरोस् । यहाँहरु सबै सबैमा मनैदेखि शुभकामना ।

जन्मदिनको दिन शुभकामना दिने तपाईहरुलाई धन्यवाद । जन्मको सार्थकता खोज्दैछु । तपाई पनि खोज्नु होला ।

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button