पात्रो होइन, जिन्दगी बदल्नुस्

नयाँ बर्ष – २०७८

कृष्णचन्द्र बञ्जारा

हरेक बैशाख १ गते आएसँगै हामी सारा नेपालीमध्ये अधिकांशलाई दराज, दलिन या भित्ताको किलामा झुण्ड्याइएको क्यालेन्डरलाई बदल्ने हतारो हुन्छ । ज्योतीष बाहरुले अरुको भविष्य हेर्न गोजीमा बर्षभर जतन गरेर राखेको पात्रोले पनि काम गर्न छाड्छ । त्यसलाई बदल्न उहाँहरु पनि हतार–हतार पात्रो पाइने पसल लम्कनु हुन्छ ।

के नयाँ बर्ष तिनै भित्तामा झुण्ड्याइएका वा गोजीमा बर्षभर जतन गरिराखेका पात्रोहरु बदल्न मात्र आएको होला त ? नयाँ बर्ष आउँदा पनि हाम्रो जिन्दगीको हालत पुरानै ढंगमा जस्ताको जस्तै रहनु ठिक होला त ? त्यसैले आउनुस् नयाँ बर्षमा पात्रो मात्रै हैन, आफनो जिन्दगीको हालत पनि कसरी बदल्न सकिन्छ ? भन्नेबारे केहि चर्चा गरौं ।

हामी सबैलाई थाहा छ, बर्ष दिन भनेको महिना महिनाको योग हो । महिना भनेको दिन दिनको योग हो । त्यसैले यदि नयाँ बर्षसँगै आफुलाई बदल्ने हो भने हरेक दिनमा आफुलाई सुधार्ने या बदल्ने प्रयत्न गर्नु आवश्यक छ । जब दिन दिनै तपाई बदलिदै र सुधारिदै अगाडि बढ्नु हुन्छ । त्यसपछि हप्ता दिन, महिना दिन र बर्ष दिनमा पक्कै पनि तपाई बदलिनु हुनेछ । फलत अर्काे नयाँ बर्षमा तपाईको भित्तामा या गोजीमा रहेको पात्रो बदल्ने दिनसम्म तपाई आफुलाई बेग्लै, सुध्रिएको र अघिल्लो बर्षमा भन्दा सफल भएको पाउनु हुनेछ । योसँगै तपाईको हालत पनि पक्कै बदलिने छ ।

हरेक बिहान आफुलाई चार्ज गर्नुस्

बिहान उठ्नासाथ तपाई सबैभन्दा पहिलो काम के गर्नु हुन्छ ? हामीमध्ये अधिकांशको जुरुक्क उठ्नासाथ पहिलो काम मोवाइल, ल्यापटप, टर्चलाइट चार्ज गर्ने हुन्छ । त्यसो गर्नु हुन्छ भने त्यो कामलाई एक छिन थाती राख्नुस् । त्यो भन्दा अगाडि तपाईले हरेक दिन गर्नै पर्ने महत्वपुर्ण काम तपाईले छुटाउनु भयो । यो छुटेको काम तपाईले गर्नु भएन भने तपाईको दिनभर आफुलाई आत्मविश्वास गुमेको, गर्नुपर्ने काममा ‘फोकस’ नभएको र अरुसँग बोल्दा केहि कुरामा ‘डिल’ गर्न नसकेको पाउनु हुनेछ । आत्मविश्वास घट्दै, घट्दै बेलुका सुत्ने बेलासम्म पुरै जिरो वा थकित अवस्थामा पुग्नु हुनेछ ।

त्यसो किन भयो त ? किनकी तपाईले उठनासाथ महत्वपुर्ण काम छुटाउनु भयो । त्यो काम भनेको आफुलाई ‘रिचार्ज’ गर्न भुल्नु हो । जसरी तपाईको मोवाइललाई रिचार्जको आवश्यक पर्छ, त्यसरी नै तपाईको दिमागलाई पनि हरेक दिन रिचार्ज आवश्यक पर्छ । यदि रिचार्ज गर्नुभयो भने तपाईले बिताउने दिनमा जो सुकैले तपाईको दिल दुखाउने बचन लगाओस् अथवा समय र परिस्थितीले धोका देओस्, तपाई मनमनै ढल्नु हुने छैन । बरु दिनभर तरोताजा पाउनु हुनेछ ।
अब आफैलाई कसरी रिचार्ज गर्ने त ? आफ्नो लक्ष्य अनुसारको संकल्प गर्न सक्नु हुन्छ । मानौं, तपाई धेरै पैसा कमाएर विनोद चौधरीपछिको दोस्रो विलिनियर बन्न चाहनु हुन्छ भने आफु विलिनियर भएको संकल्प गर्नुस् । आफुले हरेक दिन धेरैभन्दा धेरै पैसा कमाएको, जोगाएको संकल्प गर्नुस् । आफ्नो लक्ष्य र चाहनासँग मिल्दो मोटिभेसनल भिडियो, मेडिटेसनको साहरा लिएर पनि आफुलाई रिचार्ज गर्न सक्नु हुन्छ । जे होस्, तपाईले संकल्प गर्ने बेलामा आफुभित्र असिमित क्षमता रहेको र त्यो क्षमताको उपयोग भरपुर गरेको सम्झनु आवश्यक छ । आफुले जानेका संकल्पका उपायहरु अपनाएर आफुलाई एक पटक जोशले जगाउनुस् अनि मात्रै मोवाइल, ल्यापटप रिचार्ज गर्ने हो या अन्य कामतिर लाग्ने हो लाग्नुस् ।

आत्मनिर्भर बन्नुस्
तपाई किन सफल बन्नु भएन ? भनेर तपाईलाई कसैले सोध्यो भने तपाई के उत्तर दिनु हुन्छ ? ‘मेरो परीवारले साथ नदिएकाले, साथीले धोका दिएकाले, श्रीमती अथवा श्रीमानले सहयोग नगरेकाले’ भन्ने उत्तर तपाईसँग छ भने तपाईभित्र परनिर्भरता धेरै छ । तपाईभित्र आत्मनिर्भरता छैन । त्यसैले तपाई तपाईको परिवार, साथी, आफन्त, श्रीमान, श्रीमतीका कारणले हैन, आत्मनिर्भरता नभएका कारण सफल बन्न सक्नु भएको छैन । तपाईलाई तपाईको लक्ष्यसम्म पुग्न तपाईका आसपास रहेका कसैले पनि १०० प्रतिशत साथ दिन सक्दैनन् । किनकी उनीहरुले तपाईले जुन चाहना र लक्ष्य राख्नु भएको छ, त्यसको शतप्रतिशत ज्ञान उनीहरुलाई हुँदैन । तपाईलाई, तपाईको चाहनालाई पूर्ण रुपमा बुझ्ने यो संसारमा एक मात्रै कोहि मान्छे छ भने त्यो स्वयम तपाई मात्रै हो । त्यसैले परनिर्भरतालाई त्यागेर आत्मनिर्भरतातिर लाग्नुस्, अरुले धोका दिँदै गर्छन् । कुरा काट्दै गर्छन । तपाई आफ्नो गन्तव्यतर्फ लम्किन नछोडनुस् । अरुले साथ दिएनन् वा धोका दिए भनेर आफनो महान लक्ष्य र चाहनालाई भुलेर अर्काे बाटो नमोडिनुस् ।

संगतलाई सुधार गर्नुस्
जिन्दगीका हरेक उपलब्धी संगतसँग जोडिएको हुन्छ । त्यसैले त ‘संगत गुनाको फल’ भन्ने उखान चर्चित छ । यदि आफुले चाहेको क्षेत्रमा सफल बन्न चाहनु हुन्छ भने कृपया त्यो क्षेत्रमा तपाईभन्दा अगाडि संलग्न रहेका सफल मान्छेहरुको लिस्ट बनाउनुस् । उनीहरुसँग भेट्ने, संगत गर्ने, उनीहरु सहभागी भएको ठाउँमा आफु पनि सहभागी हुने, उनीहरुका छलफल र भलाकुसारीहरुमा सहभागी हुने प्रयास गर्नुस् । मानौं, तपाई सेयर बजारमा लगानी गरेर भविष्यमा सफलता हाँसिल गर्न चाहनु हुन्छ । अब तपाईले विगत पाँच बर्षभन्दा अगाडिदेखि सेयर बजारमा लगानी गरिरहेका सफल मान्छेहरु खोजेर उनीहरुसँग संगत बढाउने प्रयत्न गर्नु आवश्यक छ । त्यसो गर्नु भयो भने उनीहरुको अनुभवबाट अहिलेसम्म किताबमा नलेखिएको, कसैले भिडियोहरु बनाएर नसिकाएको ज्ञान प्राप्त गर्न सक्नु हुन्छ । त्यसो त तपाई कक्षामा आफनो पढाई राम्रो बनाउन चाहनु हुन्छ भने कक्षाका सबैभन्दा मिहेनती साथीको संगत गर्ने, तपाई भविष्यमा गायन कलालाई निखार ल्याउन चाहनु हुन्छ भने गायनमा सफल भएकाहरुसँग संगत गर्ने प्रयास गर्नु आवश्यक छ । आफनो लक्ष्य अनुसारका मान्छेहरुको संगत बढाएर आफुलाई तपाईले सुधार गर्नुस् ।

निरन्तरता
यो नयाँ बर्षसँगै तपाईले गरिरहेका कामहरुमध्ये एउटा कामलाई निरन्तरता दिने संकल्प गर्नुस् । यदि तपाईले चाहेका सबैभन्दा सफल मान्छेहरुको सफलताका बारेमा अध्ययन गर्नु भयो भने उनीहरुको सफलताको पछाडि निरन्तरता दिने उनीहरुको संकल्पले उनीहरुलाई त्यो उचाईमा पुगेको पाउनु हुनेछ । तपाईको चाहनाको क्षेत्र व्यापार छ भने नेपालको सबैभन्दा ठूलो सुपर मार्केट भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङको जीवनीको उदाहरण तपाईको लागि उपयोगी हुनसक्छ । भनिन्छ, उनले आफनो गाउँबाट जम्मा पाँच सय रुपैया गोजीमा बाटो खर्च बोकेर काठमाडौं छिरेका थिए । काठमाडौंमा एउटा सानु दोकानबाट व्यापारको सुरुवात गरेका उनी अहिले नेपालकै ठूलो सुपर मार्केटका मालिक कसरी भए त ? किनकी उनले जस्तोसुकै परिस्थितीमा पनि आफुले थालेको व्यवसायलाई निरन्तरता दिने संकल्प गरेका थिए । भनिन्छ, उनले सुरु गरेको पहिले स्टोर आगलागी भएर ध्वस्त भएको थियो । आगलागी भएर घाटामा गए पनि उनले श्रीमतीको गहना बन्धकी राखेर फेरि सोहि व्यवसायलाई निरन्तरता दिए । फलत अहिले उनी सफल भएका छन् । निरन्तरताको संकल्प गरिरहँदा अरुको आलोचना खेप्नु पर्ने हुनसक्छ । समय परिस्थीतीले गर्ने परीक्षामा पास गर्नु पर्ने हुनसक्छ । त्यो सबैलाई सामना गर्दै आफुले चाहेको एउटा क्षेत्र भने जुनसुकै हालतमा नछोड्ने संकल्प र प्रयत्नसाथ अगाडि बढनु भयो भने पकै पनि यो नयाँ बर्षले तपाईलाई अर्काे नयाँ बर्ष सम्ममा अरु भन्दा बेग्लै, सफल र सक्षम व्यक्तिको रुपमा पु-याउने छ ।

krishna.banjara@gmail.com

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button